चिरञ्जीवी दाहालसेतो दारी
यदि म एउटा निरिह कर्मचारी बनेर गएको भए मन्त्रीको कार्यकक्षमा समेत पस्न पाउने थिइन । मलाई मेरै सेता दारीले कुनै दलको कार्यकर्ता बनाएर मन्त्रीभए ठाउँमा पुर्यायो ।

चिरञ्जीवी दाहाल :
सेतो दारी सम्झने बित्तिकै मेरो मनमा झ्वाट्ट हजुरबाको सेतो र चम्किलो दारीको याद आउने गरेको छ । मैले जीवनमा पहिलो पटक देखेको सेतो दारी पनि हजुरबाकै दारी हो । हजुरबाको दारी पहिला कालो वा कैलो कस्तो थियो, त्यो भने मैले देख्न पाइनँ । जब मैले हजुरबालाई चिन्न थालेँ, उहाँ बुढो भइसक्नुभएको थियो । त्यसबेला देखि नै उहाँको दारी सेतो, टिलिक्क टल्कने खालको थियो । साँझ बिहान गाउँका अधिकांश मान्छेहरू हाम्रो घरमा जम्मा हुन्थे, काम हुनेले कामका कुरा गर्थे, नहुनेले दुई चार चिलिम तमाखु तान्थे जान्थे ।
तिनले आउनासाथ हजुरबाको सेतो दारीको दर्शन गर्थे । लाग्थ्यो, मेरो पनि हजुरबाको जस्तै सेता र घना दारी भइदिएको भए मलाई पनि मान्छेहरूले यसै गरी दर्शन गर्ने थिए होलान् ! तिनीहरूले दर्शन गरेको देख्दा मेरो मनमा कताकता खुशी पनि लाग्थ्यो भने केही ईर्ष्या पनि जाग्ने गर्थ्यो । मेरो दारी पनि यस्तै सेतो र सुकिलो कहिले होला ? तर दुःखको कुरा त्यस बेलासम्म सेतो त परै जाओस् गालामा दारी आउने कुनै लक्षणसम्म पनि थिएन, म केटाकेटी नै थिएँ । यदि मिलिहाल्यो भने सेताम्मे फुलेका दारीमा हजुरबाले पाउने जस्तै मान सम्मानको प्रतीक्षामा म पनि थिएँ तर यो अवस्था आउन निकै लामो समयसम्म कुर्नुपर्ने हुनसक्थ्यो ।
यसरी हजुरबाले पाए जस्तै मानसम्मान लिन ढिलो हुने भएकोले मलाई निकै चिन्ता लाग्ने गरेको थियो । यदाकदा हजुरबासँगै हार मिलाएर कठबारमा आड लगाएर बस्दा पनि हजुरबालाई दर्शन गर्नेहरूले मलाई कहिल्यै पनि दर्शन गरेनन् । तिनले हजुरबालाई मात्र दर्शन गर्थे । मलाई असह्य भएको कुरा यही थियो। त्यो पीडालाई मैले मनभित्र गुम्स्याएर राख्ने गरेको थिएँ ।
बाको दारी भने मैले देख्दादेख्दै बिस्तारै कालो रङबाट परिवर्तित हुँदै तिलचामले अवस्थामा पुगेपछि बल्ल पूणर्रुपमा सेता र चम्किला भएका थिए । हजुरबालाई दर्शन गर्नेहरूको तुलनामा बालाई दर्शन गर्नेहरूको सङ्ख्या पनि लगभग उस्तै थियो । त्यसबेलासम्म सेतो नभए पनि मेरो गालामा समेत कालो ठोसे दारीको बाली फस्टाउँदै थियो ।
जब केटाकेटी अवस्थाबाट उकालो लागेर म किशोरावस्थामा पुगेँ, मान्छेहरूले बा हजुरबालाई किन दर्शन गरेका रहेनछन्, त्यसबेलादेखि मैले स्पष्ट बुझ्न थालेको थिएँ । उनीहरू उमेरमा पाको थिए, इमान्दार थिए, असल थिए, कसैलाई उचाल्ने पछार्ने गर्दैन थिए । दुःख र पीडामा परेकालाई सहयोग गर्थे । कि बोल्दै बोल्दैन थिए, बोलेको कुरा पानी मुनी गएर पनि पुर्याउँथे । हावादारी कुरा कुनैदिन बोलेनन् । रिस, ईर्ष्या, अभिमान र छलकपट के हो यिनलाई पटक्कै थाहा थिएन । यतिमात्र होइन उनीहरू भ्रष्टाचार गरेर दाम कमाउने ठाउँमा पुग्दा पनि तिनले एक सुको पनि लोभ गरेनन् भन्ने व्यापक हल्ला चलेको थियो ।
अझै बा हजुरबाहरू धेरै जजमानका पुरेत समेत थिए । कैयौँ युवाहरूका गायत्री गुरु थिए र तिनका चेलाचपेटाहरूले निर्धक्क मान मर्यादा गर्थे । त्यसमाथि बाको मावल र हजुरबाको ससुराली समेत गाउँमै थियो । त्यो परिवार निकै ठूलो थियो । हजुरबा अधिकांश गाउँलेका भिनाजु र फुपाजु पर्थे भने बा भानिज र भान्दाई ।
उबेला हजुरबा भन्नुहुन्थ्यो, “सेतो दारी हुनेहरू बुद्धिमानी हुन्छन् । ज्ञानी र इमानी हुन्छन् । यिनलाई निकै आदरका साथ हेर्नुपर्छ “। जब हजुरबाले यसो भन्नु भएको थियो, त्यसदिनबाट सेतो दारी हुने सबै मान्छेलाई मैले पनि आदर गर्न थालेँ । जब म हजुरबालाई हाँस्दै सोध्थेँ, “हजुरबा, तपाईंको दारी किन सेतो भएको ? “हजुरबाले पनि हाँस्दै जवाफ दिनुहुन्थ्यो, “तिमीहरूको चिन्ता, घर गृहस्थको चिन्ता र यो गाउँको चिन्ताले गर्दा यी दारी सेता भएका हुन् । सेतो दारीले बुढ्यौलीको सङ्केत दिन्छ, तर यसले अनुभव र बुद्धिको पनि सङ्केत दिइरहेको हुन्छ । दारी फुल्न थालेपछि बल्ल मान्छेको बुद्धि विकास हुन्छ । यही दारी सेतो नभएर हो, तेरो बुद्धिको विकास नभएको !” अब भने म साँच्चै आफूलाई निकै गवाँर र बुद्धिहीन ठान्ने गर्थेँ । त्यसैले यस्ता सेता दारी भएका मानिस देख्यो कि मलाई आफ्नै हजुरबा जस्तै लाग्थ्यो ।
समय बित्दै गयो मेरो दारी पनि उबेला बा र हजुरबाको जस्तै सेतो हुन लाग्यो । म आफूलाई निकै बुद्धिमान सम्झन थालेँ । बुद्धिमान र भलादमी, आफूले आफैँलाई मानेर नहुने रहेछ, सारा दुनियाँले बुद्धिमान भने पो बुद्धिमान भइने रहेछ । तर मैले सेतो दारी भएपछि बुढ्यौली उमेर त पाएँ तर दारी फुलेपछि मान मर्यादाको जुन अपेक्षा गरेको थिएँ, त्यो भने पाउन सकिनँ ।
मान्छेहरूले मलाई दर्शन गर्न त परै जाओस् उल्टै मेरो सेतो दारीलाई आधार मानेर घृणा गर्न थाले । मलाई कमजोर मान्छे ठान्न थाले । उपयोगविहीन वस्तुमा गणना गर्न लागे । एकदिन केही मान्छेले भनेको सुनेँ, “ऊ फुले बुढो आयो । अब अर्ति र उपदेश छाँट्न थाल्छ ।” कसैले माग्दै नमागी अर्ति दिनेलाई यसरी नै घृणा गर्ने रहेछन् । मैले त्यसैबेला थाहा पाएँ । तर कति मान्छेलाई अझै पनि थाहा नहुन सक्छ । नमागेको अर्ति दिनु र घरमूनि पर्ती जग्गा राख्नुको अर्थ छैन ।
कसैकसैले सम्मान पाएको देखेकै भरमा हामी आफूले पनि त्यस्तै सम्मान पाउनु पर्ने अपेक्षा गरेका हुन्छौँ । तर तिनले किन मानसम्मान पाए र किन मान गरियो ? भन्नेतिर हाम्रो ध्यान पुगेको हुँदैन । अहिले यसो सम्झन्छु, मैले आजसम्म कुनै एकजनालाई पनि उपकार गरेको छैन । सहयोग गरेको पनि छैन । न कसैलाई गायत्री मन्त्रदान गर्ने अवसर पाएँ ! न मैले संस्कृत पढेको थिएँ, न बा हजुरबा जस्तै पुरेत नै थिएँ ! संस्कृत भाषा “कालो अक्षर भैँसी बराबर” भएपछि मैले कर्मकाण्ड सम्बन्धी काम गर्ने कुरा “आकाशको फल आँखातरी मर” भने जस्तै भइहाल्यो । मेरो मावली पनि नजिक थिएन, ससुराली झनै टाढा थियो । त्यसमाथि जागिरमा हिँडियो । भक्ष अभक्ष लुँड्याइयो । स्नान सन्ध्याबाट विमूख भइयो । दुई चारवटा कविता लेखेकै भरमा आफूलाई लेखनाथ पौडेल सम्झन थालियो अनि त म जस्तो गतिछाडालाई सेतो दारी भएकै भरमा मानसम्मान गर्ने मान्छे को पाउनु ?
दोस्रो कुरा कसैले मलाई मान सम्मान गर्न आँट्यो भने पनि मैले त्यसलाई माफ गर्नुहोला म मान सम्मानको लायक छैन भन्ने गरेको छु । जसलाई आजसम्म पनि निरन्तरता दिएको छु । मलाई राम्रोसँग थाहा छ, मान्छेलाई कसैले मान सम्मान दियो भने त्यसको इज्जत राख्न सक्नुपर्छ । बा हजुरबासँग पो प्रशस्त योग्यता र मानवीय गुण थियो । तिनले सबैको मानसम्मान सहर्ष स्वीकार गरे । मसँग त्यस्तो योग्यता छैन, अनि म कसरी अर्काको मान सम्मान स्वीकार गर्न सक्छु ! हजुरबाले जसो भने पनि अचेल भने सेतो दारी देखेकै भरमा कसैप्रति पनि अन्धभक्ति देखाइहाल्न मन लाग्दैन । किनकि समय परिवर्तन भइसकेको छ । नियालेर हेर्नुपर्छ, अचेल मान्छेको सेतो दारीभित्र विरुपको कालो अनुहार हुन्छ । होइन अलि बढी नै भयो भने झैँ लाग्दछ भने हाम्रो सिंहदरबार र बानेश्वरतिर नजर लगाउनुपर्छ, त्यता यसरी दारी फुलेका बुढाहरू छपक्छकै भेटिन्छन् । दारी फुलेर के गर्नु ! सबैभन्दा धेरै लोभी पापी त्यहीँ पाइन्छन् । सबैभन्दा धेरै गतिछाडा त्यतै छन् । त्यहाँको दृश्य देखेपछि हजुरबाको सिद्धान्त सोझै फेल खाएको अनुमान गर्न बाध्य भएको छु । होइन, हजुरबाको सिद्धान्त फेल नखाएको भए त्यहाँको गतिविधि यतिविघ्न भद्रगोल हुँदैन थियो । सबै दारी फुलेकाहरू मानसम्मान गर्न लायक मानिन्थे ।
बा हजुरबाले सेतो दारी भएर सबैको मान सम्मान पाए । मेरो पालोसम्म आइपुग्दा सेतो दारीले नाफा भन्दा नोक्सान बढी पुर्यायो । हुनत मान्छेले जुगजमाना अनुसार चल्न जान्नुपर्छ । त्यसैले यी सेता दारीको प्रयोग गरेर मैले जीवनमा एकपटक मात्र फाइदा लिएको छु ।
त्यसबेला मेरो जागिर कुलेखानीतिर थियो । हामी चितवन घर हुनेका लागि दूरीका हिसाबले कुलेखानी एकदमै अधकल्चो र अपायक ठाउँ । शुक्रबार घर आउन पनि नभ्याइने, त्यो टाढा पनि होइन, निकै नजिक पनि होइन । त्यहाँ पुगेपछि निकै जाडो हुन्थ्यो । चितवनको न्यानो हावापानीमा रमाउने गरेको मलाई कुलेखानीको चिसो पटक्कै मन परेन । त्यहाँको सुन्दर प्राकृतिक छटाको अघाउन्जेल रसपान गरिसकिएको थियो ।
सरुवाको लागि धेरैजनासँग भनसुन गरिदिन पर्यो भनेर गरेको अनुरोध बालुवामा पानी खन्याए जस्तै भएको थियो । भन्न त सबैले हुन्छ भनिदिउँला भन्थे तर मेरो सरुवा भने भएन । जागिर छोडौँ भने पेन्सन हुन केही वर्ष बाँकी थियो । यहाँसम्म आइपुग्दा मेरो पनि दारी फुलेर मनास्लु हिमालको शिखर जस्तै देखिन थालेको थियो।
जब अति भयो म एकदिन काठमाडौं स्थित मन्त्रालय तिर लागेँ । दारी नकाटेको महिनौं भइसकेको थियो । काठमाडौं पुगेर दारी काँटछाँट गरेँ । अब भने कानको छेउनेर चाउरिएका गाला, निधारमा बनेका बुढ्यौलीका रेखा र गडेका आँखा स्पष्ट देखिएका थिए । मैले कालो भादगाउँले टोपी किनेर लगाएँ । कुममा भिरेको फितावाल झोला र खैरो कमिज सुरुवालमाथि घ्यू रङको ज्वारीकोट भिरेपछि म कुनै दलको जिल्लास्तरीय नेता भन्दा कम देखिएको थिइनँ ।
म सरासर सिँहदरबार छिरेँ। मन्त्रालयमा पुगेर मन्त्रीसँग सञ्चो बिसन्चो कुरा गरेँ । सुरुमा मलाई चिन्न आनाकानी गरेका मन्त्रीजीले नचिने पनि चिनेको अभिनय गर्न बाध्य भए । आखिर मैले खोजेको पनि यस्तै थियो ।
कुराको थालनी मन्त्रिजीको चुनाव क्षेत्रमा भएका समस्याका बारेमा कुरा उठान गरेँ, जुन मैले उनकै जिल्लाका एकजना साथीसँग सोधपुछ गरेर जानकारी लिएको थिएँ । उनको आगामी चुनावी विश्लेषण गर्न थालेँ । मन्त्रीजी गम्भीर भएर सुन्न लागे । अर्को साल सजिलै चुनाव जित्ने हो भने बेलैबाट सामजिक र व्यक्तिगत काम समेत गरिदिनु पर्छ भनेँ । मन्त्रीजी निकै ध्यान दिएर मेरो कुरा सुनिरहेका थिए । मैले भनेँ “एकजना चितवनतिरका हाम्रै कार्यकर्ता हुन् हजुर, अत्यन्त सक्रिय छन् । फेरि मेरो आफन्त पनि हुन् । यिनलाई जसरी पनि सरुवा गर्नुछ । हजुर भएको समयमा तिनको सरुवा गर्न पाए जाती हुन्थ्यो । हजुरको कार्यकर्ताको नाताले मेरो पनि इज्जत बढ्थ्यो ।” उनले सरुवा गर्नुपर्ने कर्मचारीको नाम टिप्न लगाए, मैले निर्धक्कसँग आफ्नै नाम टिपेँ ।
मन्त्रीजीले तुरुन्त सचिवलाई बोलाएर भोलिपल्ट नै सरुवा गर्ने आदेश दिए । केहीदिन पछि म कुलेखानी पुग्दा मेरो सरुवा भएको खवर फैलिइ सकेको रहेछ । यदि म एउटा निरिह कर्मचारी बनेर गएको भए मन्त्रीको कार्यकक्षमा समेत पस्न पाउने थिइन । मलाई मेरै सेता दारीले कुनै दलको कार्यकर्ता बनाएर मन्त्रीभए ठाउँमा पुर्यायो । तिनले मलाई आफ्नै कार्यकर्ता सम्झन बाध्य भए । आफ्नो सरुवा, म क्षणिक रूपमा कुनै दलको कार्यकर्ता बनेर गरेँ । मेरो सेतो दारीले निम्ट्याएको सबैभन्दा ठूलो काम त्यही थियो ।
धन्य सेतो दारी, तिम्रो महिमा अपरम्पार छ । त्यसपछिका दिनमा भने मेरो यो सेतो दारीले खासै उपलब्धिमूलक काम गर्ने मौका पाएन । जेहोस् बुद्धि पुर्याउन सक्ने हो भने सेतो दारीले धेरै कुरा निम्त्याउन सक्ने आँट भने दिन्छ है ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































