उत्तमकृष्ण मजगैयाँदेउताबाजेलाई चिठ्ठी
यहाँ सुदर्शन होइन बरू प्रेम र समताको प्रदर्शन चाहिएको छ । विराट्-स्वरूप पनि होइन, साधारण ज्यामी र कृषकको वेशमा आइदिए पुग्छ । शौर्य र रणको दुन्दुभि होइन विनय र मृदुताको सन्देश छरे पुग्छ ।

उत्तमकृष्ण मजगैयाँ :
आदरणीय लोकप्रतिपालक,
‘देवाधिदेव विष्णु भगवान्,
वैकुण्ठधाम, ‘लक्ष्मीमहल’
दयासागर ! करुणा-निधान ! अदृश्य रहेर पापीहरूको पापमोचन गर्ने महाशक्तिधारी परमेश्वर ! मेरो कष्ट निवारण गर्न ममाथि पनि कृपादृष्टि बक्स्योस् प्रभो ! म हजुरको दूत हुँ, तर पनि मलाई यो मर्त्यलोकको हावाले छोइसकेछ धर्मावतार ! इन्द्रपुरीको रमझमभन्दा पनि दशगुना बढी चमचमाचम भएको यस मान्छेको लोकले मलाई हावा ख्वाएछ कावा ख्वाएछ ख्वामित ! मुफत्मा रम्मा र तिलोत्तमाको नाच हेर्नेले यहाँ ब्ल्याकमा टिकट किनेर भित्तोमा मान्छेको छाया नाचेको हेर्न थालेको छु । नारदबाजेको झै टल्ल टल्कने चिल्लो टाउको भएकोले लामालामा जुल्फी पाल्न थालेको छु दयानिधान ! पहिरनको त कुरै नगरौँ, कहिले ली र गो गो, जिन्स र पङ्क्स, कहिले सफारी र सूट, अनि जिउँदै घाँटीमा अपहत्तेको फुर्को। के हो, के हो ख्वामित् ! तर यहाँ दैवीप्रसाद सुरा र सोमरस भने प्रशस्त पाइँदो रहेछ । यो पेय मैले पनि लिने गरेको छु के गरूँ ? उर्वशीभन्दा पनि सुन्दरी युवतीहरूले मेरो ओठसम्म रातो पेय भरेको गिलास पुर्याइदिँदा म आफूलाई मर्त्यलोकको इन्द्र ठान्ने भूल पनि गर्छु । मर्त्यलोकका बासिन्दाहरूको झूठो बोल्ने गुण ममा पनि प्रशस्त रूपले आइसकेको भए तापनि हजुरको नूनपानी खाएकोले कसरी ढाँटूँ ? सबै सत्य लेख्दै छु ।
मत्यूलोकको विषयमा हजुरहरूको सङ्कटकालीन बैठक बसेको आजै हो कि झै लाग्छ । सभापतिको आसनबाट शिव गर्जेका थिए- ‘म सर्वशक्तिमान् …’ तर आफ्नो पदअनुसारको अधिकार ब्रह्मा र हजुरलाई पनि प्राप्त थियो । ब्रह्माले सृष्टिको काम पाए, हजूरले लालन-पालनको जिम्मा लिनुभो । शिवचाहिँ शक्तिकै प्रदर्शन गर्ने ठहरिए र चलाए मारमुङ्ग्री । सृष्टि, उत्थान र विनाश गर्ने यी तीनवटा देवता नै प्राणीहरूको हृदयमा आसन जमाउने ठहरिए तर प्रभो ! आज त उपासकभन्दा उपास्य धेरै छन् । उपदेश सुन्नेहरूभन्दा उपदेशक बढी छन् । यी विभिन्न देवीदेवताका दलाल-पण्डाहरूले मान्छेको धन बुकाएका छन् एवं हावामहल बनाएर उनको मन र मोटेआन्द्रो सुकाएका छन् । तर हजुरको शीतल नीति र बाँच्ने-बचाउने कुरामा विश्वास राख्नेहरूको प्रतिशत निकै कम छ । हजूरको खास दूत हुँ, तर मलाई पनि कसैले टेर्दैनन् । उल्दो धम्काउँदै भन्छन्- ‘धेरै नबोल्, इसालाई झै क्रूसमा झुण्ड्याइदिउँला, गान्धीलाई झै गोलीले उडाइदिउँला, सुकरातलाई झै विष ख्वाएर यमपुरी पठाइदिउँला !’ यिनीहरूलाई के थाहा कि म त हजुरको दूत हूँ र यमपुरी मेरो अड्डा नै हो । के गरी सम्झाऊँ प्रभो ? मैले इँट उठाउँदा उनले ढुङ्गाले मेरो पुर्पुरो सेक्न पुग्छन् । बोलीले तर्साउन खोज्दा गोलीले उडाउन खोज्छन् । मेरो दुःखमाथि निगाह होस् नाथ !
ब्रह्मा बुढाको गिदी खुस्केर के-के बनाए के-के । एक युगलाई बुद्ध दिए त अर्को युगलाई युद्ध दिए । मान्छे कहिले राममा बाँच्यो त कहिले काममा, कहिले नाममा बाँच्यो त कहिले हरामको माममा । सत्य, आज ब्रह्माका प्रतिनिधिहरू छाडा साँढे झै जताततै घुम्दै छन् । नियन्त्रण गर्ने कुनै छैन । समुद्र-मन्थनबाट थुप्रै वस्तुहरू निस्केझै यिनको मस्तिष्क मन्थनबाट पनि थुप्रै वस्तुहरू निस्कँदै छन् प्रभो, कालकुटभन्दा पनि भयानक ! अब त हाम्रो स्वर्गमा देव र असुरहरूमा मारकाट नभएको पनि धेरै भयो, तसर्थ सायद स्वभाव- तुष्टिको लागि पनि यिनीहरू कुनै समुद्रपारी जन्मेछन् त कुनै समुद्रवारि । मैले सबैलाई चिनेको छु, साइनो खुट्टयाएको छु तर उनीहरूले मलाई साधारण मान्छे नै ठानेका छन् प्रभो ! तब त कहिले नेल लगाएर जेलमा बन्द गर्छन्, त कहिले झूठो मैत्रीको स्वाङ भर्छन् । म तटस्थ रहन खोज्छु, तर बाहिर लोभ देखाउँछन् शान्तिपूणर् घरजमको, भित्र भने त्रास देखाउँछन् सशक्त एटमबमको । गजब छ बा ! यहाँ ब्रह्माले लगाएको फूलबारीबाट मान्छले धतुराका गेडा टिप्छन्, गाँजाका डाँठ भाँच्छन्, स्म्याक, ब्राउनसुगर र हेरोइनको धूलो झार्छन् । यो विषालु धूवाँले यौटा पिँढी नै स्वाहा हुन थालेको छ दयासागर !
पृथ्वीलोकमा नारीहरूले चिच्चाएर आफ्नो हक मागेको सुनी स्वर्गबाट पनि थुप्रै देवीहरू पृथ्वी तलमा सुटुक्क ओर्लेका छन् । काली रणमा छिन् भने हजूरकी कमला कणकणमा छिन् । उनको पृथ्वीबासले हजूरको मर्यादालाई चोट पुऱ्याएको छ ख्वामित ! ईमान धर्म सबै उनको मुखापेक्षी छ । उनकै कृपाले चूलो तात्छ, उनकै कृपाले कृपाभोगी मात्छ, अनि भाइले भाइको शिर काट्छ । तर अब सुतेर भएन, मोहनिद्रा त्यागी मर्त्यलोकमा ओर्लनुपर्यो । सुदर्शन र गरुडको खाँचो छैन, बरु नाङ्गै खुट्टा दगुर्नुपर्यो प्रभो ! गनिनसक्नु देवीदेवताले प्रत्येक ढुङ्गालाई आफ्नै सालिक बनाइछोडे । को-कसको डम्फु र मादल सुन्नु ? अरु त अरु, हजुरकै शेषनाग पनि मान्छेको जिब्रो जिब्रोमा सुटुक्क बसेका छन् । वाक्छन् त विषै वाक्छन्, पिउँछन् त रगतै पिउँछन् । शान्तिका अग्रदूत हजूर हुनुहुन्छ, तर उपेक्षा गर्ने हो भने हजुरको नाममा पनि कालो पर्चा टॉसिन बेर लाग्ने छैन । पुनः कुनै व्यास जन्मेछन् र शास्त्र-पुराण लेख्न थालेछन् भने त्यसमा हजुरको नामै रहनेछैन । रहनेछ भने पनि त्यसमा राम रावण हुनेछ कृष्ण कस हुनेछ एवं विष्णु कालनेमि, अर्थात् सबै उल्टो । इतिहास नै फेरिने छ । मेरो यो रिपोर्ट सयमा सय सत्य छ ख्वामित !
मत्र्यलोकमा अब बसिनसक्नु भइसकेको छ करुणा-सागर । चारैतिर कोलाहल र चीत्कार मात्र सुनिन थालेको छ । नाना थरीका विस्फोट र सिपाहीका बुटले धरतीमाता रुन्छिन् । भएको ब्रह्मलुटले बिचरा किसान र कामदार रुन्छन् । तत्काल कुनै कदम चालिबक्सन भने पछि हजुरको केही लाग्ने छैन । त्यसवेला अर्जुनको गाण्डीव, भीमको गदा, इन्द्रको वज्र र हजूरको सुदर्शन चक्रले समेत केही गर्न सक्नेछैन किनभने आज सबैले यिनी भन्दा पनि डरलाग्दा हात हतियार बनाउन होडबाजी गरेका छन् । कुनैदिन ब्रह्माको एउटै चेलाको गिदीमा सनक चढ्छ र छोडिदिन्छ सानो मट्याङग्रो- अनि मर्त्यलोक सबै भस्म । ब्रह्माको सुन्दर सृष्टि उनकै चेलाको क्रोधले जलेको भूपिण्डमा परिणत भैहाल्नेछ । तत्काल मर्त्यलोकमा ओर्लनुपर्यो । हजूरको भृगुपादले अवश्य पनि सहनशीलताको पाठ पढाउने छ । तर सुदर्शनचक्र बिर्सेर पनि नल्याउनुहोला । यहाँ सुदर्शन होइन बरू प्रेम र समताको प्रदर्शन चाहिएको छ । विराट्-स्वरूप पनि होइन, साधारण ज्यामी र कृषकको वेशमा आइदिए पुग्छ । शौर्य र रणको दुन्दुभि होइन विनय र मृदुताको सन्देश छरे पुग्छ । यहाँ नारदबाजेको झै आपस-आपसमा गोरुजुधाइ गराउनेहरूको कमी छैन । ‘बाहिर-बाहिर लोकाचार, भित्र घृणाको पोको पार’ भनेजस्तै मित्रताको धुरी अहं र घृणामा अवस्थित छ । बारूदको थुप्रोमाथि बसेर शान्ति र निःशस्त्रीकरणको सम्झौता र मस्यौदा पेश गरिन्छ । जोर-बलको अघि निर्धा नाचेको छ । भोको रोएको छ, खाने हाँसेको छ । मेरो यो रिपोर्टमाथि हजूरको ध्यान जाँदैन र तत्काल कुनै कदम चालिबक्सन्न भने मेरो यो चिठ्ठीलाई नै राजीनामा मानी कारवाही गर्नुहुन विन्ती चढाएको छु, जो आज्ञा !
०००
उही हजूरको आज्ञाकारी दूत
इहलोकअन्तर्गत गुप्तचर विभाग
पोस्टबक्स नं. ० (शून्य)
रामझुपडी-मर्त्यलोक
Subscribe
Login
0 Comments
Oldest






































