साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सने रोग

आफ्नो कर्तव्य बिर्सिने अरुको निन्दोचर्चा नबिर्सिने। आफ्नो कानको श्रवणशक्ति, आँखाको दृश्यशक्ति, दिमागको कल्पनाशक्तिको मापन गर्न बिर्सने बिर्सुवाहरूलाई के औषधि बन्ला र ?

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

मानिस‌मा लाग्ने धेरै रोगहरूमध्ये एउटा मामुली रोगको नाम हो बिर्सने रोग। होमियोप्याथी, आयुर्वेद, एलोप्याथी, अक्कुपञ्चर, अक्कुप्रेसर आदि नाम चलेका चिकित्सापद्धतिले पनि निमूल पार्न नसकेको रोग । पुरानादेखि आधुनिक चिकित्सापद्धति पनि आजित भइसके योसँग। अरुथोक त परै जावस् धामीझाँक्रीका मानापाथी, जन्तरबुटी अनि जोतिषका रत्नजडित औंठी दशै औंला र गलामा झुण्ड्‌याउँदा पनि परिणाम भने उस्ताउस्तै ।

मुटुको ओपनहार्ट र क्लोजहार्ट सर्जरी भित्रिसक्यो । दिमागमा पुगेको टेपवर्म पनि आधुनिक औषधिले चुप लागेर बस्न मञ्जुर भइसक्यो। सुगर प्रेसरले पनि कान समाइ सके। पूर्ण निमन नभए पनि औषधिले धानिरहेका छन् । किड्नी, कलेजो, फोक्सोका झिनामसिनादेखि उच्चकोटीका समस्याहरु समाधानको बाटोमा छन् । ती रोगहरु शतप्रतिशत निदान हुन नसके पनि ८०% समस्याहरु हल भएका छन् । २५ वर्षदेखि औषधि सेवन गर्न थालेको व्यक्ति ९० वर्षसम्म पनि बाँचेका छन् । तर अचम्मको कुरो बिर्सने रोगको चाहिँ न औषधि नै बन्यो त सर्जरीको उपचारात्मक औजार वा पद्धति नै ।

उद्‌भवदेखि एक इन्च पनि नझरेको वा नघटेको रोग के हो भन्दा लगभग सबैको जिब्रोबाट एउटै उत्तर हाजिर हुन्छ बिर्सने रोग । बिर्सने पनि कतिसम्म भने आफ्नो नाम र आफू कुन उद्धेश्यले यहाँ आएको समेत बिर्सिदिएर चौपट्ट । मान्छेले त बिर्सियो बिर्सियो शरीरका अङ्‌गले समेत बिर्सिदिएर बेला न कुबेला अप्ठ्‌यारोमा पारिदिन्छ । हात एकातिर जानुपर्ने अर्कोतिर गइदिन्छ । दियोको पूजन गर्दा उच्चारण गर्नुपर्ने श्लोक जिब्राे चिप्लिएर-“शुभम् भवतु कल्याणां आरोग्यं सुख सम्पद” सम्बोधन हुनुपर्नेमा ‘ॐ त्वम् पूरा सागरोत्पन्ने विष्णु न निघृत करें’ को उच्चारण गर्न पुग्दछ । कतिले एकाग्र नभए‌को क्या भनी टारिदिन्छन् बिर्सने रोगलाई । तर त्यो मामुली कुरोचाहिँ पक्कै होइन ।

अध्यात्म जगत‌ले बिर्सनुलाई त्यति धेरै अपराध ठान्दैन । बिर्सुवाहरुको लागि नरकको व्यवस्था शास्त्रादिमा भेटिन्न । अरुथोक बिर्सिए पनि भगवानको नाम नबिर्सिए भैगो नि भन्ने उसको तर्क छ। चतुरा आधुनिक भौतिकवादीहरुले त्यस कुराजाई च्याप्पै समाते। अध्यात्मवादी वा ईश्वरवादीहरूले तत्क्षण भगवान भगवानको नाम स्मरण गर्दा अपराधतर्फ लिप्त हुने फुर्सद नै हुन्न भन्ने तर्क दियो। भौतिकवादीलाई अनीश्वरवादी भनेर मैले १०० % ल्याप्चे मार्न खोजेको चाहिँ होइन।। आर्जन र सङ्ग्रहमा बढी दगुर्ने हुँदा त्यति भन्ने हिम्मत पलाएको मात्र हो । ईश्वरवादीले यदि गल्ती भइहाले भगवानसँग प्रयाश्चित गर्ने ढोका खोलिदिएपछि त उनीहरूको भुइँमा खुट्टो नै टेकिएन।

उनीहरूलाई के खोज्छस् माली फूलै फूलजस्तो भइहाल्यो। त्यो त जानाजान गल्ती गर्नेका लागि प्रतिपादित सिद्धान्त थिएन। पूर्व नियोजित वा नियतवश गल्तीका लागि त्यो धारा आकर्षित हुन हुनै सक्दैनथ्यो। त्यही धारामा टेकेर लिएको ऋण र ऐँचोपैंचो बिर्सने अभ्यास गरेको देखिन्छ। अझ यो काम पूरा भएमा यो ल्याँउला त्यो ल्याउँला भन्दै भगवानलाई फकाउने जुक्तिरुपी अस्त्रको रूपमा भाकल गर्ने परम्परा पनि बसाल्यो । त्यो ईश्वरवादीको आरोप पनि होला । मूर्ति बनाउने, पूजापाठ गर्ने, गजुर र घण्टा हाल्ने जस्ता काममा भौतिकवादीहरू हौसिनु कतै भगवानसँग एम्बेसडरको भूमिका त खेल्न खोजेको त होइन ? शङ्का गर्न त पाइयो नि।

हुँदै जाँदा बिर्सुवाहरूको घनत्व र लोकप्रियता शिखरोउन्मुख हुँदै गयो । भौतिकवादीहरूको बीचको अभ्यास नै को बढी बिर्सनेमा कम्पिटिसन बढेको बढ्यै छ। मस्तिष्कको कार्यबोझबाट यो समस्या उत्पन्न नभई बिर्सने एक्सरसाइजबाट अधिक फाइदा भएको अनुभवको नतिजाले नै बिर्सुवा रोगको उर्वर भूमि बनाइएकोमा धेरैको मतैक्य छ। दैनिक भौतिक विकासको उकालो यात्रामा यही मनोवृतिले जरा गाड्दै लग्यो। जुन ईश्वरवादीहरूले अनुसरण गरेको मार्ग विपरीत छ। आयुर्वेदका आठ शाखा (काय, शल्य, शालक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन विज्ञान, वजिकरण, भूतविधा) अष्टाङ्ग योग अन्तर्गत (यम, नियम, आसन प्राणायाम, प्रत्याहार, ध्यान धारण, समाधि) ले पनि बिर्सने रोगको टुपी न जरो केही पनि भेट्टाउन सकेन। बिर्सने समस्यालाई शास्त्रले छुट दिएको भन्दै बठ्याई गर्दै गयो भौतिकवादले।

अध्यात्मकवादीले गरेको स्वस्थ आलोचना ऊ सुन्न तयार भएन। यो चलाखीपनको दुष्परिणाम भौतिकवादले भोग्दैछ। अनिन्द्राका रोगीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। स्लिपिङ ट्याब्लेट नखाई निदाउनै गाह्रो छ। अब त्यसको दोष अध्यात्मवादीको टाउकोमा हाल्दिएर उम्कने यत्न हो नै। त्यो उसको दुष्प्रयत्न मात्रै हो क्या।
बिर्सनै हुँदैन भन्ने होइन। बिहानको तरकारी के खानुभयो ? भने सोध्दा निकै बेर ट्वाँ पर्ने पात्रहरू पनि भेट्छौं । १५ दिन अगाडि देखेको कुन कुन छाकमा के के खाइयो नबिराई उत्तर दिनेहरु पनि मनग्गे पाउँछौं । प्रत्येक सालको दशैं तिहारमा खर्चको विवरण र उपभोग्य वस्तुको लिस्ट जतिखेर चाहियो त्यतिखेर भन्न सक्ने व्यक्तिहरू पनि बाक्लै भेट्छौं। बिर्सनेहरू भने चाहिँ एकै प्रकृतिका भेट्दैनौँ । एक दिनको कित्ताकार गर्दा भने प्रभातकालीन, दिवाकालीन, रात्रिकालीन गरी ३ कोटीका बिर्सुवा हातलागी हुन्छ। बिहान पटक्कै सुद्धि नहुने, घाम चम्किदा र रात छिपिँदा बिर्सिएर हैरान पार्ने पात्र अन्यत्र किन आफ्नै परिवारमा त्यो प्रकृतिको जनघनत्व बढी नै भेट्न सकिन्छ। अझ अहिले झुल्किएको अल्जाइमरले नयाँ जति बिर्सिने र पुरानो मात्र सम्झिने गरी गाँडमाथि पिलो थपिएको छ।

तपाईं आफै गाडीको पछाडि बसेर गम्नुहोस् या त शान्त जङ्गलको एकान्तिक परिवेशमा आज दुनियामा जे जति समस्याको थुप्रो लागेको छ। ती सबै बिर्सने रोगकै कारण झनझन मौलाएको छ। कसैको आमाबुबाको गुन, कोहीकोहीले दाजुभाई तथा ससुरालीको सहयोग, कुनै कुनैले राज्यले दिएको संरक्षण चटक्कै बिर्सिएर होस्ल्याङे बनेका छन्। अब यस्ता पात्रहरूले त प्रकृतिको निस्वार्थता, पुर्खाको वीरता,आफन्त र पत्नीको त्याग, राज्यप्रतिको दायित्व, विकासका आधारशील एकैपटक प्याकेज वा होलसेलमा बिर्सिएर चकित परेका छन् । समयको कालखण्ड चिनाउने हो भने भूतकालीन, वर्तमानकालीन, भविष्यतकालीन बिर्सुवाहरूको सीमाङ्कनले खासै अन्याय नपर्ला ।

भूतकालीन बिर्सुवा- यस्ता कोटिका बिर्सुवाहरूले विगतमा गरेका सम्पूर्ण कार्यहरू भुसुक्क बिर्सिदिन्छन्। ताते गरी आफूलाई खेलाउने, आफू भोको बसेर छोराछोरीको स्याहार सम्भार गर्ने आमाबाबु, आफूलाई पढाउने गुरु गुरुआमा, आर्थिक सहयोग गरिदिने साहु, इतिहास रचिदिने शहीद, अस्तित्व जोगाइदिने आफन्त, छोरी दिने दिवङ्गत सासुससुराहरू बिर्सने समस्या आउँछ।

वर्तमानकालीन बिर्सुवा-विगतका मात्र के कुरा । यी बिर्सुवाहरूले त वर्तमानमा सम्पन्न नगरीनहुने कर्म भुसुक्क बिर्सिएर भविष्यको चित्र कोर्दै ध्यानजति त्यतै दुगुराउँछन्। छोराछोरीको विवाह नगरेको कुरा बिर्सिएर नजन्मिएका नाति नातिनाको कोक्रोको खोजीमा दुगुर्छन्। उही अण्डाको टोकरी बोक्नेले चल्ला बेचेर कुखुरा, त्यो बेचेर भैँसी, त्यसपछि खेत। त्यहाँदेखि यहाँसम्मको भन्दै हातको काल्पनिक नापो लिँदा अण्डा जति सबै एकैपटक भुइँमा खसेर फुटेपछि पुर्पुरोमा हात राखेझैँ आफ्नो अगाडिको सबै भुल्ने भुलक्कडहरुलाई वर्तमानकालीन बिर्सुवाको कोटीमा राख्न मनासिव नै हुन्छ।

भविष्यतकालीन बिर्सुवा-यो कोटीमा पर्नेहरू झन् डरलाग्दा हुन्छन्। इज्जत, प्रतिष्ठा, मान, मर्यादा, यश कीर्ति झ्वाम्म जुवामा फाले झैँ खर्बपतिका संवाहकहरू पराइको दास बन्ने मनोवृति बोकेर हिँड्न तयार हुन्छन्। भविष्यको आफ्नो ब्राइट स्थिति चटक्क बिर्सिएर वर्तमानको खुद्रे खनखाँचोमा सबै स्वाहा पार्दछन्। अपार सम्पन्न बन्ने ती सम्भावना कुल्चेर गहतको झोलमा त के गुन्द्रुककै झोलमा आफ्ना सन्तान दरसन्तानको सुख खोसिदिने वर्गका बिर्सुवाहरू विश्वका जुनसुकै कुनामा या त हाम्रा छरछिमेकी पनि हुन सक्छन्। आफ्नो कर्तव्य बिर्सिने अरुको निन्दोचर्चा नबिर्सिने। आफ्नो कानको श्रवणशक्ति, आँखाको दृश्यशक्ति, दिमागको कल्पनाशक्तिको मापन गर्न बिर्सने बिर्सुवाहरूलाई के औषधि बन्ला र ?

दिनु पर्दा बिर्सिने लिनुपर्दा चाहिँ नभुल्ने नियतिबाट छर्लङ्ग हुन आउँछ कि बिर्सने रोग नियतको नाटकसँग पनि जोडिएको छ। भ्रष्टाचार, अनैतिक कर्म, दुष्चरित्रका सबालमा। ऊ हतपति बिर्सिँदैन। कर्तव्यनिर्वाह, सत्कर्म गर्नुपरे ऊ भुसुक्क बिर्सिदिन्छ। पत्नीको दीर्घरोगको औषधि किन्न बिर्सने त्यही व्यक्ति घरबाहिरकी प्रेमिकाको फोन दिनमा १० पटक आओस्, प्रत्येक पटकको फोनको आगमन कल र ड्युरेसन पनि याद गरेको हुन्छ। विकासतर्फको भन्दा कमिसन तर्फको फाइल बढी याद भएको सर्वेक्षणले देखाएको छ। अब निष्कर्ष निस्कन्छ बिर्सने रोग रोगको रूपमा नभएर मान्छेको यस्तो मानसिक अवस्था हो जुन स्वार्थको सोपान उक्लिन्छ र हलक्क मौलाउँछ।

बिर्सिने समस्यालाई कोही शारीरिक अङ्गलाई दोष दिन्छन् त कोही आहारविहारलाई। कतिले गिदीको कार्यदक्षतालाई जोडेर विश्लेषण गरे। बिर्सने रोगलाई जानेर वा नजानेर सबैले हल्का डिस्काउन्ट गरेको देखिन्छ। बिर्सिए लज्जित हुनुपर्ने, चोरीको दोष पनि व्यहोर्नु नपर्ने, मान्यता बजाएकाले अभिजातीय वर्गदेखि विपन्न वर्गसम्मकाले पेन कोटमा भिरेझैँ भिरी हाल्छन्। अलि महँगो खाले जुत्ता र पाइन्ट पनि आफ्नै भान्जाभान्जीले भिरिदिएर हैरान पार्दा पनि रिसाउन नमिल्ने हुँदा बिर्सने रोगले रिसलाई माइनस गर्ने हुँदा यो रिसको औषधि पनि हो कि ?
ऊँ विस्मरणाय नम: ।

०००
२०८१/२/१२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
test name
test name
1 year ago

बिर्सने रोग काे …. test

Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x