डा. मुकेशकुमार चालिसेउमेरिदा गर्न हुने र नहुने बिचार्नै पर्छ !
परिस्थितिले जतिसुकै अधमरो बनाउन खोजे पनि तपाइँको जीवन नितान्त तपाइँकै हो, यसलाई जीवन्त बनाउन कुनै ग्रहबाट काल्पनिक देवदूत आउँदैनन् । तपाइँभन्दा दुखकष्टमा रहेका कति मानिस छन् हेर्नोस् त सबैतिर, तपाइँमात्र दुख पाउने मान्छे हो र ?
डा. मुकेश चालिसे :
अहिले धेरै मान्छे पाको उमेरको कुरा गर्न थालेका छन्, नेपालमा पनि धेरैतिर यस्तो छलफल र चर्चा भएकोमा पाका मान्छे अब केही हुन्छ कि ? भन्ने आशामा पनि भेटिएका पाइन्छन् । हुन त, एकथरीका मान्छे औँलाभरीका केही भौतिक सम्पन्न भनिएका देशहरू देखाउँदै संसारनै एकल समाज र पूँजिनै सबथोक भनेर प्रचार गर्नेको बाहुल्यता बढाउन घुँडा धसेर असफल प्रयाशमा लागेका छन् । सोझै हिजोकोजस्तो प्रजातन्त्रमा ज्यान फालेर लागेका दलहरू समेत पाका मान्छेको हितमा हुने सामाजिक प्रणालीको गन्ध नलगाए अब बिकिँदैन भनेर साँचै हित हुने व्यवस्था नल्याई केही थामथुम गर्न समाजवाद जोड्न बाध्य छन् । हरे ! कथा पो सम्झेँ, ‘मरेको सिनो खोज्न राती हिँडेको स्याल, धोबीघरमा रङ्गको डुँडमा चोबलिएर खैरोबाट निलो भएकोमा अरुलाई झुक्याई बनको राजा हुन आएको भनि धाक लगाई स्वमातृवंशलाई दुत्कार्छ । शरीरको सबै आकार उस्तै भए पनि रङ्ग फरक भएकोमात्र हो भन्ने ठम्याएका स्याल समुहले साँझ परेपछि जाँच्न हुईयाँ लगाउँछन् । केहि दिनको मानमनितोको मोजमा आफ्नो नक्कली स्वरुप बिर्सिएको स्यालले स्वप्रजातीय हुइयाँमा साथ दिन्छ र सबैले वास्तविकता थाह पाई हरिबिजोक हुनेगरी लघार्छन् ।’ यत्ति ठम्याई त मान्छेकै सङ्गठन बनाउने मान्छेले बुझेकै होलान, कि बुझ पचाएका होलान् त हँ ? नत्र त पाका जनता अनिच्छुक नौरङ्गी व्यवस्थामा सर्वसाधारण धेरै दिन भुल्दैनन् भन्ने पनि चेत त होला कि ?
सामाजिक समतामूलक राजनीतिक व्यवस्थाभएका मुलुकमा कमाउञ्जेल कर लिने सरकारले कमाउन छाडेपछि सेवानिवृत्त भत्ता वा हिजोको आर्थिक-सामाजिक योगदान हेरेर पाका मान्छेलाई स्वास्थ्य, यातायात र सामाजिक क्रियाकलापका धेरै पक्षमा शुल्क नलिने वा अति कम लिने गरेको पाइन्छ । त्यस्तै उमेरिएका पाका मान्छेले शारीरिक रुपले सक्षम भएमा विज्ञताअनुसार आंशिक काम गर्न पाउने अवसर पहिल्याइएको हुन्छ भने कतिपयलाई अन्यत्र नभए सामाजिक परिवर्तनका प्रत्यक्षदर्शी भएकाले विद्यार्थी माझ अनुभवको पुस्तान्तरण गर्न सशुल्क लगाइन्छ । मानसिक-शारीरिक अक्षमबाहेक सबै उमेरसमुहले खाना, नाना र छाना पाएका तथा वयस्कले योग्यताअनुसार काम पाउन कुनै परदेश दौडिन पर्दैन भने ज्ञानगुन र श्रमप्रति उच्च सम्मान हुन्छ । साना केटाकेटीदेखि श्रम गर्ने संस्कार बसाउन जापानमा विद्यार्थीहरू आफैँ कक्षाकोठा सफा गरेको सिनेमा त सबैले देखेका होलान् ।
पाको उमेरमा पनि पिरलो कम हुने र सकेको श्रम गर्न उत्सुक भएकै कारणले सय वर्ष नाघेका अत्यधिक हुने समाज जापानमा पाइएको छ भने जनताको भलाईमा डटेर लाग्ने व्यवस्था भएका मुलुकमा त झन प्राकृतिक प्रकोप र रोगव्याधबाट आक्रान्त भएर मर्ने मान्छेका सङ्ख्यानै न्युन भएका समाचार अरुका लागि कुतुहल भएका छन् । हिजोआज नेपालका पाका मान्छे रोगबिरुद्धको खोपमासमेत बेइमानी गर्ने साहुका पक्षमा लाग्ने प्रणाली भएका देशका बारेमा खुलेर विमति राख्न थालेका छन् ।
अरु नपाए पनि ‘प्रजातन्त्रको मूल मर्म बोल्न पाइन्छ’ भन्ने कुराको आडभरोसा लिँदै धनी कहलिएका देशहरूका पाका मान्छेहरू आफ्नो समाजमा भोगेका गैह्रमानविय व्यवहार, पारिवारिक बिखण्डन, पूँजीको मुलाधारमा विकसित अनादरपूणर् सम्बन्धलाई सामानिक सञ्जालबाट भए पनि उठाउने गरेका छन् । कतिपय कुरामा सकारात्मकभन्दा नकारात्मक कुरा चाँडै सिक्ने हाम्रो युवा पुस्ताले उनीहरूका रुञ्चेहाँसो राम्ररी बुझेर आफ्ना अभिभावकका खुसहालीका लागि स्तरीय व्यवहार गर्न सतर्क हुन जरुरी छ । एक भुक्तभोगी अमेरिकी जोसेफ जर्ज साथै अरुले सामाजिक सञ्जालमा साठी वर्ष र माथिकाले मेरा लेख पढ्नु होला भनि यहि वैशाख २०८१ मा लामो लेखोट लेखेर प्रशारित गरेका छन् । ती लेखटिप्पणीमा उनीहरू उमेरिदा पाका मान्छेले आफ्ना सन्तानहरूको भविष्य उज्ज्वल बनाउन अहिलेदेखि हाम्रा भावना बुझ्ने क्षमता बढोस् भन्ने कामना गरेको पनि पाइएको छ । उनीहरूको तर्क आफ्नो भोगाईको आधारमा भनिएकाले ‘विश्वमा स्वर्ग जस्तै अवसर र कमाई हुने, आफ्नो एकल परिवारले रोजेको’ भन्दै बिदेश भासिने अरु देशका युवाहरूले पनि पढिदिए हुन्थ्यो कि !
साठी वर्षमाथिः
यो उमेरको सिमारेखा प्रायः धेरै देशहरूमा गरिरहेको नियमित कामबाट बिस्तारै फुर्सद लिन खोजिने उमेर हो, कतिपय मानिस स्वेच्छिक अवकास भई अझै राम्रो अवसरका लागि आफ्नो जाँगर बटुल्छन् भने कति चाहिँ सशुल्क वा निशुल्क काम छोड्छन् । त्यसैले बेला छँदै कमाएको रकम बचत गरेको भए यस बेलामा पाको बिचारसमेत आउने भएर त्यस्ता पूँजिको सदुपयोग गर्ने र राम्रो लगानी हुने मौका पनि मिल्दछ । दीर्घकाललाई पुग्ने बचत छ भने योजनाबद्ध किसिमले खर्च गरेर जीवनको आनन्द लिने बेला यहि पाको उमेर हो । यतिखेर छ दशक लामो अनुभवले तपाइँ पक्कै पनि कुनै काम गरेपछि पश्चाताप गर्ने बेठिक काम रोज्नु हुने छैन, त्यसैले थप गल्ती हुने सम्भावना पनि रहने छैन । तपाइँको रगत पसिना एक गरेर कमाएको सम्पति तपाइँको दुख, हण्डरठक्कर र पीडासँग सरोकारनै नराखी ‘लुटेको धन वा सहजै कमाएको वा भवितव्यले थुप्रिएको’ सम्झने आफन्तलाई भविष्यमा सुख होला भनेर साँच्चै सोच्दै नसोच्नोस् । तपाइँले थुकतेल गरी खाई नखाई गरेर कमाएको सम्पतिको आडमा तपाइँका सन्तान र आउँदो पुस्ताकाले ठूल्ठूला आकर्षक योजना बनाउनुजस्तो खतरनाक परिस्थिति अरु हुन्न । आफू लम्पट भई निस्कृय रहने, वरको सिन्को पर नसार्ने, बाबुआमा र पुख्र्यौली सम्पतीलाई उपयोग गरी मोज गर्न सपनाको संसारमा रमाउने अल्छीका दाश सन्तान, निकृष्ट मनुवा हुन्, त्यस्ताको हितमा सम्पति जोगाएर राख्नु तपाइँको भयङ्कर ठूलो कमजोरी हो ।
चेतावनीः उमेरिएको पाको मान्छेले जतिसुकै उपलब्धिपूणर् देखिए पनि नयाँ परियोजना सञ्चालनमा लगानी गर्न खोज्नु खतरानै हुनसक्छ । परियोजनाको प्रतिफल पाउने अवस्थासम्म तपाइँ शारीरिक रुपले स्वस्थ्य रहने कुनै प्रत्याभूति गर्न उमेरको कारणले नसकिने भएर त्यस्तो लगानी त्यति भरपर्दो नहुन सक्छ । सुरुवातमा हरेक परियोजना अघि बढ्नका लागि निकै दौडधुप र समस्याहरू भोग्न तयार रहनु पर्छ, त्यस्तो मनोवैज्ञानिक दबाव खप्न पाको उमेरमा अलि सकिन्न भन्ने हेक्का रहोस् । यो उमेरसमुह त हरेकले शान्ति, आनन्द र रमाइलोमा बिताउने उमेरका मान्छे हुन् भनि उमेरिएकाले आफैँ पनि बुझ्नुपर्छ ।
चिन्ता छोड्नुहोस्ः
पाका कतिपय मानिस हुर्काईबढाई गरेर सामरथ भएका छोराछोरीको अझै चिन्ता गर्छन्, उनीहरू आफैँ कमाईधमाई र घरजम गरेर आफ्नै छोराछोरीका बाबुआमा बनिसकेका हुन्छन् । आफ्नो व्यक्तिगत योग्यता र स्वभावअनुसार सन्तानहरूले आर्जन गरेका सबै प्रकारका सम्पतिमा चित्त बुझाउनोस्, तपाइँले सोचेजस्तो प्रगति नभए पनि अब तपाइँले सहयोग पुुर्याउने उमेर दुबैतर्फ छैन, आआफ्नो बाटो निर्धारण भइसक्यो । यस अवस्थामा पाका मान्छेले आफ्नो कमाई आफैँले खर्च गर्न छोराछोरी र नातिनातिनीको मुख हेरेर अप्ठ्यारो मान्नु पर्दैन, उनीहरूको हेरबिचार र अध्ययनका लागि तपाइँले आर्जेको मनग्य सम्पति र समय लगानी गरिसक्नु भएको होला । तपाइँकै बलमा उनीहरू अहिले खाना, नाना र छानासहित अध्ययनले सुयोग्य भई जीविका चलाइरहेका होलान् । थप भएन भन्ने नाममा तपाइँको चिन्ताले केही असर गर्दैन, बरु उनीहरू तपाइँको शुभेच्छालाई ‘गनगन र असन्तोषी भएको’ पगरी पाउने सम्भावना रहन्छ । वास्तवमा अब चढदो उमेरका तपाइँका सन्तानले आफ्नो जीविका मात्र होइन, तपाइँले हालिदिएको जगमा उनीहरूको आर्जनले महल ठड्याउन उद्यमशील हुने हो भने पुस्तान्तरणसँगै हरेक क्षेत्रमा यश, कीर्ति र सामाजिक भलाईका कामहरू बढाउने हो । तपाइँको चिन्ताले उनीहरू आँट, जाँगर र उत्साहसाथ अघि बढ्नुको सट्टा अल्छी, पराधिन र पैत्रिक मिहेनतमा कुदृष्टि लाउने लोभी नहुन, दया गर्न सक्नुहुन्छ, मायाको लालोपोतो आवश्यक छैन ।
चिन्ता गरेर राम्रो नभएको एउटा घटना सान्दर्भिक छः एक नब्बे वर्षको हाराहारीमा पुगेकी आमाले आफ्नो एकमात्र छोरालाई विवाह भएका तीन छोरीहरूलाई पैत्रिक सम्पतिबाट घडेरी दिने कुरा गर्नु भएछ । छोरीहरूका काठमाडौँमा घरजग्गा र आर्थिक कारोबार करोडौंको थियो, चार आना गाउँको जग्गाको खासै महत्व के होला र सुकुम्बासी होइन भनि छोराले दिनु तर्कसङ्गत मानेनछन् । आमैको नचाहिने माया देखाउनाले ‘धनको मुखै रातो’ भनाई जस्तै अहिले छोरी पट्टीका शहरबासी खातापिता परिवार भए पनि आफन्त बिचमा जग्गाको लोभले बोलचाल र जाउआउ बन्द भएको छ । के अनावश्यक चिन्ता र अति माया देखाउने प्रवृत्तिले सामाजिक सहिष्णुता र सदभाव खलबल्याएन त ? त्यस्तो चिन्ताले सकारात्मक काम गर्यो त ? मानिस मानिस बिचमा नाता नपरे पनि स्वजातिय बन्धुत्व हुनुपर्नेमा कलह, बैरभाव हुनु समाजलाई फाईदा पुग्ने सुकाम हुन्छ कि बैमनस्यताको हर्कतमा परिणत हुन्छ ? आफैँ सोचौँ ।
ससाना कुरामा चिन्ता, अपजस, वादविवाद र झगडा नझिकौँ, जीवनमा निकै हण्डरठक्कर खाइसक्नु भएको छ, ‘तिललाई पहाड बनाउने’ तरिका र स्वभाव आफू पनि नगरौँ अरुले गर्दा पनि नउड्किऊँ । पहिले परिवारमा विविध कारणले तपाइँले प्रशिक्षित गर्न नभ्याएको भए तपाइँकै अकर्मण्यता हो भने अहिले भिन्न दिशामा विकसित परिवारसँग उमेरिदा मतभेद राख्नु तपाइँलाईनै घाटा पर्न सक्छ । यो उमेर आफन्त र चिनजानका मान्छे नजिक पर्ने, कुशलक्षेम बुझ्ने र सहयोग पाउने उमेर हो, मान्छे टाढा बनाउने उमेर होइन । तपाइँको स्वभावले मान्छे तर्सिएर, डराएर र रिसाएर नजिक नपर्नुमा सबैले तपाइँकै दोष देख्नेछन् साथै उमेरिदा एक्लो पर्नु मानसिक रोग निम्त्याउनु हुन्छ । यस्तो यस उमेरमा अरु शारीरिक रोगभन्दा खतरनाक हुनसक्छ, उमेरिदा त्यस्तो रोगबाट पाका मान्छे बच्नै पर्छ र छुस्केजस्तो प्रबृत्ति गरेको पनि उमेरअनुसार नसुहाउने कुरा हो । झिनामसिना कुराले सम्बन्ध नबिगारौँ, सानातिना गल्ती सबैबाट हुनसक्छ, बिगतमा तपाइँले गरेका गल्तीकमजोरी सम्झेर अहिले कस्तो लाग्छ ? कसरी तपाइँले गल्तीबाट सिकेर राम्रो काम गर्नुभयो त्यो सम्झनु होस् र सकारात्मक सन्देशमात्र भन्नुहोस् अरुलाई अपजस लाउने वा छेड हान्ने गरेर नभन्नुहोस् । ‘बचनको बाण साँच्चीकै बाणभन्दा मन दुख्ने र रुवाउने हुनसक्छ’, हेक्का राख्नुहोस्, मन दुखेको ओखति मनले नमानेसम्म केही छैन, आफैँ नदुखाउने उपाय गर्ने हो ।
स्वस्थ्य रहने गरौँ :
दैनिक र नियमित सुरक्षित लखरलखर हिँडेर शारीरिक श्रम धेरै नगरीकन पनि स्वस्थ्य जीवन बनाउन सकिन्छ । हलुका व्यायाम गरी सहजै पच्ने खाना र मस्त निदाउने बानीले तपाइँलाई मानसिक र शारीरिक रुपले स्वस्थ्य बनाउन मद्दत गर्दछ । अहिले पृथ्वी भरिनै प्रदूषण व्यापक भएको, प्राकृतिक वातावरण ह्रास भएको, खानेकुरामा मिसावट बढेको र हावापानीको खराबीले रोगी बन्न सजिलो छ, तर स्वस्थ्य रहन धेरैलाई गाह्रो पर्छ । त्यसैले यस्तो परिस्थितिमा तपाइँले आफ्नो ढल्कँदो उमेरमा हुनसक्ने शारीरिक दुर्बलतासँगै रोग नलागोस् भनि शरीर स्वस्थ्य राख्न ओखतिमूलो र भौतिक आवश्यक्ता यथेष्ठ पुर्याई ठिक ढङ्गले राख्नै पर्छ । यसका लागि खानपानमा नियमितता, व्यायाम र श्रममा आधारित दैनिकीसँगै फाप-अफापमा सुविचारित क्रियाकलापले तपाइँलाई स्वस्थ्य राख्न धेरै मद्दत गर्दछ । उमेर प्रतिकूल लोभलालच, स्वाङ, ठस्सा, घमण्ड र दुस्साहसले उमेरिदा दुखमात्र पाइन्छ र परिवारजनबाट अबगाल व्येहोर्नु पर्ने हुनसक्छ । उमेरिदा हुनसक्ने रोगव्याधका लागि आफन्तकोमात्र भर नगरी आफैँले कमाएको सम्पतिबाट ओखति गर्न केही रकम बेलैमा छुट्ट्याएर राख्नु व्यवहारिक हुन्छ । सम्भव भएमा विज्ञचिकित्सक सम्पर्कमा राखी स्वस्थ्य रहँदा पनि नियमित सल्लाहमा आफ्नो क्रियाकलाप सुचारु गरेमा स्वस्थ्य जीवन जीउन सकिन्छ । आफ्नो शारीरिक मानसिक परिवर्तनमा के कस्ता समस्या आउन सक्छन भन्ने सूचना बेलैमा थाह भएमा उमेरिदा आउने परिवर्तनमा चिन्ता नलिई स्विकारगरी अघि बढदा रोगव्याधको गनगने गुनासो र उमेरिदाको डर कम हुन्छ ।
उम्दा उपहारः
तपाइँको उमेर, कमाएको ईज्जत र अनुभवका आधारमा आफन्त, ईष्टमित्र र साथीभाइले निम्ता गरेको समय तपाइँको हैसियत र सोच प्रदर्शनको सामाजिक मौका हो । बोलाउनेको स्तर हेरेर होइन कि उसको भलाईमा आफ््नो सोचलाई स्तरिय कायम राख्न स्तरिय ज्ञानबद्र्धक किताब, सामान र आवश्यक कुरा सकेसम्म राम्रो गुणयुक्त खोजेर, रोजेर किन्नुहोस् । आकर्षक पोको बनाई बोलाएको दिन भेटमा हँसिलो मुखले हस्तान्तरण गनुहोस्, हेर्नोस् त तपाइँ प्रतिको आदर पहिलेभन्दा बढेको पाउनु हुनेछ । एकाघरमा रहेका परिवार सदस्यको जन्मदिन, विवाहोत्सव, सफलता, लामो अन्तरालपछिको भेट उचित र उपयुक्त उपहारबाट तपाइँले सुरु गर्नु प्रभावकारी हुन्छ । के थाह, तपाइँका मायालु आफन्त कुनैदिन सदाका लागि बिदा हुनेछन् तथा तपाइँ उनीसँग भेट्ने अन्तिम क्षणमा पो हुनुहुन्छ कि ? भेटघाटलाई प्रोत्साहित गर्न उपहारले बढि काम गर्न सक्छ र तपाइँको उमेरिएको समयमा एकै उमेरका, कम उमेरका मानिसहरूसँगको भेट पाका मान्छेको खुसीमा बिताउने क्षण बन्नसक्छ । तपाइँले लुकाएर वा लोभिएर खर्च गर्न नसकेको रकमले उनहरूसँग भेटदा भएको आनन्द र रमाइलो किन्न सक्ला र ? त्यस्तै तपाइँको उदार मनले गरिएको गुणयुक्त स्तरको उपहार पाउनेले गर्ने बखानबाट सामाजिक मर्यादा बढ्छ नै, पक्कै घट्दैन ।
जतिसुकै उमेर पुगे पनि स्नेह र मायालु वातावरणमा जीवनसाथी, परिवार, आफन्त, छिमेकी र सर्वसाधारण मानिसलाई मानविय दयाकासाथ व्यवहार गर्ने स्वभाव हुुनुपर्छ । मानिस उमेर बढ्दैमा बुढो, कमजोर र काम नलाग्ने हुँदैन बरु उसको बुद्धिमत्तापूणर् व्यवहार र हँसमुख स्वभावले सबैको प्यारो तथा सबै उमेरसमुहसँग उत्तिकै मिल्ने सजीव प्राणी बन्दछ । उमेर त वर्ष खाएको आँकडामात्र हो, उमेरिनु आफैँमा गर्व र आदरको स्तरमा पुग्नु हो, ‘हाम्रा पालामा यस्तो थियो, यस्तो गथ्र्यौँ’ भनेर चित्त दुख्ने गरी घुक्र्याउने काम कहिल्यै नगर्नोस् । मानिस जहिले पनि बर्तमान समयमा सक्रिय हुन्छ, चाहे त्यो हिजोको होस् वा भोलिको, तपाइँ बाँचेको उमेर र समयनै वास्तविकता हो, यसमै रमाउनु पर्छ । बाङ्गा कुराले मनोमालिन्य र मनमुटाव बढ्न सक्छ तथा अरुले तपाइँबाट आदर नपाएका कारण तपाइँलाई गरिने सम्मान घट्न थाल्छ । घरका हरेक सदस्यलाई मान गर्न तपाइँ थाल्नोस् त्यसपछि बल्ल भद्रसमाज बन्न सहयोग पुग्छ, त्यसैले त बालसाहित्यका ठूला हस्ती स्वर्गीय शान्तदाश बालबालिकालाई तपाइँ भनि सम्बोधन गर्नुहुन्थ्यो ।
फरक वातावरणमा हुर्किएकाले फरक सोचाई राख्न सक्छन् तर तपाइँ राम्रो गर्न त सक्नुहुन्छ नि, तपाइँको असल पक्षलाई कसले रोक्न सक्छ र ? एकअर्कामा गरिने स्नेहले पारिवारिक गठजोड बलियो र कसिलो बन्छ, परिवार सामुहिक हित र भलाईमा केन्द्रित बन्छ, ससाना बालबालिकामा त्यो गुण विकास भई भोलि समाजका ईज्जतदार नागरिक बन्न सक्छन् । त्यसो भएमा ईज्जत त तपाइँको नामदेखिनै सुरु हुन्छ होला, कसको सन्तान, कस्तो हुर्काई र कस्ता गुरु भनेर, होइन र ?
व्यवहार सुधारौँः
पहिला जस्तोसुकै बोलीचाली र व्यवहार भए पनि उमेरिदा नरम, सहनशिल र चाहिँदोमात्र बोल्ने, सहयोगी हुन प्रयाश गर्ने तथा सँधै प्रशन्न बानीव्यहोरा भएमा पाका मान्छे सबैका आँखाका नानीजस्तै नबिझाउने बन्छन् । आफ्ना आक्रोश, रिस, ईश्र्या, डाह र कटु बोली बोल्ने स्वभावमा ‘पहिलेदेखि यस्तै हुँ’ भनि घमण्डको धम्म देखाउने बेला होइन पाका मान्छेको उमेर, बरु मनभोगजस्तो नरम, मिठो र दाँत नभएकाले पनि खाई पचाउन सक्ने पोषिलो खानाजस्तै हुने बेला हो । घच्चापच्चा सहन सक्ने, नरम बोली भएको, धेरैको हितमा सोच्ने, काम गर्ने र केही गर्न नस्क्ने अवस्थामा पनि कसैको कुभलो नचिताउने उमेरसमुह हो पाको उमेर भनेको, खहरे र खोलाको गडगडाहटमा आफ्नो मौलिक स्वरुप गुमाएको चट्टान बाटुलो ढुङ्गेगुज्जा बनेको जस्तै उमेर हो । यसलाई आफ्ना घोच्ने चुच्चो भएको चट्टान सम्झेर कल्पिने बेला होइन, कसैलाई नघोच्ने गुज्जा भएकोमा मक्ख परेर समय बिताउने अवसरको रुपमा लिनुपर्छ ।
घरमा भएका र बाहिर डुल्दा भेटिएका अदना, महिला, केटाकेटी र सर्वसाधारण तपाइँसँग झ्याम्मिनु तपाइँको गुणले हो झिँजो मान्ने भुक्तमान होइन । मान्छेका वाह वाह, तपाइँ साँचो अर्थमा पाको भएको अकाट्य प्रमाण हो भने तपाइँ देख्दै मान्छे परपर हुनु तपाइँमा दुर्गुण पलाएको लक्षण हो । तपाइँ कसैले आदरसाथ अपेक्षा गरेमा सल्लाह दिन सक्नुहुन्छ तर उसको भएभरको दुर्गुण स्वभाव सम्झेर आलोचना र झ्याँको झार्ने सुरमा भन्ने र बर्बराउने गर्नुहुन्न । आफूलाई परेको दुखकष्टमा परिवार र चिनजानकालाई सराप्ने स्वभाव तपाइँमा थप कष्टकर जीवन बनाउने सुरुवात हो, दुःख आउँछ, जान्छ र धर्यतापूर्वक सोचेर सामुहिक सल्लाहले सजिलै पन्छाउन सकिन्छ । त्यही निहुँमा एकआपसमा गरिएको कर्कश स्वभाव र घोचपेच सुन्ने मानिसका मनमा धेरै समय आलो घाउ बनेर बस्न सक्छ । यस्तो गल्ती गर्दै नगरौँ, ‘रिसमा वेद पढिन्न भनेर जथाभावी बोल्ने छुट’ यो उमेरमा तपाइँलाई छैन राम्ररी बुझे हुन्छ, नत्र आफन्तको अर्घेल्याइँले बाकी जीवन बेवारीसी लास बन्न केही बेर लाग्दैन ।
जीवनको उर्लंदो वयस्क बेलामा आफूबाट अनुचित व्यवहार भई कोही टाढिएका छन् भने मौका खोजेर घुलमिल हुन कोशिस गर्नुहोस्, क्षमा माग्नुहोस् अरुले अपमानित गरेका छन् भने क्षमा दिई सुमधुर सम्बन्ध बनाउन प्रयाश गर्नुहोस् । पुस्तैनी शत्रुता भएका परिवारका केटाकेटी शत्रुताको गहनता नबुझी बाबुआमाले देखेभने गाली गर्छन् भनि छिमेकी भए बाहिर निस्कने ईसाराले सम्वाद गरी भेटघाट गरेर एकआपसमा मिलेर खेल्छन् । त्यस्तै एक पटकको शत्रुता सधैंलाई हुन्न र मानिसका धेरै गुण छन् भने कम अवगुणलाई बिर्सेर मित्रता कायम गर्दा फाइदानै पुग्ला, घाटा नपर्ला ! रिस, द्वेष र बदलाको भावना राखिरहनु भनेको आफूभित्र विषालु सर्प पालीराख्नु जस्तै हो, कुनै पनि बेला उसको उत्तेजनापूणर् टोकाईले आफैँलाई मरणान्त बनाउन सक्छ । आफ्नो फुत्किन सक्ने अवाञ्छित स्वभावलाई बलियो लगाम लगाउन सधैं सतर्क रहनु अहिले आवश्यक हुन्छ है ।
सधैंभरी कालो बादल जस्तै धुम्म पर्ने, अरुका कुरामा दाँत कटकटाउने गरी निलोकालो हुने, हरेक कुरालाई आफैँलाई छनक हान्छन् जस्तो अनुभूत गर्ने बिचारले बिस्तारै उन्माद र मानसिक रोगतिर लैजान सक्छ । पाको उमेरमा त अरुसँग मन नलागे उही उमेर समुहका भेटी ख्यालठट्टा गर्ने, हास्यव्यङ्ग्यमा रमाउने, धेरै गफ मनमा नआए केटाकेटी र बैँशमा सहउमेर बिच भएका उम्नाचो भद्रतापूर्वक भनेर मज्जालिने गर्नु पर्दछ । भइसकेको कुरामा पश्चाताप गर्ने, नपाउने असम्भव कुरामा लोभिने, काल्पनिक कुरामा डराउने, तर्सिने र पत्याएर अविज्ञानको पछिलाग्ने, सकेसम्म निश्कृय बस्ने जस्ता कुरा बिचार गरेरै छोड्नाले उमेरिदा फाइदा हुन्छ । प्रमाणिक कुरा, समाचार र दर्शनबारे सोधखोज र अध्ययन गर्ने समय हो पाको उमेर भनेको, यसलाई आफू र आफन्तको भलाईमा लगाउने सबैभन्दा उत्तम उमेरसमुहमा तपाइँ हुनुभएको हेक्का राखौँ है । तपाइँको अहिलेको उमेर जति ओखतिको अभाव र ज्ञानको कमीले गर्दा कतिपय तपाइँकै आफन्त बाँचेनन् होला ! एकबारको जिन्दगी हो पुर्नजीवन हुनेमा शङ्का गरे हुन्छ, कसैले प्रमाणित नै गर्न सकेको छैन, जति हुन्छ अहिलेनै हुन्छ, केको ठसठस र सुँकसुँक गर्ने ? मज्जाले हाँस्ने, पेट मिचेर हाँस्ने वातावरण आफैँ मिलाउने, साथी पनि त्यस्तै बनाउने र हरेक कमीमा सन्तोष गर्ने स्वभाव बनाउने ।
अन्त्यमा,
परिस्थितिले जतिसुकै अधमरो बनाउन खोजे पनि तपाइँको जीवन नितान्त तपाइँकै हो, यसलाई जीवन्त बनाउन कुनै ग्रहबाट काल्पनिक देवदूत आउँदैनन् । तपाइँभन्दा दुखकष्टमा रहेका कति मानिस छन् हेर्नोस् त सबैतिर, तपाइँमात्र दुख पाउने मान्छे हो र ? सबैको स्वर्ग भनिएका देशमा गरिबीको रेखामुनि रहेका मानिस, रोजगारी र जीवनको निराशाले ग्रसित भई लागु पदार्थमा कल्कलाउँदो यौवन ध्वस्त पारेका मानिस, सरकारी ईच्छामा युद्ध अपराधमा संलग्न भई अपाङ्ग भएका मानिस कतिले दुख पाएका छन् ? केही मुट्ठीभरका युद्धसामग्रीको उत्पादकको सनकमा बढि सुबिधामा गरिब देशमा आक्रमण गरी फर्केकाले सरकारी तक्मा सार्वजनिक स्थानमा थुकेर फ्यालीदिएका दृश्य पनि समाचारमा देख्नु भएको होला ! सुखको परिभाषा सबैको आआफ्नै त हुँदोरहेछ, कहीँ सामाजिक हितमा काम गर्नु सुख मान्छन त कहिँ अरुलाई दुख दिनमा आनन्द मान्छन, कहीँ जनतामाथि शासन गर्नमा सुख मान्छन्, कहीँ भुइँमान्छेको हितमा शसन गर्नु कर्तव्य ठान्छन् । तपाइँ बहुजनको हितायमा सोचेर सुख खोज्ने कि आफ्नो फगत सुखमा सबैलाई जिप्ट्याउन लागि पर्ने ? छनौट तपाइँमानै निहित छ, पक्कै धेरैको आनन्दनै तपाइँको अभीष्ट छ होला, यसमा दुईमत हुन कवै सक्तैन ।
०००
जेठ ११, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































