साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो अब व्यङ्ग्य लेख्दिनँ !

युट्युवेहरू पैसा झार्न, भिउज कमाउन अर्काको घर भाँड्न सेकेण्ड नबिराई पुगेकै छन् । थाप्लोमा ऋण जसको पनि छ । जहाँ पनि जोडतोडले अशोभनीय साइरन बजिरहेको छ । यहाँ जसरी चलिरहेको छ त्यसैगरी चलाइएको छ ।

Nepal Telecom ad

रेहित सैजु :

आज बिहान बिहानै दिमाग चल्मलायो र आफैँलाई गाली गरेँ, ‘होइन, म किन व्यङ्ग्य लेखिराछु ? म के अपेक्षाले व्यङ्ग्य लेखिरहन्छु ? धर्तीमा मान्छे जन्मनु मर्नु सामान्य प्रक्रिया हो भन्ने मेरो सुद्धीको बिर्को खुल्न मानेनन् कि क्या हो… ! मान्छे एकचोटी मरेपछि अर्कोचोटी उही पात्र भएर जन्मिदैनन् भन्ने ज्ञान कतै मैले पोलेर त खाइनँ नि ! भाग्यले पाएको जुनीमा अरुले जस्तोसुकै खालको जिन्दगी बिताओस् । मोजमस्ती भोगविलास, सुख सयल होस् कि घाँटीमा धर्को मयल होस्, मलाई केको लुतो कन्याई हो फेरि ? अनि व्यङ्ग्य लेख्दा चाहिँ के माथिल्लो ओहदाका नेता, धनी, खानदानी, मास्टर, डाक्टर, पास्टर, नेतृत्व, अगुवा व्यक्तित्वहरूकै गर्नै पर्छ र… ? सामान्य गरिब गुरुवा, विधुवा, कतै पहुँच नभएकाहरूप्रति लक्षित गरी व्यङ्ग्य लेख्न मिल्दैन र… ? व्यङ्ग्य सम्म लेखेको त लौ ठिकै थियो अझ व्यङ्ग्यमा हास्य पनि मिसाएर हास्यव्यङ्ग्य रे… । हैन, मलाई अर्काको मजाक उडाएर पाउनु चाहिँ के छ क्या ?’

हुन पनि हो, अलिक अस्ति एउटा साहित्यिक कार्यक्रममा गइरथेँ । कार्यक्रम सुरु हुनुभन्दा पाँच सात मिनेट अघि नै पुगिएछ । चिनेको अनुहार कोही नदेखेपछि भित्ताको मेचमा कोही आएर सँगै बसिदिए हुन्थ्यो नि भन्ने भावमा लुत्रुक्क परेर बसेको थिएँ । नभन्दै केहीबेरमा सुकिलो पहिरनमा हेर्दा भलाद्मी देखिने मान्छे मेरै छेउमा बस्न आयो । बडो सजिलो खालको मान्छे रहेछ ऊ परिचय गर्न आफैँले हात बढायो र भन्न थाल्यो, ‘म चाहिँ फलानो । यस्तो यस्तो गर्छु । अलिलि मुक्तक, गजल कोपर्छु, हालसाल चाहिँ लघुकथामा रम्न थालेको छु । मलाई त यस्तो पनि लाग्छ, मेरो फोक्सोले अक्सिजन र कार्वनडाइअक्साइड नभएर मुक्तक र गजल नै फेर्छ होला । अहिलेसम्म यस्तो यस्तो नामको सम्मानपत्र, पुरस्कार हात पारेँ । अब यसो मानसरोवरतिर गएर यात्रा संस्मरण पनि लेखूँ कि जस्तो पनि लाग्छ तर गाह्रो पनि हैन, सजिलो पनि छैन । अलिपछि गएर कसैलाई मेरो आत्मकथा लेखिदिनु भन्नु पर्ला । अनि मित्र तपाईंको परिचय ?’
उनको गलफत्ती गफले म अलिनो मन लिएर परिचय दिन थालेँ, ‘म चाहिँ रेहित सैजु, खास उल्लेख्य प्रगति केही छैन । कहिलेकाहीँ समय मिल्दा व्यङ्ग्य निबन्ध लेख्ने गर्छु मात्र के भन्न लाग्दै थिएँ साथीको भर्खरैको अनुहारको चमकता अलिनो हुँदै मलिनोमा परिणत भयो । उसको हाउभाउले ठाउँ छाडेपछि मैले आफ्नो बहकाउ बन्द गरेँ र साथी जुरुक्क उठेर मभन्दा केही अगाडि बस्न गयो । थुक्क व्यङ्ग्य लेख्छु नभनेको भए पनि हुने रहेछ, मनमा दुइ तिन दिन थकथकी लागिरह्यो ।

खासमा म साहित्य नलेख्छु भन्दा भन्दै पनि कोपरिराछु । यताउताका शब्द, भावहरू तानतुन गरी नाम मात्रको साहित्य थोपरिराछु । त्यसो त अहिले साहित्यमा यस्तै प्रवृत्ति त आवृत्ति भइरहेको छ नि… अरुहरूले पनि यताबाट जोडघटाउ, उताबाट गुणन भाग गरेर लेख्ने गरेका छन् । कसैले तपाईंले लेखेको त यताको सक्कल बमोजिम नक्कल छ भनेर केरकार गर्न थाले प्रभाव परेको होला, भाषा सबैको साझा हो, यो विशुद्ध साहित्य सेवा हो कसैको पेवा होइन भनेर मेवा ख्वाइदिए जस्तोसुकै परिस्थिति टार्न सकियो । यस्तो छुट भएपछि मैले साहित्य नलेख्ने कुरै भएन । अहिलेसम्म जति लेखियो सबै दर्ज भएकै छन् । कतै मर्ज भएका छैनन् । कसरी लेखियो भन्दा पनि त्यसरी लेखियो जसरी जानियो । कुरै सकियो ।

अब चुरोको कुरो फुकाल्दै छु । साहित्यमा लाग्नुको कारण माथि नै उल्लेख गरिसकेको छु । लेख्ने तौरतरिका जानेपछि जहाँ जे विधा लेखे पनि हुन्छ भन्ने मेरो ठम्याइँ छ । गीत, गजल, कविता, मुक्तक, लघुकथा लेखनमा ठूलो भीड, घम्साघम्सी देखेपछि ‘अनिकालमा बीउ जोगाउनु पर्छ, भीडमा जिउ जोगाउनु पर्छ’ भन्दै बाटो मोडेर म आफै जानाजानी व्यङ्ग्य लेखनतर्फ लागेको हुँ । ‘सिद्धान्तलाई एकान्तमा मिल्काएर आफ्नै दृष्टान्तमा ढाल्नु मेरो विशेषता हो ।’ यो लाइन मेरो पाल्तु समीक्षकले कुनै दिन बफे डिनर गर्दै गर्दा मलाई भनेका हुन् । व्यङ्ग्य लेख्नु र व्यङ्ग्य लेखे जस्तो गर्नुमा कति फरक छ त्यो मेरो बलबुताले भ्याउने कुरै भएन । यद्यपि म चाहिँ व्यङ्ग्य लेख्ने भन्दा पनि व्यङ्ग्य लेखे जस्तोमा पर्छु । किनकी बलजफ्ती कनेर, अक्षर गनेर लेख्नुको नतिजा लेखेजस्तो गर्नु नै हुन आउँछ । हुन त जसरी लेखे पनि मैले व्यङ्ग्य लेखेकै हो, यो कसैले नकार्न सक्दैन ।

हेर्नुस् न व्यङ्ग्य लेखेजस्तो गर्नु पनि व्यङ्ग्य लेख्नुजस्तै घातक रहेछ । यो पनि धेरैजस्तोलाई अपाचक हुनेरहेछ । हुन त गाली, कुण्ठा, इवि, झटारो कसको पो सहनीय कुरा हो र… ! कसले मनपराउँछ र… ! हत्तेरिका, व्यङ्ग्य लेखेजस्तो गर्ने भएपछि मान्छेहरू मलाई भेट्नै चाहन्नन् । उफ् ! घरपरिवार, छिमेकी नरनाता रुष्ट छन् । धन्न ढुटो ठटाएसरी ठटाउन चाहिँ आएका छैनन् । बाहिर कतै निस्किन लाग्दा साथीभाइ नपाएर एक्लै फतफताउँदै हिँड्नु परेको छ । कतै लाइन बस्नुपर्ने झन्झट आइलाग्यो भने मैले लाइन मिच्नै पर्दैन, मलाई चिन्नेहरूले त्यतिकै अगाडि राखिदिन्छन् । मेरो त नबन्नेखाले काम मात्र बन्छन् । फत्ते हुनु पर्ने काम कुनै बन्दैनन् । व्यैक्तिक, पारिवारिक, सामाजिक, राजनैतिक, आर्थिक, साहित्यिक लगायत विविध व्यवहारिक मामलामा खुब पछाडि परेको छु ।

यो अवस्था मैले त खेपेँ खेपेँ हुँदा हुँदै यसको प्रभाव आफ्नै परिवारमा प्रत्यक्ष समानुपातिक सम्बन्ध राख्ने रहेछ । दिनमा सत्र चोटी झगडा गरिरहने मेरै अर्धाङ्गिनीले एकदिन नम्र हुँदै भन्न थालिन्, ‘हेर बुढा तिम्ले नलेख्नु साहित्य लेख्यौ । कसैले नरुचाउने व्यङ्ग्य लेख्यौ । तिम्ले व्यङ्ग्य लेख्ने भएर तिम्लाई, मलाई र हाम्रो परिवारलाई कति गाह्रो भइरहेको छ बुझैकै होला… म माइत र तिमी ससुराली नगएको कति भयो तिम्लाई नै थाहा होला… ऐँचो पैँचो लेनदेन नभएर घर व्यवहार, कारोवारमा कति गाह्रो भएको छ मैलै भन्नै परेन । ल्याकत नभएरै तिम्रो, मेरो रहरले गुँड छाडिसक्यो । भो बुढा बिन्ती अब व्यङ्ग्य नलेख्देऊ । बरू साहित्य नै लेख्छौ भने मेरो सुन्दरताको बारेमा लेख । छिमेकी दुष्टै भए पनि तिनको बनावटी रोचक प्रशंसा लेख । तँ नेता, तँ भ्रष्टाचारी, आतङ्ककारी भनेर त कसैलाई गाली नगर । सबैलाई इमान्दारी, सदाचारी, नैतिकवान्, भद्र शालीन व्यक्तित्व भनेर उल्लेख गर र पो तिम्रो प्रगति हुन्छ । जताततै वाहवाही हुन्छ । घरका भित्ताभरि सम्मानपत्र, पुरस्कार प्रमाण पत्रले भरिन्छन् । पैसावाला खामले स्वागत गर्छन् । खै, सुझबुझ लगाउन जानेको… मैले भन्न पर्छ सबै ?’

भदौको भरिलो सिस्नोले पोलेको भन्दा ज्यादा बुढीको कुराले तन, मन सबै पोल्यो । बाटो बिराएर धागो नछिराएको मैँ गुइँठेले त रहेछ नि । हुन पनि मैले व्यङ्ग्य लेखेर के पो भएको छ र… मेरो व्यङ्ग्य लेखले इञ्ची परिवर्तन आएकै छैन । गाउँ रित्तिरहेकै छ । युवाहरू झन् झन् विदेश गइरहेकै छन् । नैतिकता, इमान्दारिताले उहिल्यै तिलाञ्जली पाइसके । शिक्षा स्वास्थ्यको मूल्यले सगरमाथाको चुचुरोलाई तल नाम्चेमै छोडूँला झैँ गरेर अग्लिरहेकै छ । गरिबी भरमार छ । बेरोजगारीको नेप्से अङ्क दिनहुँ बढिरहकै छ । कृषिप्रधान देशको उपलब्धि निर्यात भुसुना हो भने आयात हात्ती हो । जताततै अस्तव्यस्त । दैनिक कारोवार तालमेलमा पटकौंपटक ब्रेक फेल भइरहेकै छ । अस्थिर राजनीति, सत्तामा पुग्नेहरूले लाज, घिन केही नमानी भत्ता पचाइरहेकै छन् । सम्बन्धविच्छेद गर्नेका सङ्ख्या असोचनीय रूपमा बढिरहेकै छ । युट्युवेहरू पैसा झार्न, भिउज कमाउन अर्काको घर भाँड्न सेकेण्ड नबिराई पुगेकै छन् । थाप्लोमा ऋण जसको पनि छ । जहाँ पनि जोडतोडले अशोभनीय साइरन बजिरहेको छ । यहाँ जसरी चलिरहेको छ त्यसैगरी चलाइएको छ ।

भो अब यो यथार्थ देख्दा देख्दै व्यङ्ग्य नलेख्ने चेष्ठा गरेँ मैले पनि । रेमिट्यान्सले बल्ल बल्ल धानेको मेरो देशको अवस्था बाहिर विदेशीहरूले थाहा पाए के गर्लान् ? यो मैले गम्भीर भएर सोच्नु पर्दछ । विदेशी आइदिएन भने मौसमी पर्यटन उद्योग पनि घायल पर्न सक्छ । यसै त भद्रगोल, झन् महाभद्रगोल आइलाग्न सक्छ । म भन्नु देश हो र देश भन्नु पनि म नै हो । तसर्थ अबदेखि ‘राम्रो म’ मात्र लेख्नेछु । भो अब व्यङ्ग्य लेख्ने वा लेखेजस्तो गर्ने कुकृत्य नगर्ने निर्णय गरेँ । व्यवहारिक झन्झट सुधार्न, घरपरिवार, साथीभाइ नरनाता आफन्तको सम्बन्ध आत्मीयतालाई बढावा दिन भए पनि ‘भो अब म व्यङ्ग्य लेख्दिनँ ।’

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

7 Comments
Oldest
Newest Most Voted
काईलो
काईलो
2 years ago

गज्जब छ ! अब कलम चलाएर गोजेरो भर्न र बैरीहरुको झांको झार्न सिपालु भैसकेकोमा बधाई ! अब चोटामा पुग्न सिंडिको संख्या कम मात्र बांकि छ है !

Last edited 2 years ago by नरनाथ लुइँटेल
रेहित सैजु
रेहित सैजु
2 years ago

हार्दिक आभार हजुर, नाम नखुलेकोले चिन्न अलि गाह्रो भयो।

Ramesh Bang,achari
Ramesh Bang,achari
2 years ago

एक चोटि डामे पछि खत बस्छ रेहित जी।व्यङ्ग्य नलेख्ने सर्तमा श्रीमति र छिमेकी खुसि त पार्नु भो तर तपाईंको पछि लागेका अनुयायि त मार्नु भएन नि ! ससुराल नगए पनि जीवन चल्छ तर हत्यारा बन्नु भएन नि ।लेख्नुस् व्यङ्ग्य लेख्नुस् । खवरदार ……

पीपी कोइराला
पीपी कोइराला
2 years ago

मेरा प्रिय सैजु सर।हजुर भैरव अर्यालको समवर्ती हाँस्य निवन्धकार
हुनुहँदो रहेछ।हार्दिक नमन सहित बधाई!!!

Gautam Karki
Gautam Karki
2 years ago

सुन्दर व्यङ्ग्य । व्यङ्ग्य विद्या /निबन्धमा रेहित जीको कलम सलल बगेको छ । शुभकामना ।🌷🌷

Rehit Saiju
Rehit Saiju
2 years ago

सुन्दर

tanka bahadur ale magar
tanka bahadur ale magar
2 years ago

sundar ra yathaartha lekhan .gajabko chhuttai dhaar.

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
7
0
Would love your thoughts, please comment.x
()
x