साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘प्रयत्न’ गफ कि यथार्थ ?

प्रयास र प्रयत्न विना आधारभूत देखि विलासिताका आवश्यकता कसरी पूर्ण होला त ? नेपाल अथाह प्राकृतिक स्रोत र साधन भएको मुलुक भएर पनि प्रयत्नको अभावमा गरिबी भोगिरहेका छौँ ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

जाँगरको सुल्याइँ र अल्छ्याईँको उल्याईँको नाम हो प्रयत्न (हिसाब गर्ने हो भने यसका अनुज र अग्रजहरू थुप्रै छन् । चानचुन आधा या पौने दर्जन जति होलान् सहोदरहरू । प्रयासलाई जेठो मान्ने हो भने कोसिस, जमर्को यत्न आदि माहिला, साहिँला, ठाहिँला दाजुहरू हुन् सक्दछन् । अनुजहरू खोज्दै जाँदा अन्तरे, जन्तरे, लखन्तरे, पानीमन्तरे, नासपातीजरे, निबुवानरे, लौकातरे फेला पर्न सक्छ । जे होस् ऊ एक्लो पक्कै छैन । खान्दानी परिवार नै हो उसको । कर्मयोगदेखि सर्मयोगसम्म, योगभूमिदेखि भोगभूमिसम्मले पनि यसको उपेक्षा कदापि गरेनन् । झन् भोलिका दिनहरू त यसका घोर पक्षपाती भएर जन्मिने ग्रहगोचर नै त्यस्तै छ ।

आज जन्माउन हिजोले कति धेरै प्रसववेदना भोग्यो होला ? आफूमाथि आएको त्यो बोझिलो दायित्व हिजोले प्रयत्न गरेको थिएन भने हामी हिजो जन्मिएर हिजै मर्थ्यौ । अस्तिले हिजोलाई त्यसरी नै जन्माइदियो । हिजोले अस्तिको कर्तव्य बुझ्यो आफू पनि इमान्दार बन्यो र आजलाई जन्म दियो । अब आज भोलि जन्माउने ध्येयले अहोरात्र खटिरहेको छ । आजको पनि उसले बिहान सिध्याइसक्यो । दिउँसो ८०% प्रतिशत हिँडिसक्यो । अब रात ल्याइदिएर ऊ शयनकक्षमा पुग्दछ । भोलि आउनै लाग्दा उसका निद्रा टुट्छ र ऊ बिदाइको तरखरमा हुन्छ । अनि भोलिले पर्सि, पर्सिले निकोर्सि अनि निकोर्सिले कानेकोर्सि जन्माउनै पर्‍यो । यदि समयका यी खण्डहरूले त्यत्रो विधि प्रयत्न नगरेको भए न गर्भावस्था टुट्थ्यो न बाल्यावस्था । न हामी यौवनावस्था किशोरावस्था पार गर्दै माता-पिताको दर्जा पाउन सक्थ्यौँ । न हजुरबा वा हजुरआमा भनि परिचित हुने अवसर प्राप्त गर्न सक्थ्यौँ । न प्रेमी न प्रेमिकाको मायालाग्दो हुन सक्थ्यौँ । यदि प्रयत्न जोडिएको थिएन भने ?

कतिले त जाँगरको अर्को नाम नै प्रयत्न हो भन्छन् । प्रयत्न नै नगर्ने बेवकुफ हो । त्यसलाई भाग्य र भगवान दुवैले दुत्कार्छन् भनिन्छ । एकपटक हनुमानको भक्तलाई त्यस्तै आपत् आएथ्यो रे । हलो गहिरो हिलोमा गाडिएर निकाल्न गाह्रो भएछ । ऊ थुचुक्क खेतको आलीमा बसेर आफ्ना इष्टदेवता हनुमानलाई पुकार्न थालेछ । जति गर्दा पनि हनुमान नआएपछि आफैँ तयार भएछ । हलो बल गरेर तान्दै गरेको बेला हनुमानले आएर बल दिई हलो बाहिर निस्केछ । अघिचाहिँ के हेरेर बस्यौ ? अहिले म आफैं तयार भएर लाग्नु परेपछि किन आउनु पर्‍यो ? हनुमानजीलाई रिस उठेछ । कमिलो पिसेझैँ पिसौँ कि फट्याङ्ग्रो मारेझैँ मारिदिउँ । आफ्नो भक्त भएको कारणले मनलाई सम्हालेछन् । सम्झाउनु त पर्‍यो नि । हेर बाबु कर्ता स्वयंले प्रयत्न नगरेसम्म भाग्य र भगवान आउन नै मिल्दैन । तँ प्रयत्न नै नगरी बसेको थिइस् । त्यसवेला विधि विधानले पनि छेक्यो। प्रयत्न नगर्दा भाग्य र भगवानलाई गाह्रो हुन्छ । बिचमा मोरो जिल्ल पर्‍यो । बल्ल घैटामा घाम लागेझैँ भयो । ए ! प्रयत्नको अधिकारी आफैँ नै हो ।

तपाईं हामीलाई आमाको गर्भावस्थामा के कस्तो प्रयत्न गरियो ज्ञात छैन । ५ वर्षदेखिका आफ्ना प्रयत्नहरू थाहा पाउन सक्छौँ । एउटा कमिलो पानीमा परोस् त उसले उम्किन गरेको प्रयत्न कति शिक्षाप्रद हुन्छ । यदि उसले प्रयत्न नै गरेन भने आत्महत्या गरेको दोष बेहोर्नु पर्दछ । अनि प्रयत्न कर्तव्य नै पो रहेछ त । काम गर फलको आशा नगर भन्ने सिद्धान्त नै प्रयत्न हो कि होइन ? हामी कति जुम्सो छौँ भने केही नै नगरी सर्वथोक आफ्नै अगाडि आओस् भन्ठान्छौँ । चपाई पनि अरुले नै गरिदेओस् भन्ठान्छौँ । शौचालय पनि अरु नै गरिदिए हुने जस्ता अप्राकृतिक कुरा दोचार्न पनि पछि पर्दैनौँ । यस्ता भाव का मनशायले हामीलाई कहाँ पुर्‍याउला ?

अँ, प्रयत्न कति शक्तिशाली छ तपाईं यो ब्रह्माण्डलाई नै अवलोकन गर्न सक्नु हुन्छ । पानीले बग्ने प्रयत्न नगरे कसरी खोल्सा खोल्सी, नदीनाला, सागर, महासागर बन्न सक्छ ? पृथ्वीले घुम्ने प्रयत्न नगरे कसरी दिन रात, महिना ऋतु, वर्ष, दसक शताब्दी, बन्ला त ? युग, मन्वन्तर ब्रम्हादिन हिमालले चिसी ठिही खाने आँट नगरे उसको अस्तित्व जोगिएला त ? महाभारत, ओडिसीजस्ता विशालकाय ग्रन्थ कसरी लेखिन्थ्यो । प्रयत्नै बिना पानी बाफ बनी पुनः पानीमै रुपान्तरण हुन सक्थ्यो ? जोग्राफिकल हिस्ट्रीमा आँखा दौडाउनुभयो भने जेब्रा, हरिण, बँदेल, दुम्सीहरू बाघ र सिंहले झम्टिनासाथ सबै मारिँदैनन । कहिले त ती सिंह र बाघका बलिया पञ्जाबाट उम्केर आफ्ना परिवारलाई सङ्घर्षका कथा सुनाउन पुगेको पनि देख्छौँ । बिरालोको पन्जाबाट मुसो र चरो पनि उम्किएको पाउँछौँ । बित्थामा प्रयत्न के गर्नु भनेका भए तिनीहरू बाँच्न सक्थे र ?

तपाईं परिणाम बिनाको प्रयत्नलाई खिस्याउनुहुन्छ । तपाईं आफ्नै विगत कोट्याउन सक्नुहुन्छ । कति पटक निद्रा नलागेर निदाउने प्रयत्न गर्नुभयो होला । परीक्षा राम्रो बनाउन टुपी बाँध्नुभयो तर पनि बिग्रयो होला । वैवाहिक सम्बन्ध जोड्न, थोरैतिनो प्रयासले सम्भव बन्यो होला त ? छोराछोरी हुर्काउन, बढाउन, पढाउन प्रयत्न नै नगरी सम्भवै हुन्न प्रगतिको । जाबो एक कप चिया वा कफी पिउन त कति थोकको जोरजम्मा चाहियो नि । ओठमा चिया र कफीको चुस्की लिन गिलास उचाल्नै पर्‍यो । त्यो पनि प्रयत्नकै दृष्टान्त भन्न रुचाउँछु म । एक वैज्ञानिकले आफ्ना दुई शिष्यलाई रेशमकीराको कोकुन हेरेर बसओ भनेर बजार गए रे । रेशम कीरा कोकुनबाट बाहिर आउन बल गर्दै रहेछ । उनीहरूलाई माया लागेर छेस्काले कोकुन तोडिदिएछन् । रेशमकीरा बाहिर त आयो तर केही समयपछि त्यो मरेछ । पछि वैज्ञानिकले कोकुन तोड्ने र त्यसबाट आर्जित शक्तिले नै ऊ बाह्य वातावरणमा बाँच्ने हो लाटा पछि बल्ल पो ती आलाकाँचा ठिटाहरू दङ्ग परेछन् । ‘अब निस्कर्षमा पुग्नु भयो होला प्रयत्न विकाशको आधार मात्र होइन कर्तव्यको ज्योति पनि हो ।

अब प्रयत्नविना मेरो त के तपाईंको पनि केही चल्दैन । प्रयत्नविना तपाईंकी सासूको मुखमा गाँस पस्दैन । तपाईंकी सालीको सारीमा सितारा जडान हुँदैन । प्रयास नगरे मेरो पनि हालत त्यही हो । प्रयत्नबिना निरंकुशताले नेटो काट्छ ? भ्रष्टाचारको सिङ भाँचिन्छ ? दुरावस्था भोगिरहेको राष्ट्र समुन्नतिको मार्गतर्फ यात्रोन्मुख हुन्छ? आयात व्यापार मात्र गर्न जानेको राष्ट्र विश्वमा बढी ब्रान्डेड सामग्री निर्यात गर्ने राष्ट्रको रुपमा कहलिन्छ एक पटक सुनेको थिएँ। एक जना ९५ वर्षीय वृद्धले आफ्ना छोराहरूलाई शिक्षा दिनका लागि ९० वर्षीय एक वृद्धासँग विवाह गराइदिन आग्रह गरेछन् रे । आरम्भमा त त्यो कुरा दुबै पक्षलाई अपाच्य भयो । जता गर्दा पनि वृद्ध टसको मस नभए पछि दुवै पक्षबाट अधिकतम प्रयत्न गरे रे ।

अन्त्यमा आजित भएर दुवै पक्ष राजी भए रे । कामकुरो टुङ्गिए पछि बुढा भन्छन् रे । कुनै कुरा प्राप्त नहुन्जेलसम्म प्रयत्न छोड्नु हुदैन भन्ने उपदेश दिन पो मैले यो नाटक गरेको । अब सबै जिल्ल । दुवैतर्फकालाई हुनुसम्म जङ चलेछ केही समय । बुढाको टुपी समातेर पछारौं जस्तो लागेछ छोरा बुहारीहरूलाई। बुढीपट्टिका छोराबुहारीलाई त बुढालाई काँचै टोकौ जस्तो भएछ । हामीलाई क्लास लिएका भन्दै मुख बिगार्दै बाटो लागेछन् ।

अब कान खोलेर सुन्नुहोस । आजका शक्तिसम्पन्न राष्ट्रले विकसित राष्ट्र बनाउने प्रयत्न नगरेका भए के अहिलेको उदेकलाग्दो प्रगति देख्न पाइन्थ्यो) आजका रकेट, मेट्रोरेल, पानीजहाज, युद्धपोत आदि बन्थे ? टुकटुके मोबाइलबाट प्रोम्याक्समा पुग्न सकिन्थ्यो ? देवकोटाले के नेपाल सानो छ त्यत्तिकै भनेका हुन् र ? यसका प्रवल सम्भावनालाई वोध गर्ने प्रयत्न नगरेका भए उनी ती अमरवाणी अभिव्यक्त गर्न सफल हुन्थे ? एकपटक न्यूटनलाई पत्रकारले सोधे रे । तपाईं र अरु मान्छेमा के फरक छ ? केही फरक छैन अरु कुनै काम ९९% प्रतिशत सिध्याएर मात्र १% प्रतिशत बाँकी भए पनि अर्को काम समाउन पुग्दछन् । म एउटा काम नसिध्याइ अर्को समाउदिन त्यसैकारण म वैज्ञानिक अरु सामान्य। लौ कान खोल्नुहोस् । प्रयत्नविना लक्ष्य भेटिन्छ ? तपाईंको किन भन्ने मेरै टाउको ।

प्रयत्नलाई दुई भागमा क्याटागोराइज त गर्ने पर्दछ दुष्प्रयत्न र सतप्रयत्न । दुष्प्रयत्नले असत्मार्गोन्मुख गराउला । सतप्रयत्नले सत्मार्गोन्मुख । सत्परिणामका लागि सत्प्रयत्न गर्नै पर्दछ । तर प्रयास र प्रयत्न विना आधारभूत देखि विलासिताका आवश्यकता कसरी पूर्ण होला त ? नेपाल अथाह प्राकृतिक स्रोत र साधन भएको मुलुक भएर पनि प्रयत्नको अभावमा गरिबी भोगिरहेका छौँ । हाम्रा प्रयत्नहरू देशोन्नति लागि नभई व्यक्ति उन्नतिमा बढी खोइरो खनेर लागेपछि विकसित र व्यक्ति सम्पन्न हुने हाम्रा सपनालाई त उल्टो लोप्पा दिएकै जाती । मान्छे भन्दा हात्ती ठूलो भन्ने वाणीमा देवकोटालाई हाँसो उठेझै हामीलाई पनि हाँसो उठेन भने ?

०००
काठमाडौं
२०८१/०३/२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x