रामप्रसाद अर्याल ‘अविराम’पहिलो पाइलो
देशलाई दौडाएर कृतिमान कायम राख्ने महान यात्राका धावकहरू पहिलो पाइलामै हुनुहुन्छ । अब उहाँहरूको स्वागतमा फूलमाला लिएर बसौँ । हाम्रो देश पहिलो पटक पहिलो बन्ने दौडमा छ ।

रामप्रसाद अर्याल ‘अविराम’ :
पहिलो पाइलो पहिलो गेट, पहिलो माया पहिलो भेट । अहिले म पहिलाको थैलो उघारेर भाँड भैलोको दैलो पौत्दैछु । अराजकता र दण्डहीनताको हलो जोत्दैछु । नियम बेनियम बनेको बेला शिष्ट र मिष्ट बन्नु अनिष्ट हुन्छ । उँधो गति, उँधै मति । एउटा हाइकु लेखेथेँ अलि पहिले ।
भाँचेर डाली
लेउ लागेको बाटो
झरे ओराली
उकाली चढ्न र प्रगतिपथमा बढ्न त भुसतिघ्रो हुनुपर्यो नि ! छिर्के हान्नेसँग छलिनु कम्ता मुस्किल छ ? आफू परियो सिङ्खुट्टे । सानैदेखि गोठमा बसीबसी तिघ्रामा घिउ घसीघसी गोरसमा पौरेको भए दौरन सकिन्थ्यो । बहादुर बहादुर शाह बनिन्थ्यो । धन कमाउन सकेको भए द्रव्यसाह भनिन्थ्यो । भाग्यको नेल कर्मको खेल । हिमाल चढ्नु भन्दा किलो मै गढ्नु बेस ठानियो ।
अचेल सगरमाथाको माथ फिरङ्गीले टेक्छन् । स्वदेशी सन्ततिले सगरमाथामा पुग्दा सगरमाथाको छाती खुसीले अझै चौडा हुँदो हो, शिर उँचो । शेर्पाले बाटो देखाउँदा मन अमिलो हुँदो हो । तै पनि पहिलो पाइलो टेक्ने नेपाली छोरो आफ्नो सन्तति तेन्जिङ शेर्पाले मन राखिदिएका छन् । राडीको मात्रा घटेको छ । खाडीको यात्रा बढेको छ अचेल । खाडीमा घसिनु नेपालीको नियति ।
हिजो मात्र हो एकजना विदेशीएका मित्रले भनेको “नेपालीहरु विदेशमा गएर जति काम गर्दछन् त्यति काम आफ्नो देशमा गर्ने हो भने नेपालको मात्र दश वर्षमा कायाकल्प हुन्छ । म भन्छु कायाक्ल्प त भैसक्यो, गरिसके । हिजो राणाको पालामा र पञ्चको पालामा धान, चामल आदि निर्यात गर्ने देश आज आयात गर्न सक्ने हैसियत राख्दछ ।
जुनसुकै दलको बहुमत आए पनि, सरकार बने पनि पहिलो पाइला मै ढलाउन सक्दछन् । उदार यति छन् कि पहिलो, दोस्रोले हाम्रो उन्नति भैसक्यो जन धन कमाएर राख्ने थुपार्ने ठाउँ छैन, अब तिम्रो पालो भनेर तेस्रो चौथो दललाई सत्ता सुम्पिन सक्दछन् । केही समय पछि आफ्नो ढुकुटी कम भएको महसुस गरी पहिलो दोस्रो मिल्न सक्छन् । जुट्न र फुट्न आइतबार पर्खिनु पर्दैन । बहुदल भित्रिने बित्तिकै देखि इत्रिने गर्न थालेका हुन् । पञ्चको विरोध गरे पनि पञ्चलाई नै पालैपालो शिरपोस लगाइ दिएकै हुन् । यहाँ भन्दा मनकारी दल दलदलमा खोजेर पनि पाइँदैन ।
अरु मुलुकमा खाने बेलामा जुट्दछन् तर यहाँका केही केही दल खाने बेलामा फुट्दछन् । बाँस र केराको गाँजबाट सिकेका हुन यिनले । फुटेपछि उन्नति हुने कुरा । त्यसो त फुटे कि जुटे जुटे कि फुटे अत्तो र पत्तो पाइँदैन । सरकार बने पछि सिंहको दरबार छिर्ने पहिलो पाइलो मै ठेस लाग्दछ, लगाइन्छ । ढाल्ने कसरथ । निहुँ चाहिँ अर्कैको । प्रभुको इसाराको, भित्रि मनसाय आफ्नो र आफ्नै दलको, गुटको उपगुटको । ताप्के नतातेर बिटमात्र तातेर केही हुँदैन ।
नेताले पाए हामीले पायौँ । नेताले खाए हामी अघायौँ । हामी जनता मुलीले ढाँटे हामी ढाँटियौँ । मुखियाहरुले कुबाटो समाते पछि पिछलग्गुहरूको हविगत हेर्न लायकको हुन्छ ।
दार्शनिक राष्ट्रकवि माधव घिमिरेले लेखे-“शिवले यहिँ ल्याएथे सृष्टिको पहिलो विहान” । सृष्टिको पहिलो विहानीले पहिलो पाइलो टेकेको देशमा धेरै कुराले पहिलो पाइलो टेकेको छ । विश्व नै देखेको छ । पहिलेका राजकुमारले ज्ञानको खोजीमा, अकारण मरण, रोग निवारणका लागि दरबार छाड्थे । अहिले जनताका छाउरा छाउरीले भोक हरणका लागि घरबार छाड्दछन् । देशै छाड्नेको ठूलै लर्को छ । यो पनि पहिलो पाइलो मै ।
सीता, भृकुटी जनक र बुद्धले यही धर्तीमा पहिलो पाइलो टेके । पृथ्वी नारायण शाहले विशाल नेपालको सपना देखे । त्यसो त आधुनिक युगका महामनाहरुले नेपालको चुच्चे नक्सा लेखे । नक्सा लेख्दैमा छाप्दैमा के हुन्छ ? भन्ने प्रश्न उठ्ला । अरुकुरा नभए पनि हल्ला त हुन्छ । यो हल्लै हल्लाको देश । स्यालले चिल आयो, चिल आयो भनेर कुखुरा च्याप्प चपाएको कथा पढिएको हो नि त । भूभाग अर्कैले हडपे पनि नक्सा त जिउँदै छ हामीसँग ।
अहिले हाम्रा मुखियाहरू विश्वलाई सुन्दर बनाउने अभियानमा छन् । हाम्रो उर्जा, श्रम, पसिना, सारसौँदो शक्ति विश्व भरिका मुलुकलाई सस्यश्यामला बनाउन १८ घण्टा खटिरहेका छन् । कन्या कुमारीहरु घरघरका कोठीहरूमा बिस्तरा सजाउँदै यौवन भजाउँदै छन् । तिर्खाएकाहरूलाई पानी पिलाउनु पुण्यकर्म हो । त्यो पनि पहिलो पटक । पहिलोको मुल्य पनि पहिलो नै हुन्छ ।
हामीले आफ्नो घर बनाएनौँ । खेतबारी बाँझै राख्यौँ भन्नेहरु छन् । घरभन्दा देश ठूलो, देश भन्दा विदेश ठूलो र विदेश भन्दा विश्व ब्रह्माण्ड ठूलो । गाउँ बनाउँनेले घर बनाउन भ्याउँदैन सानो कुरा । भलै हामी भोकभोकै परौँ । हामी अरुको सेवा गर्न जन्मिएका हौँ । “परोपकार पुण्याय पापाय परपीडनम्”का पालक हामी । मरुभूमिलाई उर्वर बनाउनु बहादुरी हो । हाम्रो मुलुक त्यसै उर्वर छ ।
हामीकहाँ जन्मिने सानो शिशुले आफ्नो काँधमा लाखौँ लाखका ऋणको भारी बोक्ने हैसियत राख्दछ पाइलो नटेक्दै । लौ ! लौ !! अन्तकाले सकून त त्यसो गर्न । थोरै भए रिनै हैन धेरै भए दिने हैन भन्ने उखानको बखान उहिल्यै सुनेको हौँ हामीले । हामी इमान्दारी पूर्वक त्यसको पालना गरिरहेका छौँ ।
सँगै बसेर घरमा सधैको झगडा गर्नुभन्दा खाडीमा बसेर अथवा गाडीमा सुतेर घरका आमा बालाई सम्झनुको मजा बेग्लै हुन्छ । छोराछोरी विदेश बसेर यहाँ बुढाबुढीले मर्ने बेलामा पनि पानी खान पाएनन् भन्नु मनासिव होइन । किन भने मर्ने बेलामा यहिँ साथैमा बसेकाले पनि पानी पिलाउन नभ्याएका न पाएका कति हो कति छन् । खाउँ खाउँ र लाउँ लाउँ उमेरका युवाले काकाकुल बन्नु पर्ने देशमा मर्ने बेलामा किन चाहियो पानी ? जिन्दगीभरि सँगै नबस्ने, रुवाउने मर्ने बेलामा आउँने, मरेपछि पैसा पठाउँने फोटो देखाउने सन्तान किन चाहियो ? अझै मरे पछि पिण्ड पानी देलान् भन्ने के को आश ।
यहिँ हाम्रै क्षेत्र अर्घाखाँचीको पंणेणामा बसी बसी पाणिनीले पहिलो व्याकरण लेखे लघु सिद्धान्त “कौमुदी” । अठार पुराणका रचयिता वेदव्यास नेपालका । क्रौंञ्च पक्षीको विलाप सुनेर आदिकवि बाल्मीकिले प्रथम कविता “मानिषाद….काममोहितम्” लेखे । बाल्मीकि रामायण लेखे । त्यो भाषा, त्यो ज्ञान र त्यो संस्कार उहिलेका कुरा खुइले भनेर त्याग्यौँ । फ्याँक्यौँ, जलायौँ र विकासको फड्को क्रान्तिकारी छलाङ मार्न दीर्घ श्रृङ्गी महिषीको दान गर्यौ । अहिले तिनै महिषीहरुको मःम र बफ उनीहरुको सम्मानको निम्ति खाँदै छौँ मःम र बफ बनाएर खाँदै छौँ । यो बेला संस्कृतका शब्द, मन्त्र, ज्ञान सुन्दा हाम्रा कान अपवित्र हुन्छन् तर पश्चिमी मुलुकका पाठकहरूका, स्रोताहरुका पवित्र हुन्छन् । गोरा छाला हुनेले गाएको गला मिठो लाग्छ । यो पनि प्रथम पाइलो मै ।
समाज बदल्ने, देश दुनियाँ बदल्ने अभियानमा नै छौँ हामी । आफ्नो संस्कृति बदल्यौँ । जन्मदिनको साटो बर्थडे मनाउँछौँ बत्ती निभाएर केक काट्छौँ । रोटी, मकै, आटो पिठो खादैनौँ अचेल पिजा, बर्गर,मःम, चाउमिन खान्छौँ । आमा बा हराए मम, मम्मी र ड्याड भित्रिए । सम्म र उर्वर भूमि प्लटिङ गरेर सिद्धिए । खेतबारी मात्र होइन नरनारी बेच्न तयार छौँ । सारङ्गी पेट घ्याम्पे पेटमा बदलियो । स्वाभिमान बदलियो । गरेर खान भन्दा भिक्षा मागेर खान जाती । दिएर हात माथि पार्नुभन्दा लिएर हात तल झर्नु राम्रो ।
बढ्नु भनेको उन्नति हुनु हो । प्रगति हुनु हो । विचौलियाको बिगबिगी बढिरहेकै छ । महँगी बढिरहेकै छ । सस्तो बेसाहाले पेट लाग्छ । त्यसैले महँगीले शिखर चुमेको छ पहिलो पाइलो मै । किसानलाई महँगो पाडी, नेतालाई महँगो गाडी र युवालाई तप्त खाडी मनपर्छ । खाडी मन नपरे भोक भोकै मर्छ । मर्ता क्या नही कर्ता । दलालले छानीछानी नेपाली चेलीलाई धनाढ्यका ओच्छ्यान बनाउन कोठी कोठीमा भर्छ, विदेशमा मात्र होइन आफ्नै देशमा समेत । परोपकारार्थ मिदं शरीरम्” ।
समाज्यवादीहरू आफ्नो साम्राज्य जमाउन हतियार बेच्छन् । कोही हतियारका मतियार बनेर किन्दछन् । पुँजीवादीहरु धन जम्मा गर्नमा पहिलो नम्मरमा आउँछन् । उन्नति गर्नेले अन्न र अन्य वस्तु उत्पादन गर्न पहिलो प्राथमिकता दिन्छन् ।
व्यक्ति पहिलो हुन चाहन्छ । संस्था पहिलो हुन चाहन्छ । दल भ्रष्टाचारको, व्यभिचारको दलदलमा फँसेर भए पनि पहिलो हुन चाहन्छ । कसैलाई बिगार्न र कसैलाई बनाउँन बिचौलियाको बिगबिगी व्याप्त छ। रोजगारी भएन, नोकरी पाइएन भन्नेहरूलाई मेरो अमुल्य सुझाव छ । विचौलिया बन्नुस् आवेदन खुल्ला छ । यसमा तपाईँ पहिलो अन्तवार्ता मै पहिलो नम्मरमा पास हुनुहुने छ । शिक्षा र स्वास्थ्यमा यसको उम्दो खाँचो छ । यसलाई देशको उपरमाम्लो नठान्नु होला ।
क्षणिक वैयक्तिक र दलगत सत्ताको स्वार्थमा लिप्त छन् भन्नु हुँदैन । अदक्ष, अर्धदक्ष र दक्ष जनशक्तिलाई खाडी युरोपेली वा सम्पन्न देशमा पठाएर देश खोक्र्याउँदै होइन धन भित्र्याउँदै छौँ । रेमिटान्स डकारेर तलवभत्ता गोब्य्राउँदै छौँ । दृष्टिहीन यात्री, काशी जानु कुतीको बाटो उन्नतिको पथमा हामी दौडिरहेछौँ ।
देशलाई दौडाएर कृतिमान कायम राख्ने महान यात्राका धावकहरू पहिलो पाइलामै हुनुहुन्छ । अब उहाँहरूको स्वागतमा फूलमाला लिएर बसौँ । हाम्रो देश पहिलो पटक पहिलो बन्ने दौडमा छ । पहिलो गाँसमा ढुङ्गा लाग्ने छैन । नयाँ सत्ता समीकरणलाई हाम्रो शुभकामना ।
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































