रामप्रसाद पन्थीलाजनीति
चुनावमा चारो फालेपछि भोट झरिहाल्छ । खाने मुखलाई जुँगाले छेक्दैन । हारेपनि भाग बिलो लागिहाल्छ । सुरक्षा निकाय हाम्रै इसारामा चल्छ । अदालतमा हाम्रै कार्यकर्ता र एजेन्ट छन् ।

रामप्रसाद पन्थी :
सनातनीहरूमा शास्त्रको कमी हुँदैन । हामीसँग अनेकौं पुराण, शास्त्र र वादहरू छन् । तन्त्रशास्त्रका अनेक शाखाहरू छन् । जसमध्ये मध्ये एक शास्त्र लाजनीति हो ।
लाजनीति भनेपछि प्रष्ट्याई रहनु पर्दैन । जसरी हलेदो भनेर जानेपछि कोट्याउनु पर्दैन । विश्वमा पहिलो लिखित संविधान जारी गर्ने अमेरिका र अलिखित संविधान भएको बेलायतले हामीबाट केही सिक्नु पर्छ । हामीले संसारलाई पाठ पढाउने गरी लाजनीतिक संस्कार निर्माण गरेका छौं । हाम्रो सफलताको कथा राख्न चाहन्छु ।
हिजोको निरङ्कुशतालाई अङ्कुश लगायौँ । राणातन्त्रलाई फालेर छाडातन्त्र विकसित गर्दै गर्दा कु गरियो । पञ्चायती व्यवस्था फाल्न ऊसित मिलेर ऊ गरियो । प्रजातन्त्रमा भएका कमजोरी हटाएर पर जा तन्त्र विकसित गर्दै थियौँ त्यसलाई पनि सफल हुन दिइएन । त्यसका लागि खान नपाएर वन पसेका र घुडा धसेर खान बसेका मिलेर लोकतन्त्रका नाममा सङ्घर्ष गरियो । हाम्रो सङ्घर्षको मक्सद थियो, राजा एउटा मात्रै हुँदा देश चलायमान हुन सक्दैन । हामी देशलाई चलायमान बनाउन चाहन्थ्यौँ । गलायमान र ढलायमान गराउन चाहन्थ्यौँ । यसर्थ अन्तरिम संविधान मार्फत लोकतन्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना गर्यौँ । पुराना राजा फाल्यौं । नयाँ राजा बन्न सफल भयौँ । त्यो हाम्रो सपना थियो । साकार पार्याैँ ।
यो संसार यस्तै छ । एउटाले खाएको, लाएको अर्काले डाहा गर्छ । फरक पर्दैन । कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ । अगुल्टाले हानेकोे कुकुर विजुली चम्कदा तर्सिदै गर्छ । रोएर भएन । कराएर भएन । हिजो हामीले दुःख गर्योैँ । जेल गयौँ । नेल लगायौँ । बलिदानी गरायौँ । रगत बगायौँ । अहिले आहारिस गरेर हुँदैन बाबै ! खान्छौँ त खान्छौँ । आफ्नैआर्जन खान्छौँ । आफ्ना आफन्तलाई खुवाउछौँ । अरूको टाउको दुख्नु पर्ने किन ? टाउको दुःखे सिटामोलको गोली खाए त भैगो नि !
विरोधीहरू बर्बराएको सुनियो । लोकतन्त्र लोकतियो भनेको पनि पाइयो । गणतन्त्रलाई गाँडातन्त्र, छाडातन्त्र, भाँडतन्त्र, साँडेतन्त्र भनेर भाष्यहरू सिर्जना गर्न खोजियो । जसले जे सुकै भनोस् त्यो हाम्रो चासोको विषय होइन । हाम्रो चिन्ता र चासोको विषय हामीले लाजनीतिक संस्कारलाई संस्थागत गर्नुपर्छ । देशी अनि विदेशी प्रतिगामी शक्तिबाट लाजनीतिलाई जोगाउनु पर्छ । यसका लागि अनेकौ खेल खेल्नु पर्छ । जालझेल गर्नु पर्छ ।
हामीलाई कसैले केही सिकाउनु पर्दैन । हामीलाई कुटनीति भन्दा झुटनीति ज्यादा आउँछ । लुटनीति विषयमा महा विद्यावारिधी प्राप्त भएको कुरा भन्नै परेन । हामी कम्ता खेलाडी होइनौँ । अन्तर्राष्ट्रिय अवार्डका दाबेदार भन्ने संसारलाई थाहा छ । हामीले ब्याट नसमाई छक्का हान्न सक्छौँ । तास नछोई सत्ता पल्टाउन सक्छौँ । म्युजिकल चियर (कुर्सी दौड) प्रतियोगिता हाम्रो राष्ट्रिय खेल हुँदै भयो । यसमा वर्ल्ड रेकर्ड कायम भैसकेको छ । त्यसैले त सुरूमै भनिसकेँ । राजनीतिमा होइन लाजनीतिमा हामी अब्बल छौँ । जाबो राजनीतिको अभ्यास संसारले गरिरहेको छ । यो अभ्यास निकै पुरानो र थोत्रो भैसकेको छ । मैले भनिसकेँ नि हामी अमेरिका र बेलायतभन्दा माथि उठिसकेका छौँ । यति भनेपछि अरूको कुरै गर्नु परेन ।
कसरी भयो यस्तो चमत्कार ? विश्वले नबुझ्न सक्छ । बुझाउने जिम्मेवारी हाम्रै हो । हामी अघिपछि कुटाकुट गर्छाैँ। खानेबेलामा एकजुट हुन्छौँ । हाम्रो मुलमन्त्र हो, “मैले हानेजस्तै गर्छु तँ रोएजस्तै गर्नु । विकास त हामीले गरेकै छौँ । बाटामा देशभर डोजर चलेकै छन् । बनाउनेभन्दा भत्काउने काम चलेकै छ । गाउँगाउँबाट युवा निर्यात गरिएकै छ । लसुन नफलाए पनि सुन ओसार्न छोडिएको छैन । सरकारी जग्गा फाल्तु नराखौँ भनेर व्यक्तिका नाममा नामसारी गरिएकै छ । सरकार चलेको छ । सहकारी चलेका छन् । मिटर ब्याजीहरू चलेकै छन् । राजश्व छलीबाट पनि अलिकति फाइदै भएको छ । देश समृद्धिको बाटोमा गएकै छ ।
हामीले सत्ता पक्ष र प्रतिपक्षको गहन भूमिका खेलेकै छौँ । देख्दा एकले अर्कोलाई पेलेकै छौँ । सत्ता बाहिर बस्दाका पीडा झेलेकै छौँ । त्यसैले त बेलाबखत ङ्यार्र ङुर्र गर्छौं । सत्ता पल्टाएझैं गर्छौँ । पल्टिएझैँ गर्छाैँ । रिले दौडजस्तै सत्ता दौड चलिरहन्छ । सत्ता चलायमान भइरहन्छ । खाने खेलो चलिरहन्छ । कोही अलिक नेपरियो भने फाइल … खोल्दिऊँ ? भने पुग्छ । कसैका संसदीय छानबिन समिति… भनेपछि नौ नारी गलिहाल्छन् । तैँ चुप मै चुप । काले काले मिलेर खाम भाले । चुनावमा चारो फालेपछि भोट झरिहाल्छ । खाने मुखलाई जुँगाले छेक्दैन । हारेपनि भाग बिलो लागिहाल्छ । सुरक्षा निकाय हाम्रै इसारामा चल्छ । अदालतमा हाम्रै कार्यकर्ता र एजेन्ट छन् । अख्तियार, सतर्कता केन्द्र आदि हाम्रै कठपुतली भैहाले । यहाँभन्दा धेरै नभनौँ । थाहा भयो होला नि हाम्रो लाजनीतिको सफलताको कथा । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड । त्यो पनि नबुझ्नेलाई मुसाको लिँड ।
जय लाजनीति ।
०००
रेसुङ्गा न पा -२, गुल्मी









































फित्काैली मार्फत हास्यव्यङ्ग्य लेखनमा नयाँ नयाँ नामहरू उपस्थित हुँदैछन् । ती नयाँ नामहरू मध्ये रामप्रसाद पन्थी पनि एक हुन् । धेरै राम्राे सम्भावना बाेकेर देखा परेकाे याे नामलाइ हार्दिक बधाइ ।
धन्यवाद सर । स्थान अनि हाैसला प्रदान गर्नुभएकोमा ।
धन्यवाद सर ।