कृष्ण शर्मा सुमुहतार छ….
यसो हेर्नू ढुक्कले गुफामा बसेको बाघले पनि पेट पालेको छ। दुलोभित्र बसेको खस्ररे भ्यागुताले पनि खाना खाएको छ । मानिसलाई किन हतार होला ?

कृष्ण शर्मा सुमु :
जब मेरो ड्युटी ट्राफिकमा पर्छ तब मलाई ढुक्क लाग्छ।ट्राफिकको छेउबाट जब गाडी हतारमा पार हुन्छ तब मलाई लाग्छ कि जो गाडी अगाडि बढेको छ नि अब उसले विश्व विजेताको खिताब जित्नु आटेको छ । गाडीमा भएको चालकलाई हेर्छु यति हतार किन होला जाने भनेको कि त घरमा हो वा अन्तिम समय घाट सम्म नै हो ।
जे होस सबैलाई हतार छ… बैंकको लाईनमा उभिने मानुवालाई एकछिन घोरिएर हेर्नु पर्छ। कहिले लाईनमा लफडा लाग्छ र काउन्टरको छेउमा पुग्न भनेर विभिन्न जुक्ति लगाइरहेको हुन्छ। यो बैंक र एटीएमको लाइनमा उभिँदाको पीडा उभिनेलाई थाहा छ। यतिबिना समय बित्थामा सरकारले खाएको जस्तो भान हुन्छ।अलिक टेक्नोलोजीमा हाम्रो देश पछाडि छ कि भनेर समयको मूल्याङ्कन अनि समयको उपयोग बारे तब थाहा लाग्छ।आफ्नो समय सरकारले ट्राफिक, बैंक वा सरकारी कार्यालयमा लिएको देख्दा लाटाे रिस नउठ्ने मान्छे कता पो छैन होला र ?
मानिस जन्मजात हतारमा छ… विभिन्न वैज्ञानिक आविष्कार पनि यही हतार वा छिटोको लागि भएको हो । अब सोच्नु त पैदल यात्रा कसलाई पो मन पर्छ र ? यही हतार वा छिटोको लागि हामीले सृजनाका आविष्कारलाई जित्नको लागि गाडी घोडा आदिका आविष्कार गरेका हौँ।
जब जब विज्ञानले ज्ञानको कुरा गर्नु थाल्यो तब देखि हामी यति हतारमा छौँ कि छेउबाट चोरले आफ्नै सरसम्मान चोर्दा पनि टाउको उठाएर हेर्ने फुर्सद नभएको समयमा हामी छौँ । मलाई त लाग्छ चिठ्ठी लेख्ने समय ठिक लाग्छ। अहिले टेक्नोलोजी यति विकसित भयो कि मैसेन्जरको रिप्लाई कतै ढिलो भए कतै सम्बन्धमा फाटाे आउँछ कि जस्तो लाग्छ… जब कि जसलाई भेटेको छैन, चिनेको छैन, देखेको छैन … छेउमा भएको बिमारी साथीले पानी माग्दा दिनु नसक्ने साथीभाइले यो संजालको माध्यममा सबै सान्त्वनाको खुराक दिनु सक्छ। हतार छ… एकछिन ढुक्कसित गफ गर्ने फुर्सद कसैकोमा छैन। एकछिन कसैसँग ढुक्कले बोल्न खोज्नु मात्रै पर्छ मोबाइलले गीत गाएर छक्क पार्छ।अब गफ दिनु कि बात गर्नु भनेर ल त हतार छ भनेर मोबाइल उठाउदै हिँड्नुको पीडा जस्तो पीडा के पो होला र ?
हुन त विश्व बजारमा समयको मूल्य तोक्नु नसके पनि समय अमूल्य छ भनेर कतै सानोमा किताबभित्र पढेको थिए। आजकल त यति हतार छ कि किताबको कभर पढ्नुसम्म फुर्सद छैन। बुक त दिनभरि आँखा झ्याप्प नहुने समयसम्म हेरिन्छ तर फेसबुक… कसले बनायो होला यो फेसबुक भनेर सोच्ने सम्म फुर्सद छैन… ।
आजकल रेडीमेटको जमाना छ । सबै कुरा रेडीमेट पाइन्छ। हतार यति छ कि बारीमा पाकेको फर्सी पनि पकाएर खानुपर्छ भनेर बजारबाट पकाएको फर्सी किनेर खानुपर्छ।अर्जिनल सामान सबैलाई चाहिन्छ।तर दु:ख गर्ने समय कसैकोमा छैन ।
हतार किन भयो ? हतारको मुख्य कारक तत्वहरू के के हो त ? यसो घरको, गाउँको, समाजको, देशको, विश्वको चिन्ताले छोडेपछि एकछिन सोच्ने गर्छु । आखिर मेरोमा अरू के कुरा छ र?जिन्दगीमा कमाएको भनेको नै यो टेन्सन हो… यो टेन्सन पनि बिक्री हुने भए सालबाडी हाटमा लगेर बिक्री गरिदिन्थे… जे होस यो हतार हुने मुख्य तत्वहरू मध्य एउटा हो आँखा, कान, मुख, दाँत, हात खुट्टा केही नभए यो पैसा … यो जति त साँढ गोरु पनि छैन होला कम बदमास छ र यो… विश्व युद्ध लागेको जतिकै हुन्छ पैसा नहुँदा… हुनू पनि घरमा पैसा नहोस् त श्रीमान र श्रीमतीको पर्यो कुस्ती श्रीमान त ठिकै हो श्रीमती उस्ती हुन्छ त… कमाउनु कम साह्रो छ भनेर श्रीमतीलाई मात्रै दोष दिनु ठिक होइन जस्तो लाग्छ ।
आज विश्व बजारमा केवल एउटी नारीले गर्नु परेको घरको कामको मूल्याङ्कन गरे कमाउने लोग्नेको भन्दा धेरै ज्याला पाउनुपर्छ भनेर सोच्छु । फेरि आज काँधमा काँध मिलाएर नारी अनि पुरुषले काम गरेका छन । म जस्तो पाँखेले डाँडामा बसेर यस्तै मूल्यबिहिन कुरा सोचेर सिङ्गो परिवारमा फाँटो हाल्ने काम नगरेको ठिक। हो हो… पैसा पनि हतार गराउनेमा एक हो ।
दार्जिलिङको चोकमा कहिले उभिनु भएको छ ? उभिनु पनि नपरोस् भन्छु म त ! जाममा पर्नु तब थाहा हुन्छ… मलाई खासै मधेसमा हतार भएको जस्तो लाग्दैन किन कि मधेसमा मान्छे हिँड्नु भन्दा धेरै गाडी, रिक्सा आदिको प्रयोग गर्छन्। तर पहाडी ईलाकामा धेरै जसो काम हिँडेर गर्नु पर्छ तब तपाईं चुपचाप मोटरस्टाइनबाट मान्छेलाई हुँदै गरेको हतार हेर्नू सक्नु हुन्छ।कमिला जस्तो यति साह्रो भागदौड हुन्छ साँच्चै तब म सोच्ने गर्छु जिन्दगी संघर्षमय छ। हतारको उदाहरण हेर्नु भए पनि एकपल्ट दार्जिलिङ आउनु नभुल्नु होला…. ।
मान्छेलाई हतार कहाँ छैन भनेर सोच्नु भयो पक्का है ।आजको मान्छे जन्मेको नै टेक्नोलोजीले आकाश छुएको समयमा तब कसलाई हतार छैन र ? कसैलाई धनवान् हुने हतार कसैलाई नाम कमाउने हतार कसैलाई आँखा छल्नु हतार कसैलाई विवाह गर्नु हतार… मैले हतार कहाँ छैन र भनेर प्रश्न गर्दा एकछिन सोच्नु भयो त ? तपाईंले सोच्नु भएन किन कि तपाईंको दिमागमा पनि हतारको किराले ठाउँ समातेको छ… अँ साँच्चै म के भन्दै थिए हतार नहुने ठाउँ भनेको दिसा बसेपछि मात्रै हो तपाईं ढुक्कले बस्न सक्नुहुन्छ । पाइखानामा पुगेपछि मान्छेको दिमाग स्थिर हुन्छ । यदि दैलोमा कसैले हल्ला गरिदिए तपाईंलाई फेरि हतार हुनू थाल्छ । जे होस हतार सबैतिर छ… ।
जेसुकै भन्नु जतिसुकै भन्नू यो हतार भएको जिन्दगीमा यतिबिना हतार छ कि हतारे हतारमा मान्छेले जिउनु भुलेका छन्।
तपाईंले एउटा नानीलाई याद गर्नुहोस् । जन्मेको दिनदेखि स्कुल जाने दिनसम्म त ठिकै छ स्कुल एड्मिसन भएपछि उसको जिन्दगी भागदौड के भनौं हतार शुरु हुन्छ। हातमा चाबुक लिएर उसलाई प्रतिशतको मार दिएर उसको ओजन भन्दा धेरै ठूलो झोलामा खाता किताब बोकाएर यति स्पीडमा मानसिक विकास भन्दै कुदाएको घोडा जस्तै भएको छ । हामी हाईब्रिड बनाउनुमा उसको मौलिक अधिकार नै खोसेका छौँ । आजका नानीहरूले माटो, बालुवा, हिलो कहाँ देख्न पाएका छन् । आजकल मैदान पनि उनीहरूको लागि सिमाना जस्तै भएको छ।हामीले भौतिक सुविधामा नैतिक शिक्षाका पाठ नै दिन छोडेका छौँ । जे होस आजको दिनमा यो हतारले बच्चालाई पनि छोडेको छैन।
एकछिन है जिन्दगीमा जस्तोसुकै हतार होस् तर तास खेल्ने मान्छेलाई कहिले हतार भएको जस्तो लाग्दैन । दुनियाँ टाईम नपाएर २४(चौबीस)घण्टा पनि (३२)बत्तीस घण्टा भए हुन्थ्यो भन्ने कुरामा छन तर तासमा बसेकोलाई टाइम पास चाहियो रे… विज्ञानले जति नै ज्ञानको कुरा बनाए पनि आखिरमा अहिले नानीहरू पप जी केमा भुलेर खतम छ । देशको प्रहरी हुने समयमा मोबाइलभित्रका एन्मी मार्दै बसेको देख्दा भविष्यमा आउने हतारभित्रको चिन्ताले मेरो नै मात्रै मुटु खाएको हो कि…।
साथी के भनेर ? खबर सोध्नु मात्रै पर्छ हतार छ भन्दै हात हल्लाउँदै हिँडेको कुराले बुझ्न सकिन्छ कि मान्छेलाई हतार खतरा नै छ भनेर…।
यो हतार त मलाई लाग्छ मानिस छोडेर अरू कुनै प्राणीलाई छ जस्तो लाग्दैन । यसो हेर्नू ढुक्कले गुफामा बसेको बाघले पनि पेट पालेको छ। दुलोभित्र बसेको खस्ररे भ्यागुताले पनि खाना खाएको छ । मानिसलाई किन हतार होला ?
०००
सिलीगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest






































