चूडामणि रेग्मीमुखले खाइस् !
अर्काको टाउकोमा गिर खेल्ने धेरै छन् यहाँ । दाउ लाउने मनुष्यप्रवृत्ति जिउँदो छ । देश र समाजको गाईजात्रा भए पनि आफ्नो इज्जत बढाउने प्रवृत्तिले छट्टू रूप धारण गरको छ हजुर हो ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन्् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
मुखका कुरा
एक जनाले गफडीलाई भन्यो- ‘गफडी मुखैले खाइस् !’ यसो भन्दा गफडीका पेटमा कुरा खेले । जब-जब पनि गाँठी कुरा पर्छन्, तब-तब कार्यकर्ता हराउँछन् अनि यी छन्द नै चम्किन्छन् । ठुलो मन्त्री खाने बेला, राजदूत पड्काउने बेला छट्टू नै अगि हुन्छन्, कार्यकर्ताचाहिँ पछि पर्छन्, तर जब लड्नुपर्छ र मुकाविला गर्नुपर्छ तब कार्यकर्ता अघि पारिन्छन् र छट्टू मुख चलाउन थाल्छन् । छट्टूहरू मुखमा जे आयो त्यो बोल्छन्, उनको मुख कसले टाल्ने कार्यकर्ताले उनकै मुख ताक्नुपर्छ, मात्र केही परे मुख चियाउनुपर्छ । छट्टुको मुख चल्छ, तर उसको मुख कसले च्यात्ने ? त्यस छट्टको मुख कसले थुन्ने ? उसका कुराले कसैको मुखमा माड लाग्दैन तैपनि ती हाम्रो आउँछन् । भनाइको अर्थ छट्टूहरूका मुखमा कहिल्यै ताला लाग्दैन र कामजति कार्यकर्ता गर्छन्, उनी भने मुखैले खान्छन् । छट्टको मुखको आज भोलि सबैतिर यस्तो चल्ती देख्दा गफडीलाई चिन्ताले खाएको छ, तर गफडीलाई जे परोस्, कसलाई के चिन्ता । अँ, आफै गफडी पनि सोरआना चिन्तित भई छट्पटिएको छैन र बस ! तिनकै जयजयकार गर्छ । इन्क्लाव जिन्दावाद । गफडीभन्दा दरोसँग मुख चलाउने छट्टूवर्ग ! जिन्दावाद !
काम र कुरा
काम एक । कुरा एक । छट्टूका सफलताको रहस्य ! यहाँ बडे-बडे समाजसेवी कुरा पघितै गर्छन्, खुब फलाक्छन्, खुब कुरा कप्न पाउँछन्, कुरा मिलाई-मिलाई आ-आफ्ना कुरा माथि पार्छन्, कुराले ती ठिक्क पनि पार्छन्, तर ती व्यवहारमा विव्ल्याँटा छन् । आकाश-पातालका गफ हाँक्ने ती कामले सिन्को भाँच्तैनन् । आफ्ना सजग वक्ताहरू यस्ता देख्ता आफ्नै छातीमा मुड्कीले हान्न मात्र मन लाग्छ, कहिलेकाहीँ कन्सिरी पनि तात्छन् । कम्मर कसेर केही गरौँ भन्ने भावनाले तिन चित खाएको छ यहाँ- यस्तै-यस्ता कुरौटेको भरमार हुनाले गर्दा । हुन पनि त मुख चलाउन, फट्कार्न जति सजिलो हुन्छ, पाखुरा चलाउन उति नै गारो । कलिजुगका ठुलावडा ऋषिमुनिले यसो हुन नदिन बल गर्दै बाटो तताए, कुलेलम ठोके ।
अरिँगालको गोलामा हात
छट्टूलाई धूर्तताले टन्न कसेको यस क्षेत्रमा हात हाल्नु अरिँगालको गोलामा हात हाल्नु हो । स्यालहरूले हल्लखल्ल गरेर कानका किरा खान्छन् । यस्ताहरूका अगाडि उभिनोस्, कुकुर-बिरालो जस्तै हुनुपर्छ । कागको गुँडबाट फुल पार्नेहरू, कन्सुत्लो लाग्नेहरू, चमेराहरू, जम्बू मन्त्रीहरूले पर्सेको बोको पार्छन् । सिङ भए सिङ भाँचिदिन्छन् बकुल्लाभक्तहरूले । बिरालाले मुसो खेलाएझैँ, नक्कली मुजुरले नचाउँछन्, त्यसैले केही गर्छु भन्नेले सुनको मिर्ग खेद्छ, सुनको ढुकुरको सिकार गर्छ भन्नु हो – यहाँ बहुत मुस्किल छ केही गर्न पनि ।
औँसी-पुर्ने
सबैले देखेको छ, यहाँ औँसीपुर्ने भइरहन्छ । वास्तवमा, यहाँ औँसी- पुर्नेको स्थिति छ । यहाँ कहिले आँधी आउँछ त कहिले रुखका पात हल्लिने हावा पनि लाग्दैन । यहाँ कति बहादुर कुना पस्छन्, अनि कति बाघ स्याल हुन्छन् । गफडी कुराको जड समाउन सक्तैन तर देख्छ यहाँ जहाज डुबिरहन्छ । गफडी दुनियाँ हँसाउन चाहँदैन- तर ऊ नहुने कुरा गरेर धुरी चढ्न पनि चाहँदैन- यहाँको वातावरण औँसी-पुर्ने छ- कहिले अँध्यारो छ त कहिले उज्यालो । जब-जब छट्टूहरूको चटक लाग्छ, तब उज्यालोमा पर्दा लाग्छ अँध्यारो हुन्छ, औँसी हुन्छ, जब- जब चटकेका छट्याइँको भेद जान्ने बाठा अघि सर्छन्- पर्दा खुल्छ- उज्यालो हुन्छ । जहिल्यै यहाँ औँसी-पुर्ने छ !
पातमा पात ! वातमा वात !
यहाँ जाडो आए जाडो छल्न चाहन्छन् मनुष्यहरू । दशैँ आएँ चाहाड मनाउन चाहन्छन् मनुष्यहरू । पातमा पात हुँदा झैँ बातमा बात भन्छु- यहाँ मनुष्यहरू मौका चुक्न दिँदैनन्, मौका हेर्छन्, अवसर पनि चिन्दछन् । आफू थामिने प्रवृत्ति ज्युदो यहाँ । यहाँ असली खेल नखेलिए पनि गिर खेल्ने चलन छ- अर्काको टाउकोमा गिर खेल्ने धेरै छन् यहाँ । दाउ लाउने मनुष्यप्रवृत्ति जिउँदो छ । देश र समाजको गाईजात्रा भए पनि आफ्नो इज्जत बढाउने प्रवृत्तिले छट्टू रूप धारण गरको छ हजुर हो । यहाँ त्यसैले छट्टूको हुल चिनी, छट्टूपुराण अहिले यही बन्द गर्छु, आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अड्क ५ २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































