साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नहिँड्ने ?

नेपालीको एक बिसौलीको खोपडीमा यस्तै सद्बुद्धि छिरे कस्तो हुन्थ्यो होला ? पीच गरेको एक वर्षमा नाली राख्न पीच भत्काउने । नाली काटिसकेको ५ महिनामा बिजुलीको भूमिगत तार बिच्छ्याउन फेरि नाली पनि भत्काउने ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

हिँड्नु हुन्न ? तपाईंको यो बानीले आफैं खतम हुने हो । शौचालयदेखि प्रतीक्षालयसम्म, बागदरबारदेखि स्याल दरबारसम्म, सिंहदरबारदेखि बाख्री दरबारसम्म, सगरमाथादेखि मारियानाट्रेन्चसम्म, ह्यातुङदेखि नायरासम्म जीवनको स्वाद पाउन नहिँडी त सुखै छैन । नहिँडी चुप बसे तपाईँको उदरको भोक्सी भर्ने जिम्मा कसले लिएको छ त ? खुरुक्क कान समाउनुहोस् हिँड्छु बाबा भन्दै । नभए समयले तपाईंलाई नदुगुराईं छाड्ने वाला छैन ।

जतिसुकै बसेर नै समाधान खोज्छु भन्ने पात्रले अन्तत दुई गोडालाई टुकुटुकु नहिँडाइ सुखै पाउँदैन । भान्साकोठा होस् या शौचालय या प्रियतमलाई भेट्न पनि उसले नहिँडी त ? अब ‘जोजससँग सम्बन्ध छ’ भन्ने निवेदनको व्यहोरा लागू भइहाल्यो अब नहिँडी धेरै पो पाइन्न । धागडान विद्वान-विदुषी अर्थात् सफल वैज्ञानिक वा कृति समीक्षक सबैले हिँडेर नै आवश्यकता र खनखाँचो पूरा गरेका छन् । नहिँडौ भन्ने तपाईंको अल्छ्याई प्रवृत्तिलाई किन राँको नझोस्ने ?

अब भन्नुहोस त ? हाम्रा शरीरका अङ्गहरूले हिँडेर नै कार्यसम्पादन गरेका छन् । कानले आवाज आवाजसम्म, आँखाले दृष्यदृष्यसँग कुदेर नै कार्यसम्पन्न गरेको देखेकै हौंला । किड्नी, फोक्सो, मुटु, कलेजो निरन्तर आफ्नो कर्ममा कुदिरहेकै छन् । आमाशयले प्राप्त खाद्यपदार्थबाट प्रोटिन, कार्बोहाइड्रेट, खनिज र भिटामिनलाई अलग्याउँदै शरीरका विभिन्न भागमा कुदाइरहेकै हुन्छ । अब नहिँडी कार्यसम्पन्न गर्दछु भन्ने लिँडे या पुच्छ्रे तर्कले तपाईं काम लाग्ने मानवाकृतिमा दरिनु होला त ? मनकै कुरा गर्नुहोस् । संसारमा सर्वथा द्रुतगामी मन हो भन्ने बाधे झाप्पु युधिष्ठिरले चखाएकै हुन् । आजको जेट्प्लेन, मेट्रोरेल हिजोको । पुष्पक विमान भन्दा पनि छिटो कुद्छ यो मन । निमेषभरमा अमेरिका पुग्छ तत्क्षणमा नै ग्रीस । भुरानबाट एकैछिनमा अस्ट्रेलिया । घरी छोराबुहारीको खबर बुझ्न न्यूजिल्याण्डमा त तुरुन्तै छोरीको सूचना लिन फिनल्याण्ड । केही क्षणमा मन रसिया युक्रेन युद्धमा पुग्छ त फेरि द्वापर युगको भीमसेनको गदायुद्धमा अनि कालयवन कृष्णको कुदाकुदमा । फेरि लगत्तै श्रीमतीले जुत्ता किनेर ल्याइदिन दिएको १००० रुपैयाको आफ्नै खल्तीको नोटमा । केही छिनमा एटिएम कार्ड खल्तीबाट गायव भएको पूर्वस्मृतिमा । अब घोत्लिनुस् त नहिँडी संसार चल्दो रहेछ त ?

हिँडाइको प्रकृति व्यक्तिपिच्छे फरक देख्नुहुन्छ । कोही खरायो मृग बिर्साउँछन् त कोही अर्ना र बँदेल । कोही लुरुलुरु त कोही लुसुलुसु । कोही बेतोडले त कोही अडिइअडिई । कोही खुब वरिपरि नियाल्दै मोटरबाइकको गेयर चेन्ज गरेझैँ । कसैको सानोतिनो झिनामसिना काममा पनि हस्याङफस्याङ गर्दै वातावरण धमिल्याउँदै कुदेको देख्छौँ । सबैलाई चासो लाग्ने त्यस्तो हिँडाइको उपलब्धि थोरबहुत मात्र हो । हगाइभन्दा के जाति ठूलो भन्ने उखान त्यस्ताको हकमा लागू नभए कसलाई सुहाउला त ? हिँडाइको प्रकृतिले व्यक्तित्व मापन गर्न सकिने राय आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ । दर्शनादिञ्गज वा दार्शनिकहरू आफ्नो लक्ष्यलाई तारो बनाएर एकोहोरो मनमस्तिस्क हिडाउँछन् । माइत आएकी छोरी घर गएको झोकमा ज्वाइँको हिँडाइको पनि विश्लेषण गरेका छन् कतिका ससुरालीले ।

मेरी महातारीको वाणी बाल्यकालमा बारम्बार सुन्थेँ म । बाबु ! कमिलाले त मुखमा माटो बोकेर गोलो बनाउँछ त्यो जाबो किराले । ठूलाले ठूलो काम र सानाले आफूले सकेको काम गरेर मात्र पो परिवार हिँड्न सक्छ। अब के चाहियो ।खुब हौसिन्थें म त्यस पछि। बिर्सिहाले भने आमाले हिँडेर आएर त्यही सम्झाउनुहुन्थ्यो । म पनि यताउति हिँड्दै अर्थवोध गर्थे। अब त्यो वाणीबाट के बुकिन्थ्यो भने कुद्नु भनेको हस्याङफस्याङ गर्दै हिँड्नु मात्र होइन लक्ष्य केन्द्रित योजना र क्रियाकलाप पनि हिँडाइ हो । अब नहिँडी बस्छु भनी सुख मिल्ला ? मनभित्र तीन मुरी कुरा भए पनि नहिँडी त त्यो पूरा हुन नै सक्दैन । मैले अन्याय बोलैँ त ? मर्ने मरिदिन्छ बाँच्नेले सद्गति गर्न हिँड्नै पर्‍यो । बसेकै थलामा सबथोक पाइने भए किन हिँड्ने दुःख बेसाउनु पर्थ्यो र ? मन पनि कुद्छ । मन कुदेको छ भन्दै शरीरलाई कुदाउनु भएन भने तपाईं अल्छीको पिण्ड बन्नुहुन्छ, छेपाराले मन धेरै कुदाउँछ नि । तर के गर्नु शरीर नहिँडाए पछि जहाँको त्यहीँ । अनि जन्मिन्छ छेपारको उखान अनि किस्सा । यसको मतलव तपाईँको त के मेरो गोबरगणेश बुद्धिको पनि अपरेशन हुनु पर्‍यो कि परेन ?

हिँड्ने कुरामा अल्छ्याई गर्नेहरूलाई अबुझ अर्थात अज्ञानीको संज्ञा दिँदा किन दोष व्यहोर्ने ? हरेक कुरामा पहिला मन कुदाउनु पर्दैन ? मनको निश्चयले शरीरका अन्य अङ्गको आन्तरिक घोडादौड आरम्भ हुन्छ । मुटु तीव्र गतिमा चल्न सुरु गर्दछ । रगत खहरेमा बाढी आएझैँ हतारमा हुन्छ । पेट इनर्जी प्रेषित गर्न औताउँछ । थप इनर्जी जोहो गर्न हतार भइहाल्छ उसलाई । दिमाग अन्तरिम आदेश, फैसला वा पूणर्पाठका लागि इजलास गठनमा पुगिसक्छ । अनि सिङ्गो शरीर यसरी तयारी अवस्थामा हुन्छ । अब शौचालय जान पनि नहिँडी सुखै पाउनु हुन्न । हिँड्दिनँ भन्ने अभिव्यक्ति दिनुहुन्छ भने संसारका यावत नकारात्मक अर्थबोध युक्त यावत विशेषण वा उखान तपाईंकै लागि हाजिर हुन्छ । पानी मरुवा, कुम्भकणर् जुम्सो, थिचुवा, अल्छिको पिण्ड, अल्छी तिघ्रो स्वादे जिब्रो, दिन उजेली सुती बिताइ रात उजेली विस्कून सुकाइ अब भएन फसाद ।

स्वास्थ्य विज्ञानले पनि हिँडाइलाई स्वस्थताको आधार मानेको छ । मर्निङवाक र इभिनिङवाक पनि विज्ञानकै देन हो । मन र शरीर सँगसँगै कुद्नु पर्ने अरे । अल्जाइमर्स दाउ हेरेर बसिरहेको छ मन नकुदाउनेमाथि । कल्पनाशीलता, सिर्जनशीलता को जग नै मन । मन फर्किएर आएन भने पो समस्या। जब जुन गतिले हिँडेको फर्किएर त्यही गतिमा आफ्नै घरमा आए पछि त कुरा नै खतम। अब निष्कर्षमा पुग्न सकिन्छ । कुद्नु वा हिँड्नुका अनेक फाइदा छन् । मान्छेको मात्र के कुरा प्रकृतिलाई नै नियाल्नु होस् त कहाँ कुदाइ छैन ? अब पालो तपाईंको निष्कर्ष दिने ।

जीवनका हर गौँडामा हिँडाइ र कुदाइकै कारण उपलब्धिका दृष्टान्त देखेर पनि यसको सोह्रै आना समर्थक नबनी किन गजक्क पर्नु भएको त ? हिँडाइ र कुदाइबाट बडेमानका भारी उचाल्न सक्छौँ । पशुपतिको जात्रा सिद्राको व्यापार भनेझै धेरै थोक एकै पटक जुरुक्क बोकेर कुद्दा ल्वाङ देखि जाइफल ओखर आदिका भारी हाल्न सक्छौँ । हनुमानले ओखती नचिनेकोमा खिल्ली उडाउने तपाईं हामीलाई के थाहा ? एकोहोरो एक सुरे नबनी हिँड्दा बहुआयामिकताको मूल्य नै कति कति ? हनुमानले एउटा घतलाग्दो जीवनदर्शन मानवका लागि छोडेका पाठ हो । जता गए पनि एउटा मात्र कुरामा ध्यान दिएर कुद्नु असफलता बढी हात लाग्ने दृष्टिकोण पोखेका छैनन् त ?

एक पटकको मेरै गथासो सुन्नुहन्छ कि के ? बुढिया घरमा नभएको बेलामा मैले नै खाना बनाएर खुवाइवरि स्कूल पठाउनुपर्थ्यो । वोर्डिङको सिष्टम यहाँलाई थाहा नै छ । पढाइभन्दा बढी क्रिम पाउडर । स्टोभ बान्नुपर्ने ग्याँस चुल्हो थिएन ०५५/५६ सालतिर । थियो भने पनि पहुँचवालासँग मात्र । म आषाढ-श्रावणको समर भ्याकेसनमा प्रायः काठमाडौँ जान्थें। बुढियालाई खेतीपाती लगाउन गाउँ पठाइदिन्थेँ । स्टोभ बल्दाबल्दै कहिले सानो र एकोहोरो हुन्थ्यो पीनले घोच्नुपर्ने । एकनास नबलिदिने । पहिला भात पकायो । त्यसपछि दाल तरकारी पालैपालो पकाउँदा आठ बजेदेखि पकाउन सुरु गरेको म बबुरो साँढे नौ सम्म पकाएको पकायै हुन्थेँ । बच्चालाई पौने दशमा पठाइसक्नु पर्ने । ममी भए कति छिटो गर्नुहुन्थ्यो बुबा त छोरी निशाले एक दिन प्वाक्कै भनी । बुढियाको सबारी भयो एक दुई दिनपछि। कसरी पकाँउदी रहिछ जैरीले भनेर यसो कोठामा काम भएको निहुँ बनाएर छेउछाउतिर घुमिरहेँ ।

आज बूढो खुब रत्तिए त भन्ने पनि लाग्यो होला । म हुस्सु त जिल्ल । उनले त एउटा बाक्लो स्टिलको गिलासमा दाल र पानी हालेर भातको कुकर भित्र हाल्दिरहिछिन् । भात पाक्दा गिलासभित्रको दाल पाकिसक्दो रहेछ । कुकरको सिठ्ठी खुलेपछि गिलास झिकेर कराइमा खन्याउने र झान्ने । अनि तातो पानी हालेर दाल तयार पार्ने । भात पाकुञ्जेल तरकारी काटकुट पारी मसला सिलौटामा पिनपान पारी ठिकठाक । तरकारी पाक्दैछ त्यसबेला अन्य खुद्रामसिना काम र छोरीको कपाल कोरि बाटी गरिसक्ने । अब हनुमानले वाणको प्रहारबाट घायल लक्ष्मणलाई एक थोक ओखती मात्र हो र अरुका लागि वात, पित्त र कफको ओखती एउटै कुदाइबाट सम्पन्न गरे कि गरेनन् ?

नेपालीको एक बिसौलीको खोपडीमा यस्तै सद्बुद्धि छिरे कस्तो हुन्थ्यो होला ? पीच गरेको एक वर्षमा नाली राख्न पीच भत्काउने । नाली काटिसकेको ५ महिनामा बिजुलीको भूमिगत तार बिच्छ्याउन फेरि नाली पनि भत्काउने । ६ महिनापछि पीचको गुणस्तरमा न्यूनता भन्दै पीच नै सबै खत्तम पारेर पुनः पीचको नवनिर्माणमा दौडिने । एकै पटक हनुमानले पहाड उचालेझैँ समग्र समस्याको अध्ययन गरी हनुमानले झैँ एकैपटक भारी बोक्ने नेता र त्यसलाई सघाउने जनता नहुन्जेल पारा उही होइन त ?

०००
दक्षिणढोका, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x