चूडामणि रेग्मीचरित्र गफ !
नबुझी पढ्नु नराम्रो चरित्र हो भने पढ्दै नपढ्नु झन् नराम्रो । आज देशमा रक्सीले नखाएको, चाकरीले नबिगारेको, भ्रष्टाचारले नछोएको, इमानले रङ्गाएको आदि-आदि चरित्रको चाहना छ । चाहना र कामनाले मात्र हुन्न ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्ये झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
व्यक्ति र अनेक मार्ग
मुल्कराज आनन्दको एउटा उपन्यासको हेक्का आयो गफडीलाई, त्यहाँ एउटा पात्र एउटी नारीको आकर्षणमा यति ढल्कन्छ, जसले ऊ बर्बाद नै हुन्छ । एक व्यक्तिलाई बराल्ने अनेक मार्ग छन् । गफडीलाई कसैले टेलिफोनमा ‘गफडीजिउ तपाईंको लेखाइ क्या राम्रो ?’ भन्यो भने डर लाग्छ त्यसका चाटुकारीमा गफडी फस्ने भयो भनी । एक जना गफडीको साथीले एक दिन ठट्टा गरेर बोतलवाट अलिकति रक्सी खन्याई ख्वाएको थियो । रक्सी देवीले उसलाई जीवनभर ड्याँक्ने भएकी छन् । गफडीका धेरै मित्रले ठट्टा गर्दा समाउन लाएका १६ कौडीले उसलाई सधै समाएका छन् र यो जुवाका लतमा ऊ लट्ठ छ । गफडीले कुन दिन झुक्किएर कोर्न सिक्यो, आज ऊ यसैमा लीन छ । कसै-कसैका दृष्टिमा ऊ बेकार र बेकम्मा छ, तर पनि ऊ लेख्छ । यसरी अरूतिर नै हेरौँ एउटा मित्र एकाध कुरा पुर्याउने काम गर्दा-गर्दै गुप्तचर नै भयो । कतिले जुवाका खाल नै थापेका छन्, कतिले चाकरीको चाला बढाएका छन् । धोका दिन जानेका छन् कतिले भने कतिले पोका दिन जानेका छन् । कतिले ठग्न जानेका छन् भने कति नठगिन जानेका छन् । कति शिक्षक दलिन जानेका छन् । कतिले नदलिई ‘प्रोफेसर’ हुन जानेका छन् । यहाँ विचित्र छ ।
बरालसिङेहरू
गफडीलाई कुनै बेला भूतप्रेत वोक्सी-डाइनीबाट डर लाग्थ्यो भने कुनै वेला जेल-नेलदेखि डर लाग्थ्यो । गफडीले अहिले घोरिएर के थाहा पायो भने सबभन्दा डरलाग्दा हुन् बरालसिङे । अचेल ऊ यिनैदेखि डराउँछ । तपस्वी मुनिको तपस्या भङ्ग गर्ने बरालसिङे नै हुन् । स्वर्गवाट मोहनी अप्सराहरू आएर तपस्या भङ्ग गर्थे । सीतालाई आगामा होम्ने र जङ्गलमा फ्याँक्ने सब बरालसिङे हुन् । किनभने रावणलाई सीता-सुन्दरीको आकर्षणवाट बरालबुद्धि पलायो र ऊ बरालसिङे भयो भने अपवादका डरले राम बरालसिङे भए । राम भगवान् सही, रावण राक्षस सही, तर दुवै उत्तिकै बरालसिङेका सिकार हुन् । लेखक, कथाकार, पत्रकार, शिक्षक, बुद्धिजीवीहरू मतिभ्रमित हुन्छन् भने ती पनि बरालिएका नै हुन् र ती पनि बरालसिङेका सिकार भएका हुन् ।
चारित्रिक दृढता
चरित्र शब्द भन्न मात्र सजिलो छ, पढ्न मात्र सजिलो छ, तर यसमा दृढ हुन गाह्रो छ । रामको चरित्र पढ्नेले रुन्चे राम, धोका दिएर मित्रशत्रु मार्ने राम र सती पतिव्रता अवलालाई जङ्गलमा फ्याँक्न लगाउने रामको चरित्र बुझ्न, चारित्रिक दृढता भन्ने कति कठिन कुरा छ ! ‘सती’ छ, ‘पतिव्रता’ छ, ‘इमानदार’ छ, ‘योग्य’ छ, यी मुस्किलका कुरा हुन् । रक्सीवाट बाँच्ने, जुवावाट बाँच्ने व्यसनवाट वाँच्ने, नराम्रा, सङ्गतवाट बाँच्ने र कठिन परिश्रम गर्ने- यस्ता चरित्र ज्यादै दुर्लभ छन् ।
पातमा पात ! बातमा बात !
जस्तो देख्छन् उस्तै भन्छन् भन्ने भनाइ छ । समाजमा दृढ चरित्र, राम्रो चरित्रको अभाव छ । यो एक समस्या हो र पातमा पात हुँदा झै गफडीले बातमा बात गरेको हो । अर्कालाई गाली गर्नु नै राम्रो चरित्र होइन भने नराम्रो कुराका विरुद्ध सोर नउराल्नु पनि राम्रो चरित्र होइन । नबुझी पढ्नु नराम्रो चरित्र हो भने पढ्दै नपढ्नु झन् नराम्रो । आज देशमा रक्सीले नखाएको, चाकरीले नबिगारेको, भ्रष्टाचारले नछोएको, इमानले रङ्गाएको आदि-आदि चरित्रको चाहना छ । चाहना र कामनाले मात्र हुन्न । यसमा लाग्ने र यस्ताको नै खाँचो छ । यस्तो कुरा गर्दा मानवको प्राकृतिक स्वभाव बिर्सन सकिन्न । ऊ एक बोतलमा बिग्रिन्छ, एक ‘मारा’ मा लत्रन्छ, एक आकर्षणमा ढल्दछ । युगौँदेखिको मानव-कमजोरी र चरित्रको मेल कसरी गर्ने गफडीको प्रश्न छ, आज । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क १५, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































