रेहित सैजुभो अब व्यङ्ग्य लेख्दिनँ !
युट्युवेहरू पैसा झार्न, भिउज कमाउन अर्काको घर भाँड्न सेकेण्ड नबिराई पुगेकै छन् । थाप्लोमा ऋण जसको पनि छ । जहाँ पनि जोडतोडले अशोभनीय साइरन बजिरहेको छ । यहाँ जसरी चलिरहेको छ त्यसैगरी चलाइएको छ ।

रेहित सैजु :
आज बिहान बिहानै दिमाग चल्मलायो र आफैँलाई गाली गरेँ, ‘होइन, म किन व्यङ्ग्य लेखिराछु ? म के अपेक्षाले व्यङ्ग्य लेखिरहन्छु ? धर्तीमा मान्छे जन्मनु मर्नु सामान्य प्रक्रिया हो भन्ने मेरो सुद्धीको बिर्को खुल्न मानेनन् कि क्या हो… ! मान्छे एकचोटी मरेपछि अर्कोचोटी उही पात्र भएर जन्मिदैनन् भन्ने ज्ञान कतै मैले पोलेर त खाइनँ नि ! भाग्यले पाएको जुनीमा अरुले जस्तोसुकै खालको जिन्दगी बिताओस् । मोजमस्ती भोगविलास, सुख सयल होस् कि घाँटीमा धर्को मयल होस्, मलाई केको लुतो कन्याई हो फेरि ? अनि व्यङ्ग्य लेख्दा चाहिँ के माथिल्लो ओहदाका नेता, धनी, खानदानी, मास्टर, डाक्टर, पास्टर, नेतृत्व, अगुवा व्यक्तित्वहरूकै गर्नै पर्छ र… ? सामान्य गरिब गुरुवा, विधुवा, कतै पहुँच नभएकाहरूप्रति लक्षित गरी व्यङ्ग्य लेख्न मिल्दैन र… ? व्यङ्ग्य सम्म लेखेको त लौ ठिकै थियो अझ व्यङ्ग्यमा हास्य पनि मिसाएर हास्यव्यङ्ग्य रे… । हैन, मलाई अर्काको मजाक उडाएर पाउनु चाहिँ के छ क्या ?’
हुन पनि हो, अलिक अस्ति एउटा साहित्यिक कार्यक्रममा गइरथेँ । कार्यक्रम सुरु हुनुभन्दा पाँच सात मिनेट अघि नै पुगिएछ । चिनेको अनुहार कोही नदेखेपछि भित्ताको मेचमा कोही आएर सँगै बसिदिए हुन्थ्यो नि भन्ने भावमा लुत्रुक्क परेर बसेको थिएँ । नभन्दै केहीबेरमा सुकिलो पहिरनमा हेर्दा भलाद्मी देखिने मान्छे मेरै छेउमा बस्न आयो । बडो सजिलो खालको मान्छे रहेछ ऊ परिचय गर्न आफैँले हात बढायो र भन्न थाल्यो, ‘म चाहिँ फलानो । यस्तो यस्तो गर्छु । अलिलि मुक्तक, गजल कोपर्छु, हालसाल चाहिँ लघुकथामा रम्न थालेको छु । मलाई त यस्तो पनि लाग्छ, मेरो फोक्सोले अक्सिजन र कार्वनडाइअक्साइड नभएर मुक्तक र गजल नै फेर्छ होला । अहिलेसम्म यस्तो यस्तो नामको सम्मानपत्र, पुरस्कार हात पारेँ । अब यसो मानसरोवरतिर गएर यात्रा संस्मरण पनि लेखूँ कि जस्तो पनि लाग्छ तर गाह्रो पनि हैन, सजिलो पनि छैन । अलिपछि गएर कसैलाई मेरो आत्मकथा लेखिदिनु भन्नु पर्ला । अनि मित्र तपाईंको परिचय ?’
उनको गलफत्ती गफले म अलिनो मन लिएर परिचय दिन थालेँ, ‘म चाहिँ रेहित सैजु, खास उल्लेख्य प्रगति केही छैन । कहिलेकाहीँ समय मिल्दा व्यङ्ग्य निबन्ध लेख्ने गर्छु मात्र के भन्न लाग्दै थिएँ साथीको भर्खरैको अनुहारको चमकता अलिनो हुँदै मलिनोमा परिणत भयो । उसको हाउभाउले ठाउँ छाडेपछि मैले आफ्नो बहकाउ बन्द गरेँ र साथी जुरुक्क उठेर मभन्दा केही अगाडि बस्न गयो । थुक्क व्यङ्ग्य लेख्छु नभनेको भए पनि हुने रहेछ, मनमा दुइ तिन दिन थकथकी लागिरह्यो ।
खासमा म साहित्य नलेख्छु भन्दा भन्दै पनि कोपरिराछु । यताउताका शब्द, भावहरू तानतुन गरी नाम मात्रको साहित्य थोपरिराछु । त्यसो त अहिले साहित्यमा यस्तै प्रवृत्ति त आवृत्ति भइरहेको छ नि… अरुहरूले पनि यताबाट जोडघटाउ, उताबाट गुणन भाग गरेर लेख्ने गरेका छन् । कसैले तपाईंले लेखेको त यताको सक्कल बमोजिम नक्कल छ भनेर केरकार गर्न थाले प्रभाव परेको होला, भाषा सबैको साझा हो, यो विशुद्ध साहित्य सेवा हो कसैको पेवा होइन भनेर मेवा ख्वाइदिए जस्तोसुकै परिस्थिति टार्न सकियो । यस्तो छुट भएपछि मैले साहित्य नलेख्ने कुरै भएन । अहिलेसम्म जति लेखियो सबै दर्ज भएकै छन् । कतै मर्ज भएका छैनन् । कसरी लेखियो भन्दा पनि त्यसरी लेखियो जसरी जानियो । कुरै सकियो ।
अब चुरोको कुरो फुकाल्दै छु । साहित्यमा लाग्नुको कारण माथि नै उल्लेख गरिसकेको छु । लेख्ने तौरतरिका जानेपछि जहाँ जे विधा लेखे पनि हुन्छ भन्ने मेरो ठम्याइँ छ । गीत, गजल, कविता, मुक्तक, लघुकथा लेखनमा ठूलो भीड, घम्साघम्सी देखेपछि ‘अनिकालमा बीउ जोगाउनु पर्छ, भीडमा जिउ जोगाउनु पर्छ’ भन्दै बाटो मोडेर म आफै जानाजानी व्यङ्ग्य लेखनतर्फ लागेको हुँ । ‘सिद्धान्तलाई एकान्तमा मिल्काएर आफ्नै दृष्टान्तमा ढाल्नु मेरो विशेषता हो ।’ यो लाइन मेरो पाल्तु समीक्षकले कुनै दिन बफे डिनर गर्दै गर्दा मलाई भनेका हुन् । व्यङ्ग्य लेख्नु र व्यङ्ग्य लेखे जस्तो गर्नुमा कति फरक छ त्यो मेरो बलबुताले भ्याउने कुरै भएन । यद्यपि म चाहिँ व्यङ्ग्य लेख्ने भन्दा पनि व्यङ्ग्य लेखे जस्तोमा पर्छु । किनकी बलजफ्ती कनेर, अक्षर गनेर लेख्नुको नतिजा लेखेजस्तो गर्नु नै हुन आउँछ । हुन त जसरी लेखे पनि मैले व्यङ्ग्य लेखेकै हो, यो कसैले नकार्न सक्दैन ।
हेर्नुस् न व्यङ्ग्य लेखेजस्तो गर्नु पनि व्यङ्ग्य लेख्नुजस्तै घातक रहेछ । यो पनि धेरैजस्तोलाई अपाचक हुनेरहेछ । हुन त गाली, कुण्ठा, इवि, झटारो कसको पो सहनीय कुरा हो र… ! कसले मनपराउँछ र… ! हत्तेरिका, व्यङ्ग्य लेखेजस्तो गर्ने भएपछि मान्छेहरू मलाई भेट्नै चाहन्नन् । उफ् ! घरपरिवार, छिमेकी नरनाता रुष्ट छन् । धन्न ढुटो ठटाएसरी ठटाउन चाहिँ आएका छैनन् । बाहिर कतै निस्किन लाग्दा साथीभाइ नपाएर एक्लै फतफताउँदै हिँड्नु परेको छ । कतै लाइन बस्नुपर्ने झन्झट आइलाग्यो भने मैले लाइन मिच्नै पर्दैन, मलाई चिन्नेहरूले त्यतिकै अगाडि राखिदिन्छन् । मेरो त नबन्नेखाले काम मात्र बन्छन् । फत्ते हुनु पर्ने काम कुनै बन्दैनन् । व्यैक्तिक, पारिवारिक, सामाजिक, राजनैतिक, आर्थिक, साहित्यिक लगायत विविध व्यवहारिक मामलामा खुब पछाडि परेको छु ।
यो अवस्था मैले त खेपेँ खेपेँ हुँदा हुँदै यसको प्रभाव आफ्नै परिवारमा प्रत्यक्ष समानुपातिक सम्बन्ध राख्ने रहेछ । दिनमा सत्र चोटी झगडा गरिरहने मेरै अर्धाङ्गिनीले एकदिन नम्र हुँदै भन्न थालिन्, ‘हेर बुढा तिम्ले नलेख्नु साहित्य लेख्यौ । कसैले नरुचाउने व्यङ्ग्य लेख्यौ । तिम्ले व्यङ्ग्य लेख्ने भएर तिम्लाई, मलाई र हाम्रो परिवारलाई कति गाह्रो भइरहेको छ बुझैकै होला… म माइत र तिमी ससुराली नगएको कति भयो तिम्लाई नै थाहा होला… ऐँचो पैँचो लेनदेन नभएर घर व्यवहार, कारोवारमा कति गाह्रो भएको छ मैलै भन्नै परेन । ल्याकत नभएरै तिम्रो, मेरो रहरले गुँड छाडिसक्यो । भो बुढा बिन्ती अब व्यङ्ग्य नलेख्देऊ । बरू साहित्य नै लेख्छौ भने मेरो सुन्दरताको बारेमा लेख । छिमेकी दुष्टै भए पनि तिनको बनावटी रोचक प्रशंसा लेख । तँ नेता, तँ भ्रष्टाचारी, आतङ्ककारी भनेर त कसैलाई गाली नगर । सबैलाई इमान्दारी, सदाचारी, नैतिकवान्, भद्र शालीन व्यक्तित्व भनेर उल्लेख गर र पो तिम्रो प्रगति हुन्छ । जताततै वाहवाही हुन्छ । घरका भित्ताभरि सम्मानपत्र, पुरस्कार प्रमाण पत्रले भरिन्छन् । पैसावाला खामले स्वागत गर्छन् । खै, सुझबुझ लगाउन जानेको… मैले भन्न पर्छ सबै ?’
भदौको भरिलो सिस्नोले पोलेको भन्दा ज्यादा बुढीको कुराले तन, मन सबै पोल्यो । बाटो बिराएर धागो नछिराएको मैँ गुइँठेले त रहेछ नि । हुन पनि मैले व्यङ्ग्य लेखेर के पो भएको छ र… मेरो व्यङ्ग्य लेखले इञ्ची परिवर्तन आएकै छैन । गाउँ रित्तिरहेकै छ । युवाहरू झन् झन् विदेश गइरहेकै छन् । नैतिकता, इमान्दारिताले उहिल्यै तिलाञ्जली पाइसके । शिक्षा स्वास्थ्यको मूल्यले सगरमाथाको चुचुरोलाई तल नाम्चेमै छोडूँला झैँ गरेर अग्लिरहेकै छ । गरिबी भरमार छ । बेरोजगारीको नेप्से अङ्क दिनहुँ बढिरहकै छ । कृषिप्रधान देशको उपलब्धि निर्यात भुसुना हो भने आयात हात्ती हो । जताततै अस्तव्यस्त । दैनिक कारोवार तालमेलमा पटकौंपटक ब्रेक फेल भइरहेकै छ । अस्थिर राजनीति, सत्तामा पुग्नेहरूले लाज, घिन केही नमानी भत्ता पचाइरहेकै छन् । सम्बन्धविच्छेद गर्नेका सङ्ख्या असोचनीय रूपमा बढिरहेकै छ । युट्युवेहरू पैसा झार्न, भिउज कमाउन अर्काको घर भाँड्न सेकेण्ड नबिराई पुगेकै छन् । थाप्लोमा ऋण जसको पनि छ । जहाँ पनि जोडतोडले अशोभनीय साइरन बजिरहेको छ । यहाँ जसरी चलिरहेको छ त्यसैगरी चलाइएको छ ।
भो अब यो यथार्थ देख्दा देख्दै व्यङ्ग्य नलेख्ने चेष्ठा गरेँ मैले पनि । रेमिट्यान्सले बल्ल बल्ल धानेको मेरो देशको अवस्था बाहिर विदेशीहरूले थाहा पाए के गर्लान् ? यो मैले गम्भीर भएर सोच्नु पर्दछ । विदेशी आइदिएन भने मौसमी पर्यटन उद्योग पनि घायल पर्न सक्छ । यसै त भद्रगोल, झन् महाभद्रगोल आइलाग्न सक्छ । म भन्नु देश हो र देश भन्नु पनि म नै हो । तसर्थ अबदेखि ‘राम्रो म’ मात्र लेख्नेछु । भो अब व्यङ्ग्य लेख्ने वा लेखेजस्तो गर्ने कुकृत्य नगर्ने निर्णय गरेँ । व्यवहारिक झन्झट सुधार्न, घरपरिवार, साथीभाइ नरनाता आफन्तको सम्बन्ध आत्मीयतालाई बढावा दिन भए पनि ‘भो अब म व्यङ्ग्य लेख्दिनँ ।’
०००
रामेछाप, हाल काठमाडौं









































गज्जब छ ! अब कलम चलाएर गोजेरो भर्न र बैरीहरुको झांको झार्न सिपालु भैसकेकोमा बधाई ! अब चोटामा पुग्न सिंडिको संख्या कम मात्र बांकि छ है !
हार्दिक आभार हजुर, नाम नखुलेकोले चिन्न अलि गाह्रो भयो।
एक चोटि डामे पछि खत बस्छ रेहित जी।व्यङ्ग्य नलेख्ने सर्तमा श्रीमति र छिमेकी खुसि त पार्नु भो तर तपाईंको पछि लागेका अनुयायि त मार्नु भएन नि ! ससुराल नगए पनि जीवन चल्छ तर हत्यारा बन्नु भएन नि ।लेख्नुस् व्यङ्ग्य लेख्नुस् । खवरदार ……
मेरा प्रिय सैजु सर।हजुर भैरव अर्यालको समवर्ती हाँस्य निवन्धकार
हुनुहँदो रहेछ।हार्दिक नमन सहित बधाई!!!
सुन्दर व्यङ्ग्य । व्यङ्ग्य विद्या /निबन्धमा रेहित जीको कलम सलल बगेको छ । शुभकामना ।🌷🌷
सुन्दर
sundar ra yathaartha lekhan .gajabko chhuttai dhaar.