कुमार खड्काचोरी, चकारी र साधुवाद
पुराना स्रष्ठाका सिर्जना चोर्नेदेखि ए.आइ.को अत्याधिक प्रयोग र कपि राइटलाई समेत लात मार्दै प्राज्ञिक चोर बजारमा अभ्यस्त भएपछि सिर्जनाका कुराहरू पाखा लाग्नेनै भए । यस्तै ताल जिवित रहिरहने हो भने साहित्य, सङ्गीत, कला सिर्जनाको मौलिक वर्चस्व जिवित रहिरहला भन्न सकिँदैन ।

कुमार खड्का :
“दृष्टि भ्रमले हो कि साँच्चै चौतर्फी चोर मात्रै देख्छु
खजानाको लुटखसोट व्यस्त हाटमा जात्रै देख्छु
एकै हुन्छन् भाग शान्तिमा नत्र आरोप प्रत्यारोपमा
अनुहार धूर्त स्याल जस्तो बिधिका खल पात्रै देख्छु ।”
जो चोर उसैको ठूलो स्वर ! बोक्सी पनि झाँक्री पनि उही । लोभ र पापसँगै चोरी र चोरको साधुवाद सँगसँगै हुर्किँदै छन् । गोप्य धन, गुप्त रहस्य जति बढ्दै जान्छ, चोरीका घटनाहरू पनि उति बढ्दै जान्छन् । चोरी जति बढ्दै जान्छ, सुरक्षाको अवस्था र भुमिका पनि उति सुदृढ गर्नुपर्ने हुन्छ । जति सुरक्षा निकायको बन्दोबस्त हुन्छ, चोर झनै चलाख हुन्छ । दुई बीचमा दुई लाइनको सङ्घर्ष निरन्तर चलिरहन्छ । बाहिर हेर्दा चोर पुलिसको जति जटिल खेल, भित्र भित्रै जनता झुक्याउने झेल हुन्छ । अझ हाम्रो जस्तो समाजमा सद्दे मान्छे किर्ते प्रमाणित भएको हुन्छ भने वास्तविक चोरले उन्मुक्ति पाउँदै सम्मानित भएका देख्न पाइन्छ । चोरलाई चौतारी, साधुलाई शुली, भन्ने भनाई चरितार्थ भइरहेको हुन्छ ।
उहिले बाउ बाजेले भन्ने गर्थे, चोर र चरित्रहीन स्त्री केरकार गरेको ठाउँमा कहिले जानू हुँदैन । किन होला भन्ने कुरा पनि धेरै पछि मात्र बुझियो । यिनीहरूले पोल्दा आगोले पोलेको भन्दा चर्को हुने रहेछ । आगोको जलनको दाग केही समयमा ठिक होला, बात, कसुरले पोलेको दाग जीवनभर नमेटिने रहेछ । तर हामी सानो छदा बाह्रमासे समात्न पर्यो भने दसिको रुपमा कौडा, थोत्रो लाल्टिन र सतरन्जाको टुक्रा भिराएर प्रहरीले सुराकिको सुविधामा सङ्कास्पद व्यक्तिलाइ पक्रेको सम्झना छ । चोरको सङ्का लागेका कमजोर मान्छेलाइ उस्कै घरको थोत्रो गाग्री, भाँडाकुँडाको काम्लो बोक्न लगाएर पक्रेको स्मरण छ । बलिया चोरहरू त त्यसताका पनि साम्राज्यनै चलाउने रहेछन्, भन्ने पनि धेरै पछि मात्र बुझियो ।
अहिले त त्यसो गर्न पनि नपर्ने रहेछ । राज्यले न्वारन गर्न चाहेमा महत्वका गोप्य खरखजना हुनेलाई, उनका कन्तुरमा आँखा लाउनेलाई शत्रु सम्झेर पहिले भलिभाँती गोद्ने, समातेर थुन्ने, अनि पत्र थमाउँदै दशी प्रमाण आफैँ बोकाएर चोर प्रमाणित गर्दै दण्ड नायककोमा पेश गर्नसक्ने रहेछन् । कुन केस लाउने भन्ने सम्म पनि म्याच फिक्सिङ हुँदोरहेछ । चाहत अनुसारको कुरा मिले सबै डिसमिस हुने, नमिले केही न केही प्रमाणित गरि डामिदिने । छोरी कुटेर बुहारी तह लगाउने नयाँ फण्टा गजब रहेछ । हुन त राज्ययन्त्र भनेकै सत्ताको बलियो वर्गले विरोधी र कमजोर वर्गलाई दबाउने हतियार हो भनिन्छ, यस अर्थमा राज्य यन्त्रको सही प्रयोगनै राज्यसत्ता बचाउनको लागि हो भने नगरेर भो त ?
एउटा केसमा गिरफ्तार हुनेले अर्कै केशमा फस्ने सम्भावना बढी हुँदोरहेछ । हुन त एउटा विषयमा परिक्षा दिँदा अर्को विषयको लब्धाङ्कपत्र दिन सक्ने विश्वविद्यालय भएको देशमा यस्ता विषय बारे नबोल्दा राम्रो । जे होस् चोरले चोरसँगै मिलेर चोरीको फिक्सिङ, बकपत्र, अनुसन्धान र फैसला समेत गर्ने भएकोले पनि होला । साना चोरलाई ठुला चोरले, सरकारी चोरलाई संवैधानिक चोरले र उनीहरूलाई अन्तर्राष्ट्रिय चोरले रिमोट मार्फत् नियन्त्रण, निर्देशन गर्दा रहेछन् । त्यसैले पनि होला चोरको सरदार हुन धूर्तहरू प्रमोसन खोज्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय चोरको ग्याङभित्र छिरेर सुरक्षित हुन खोज्दा रहेछन् । चोरलाइ औँला ठड्याउने सामर्थ्य भएकालाई कि चुपचाप हुन विवश गराइने रहेछ, अन्यथा घुमाइफिराई चोर बनाएर थन्क्याउने प्रपञ्च मिलाइने रहेछ ।
समाज, मानिस जति विकसित हुँदै गयो, चोर र चोरीको तौर तरिका, स्तर पनि उति परिमार्जित हुने रहेछ । कोही मिलाउने, कोही ढिलाउने, कोही पिलाउने, कोही दिलाउने चोर हुन्छन् । कोही मर्का परे नपरेको हेरेर चोर्ने हुन्छन् कोही चोरी चकारीमै भकारी भर्ने हुन्छन् । कोही चोरीका घटनाको साक्षी र बकपत्र गर्दै बीचको कमिसन, छोयाफोया खाने नारद रुपी चोरहरू ! सन्तान थरिथरिका…
चोरी विरुद्धका साम्राज्य पनि उतिनै चनाखो र शक्तिशाली हुनेरहेछ । गुप्त धनमालमा चोरीको ज्याक र चकारिको ह्याकले सिस्टम डामाडोल हुने थितिबाट आफ्नो वर्चश्व कायम गर्ने तथा प्राविधिक र वैज्ञानिक आविष्कारमा समेत आधिपत्य जमाउने नियतले गोपनियता भङ्ग र चोरी नामसारिका खोपनियतामा दङ्ग पर्ने लाचारी प्रवृत्ति छरपस्ट देखिएका छन् अचेल । पहिले बाहिरका ताप्के चोर्ने चोर हुन्थे भने अहिले भित्री सेफ र दापकै माल, दीलको हाल चोर्ने चोरहरूको बिगबिगी बढेको छ ।
भोका चोरलाई अहिले अघाउँदै डकार्ने चोरले विस्थापित गरेका छन् । चोरका सरदार बनेकाहरू उघ्राउँदै गुरु बाउ बनिरहेका छन् । चोरहरू विभिन्न रङ्ग र ढङ्गका छन् । कोही दिउँसै चोर्ने, कोही रातमा मात्रै चोर्ने, कोहि जथाभावी चोर्ने, कोही मिलाएर चोर्ने । आ आफ्नो क्याम्पमा चोरीकै तालिम लिएर अरुलाई चोर्न सिकाउदै ग्याङ विस्तारमा अभ्यस्त छन् । स्वयं चोर छन्, अरुलाई ठूलो डाँकोले चोर भन्छन् । आ-आफ्ना रङ्गले डामिएका छेउछाउका चोरहरूबेजोडले ताली ठोक्छ्न् । यिनीहरूलाई व्यवस्थापनका सिद्धान्तदेखि समाजशास्त्रका व्यवहारवाद, मार्क्सवाददेखि साधुवादसम्म सारा कण्ठाग्र छ र कुनै पनि दर्शनलाई चोरी, चकारीको सिद्धान्तमा ढाल्दै आख्यान छाट्न पोख्त छन् । राजनीति बचाउने कुतर्कका व्यूहदेखि लाजपचाउ अभियानको केस्रा केस्रा र मियो सम्म पानी पानी छ । आवश्यक पर्दा र चोरी स्वार्थका कुरामा सबै एकजुट हुन्छन् । सिकारको भागवण्डा नमिल्दा ग्याङ, गुट, ठगबन्धन जस्ता नक्कली एकता गर्दै वर्चश्व कायमका मुठ्ठी उचाल्दै रहन्छन् ।
पुराना जस्तै बेरोजगार हैनन्, रोजगार चोर, सर्वहारा हैनन् होनाहार चोर, डराउने हैनन्, कराउने चोर, सजिलै फर्किने र तर्किने हैनन् तर्क दिदै थर्काउने चोर छन्, र पो पुरानो उखान चरितार्थ हुन्छ, ‘जो चोर, उसैको ठूलो स्वर’ । हरेक क्षेत्रमा छुट्टाछुट्टै विशेषज्ञता हासिल गरिसकेका बौद्धिक चोरहरूको बिगबिगी छ । उनीहरूको चोरी सिद्धान्त व्यावसायिक ज्ञानले लैसभै वैज्ञानिक प्रतिफल दिन सक्षम र भरपर्दो हुन्छन् । ज्ञान र विज्ञानको समग्र प्रयोगमै ठूलो स्केलका भरपर्दो चोरीको प्रारुप तयार हुन्छन् । मान्छे ग्राहक, क्लाइन्ट, क्रेता, रिसिभर या सेवाग्राहीका रूपमा हुन्छन् । पेशापिच्छे ठगिने, लुटिने, चोरिने, पकेट मारिने पीडितहरूको छुट्टाछुट्टै नाम, पद तथा सङ्केत छन् । अर्कोतर्फ उत्पादक, एसेम्बलर, अनुसन्धानकर्ता, व्यापारी, उद्योगी, सामाजिक कार्यकर्ता, राष्ट्रसेवक या राजनीतिक पेशाकर्मी जस्ता नामधारी बोक्सी र झाँक्रीको द्वैध चरित्र निर्वाह गर्ने चोरहरूयत्रतत्र, सर्वत्र… ।
त्यसो त पहिलो पक्षलाई दोश्रो पक्षले प्रभावित गर्ने प्रयास गर्छ । पहिलेको जमानामा साम, दाम, दण्ड, भेद नीतिका कुरा हुन्थे । अहिले अङ्ग्रेजीका म्यान, मनि, मसल्स तथा मल्टिपल कन्भिन्सिङ पावर पोलिसिका कुरा हुन्छन् । कन्भिन्सिङ पावरले काम नगरे दोश्रो कन्फ्युजिङ पावरको प्रयोग हुन्छ । सामान्यत आँखा छल्नेदेखि हातको सफाई, कालिगरी, जादुगरी देखाउने सम्मका र प्रलोभन देखि पुरस्कार एवं सुशोभन सम्मका विधिको प्रयोग । हो, भनाएर या आफ्नो अधिकार र स्वामित्वको प्रभावलाई गलत बाटो देखाएर । समग्रमा हिप्नोटाइज गरेर । त्यसबाट पनि भएन भने करप्सनको सिद्धान्त याने जसरी भए पनि लुटपाट, हत्या, बलात्कार आरोपको आडले आफ्नो पकडमा पार्ने विधि । बाहिर जे भने पनि माथिका विधि अन्तर्गतनै संसारभर ठग्ने र ठगिने, लुट्ने र लुटिने क्रम जारी भइरहेको छ अहिले ।
चोर्ने, ठग्नेहरूको पनि अन्तर्राष्ट्रिय जाती हुन्छ कि जस्तो लाग्छ मलाई । ग्लोबल भिलेज, ग्लोबल कन्सेप्ट र प्रविधि भएर नि होला, जहाँ पनि जता पनि उस्तै तौर तरिका अपनाएको पाइन्छ । फेरि सङ्गठन र आवाज पनि उनीहरूकै दह्रो जस्तो लाग्छ । सङ्ख्या कम भए पनि दमदार र शक्तिशाली । ठगिने बाख्रा, मृग, हरिण, अर्ना… जस्तै ग्रुपमा भए पनि प्रिडियटरले एक्लै लखेट्दा सामुहिक बचाउ गर्न नसकि हुलकाहुल भएर नितान्त एक्लाएक्लै भाग्न विवश हुन्छन् । अन्तिममा एउटा दशा लागेको निरीह उसको पञ्जामा पर्छ । एवं क्रमले जीवन चक्र चलेको देखिन्छ । एक पक्षले लुटिरहन्छ, अर्को पक्ष लुटिन्छ, आफैँमा टुटिरहन्छ । प्रिडेरका जाती मध्ये भोकाहरू तालमेल नमिलेको खण्डमा शिकारको मेसो नमिल्दा एउटाले गरेको सिकार अर्कोले चकारी गर्न खोज्नु, जङ्गली लाचारीका कुरा हुन् । तर सिकारको खबरदारी र सिकार हुनेको रखवारी भने कदापि गर्दैनन् । सांसरिक नियति नै यस्तै रहेछ नि ।
पहिला पहिला तन्त्रमन्त्र, अस्त्र ज्ञान, धर्म र नीतिका ज्ञानलाई गुप्त धनको रुपमा लिइन्थ्यो भने अहिले विद्या, बुद्धि र विज्ञानका ज्ञानलाई खुल्ला गुप्त (ओपन सेक्रेट) धनको रुपमा लिइन्छ । विश्वविद्यालयको उच्च शिक्षा प्राप्ति, स्व अध्ययन, अनुसन्धान, आविष्कार र प्राज्ञिक चेतना प्राप्तिले ओपन सेक्रेटलाई पकडमा पार्दै आफ्ना सामर्थ्यले तयार गरेका विशेष अनुसन्धानका गुप्त फर्मुलाहरू, बौद्धिक सम्पतिको रुपमा गोप्य राखेर आफ्नो नेम, फेम स्थापित गर्नसक्छ । ट्रेडमार्क, ब्रान्डिङका कुरा, कपिराइटका कुरा, बौद्धिक सम्पति सुरक्षाको कुरा, विशिष्ट वैज्ञानिक आविष्कार, साहित्य, सङ्गीत, कलात्मक सिर्जनाहरूका कुरा तथा आदि, इत्यादि.. !
अहिले बौद्धिक चोरीले भयानक रूप लिएको छ । पुराना स्रष्ठाका सिर्जना चोर्नेदेखि ए.आइ.को अत्याधिक प्रयोग र कपि राइटलाई समेत लात मार्दै प्राज्ञिक चोर बजारमा अभ्यस्त भएपछि सिर्जनाका कुराहरू पाखा लाग्नेनै भए । यस्तै ताल जिवित रहिरहने हो भने साहित्य, सङ्गीत, कला सिर्जनाको मौलिक वर्चस्व जिवित रहिरहला भन्न सकिँदैन । सिर्जनाको गयलिमा स्रष्टाको उपस्थितिको कुरो पनि भएन । भयावह सङ्क्रमणको रुप लिँदैछ, यो परिपाटीले । नयाँ पुस्ताको बुद्धि मोबाइल, कम्प्युटर, गुगलको लतमा अड्केर ह्रास भैसकेकोले हामी आफैँ चोर बन्न विवश बनिसकेका छौँ ।
हामीले बनाएका, हाम्रा साधन हामीलाई प्रयोग गर्ने साध्य भै हामी माथी हैकम चलाउने भइसकेका छन् । कुनै न कुनै हिसाबमा हामी सबै परिचालित चोर भइसकेको सन्दर्भ र चोरी महात्म्यको व्यापकताको कारण एक्लै वणर्न गर्न असम्भव भएकोले इच्छुक स्रष्टाहरूले आ-आफ्नो गच्छे अनुसार लेख्न, अनुसन्धान गर्न तथा तत्सम्बन्धी सजगता अपनाउने योगदानको लागि आह्वान समेत गर्दछु । अहिलेका बाल मस्तिष्क यसकै समग्र पेरीफेरी र अभिभावकत्वमा अभ्यस्त हुने हुँदा सचेतनता र सन्तुलित शिक्षाको सुरुवात गराउनु पर्ने देखिन्छ । अन्यथा हाम्रा भावी सन्ततिलाई तिनै संसाधन साध्य बन्दै साधनको जालोले चोर जस्तै बनाएर कुना थन्क्याउन बेर लाग्दैन । बेलैमा चेतना भया… ! अस्तु…!!!
०००
आलापोट, काठमाडौं










































निकै सुन्दर सशक्त व्यङ्ग्य निबन्ध । हार्दिक बधाई निबन्धकारज्यूलाई ।