चूडामणि रेग्मीगुन्द्रुके गफ !
समस्या बखान्ने गुन्द्रुके पत्रकार पत्रुकार भइरहन्छन् भने समाधानमा कुध्ने पत्रकारचाहिँ चेस्मा ढल्काउँछन् । परिश्रमपूर्वक सृजना गर्ने गुन्द्रुके लेखक थान्को लाग्छन् भने लामा हात गर्नेहरू डाक्टरसाहेव हुन्छन् र उनले भव्यताको ढोकामा प्रवेश पाउने पारा झिक्छन् ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
साग, सिस्नो र गुन्द्रुक
भव्य गफ गरेका मुखले गुन्द्रुके गफ गर्नुपर्दा गफडीलाई पर्नु पिर परेको छ भने आफ्नो भुई नछाड्नु पनि धर्म नै मान्दछ गफडी । ‘साग र सिस्नो खाएको वेश आनन्दी मनले’ भन्ने कुरो घोत्ली-घोत्ली गुन्द्रुके गफ गर्नुपरेको छ । हुने बिरुवाले चिल्लो भएको जाती । नहुने बिरुवाले चाहिँ चिल्लो हुन मन गर्नु आकाशकुसुम ठान्छ गफडी । साग नै नजुर्ने, सिस्नो नै नभेट्ने र गुन्द्रुक पाए तिन सलाम मार्ने परिस्थिति भएकाले भव्य जगत्तिर आँखा लाउनु अनि असुहाउँदिलो कुरो हो । यो त त्यस्तै कुरा हो, जस्तो हाकिम हाकिम्नीसँग खाजा खान र गफ गर्न गएको बेला पियुनले हाकिमे कुर्सीमा ढलीमली गर्नु वा कक्षा जाने शिक्षकले ढिलो गर्दा विद्यार्थी नै गुरुकुर्सीमा गएर गुरु हुनु । कुरो आखिर उही हो । पियुन पियुनै हो भने गोरु पनि गुरु होइन । भव्य गफ गर्न ‘तकदिर’ चाहिन्छ रे, ‘भाग्यमा यमा लेख्या हुन्छ’ ठुलो बडो हुन रे ! साग, सिस्नो र गुन्द्रुक मिठो सही । तर तकदिर र भाग्यको कुरा आउँदा पो खान पाइन्छ । भव्य कुरा गर्ने पनि मुख हुनुपर्छ । कार हेर्दा दङ पर्ने (एक दिन चढ्न पनि परै जाओस् । ठुलो घर देख्ता छक्क पर्ने (एक दिन बस्न पनि परै जाओस्) ठुलो पदवाला देखेर यति लामो जिब्रो झिक्ने (सुव्वाउँभो जानु जसलाई आकाशमहल जत्तिकै छ। यस्ता ‘सर्वसाधारण’ को भव्यतासँग तादात्म्य असम्भव छ । हो, आनन्दी मनले साग र सिस्नु र गुन्द्रुकको झोलमा रसमग्न हुनु वहुसङ्ख्यक नेपालीका लागि असुहाउँदो कुरा होइन ।
एक दिन त !
गफडी धेरैका कुरा सम्झन्छ । ती भन्छन ‘एक दिन त ।’ गफडी आफूसँग तिनलाई तुलना गर्छ । के एक दिन गरिव ओखति नपाएरै एक दिन मर्छ, हरिप लाउन नपाएरै एक दिन खुस्किन्छ । तन्नम भोकाएरै एक दिन सुइँकिन्छ । एक दिन केही हुनेवाला छैन । एक दिन सरक्क काल आउँछ ! एक दिन भव्यता आउँछ भनी आस गर्नेहरू र यस कुरामा भर पर्नेहरू हेरेका हेर्यै हुन्छन्, बोलेका-बोल्यै हुन्छन् । भारततिर गरिबी हटाउनेहरू हेलिकोप्टर चढेर भाषण गर्न जान्छन् रे ! कस्तो विडम्बना ! एक दिन होस्, आज होस्, भोलि होस् गाँठी कुरा के भने गुन्द्रुक मुस्किलले जुर्नेले ‘भव्य’ चिताउनु ठुलो असन्तोक हो र एक प्रकार यो चाहिँदो चिताइ होइन !
भव्यका अधिकारी को ?
गफडी स्पष्ट भनिदिन्छ, हामी गुन्द्रुकप्रिय वर्गलाई भव्यका अधिकारी हुनेहरू हरिया रुख ठाउँ खाने हुन्छन् भने गुन्द्रुक खानेले त्यत्रा रुख सरक्क पचाउन सक्तैन ।
ठ्याक्क साग र ढिँडो खान पाएमा बुरुक्क तिन हात उफ्रनेले ठेक्का खानै सक्तैन, बचत हडप्नै सक्तैन, घुस हसुर्नै सक्तैन । योविना भव्यता आउनु र नहुने कुरा हुनु एकै हो । गफडी भन्छ-सधैँ पढाउने भव्य हुन सक्दैन । अचाक्ली पढाउने समय चाकरीमा लाउनेले भव्यको मुख हेर्न पाउँछ र ‘सिनियरिटी’ ‘जुनियरिटी’ ‘माइनोरिटी’ जस्ता केहीका ठाँगेले पनि उसलाई हुँदैन । जुन कर्मचारी काममा जोतिन्छ, ऊ गुन्द्रुकप्रिय हुन्छ, हाजिर बजाउने चुक्लीवाला भव्यतातिर बढ्छ । दोकान थाप्ने पसले असली गुन्द्रुकको हकदार हुन्छ, राति मालमत्ता सीमापारि गराउने बहादुरी कामको भव्यतातिर वढ्छ । समस्या बखान्ने गुन्द्रुके पत्रकार पत्रुकार भइरहन्छन् भने समाधानमा कुध्ने पत्रकारचाहिँ चेस्मा ढल्काउँछन् । परिश्रमपूर्वक सृजना गर्ने गुन्द्रुके लेखक थान्को लाग्छन् भने लामा हात गर्नेहरू डाक्टरसाहेव हुन्छन् र उनले भव्यताको ढोकामा प्रवेश पाउने पारा झिक्छन् । कृषिविकास होइन-कुर्सी विकास गर्नोस, भूमिसुधार होइन भुँडीसुधार गर्नोस्, वचत होइन, हडप गर्नोस्, साझालाई पेवा गर्नोस्, नयाँ शिक्षाद्वारा घरका दक्ष जनशक्ति तयार गर्नोस् जिल्लाका अधिकारी भएर आफ्नै अधिकारी हुनोस्, नगरमा वसेर ‘नगर’ सिद्धान्तमा कुर्सीमा अडिनोस्, जिल्लासभापति भएर सबलाई जिल्याउनोस्, कार्यकर्ता भएर गफकर्ता बन्नोस् वा काम गर्नेलाई गर्न नदिनोस् । यीमध्ये केहीले नै भव्यताको गेटपास लिन्छन् । गेटपास पाएका कतिपयलाई हेर्नोस् – १० वर्षअघि ती के थिए र अहिले के-कस्तो ‘पोजिसन’ वनाएर’ कस्तो-भव्य जिन्दगी बिताइरहेछन् !
पातमा पात ! बातमा बात !
गुन्द्रुके गफडीलाई किन हो जतिसुकै भव्य कुरा गरे पनि गुन्द्रुकै प्यारो लाग्छ, सुँगुरलाई आफ्नो खोर नै प्रिय हुन्छ अरे ! पातमा पात हुँदा झैँ बातमा बात हुँदा यी गन्थन भए । गन्थन-मन्थन जति भए पनि हे गुन्द्रुके बन्धुहो आओ, अझ पनि मिली- मिली हामी साग, सिस्नो र गुन्द्रुकका लागि मरिमेटौँ । आफ्नो ‘तगदिर’ वा ‘भाग्य’ सम्झी आफ्ना टाउकामा अझ पनि हात राख्न नछाडौँ र ‘भव्यता’ तिर कुद्नेहरूको मख्ख परेर रमिता हेरौंँ। एउटा वास्तविकता अझ पनि उनीहरूलाई सिकाइनै रहौँ- ‘आखिर सवले जानुपर्छ उही थलो ! चाहे गुन्द्रुके अभव्यतामा हिँड वा नाना भव्यतामा हिँड, एक दिन यो सव घामछायाँ हुनेछ’ । हओस् त आज यति नै । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क १२, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































