साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजनीति

चुनावमा चारो फालेपछि भोट झरिहाल्छ । खाने मुखलाई जुँगाले छेक्दैन । हारेपनि भाग बिलो लागिहाल्छ । सुरक्षा निकाय हाम्रै इसारामा चल्छ । अदालतमा हाम्रै कार्यकर्ता र एजेन्ट छन् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

सनातनीहरूमा शास्त्रको कमी हुँदैन । हामीसँग अनेकौं पुराण, शास्त्र र वादहरू छन् । तन्त्रशास्त्रका अनेक शाखाहरू छन् । जसमध्ये मध्ये एक शास्त्र लाजनीति हो ।

लाजनीति भनेपछि प्रष्ट्याई रहनु पर्दैन । जसरी हलेदो भनेर जानेपछि कोट्याउनु पर्दैन । विश्वमा पहिलो लिखित संविधान जारी गर्ने अमेरिका र अलिखित संविधान भएको बेलायतले हामीबाट केही सिक्नु पर्छ । हामीले संसारलाई पाठ पढाउने गरी लाजनीतिक संस्कार निर्माण गरेका छौं । हाम्रो सफलताको कथा राख्न चाहन्छु ।

हिजोको निरङ्कुशतालाई अङ्कुश लगायौँ । राणातन्त्रलाई फालेर छाडातन्त्र विकसित गर्दै गर्दा कु गरियो । पञ्चायती व्यवस्था फाल्न ऊसित मिलेर ऊ गरियो । प्रजातन्त्रमा भएका कमजोरी हटाएर पर जा तन्त्र विकसित गर्दै थियौँ त्यसलाई पनि सफल हुन दिइएन । त्यसका लागि खान नपाएर वन पसेका र घुडा धसेर खान बसेका मिलेर लोकतन्त्रका नाममा सङ्घर्ष गरियो । हाम्रो सङ्घर्षको मक्सद थियो, राजा एउटा मात्रै हुँदा देश चलायमान हुन सक्दैन । हामी देशलाई चलायमान बनाउन चाहन्थ्यौँ । गलायमान र ढलायमान गराउन चाहन्थ्यौँ । यसर्थ अन्तरिम संविधान मार्फत लोकतन्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना गर्यौँ । पुराना राजा फाल्यौं । नयाँ राजा बन्न सफल भयौँ । त्यो हाम्रो सपना थियो । साकार पार्याैँ ।

यो संसार यस्तै छ । एउटाले खाएको, लाएको अर्काले डाहा गर्छ । फरक पर्दैन । कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ । अगुल्टाले हानेकोे कुकुर विजुली चम्कदा तर्सिदै गर्छ । रोएर भएन । कराएर भएन । हिजो हामीले दुःख गर्योैँ । जेल गयौँ । नेल लगायौँ । बलिदानी गरायौँ । रगत बगायौँ । अहिले आहारिस गरेर हुँदैन बाबै ! खान्छौँ त खान्छौँ । आफ्नैआर्जन खान्छौँ । आफ्ना आफन्तलाई खुवाउछौँ । अरूको टाउको दुख्नु पर्ने किन ? टाउको दुःखे सिटामोलको गोली खाए त भैगो नि !

विरोधीहरू बर्बराएको सुनियो । लोकतन्त्र लोकतियो भनेको पनि पाइयो । गणतन्त्रलाई गाँडातन्त्र, छाडातन्त्र, भाँडतन्त्र, साँडेतन्त्र भनेर भाष्यहरू सिर्जना गर्न खोजियो । जसले जे सुकै भनोस् त्यो हाम्रो चासोको विषय होइन । हाम्रो चिन्ता र चासोको विषय हामीले लाजनीतिक संस्कारलाई संस्थागत गर्नुपर्छ । देशी अनि विदेशी प्रतिगामी शक्तिबाट लाजनीतिलाई जोगाउनु पर्छ । यसका लागि अनेकौ खेल खेल्नु पर्छ । जालझेल गर्नु पर्छ ।

हामीलाई कसैले केही सिकाउनु पर्दैन । हामीलाई कुटनीति भन्दा झुटनीति ज्यादा आउँछ । लुटनीति विषयमा महा विद्यावारिधी प्राप्त भएको कुरा भन्नै परेन । हामी कम्ता खेलाडी होइनौँ । अन्तर्राष्ट्रिय अवार्डका दाबेदार भन्ने संसारलाई थाहा छ । हामीले ब्याट नसमाई छक्का हान्न सक्छौँ । तास नछोई सत्ता पल्टाउन सक्छौँ । म्युजिकल चियर (कुर्सी दौड) प्रतियोगिता हाम्रो राष्ट्रिय खेल हुँदै भयो । यसमा वर्ल्ड रेकर्ड कायम भैसकेको छ । त्यसैले त सुरूमै भनिसकेँ । राजनीतिमा होइन लाजनीतिमा हामी अब्बल छौँ । जाबो राजनीतिको अभ्यास संसारले गरिरहेको छ । यो अभ्यास निकै पुरानो र थोत्रो भैसकेको छ । मैले भनिसकेँ नि हामी अमेरिका र बेलायतभन्दा माथि उठिसकेका छौँ । यति भनेपछि अरूको कुरै गर्नु परेन ।

कसरी भयो यस्तो चमत्कार ? विश्वले नबुझ्न सक्छ । बुझाउने जिम्मेवारी हाम्रै हो । हामी अघिपछि कुटाकुट गर्छाैँ। खानेबेलामा एकजुट हुन्छौँ । हाम्रो मुलमन्त्र हो, “मैले हानेजस्तै गर्छु तँ रोएजस्तै गर्नु । विकास त हामीले गरेकै छौँ । बाटामा देशभर डोजर चलेकै छन् । बनाउनेभन्दा भत्काउने काम चलेकै छ । गाउँगाउँबाट युवा निर्यात गरिएकै छ । लसुन नफलाए पनि सुन ओसार्न छोडिएको छैन । सरकारी जग्गा फाल्तु नराखौँ भनेर व्यक्तिका नाममा नामसारी गरिएकै छ । सरकार चलेको छ । सहकारी चलेका छन् । मिटर ब्याजीहरू चलेकै छन् । राजश्व छलीबाट पनि अलिकति फाइदै भएको छ । देश समृद्धिको बाटोमा गएकै छ ।

हामीले सत्ता पक्ष र प्रतिपक्षको गहन भूमिका खेलेकै छौँ । देख्दा एकले अर्कोलाई पेलेकै छौँ । सत्ता बाहिर बस्दाका पीडा झेलेकै छौँ । त्यसैले त बेलाबखत ङ्यार्र ङुर्र गर्छौं । सत्ता पल्टाएझैं गर्छौँ । पल्टिएझैँ गर्छाैँ । रिले दौडजस्तै सत्ता दौड चलिरहन्छ । सत्ता चलायमान भइरहन्छ । खाने खेलो चलिरहन्छ । कोही अलिक नेपरियो भने फाइल … खोल्दिऊँ ? भने पुग्छ । कसैका संसदीय छानबिन समिति… भनेपछि नौ नारी गलिहाल्छन् । तैँ चुप मै चुप । काले काले मिलेर खाम भाले । चुनावमा चारो फालेपछि भोट झरिहाल्छ । खाने मुखलाई जुँगाले छेक्दैन । हारेपनि भाग बिलो लागिहाल्छ । सुरक्षा निकाय हाम्रै इसारामा चल्छ । अदालतमा हाम्रै कार्यकर्ता र एजेन्ट छन् । अख्तियार, सतर्कता केन्द्र आदि हाम्रै कठपुतली भैहाले । यहाँभन्दा धेरै नभनौँ । थाहा भयो होला नि हाम्रो लाजनीतिको सफलताको कथा । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड । त्यो पनि नबुझ्नेलाई मुसाको लिँड ।
जय लाजनीति ।

०००
रेसुङ्गा न पा -२, गुल्मी

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
नरनाथ लुइँटेल
Admin

फित्काैली मार्फत हास्यव्यङ्ग्य लेखनमा नयाँ नयाँ नामहरू उपस्थित हुँदैछन् । ती नयाँ नामहरू मध्ये रामप्रसाद पन्थी पनि एक हुन् । धेरै राम्राे सम्भावना बाेकेर देखा परेकाे याे नामलाइ हार्दिक बधाइ ।

ram prasad panthi
ram prasad panthi
2 years ago

धन्यवाद सर । स्थान अनि हाैसला प्रदान गर्नुभएकोमा ।

Ram Prasad Panthi
Ram Prasad Panthi
2 years ago

धन्यवाद सर ।

Nepal Telecom ad
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
3
0
Would love your thoughts, please comment.x
()
x