युवराज मैनालीसाधक सम्मानमण्डली
नयाँ कुराको लहडमा चाहे धार्मिक मण्डली होस्, चाहे मार्मिक मण्डली मण्डलाकारमा यति फोकस लाइट हुँदै आइरहेका छन् कि अब सम्मान, पुरस्कार, मनोनयन, नियुक्ति, ठेक्का आदि- इत्यादिको वृत्त आफन्तमा विशेष गरी सम्धी सम्मान् मण्डलमा आबद्ध हुन पुगेछन् ।

युवराज मैनाली :
दलदलको दल, दुवै हातले बजाउने मादल, पहाड चुम्ने बादल, आँखामा लाउने गाजल, बोटबिरुवा हुर्काउन नभई नहुने मलजल । यी वाक्यहरूमा एक आपसको देखिँदैन कुनै मेल तर जमाना नै हो युद्ध र प्रेममा सबै जायजको पेलमपेल । यसैले यहाँ ऐले न सूर्यास्तको सीमारेखा छ, न त शङ्ख फुकेर अर्थात् पूर्वसूचना दिएर होसियार खबरदार युद्ध आरम्भ गर भन्ने पूर्वसूचनाको छ चलनचल्तीको दरकार । ढुकेर लुकेर निस्क्यो स्वाट्ट छप्कायो, रोप्यो, पड्कायो, ढलायो, सुइँकुच्चा ठोक्यो अध्याय पूर्ण ।
यस्तो फास्ट फरवार्डको जमानामा माथिका तपसिलका बेमेललाई मेलमा परिणत गराउने इमेलरूपी कोडहरू पैठारी हुन्छन् र लहरो मिलाउँछन् भन्ने कुराविना कुनै धामी, झाँक्री वैद्य, बोक्सी बकेझै दैनिक ध्वनि टङ्कनयन्त्र (टेप रेकर्डर) ले टिप्ने कोही भएर त्यसलाई सुन्दै सम्पादन गर्न थाल्ने भए त्यो कर्ता आफ्नै दिमागको अपहरणकर्ता हुन पुग्छ भन्ने कुराको हेक्का हाम्रा भाग्यनिर्माता नेताहरूमा हुँदो हो त नेपाल चुत्थे तालमा नाच्न पर्दै पर्दैनथ्यो अर्थात् घिमिरे बाजेको सुन्दर, शान्त विशाल च्याट्ट हुन पुग्दथ्यो तर मूढो र घुँडोको विडम्बना मात्र पाँच अक्षरमा इतिहास कोरियो जोरियो यो पाँचलाई जङ्गबहादुरले स्वीकारेन । ऊ तीनमै सन्तुष्ट भयो ।
अहिलेसम्म राष्ट्रिय फूल, राष्ट्रिय जनावर, राष्ट्रिय रङ आदि इत्यादिऔँ राष्ट्रिय अङ्कको रूपमा विचार गरिएको हुनाले नै स्पष्ट रूपमा पाँचले विडम्बनाको कृष्णभीर ओइराएको ओइर्याई छ खप्ट्याएको खप्ट्यायै छ, भाग्यलाई पुरुषार्थको गाडीलाई जहाँको तहीँ मात्र होइन कि पछिल्तिर धकेल्याधकेल्यै छ । अब भन्नुहोला पाँचको प्रपञ्च के हो त ?
हुन त भन्नु नपर्ने सायद इतिहास एलर्जी भएर होला यस्सो इतिहासमा बतास लाउनुस् त काजी भीम मल्ल सफलताको मत्ताहात्ती मनभित्र मत्त्वाउँदै राष्ट्रिय स्वार्थपूर्तिको फुर्ती निकाल्दै फिर्दोमा पदक, पुरस्कार, स्याबासीको साटो उनले पाएको पगरी कसैगरी पनि खाली भकारीकै सत्ताको कहालीलाग्दो चम्चे शक्तिको बखान गर्दछ । सुत्केरीले चाकु डल्लो जति खाए पनि चाकुको स्वाद थाहा नपाएझै इतिहासलाई पयरपोस (मोजा) सरह ठान्ने थान्काहरूको भित्ते स्वभावले फेरि पाँच अक्षर नभएकै कारणले भीमसेन थापालाई कालचक्रले भिडायो-कारागारभित्रै स्वास्नीलाई नाङ्गो पारेर घुमाइँदै छ भनेर मानसिक अस्वस्थ गराइयो अनि भीम मल्लको हारमा भीमसेन थापा पनि उनियो, बगेको खोलो फर्कियो । सबैलाई चेतना भया भन्दै ढुङ्गामा शालिक कुँदियो, ठड्याइयो ।
शालिकको ठड्याइ कुर्ता-सलवार वा जिन्सको पसलमा उभ्याइको प्लास्टिक नमुनासरह उभ्याइयो अनि त वर्षको एकपटक माला गुच्छा लगाइयो अनि पृथ्वीको दिव्य उपदेशलाई तुच्छ पारेर आफ्नो अनुकूलताको डम्फू बजाइयो । समदृष्टि, समभाव अरुमा हैन आफैंमा लगाव केन्द्रीत गरियो । धन्य भन्नेले भने “काश्मिर काशी अजव नेपाल ।” साँच्चिकै अजव नेपाल अजवै रहेछ ।
युधिष्ठिरको पासा कौडाको सोचमा पञ्चपाण्डवको ट्वाँ हेराइमा भीमसेनको गदा, अर्जुनको धनु आदि इत्यादि धोतीको फेरोमा फेटा गुँथेझै गुथ्नेले गुथिलियो, बाँध्नेले बाँधिदियो, भिर्नेले भिरिलियो, “सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा वैकुण्ठ जाला फेरि भन्दा तुरुन्तै आइजाला” मा टुङ्ग्याइयो । बनारसी पण्डा, ग्वालियर्ली दण्डा अनि मद्रासी भट्टारक वृन्दको त्रिकोणात्मक चटक्के चट्टमा फट्ट स्वाहाको वाक्य हवन, कार्य हवन र राष्ट्रिय स्वार्थ हवनमा घिउ थपियो ।
आहूति स्वार्थ सामग्री जोरजाममा फिलिमको सम्बादझै सन्ध्या मरगई पवित्रता मरगई आदि इत्यादि गुन्जित यो हिमाल पहाड गुन्जिनै रह्यो । रह्यो त के, रहने के, रहन्छ के ? सहीमै दही जम्दो छ हुटिट्याउँले आकाश थाम्दो छ थामिरहोस् कसैको बाबुको जाँदो के जाने त, निचोरानिचोर निबुवाको अरू यावत् कोही उडेर पार होला कोही बसेरै प्वाँख उमार्ला, कोही थुनेर ठाउँ अँगाल्ला, तर भुइँको जुठोले पाउने ठाउँ उही रछ्यान । रछ्यानको पनि अहिले त भाउ छ, त्यसमा टिप्नेहरूको अनेक बाउ छ, दाउमा उपहारै उपहार वर्षा चाउचाउ छ ।
चाउचाउको घुम्राई कति छ, लम्बाई पनि त्यति नै छ । मण्डली, मण्डल, मण्डलेको कुरा गर्दा मण्डलको भरमार छ ऐले, पैले त मात्र यौटा कर्मवीर महामण्डल सुनिएथ्यो, अहिले त मण्डलहरू यति विघ्न च्याउ उम्रेझै ओइरिएका छन् कि कुन मण्डलभित्र मण्डेला छन् कुन मण्डलभित्र मण्डले छन् थाहा पाउन नै गाहो । पञ्चायतकालमा मण्डलेको जगजगी थियो, प्रजातन्त्रका कान्ले र भीरेहरू खुब चर्चा गर्थे यिनीहरूको । हुन पनि यै चर्चाले उचाई बढ्न पुगेको थियो, अहिले चर्चा छैन । नभएर त पक्कै हैन सायद ती सबै अनुकूलताको परिवर्तित जीवधारी बनेर अनुकूल अमुक ठाउँमा छिरिसके । यसैले त अमुक अमुक पनि वाग्मती, विष्णुमतीमा ढलिसके । आहा । कति सन्तुलित अनि साम्यता, साम्यवादीहरू मख्ख पार्ने मलजल । चलखेल चलखेलको चुरिफुरी त बज्न थाल्यो आफ्नै मुखबाट तिरिरि ।
बोट-बिरूवाहरू उँधो जरो गाडेर उँभो लाग्छन् अक्सर तर, यी प्राणी उँभोबाट उँधो प्रभावमा लाग्दा रहेछन् । माथिबाटको प्रभावकै अनुरागमा साना साना मण्डली भोजनमण्डली, भजनमण्डली, गायनमण्डली, लेखनमण्डली, समाजसेवीमण्डलीदेखि यावत् मण्डलीहरू पनि कतै कोतपर्व कतै कोठापर्व, नोटपर्व, चोटपर्वमा चस्का लगाउँदा लगाउँदै अहिलेचाहिँ सम्धीपर्वमा लाग्न थालेछन् ।
नयाँ कुराको लहडमा चाहे धार्मिक मण्डली होस्, चाहे मार्मिक मण्डली मण्डलाकारमा यति फोकस लाइट हुँदै आइरहेका छन् कि अब सम्मान, पुरस्कार, मनोनयन, नियुक्ति, ठेक्का आदि- इत्यादिको वृत्त आफन्तमा विशेष गरी सम्धी सम्मान् मण्डलमा आबद्ध हुन पुगेछन् । हुनत तेल के हेर्नु तेलको धारो हेर्नु भन्छन् यी सब देख्दा यहाँनिर थप्न मन लाग्छ, सेल के हेर्नु सेलको घेरोभित्र पर्नु जिकिर गर्न मन लागेको छ तर, आफ्नो त कर्ममै यस्तो घेरो नसिवमा छैन, तपाई त प्रशस्त आफन्त भएको मान्छे कतै पर्नु भएको छ सम्मानमण्डलीको
घेराभित्र ?
०००
काठमाडौं
‘भ्रष्टाचारको भाङ’ (२०६५)
Subscribe
Login
0 Comments
Oldest







































