साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूतपूर्व अभूतपूर्व

अब त भारतबासीहरूलाई ग्लानि हुन थाल्यो । हामी अपराधी हौँ । हामीले हाम्रो भलो गर्ने काम यिनीहरूको जिम्मा लगाएर अपराध गर्‍यौँ । अब यिनीहरूले राजघाटमै हाम्रो भलो गर्ने कसम खाएका छन् ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

मानिसहरूले मोरारजी भाइमाथि दवाब दिएर गलत परम्परा नबसालून् । जाँच सधैँ भूतपूर्व प्रधानमन्त्रीका छोराको मात्र हुने गर्छ, वर्तमानका छोराको होइन । यही स्वस्थ परम्परा हो । मोरारजीभाइ अझै भूतपूर्व हुनुभएको छैन, ‘अभूतपूर्व’ भने अवश्य हुनुहुन्छ । उहाँ कान्तिभाइको जाँच हुन दिएर एउटा अस्वस्थ परम्परा सुरु गर्नुहुन्न । उहाँजस्ता स्वस्थ मानिसबाट मानिसहरू यस्तो अस्वस्थ कुरो गराउन चाहन्छन् ।

जुन विरोधी नेताहरूले यस्तो फोहरी कुरो गर्दै छन् तिनीहरूले के विचार गरुन् भने आउने दिनमा उनीहरू पनि प्रधानमन्त्री वा मुख्यमन्त्री होलान् र त्यति बेला उनीहरूका छोराको पनि जाँच होला । म त के भन्छु भने जबसम्म कुनै मन्त्री भूतपूर्व हुँदैनन् तबसम्म उनका छोराको जाँच हुनु हुँदैन भन्ने कुरो संविधानमै आओस् ।

राजनीतिक सत्ता पनि छ, सुविधाहरू छन्, पैसा छ, वरिपरि हस् हजुर गर्ने र फाइदा उठाउने पनि छन् भने जुन मन्त्रीको छोरो पैसा, रक्सी र सुन्दरीमा लागेन त्यो त महामूर्ख पो हो त । डेढ वर्षसम्म प्रधानमन्त्री बनिसकेका मान्छेका बारेमा यस्ता प्रश्नहरू यसरी उठाइएका छन् मानौं कुनै स्कुलको मास्टरले अमुक केटालाई कक्षा बढाउनु राम्रो भएन भनेको होस् । माथिल्लो कक्षामा त्यसले केही गर्न सकिरहेको छैन । त्रैमासिकमा पनि त्यसले राम्रो अङ्क ल्याउन सकेन । कसैले पटनामा पल्टेको बुज्रुकलाई त कसैले दिल्लीमा ढुल्केको बुज्रुकलाई सोध्छ, ‘भन्नुस् त महात्माजी, के मोरारजीलाई प्रधानमन्त्री बनाएर तपाईंले ठिक गर्नुभएको हो ?’ बुज्रुक भन्छ, ‘सायद गल्ती भयो, तर त्यति बेला अर्को उपाय पनि के पो थियो र ? मजबुरी थियो नि त !’

पटनाका बुज्रुकले एक दिन भने, ‘मोरारजीले कुनै काम गरेनन् । उनी बेकम्मा प्रमाणित भए ।’ तर दुई दिनपछि लोकनायक भन्छन्, ‘मोरारजीले निकै राम्रो काम गरेका छन् । म उनीप्रति सन्तुष्ट छु ।’

पटनाबासी बुज्रुकलाई कसैले पनि दश रुपैयाँ पनि सापटी दिन्न । दूध दिनेले पनि दिनदिनै दूधको पैसा माग्छ । के थाहा भोलि तपाई पनि फेरिनुहुने पो हो कि ?

चरणसिंह पनि कान्तिभाइमाथि भ्रष्टाचारको आरोप भएको कुरा गर्छन् । फेरि आरोप थिएन, अफवाह थियो पनि भन्छन् । चन्द्रभानु गुप्त एक दिन भन्छन्, ‘मधुलिमयेले दिएको चन्दाको रकम न जम्मा गरियो न त्यसको हिसाब देखाइयो ।’ फेरि दुई दिनपछि भन्छन्, ‘मैले यस्तो भनेकै छैनँ । चन्दा सबैले जम्मा गरेका हौं र हिसाब पनि दिएका हौं ।’ मधुलिमये कान्तिभाइको भ्रष्टाचारका बारेमा प्रधानमन्त्रलाई पत्र लेख्छन् । तीन दिनपछि सार्वजनिक रूपमै त्यस पत्रको कुरो अस्वीकार गर्छन् ।

मानिसहरू व्यर्थमै जनता पार्टीमा एकताको चाहना राख्छन् । एउटै छन् ! कति एकता छ ! जब र जुन बेला चाहियो सबै एकैचोटि बेइमान बनिदिन्छन् । फेरि इमानदार बन्ने निणर्य गर्छन् अनि एकै पटक इमानदार पनि भइटोपल्छन् । एउटा नयाँ परम्परा अर्को पनि बन्दै छ । पहिले के हुन्थ्यो भने सत्ताधारी दलले घोषणापत्रको काम पुरा गर्दैनथ्यो । अहिले जनता पार्टी पहिले ती काम सम्पन्न गर्दै छ जुन कामको उल्लेख घोषणापत्रमा थिएन । घोषणापत्रमा हामी एकले अर्काको पोल खोज्ने र खोल्ने छौं भन्ने कतै छैन । नेताको खोलौंला, उसका छोराछोरीको खोलौंला र नातेदारहरूको खोलौँला ।

पार्टी र सरकारको सम्पूणर् संयन्त्र कलङ्कनिर्माण, कलङ्कशोध तथा कलङ्क उद्घाटनमा लागेको छ । बाबु ‘सुरेश कुमारको सेक्स काण्ड’ जस्तो चतुर्‍याइँका साथमा नियोजित गरियो त्यसबाट स्तर निकै बढेको छ । नैतिकताको स्तर त बढेकै छ, स्टन्टबाजी र अपराधतत्त्व पनि थपिएका छन् ।

कुनै दिन राजनारायणले उनीसँग मोरारजी र जगजीवनरामका पनि आइमाईसितका नाङ्गा फोटाहरू छन् भनेर भनिदिन सक्छन् । कति फोहरी छन् यिनीहरू ! अरे, गर्नैपर्ने भए गर, तर फोटो किन खिँचाउँछौ ? यस्तै नैतिक रूपमा युद्ध अघि बढ्यो भने नेता र मन्त्रीहरूका बुढी स्वास्नीहरूले पनि होसियार हुनुपर्छ । बच्चैमा फ्रक लगाएर खेलेको कुनै फोटो खोजेर देखाइने छ र भनिने छ, ‘लौ हेर यो, फलानाकी पत्नी हो यो !’ छिः छिः छिः छिः !

अब त भारतबासीहरूलाई ग्लानि हुन थाल्यो । हामी अपराधी हौँ । हामीले हाम्रो भलो गर्ने काम यिनीहरूको जिम्मा लगाएर अपराध गर्‍यौँ । अब यिनीहरूले राजघाटमै हाम्रो भलो गर्ने कसम खाएका छन् ।

हामी हात जोडेर भन्छौँ, ‘हाम्रा उद्धारकहो ! हामीलाई आफ्नो भलो गराउनु छैन । तिमीहरू पटक्कै हाम्रो भलो नगर । तिमीहरूको यत्रो बलिदानबाट हामीलाई आफ्नो सानोतिनो भलो गराउनु छैन । तिमीहरूले हामीमाथि दया गरेर गोबर खान र नालाको पानी पिउन बन्द गरिदेओ ।’

०००
परसाई रचनावली भाग- ४ बाट ‘अभूतपूर्व भूतपूर्व’को नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x