रामकृष्ण ढकालमणिशहरका हासित्यिकहरू
टिल्लकान्त, झल्लुदास, जिल्लाराम, बाघभुत्ले, कनसुत्ले, जगल्टे, खोपडिहिम थपडिप्रेमी परमानक लम्पसारी जस्ता अनेक अनेक हासित्यिकहरूको त्यहाँ जात्रै थियो । सबैसँग गच्छे र विशेषता अनुसार गरिरहेको थिएँ ।

रामकृष्ण ढकाल :
पाँचबिसे साल अर्थात एक्काइसौं शताब्दीको पाँच भागहरूमध्ये चौथो भागको अन्तिम वर्षको कुनै एकदिन लाजै पचाएर दिउँसै पसारिएको थिएँ । एकछिन पछि खै कताबाट तन्द्राकी साख्खै दिदीले गिदिमा कुनै कसर बाँकी नराखी असर गरिछन– अनि मत उनकै न्यानो अँगालोमा आनन्द मान्दै उनकै लोकमा फोकटिया भ्रमणमा व्यस्त हुनपुगेछु । अनेकौं डाँडा काँडा, तेर्सा ठाडा, सभ्य छाडा, घुम्दै पुगेछु मणिशहरमा । एउटा लोपोन्मुख प्रजाती भित्र परेको पुरानो चौतारीमा गएर टुसुक्क बसेको त उमेरले असाध्यै वृद्धअवस्थामा पुगेर घुँडो मुन्टो जोरिँदा पनि न स्याहार न वृद्धभत्ता केही पनि नपाएर मरणासन्न भएको वरपीपलतिर खुसुक्क आँखा गइहाल्यो ।
ती दुःखका समुद्र भोगरत रुखहरा एउटा पर्चा टाँसिएको रहेछ । यस्सो कनिकुथी पारायण गरिटोपलेँ । त्यसबाट थाहा भयो त्यतिबेलाको सिङ्गै साँढे दुई घडिपक्ची त्यो मणिशहरको केन्द्रमा एउटा हासित्यिक कार्जेकर आयोजना गरिएको रहेछ । मणिशहरकै सबै हासित्यिकहरूमध्ये मूर्दान्यमा गनिएका कोदोतेले हाहित्यकार- श्री मद्यानम्द चम्चेको प्रमुखत्वमा रहेको हाँडीघोप्टे वाङ्मय अतिष्ठानले आयोजना गरेको कार्जेकरममा जाउँ जाउँ लाग्यो । त्यसपछि केक्केन राम्रो बनाको भनेर गनाको चालले पिछ गरिएको खासमार्गको बिचभागमा चर्को घाममा पनि झर्को नमानी चालक सहचालकका सभ्य गाली धुलो मिसाएर खाँदै ठिटिहेर्दै सिट्ठी फुकिरहेका तथा सानो ट्क्रो कागज दिई पैसो डाँड्ने अवसर ढुकिरहेका प्रहरी दाजुभएको ठाउँमा गएँअनी मणिशहरको केन्द्र बकोलाम टोल कतापर्छ भनेर सोधें । विदेशि अधर्मीहरूका निर्लज्ज इशारामा देशका नेता हिँडेझै म पनि परहरिदाजुको इशारा अनुसार हिँडेँ अनि झन्डै डेढ घडिजती हिँडेपछि पिगे बकोलाम टोलको हासित्यिक कार्ज्र्करम स्थलमा ।
म भन्दा पहिलेनै त्यस स्थलमा चिल्ला कारमा आउने देहि ढिला नगरी आउनेसम्मका झण्डै पाँचबिसजति हासित्यकारहरू जम्म भएर यतादेखी त्यता सम्मका, झोले मुन्द्रेदेक्जी नेतासम्मका, वरका बालेनदेखि पताका कालेन सम्मका, नेपालका भाग्य डढुवा (जनता) देखि पश्चिमा ढेडुवासम्मका, दाह्रीदेखि सारीसम्मका अनेक विषयमा मौखिक आख्यान सिर्जना गर्दैरहेछन् । अतिथि गाँणहरू भने सबै नेपालको हावापानी माटो आदिलाई सिङ्गै माया गर्ने महान् उच्चपदस्थहरू परेछन क्यार त्यसैले उनीहरूको आगमनको कुनै अत्तोपत्तो थिएन ।
म पनि परेँ आफैँ मपाइँ भएको तथाकथित हासित्यप्रेमी । दुई चार दर्जन यस्ता कार्जेकरममा पहिलेपनी सहभागी भएकै थिएँ । त्यसैले मैले पनि शुरूगरें भेटघाट छेडछाड भलाकुसारी आङ्मुसारी । सर्वप्रथम मेरा अगाडि देखिए मूर्दाम्य हासित्यकार निर्लज्जनाथजी । यिनी स्थानीय एक हासित्य संस्थाका अदक्ष तथा लाजमर्दो राजनितिक दलका स्थानिय नामूद चाकडीबाज पनि । यिनले केही कृतिहरू पनि सिर्जना गरेका थिए भने स्थानीय स्तरका केही संस्थामा बसि प्रत्यक्ष परोक्ष अनेक कुकृतिमा पनि पोख्त बनेका थिए । त्यसपछि देखिए हासित्यकार भटभ्टानन्द जी । यिनको स्वर ठूलो हुमुकासाथै स्मरणशक्ति पनि राजनीतिक अन्धभक्तिजत्तिकै तगडा थियो । साथै यिनी नारी र सिमानापारी भनेपछि हुरुक्क र जुरुक्क एकैचोटि हुन्थे ।
त्यसपछिको पालोमा आइपुगिन् हासित्याङ्गना दशगुना द्रौपदीजी । यिनी जो जस्तोसुकै मनुवासँग पनि लपक्क मिल्न सक्ने तथा पारदर्शिताकि त साक्षात् प्रतिमूर्ति नै थिइन् र त्यत्तिकै दख्खल हासित्यमा पनि थियोे । अबको पालोमा भेटिए ख्यातिप्राप्त मेलापर्मविद तथा हासित्यकार लुखुरनाथ चतुरेजी । यिनी हसित्य लेखनमा अब्बल हुनुकासाथै झन्डै जोरदर्जन कृतिका पिता थिए । यिनी आफ्मो उच्च क्षमताका बाबजुद दोयम सिम चाहार हासित्यिकहरूको पेलाइमा पनि राम्रोसँग नै परेका थिए ।
यस्तै अर्की हासित्यिका थिइन चूणर्िकाचण्डी नखरिका । यिनी सौन्दर्यबर्धक भनेर बजारमा आएका सबैखाले चूणर्हरूका पारखी तथा फूटकर लेखनमा माहिर । यसपछिको करममा अगाडि परिन कृपाकान्ता कुमूर्तिनि । यिनी खासै हासित्यिक क्षमता नभएकी भएपनी स्थानिय राजनीतिक दलका चण्डमुण्डरूपी झुण्डसँग धेरैनै मिल्ने भएकिले पुरस्कारै समेत हात पार्थिन् ।
यस्तैगरी कौडेलाल हाठुटे, विधेशैदास शर्मा, नकक्च्रामन्द बकबके, हाम्महत्ते हसुराहा, तेत्तिसा वस्त्रधारी, चारुदन्तिका सुकेशी, गिरिवक्षा महिषी, खेताला प्रसाद खन्चुवा, सत्तानाथ सयलदार, लुब्धमान मुखमिठे, खाजापेक्षी ठण्डाराम, स्वनामधन्य बदनाम, आदि इत्यादी अनेकौं किल्लाका जिल्लाका हासित्यिकहरूको त्यहाँ जमघट थियो । टिल्लकान्त, झल्लुदास, जिल्लाराम, बाघभुत्ले, कनसुत्ले, जगल्टे, खोपडिहिम थपडिप्रेमी परमानक लम्पसारी जस्ता अनेक अनेक हासित्यिकहरूको त्यहाँ जात्रै थियो । सबैसँग गच्छे र विशेषता अनुसार गरिरहेको थिएँ । विविध दिग्गज विद्वानहरूको यो अघोषित कुम्भमेलामा ल्याइएको वाद्ययन्त्रमा भने हामिलाई । सधैँ सिमा मिचेर, लुटेर, कुटेर, भुटेर दुःख दिने । सत्तापक्षका मात्र अनन्य मित्र राष्ट्र को सरकारी कामकाजको भाषामा एउटा गजल बजिरहेको थियो…
सम्मान देओ छिमेकिको आदर देओ सद्भाव देवो
आफ्नो भागमे सदाकाल अपमान र अन्याय लेओ
रोटि देओ छिमेकिको बेटि देओ दण्डवत देओ
सबकुछ हम्को देओ राजनितिको बाघडोर देओ
…
…
त्यसैबेला मेरो लम्पसार स्थल नजिकै नेताहरू जत्तिकै टाठो बाठो मानिएको तथा नेताहरूको जस्तै सुमधुर बोली भएको महान् चाड तिहारमा पनि शुरुकै दिनमा पुजिने चरो आएर यति मिठो गाउन थालेछ कि त्यो सुमधुरता । खप्न नसकेर तन्द्राकी दिदिले मेरो गिदी सिदी छोडेर गायक पछिको गायनको बदलामा लिदी प्रदान गर्दै भागिछन् अनि म झल्याँस्स भएछु ।
०००
रत्ननगर-२, चितवन
Subscribe
Login
0 Comments
Oldest






































