सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उन्नत धान खेती

मानिसको गला, गमला, टेबलमा पनि रोप्न सकिन्छ । यसको फाइदा के छ भने न पानीको जरुरत न घामको । बाढीको डर पनि भएन, रौदीको मार पनि नपर्ने । सरकारले किसानको मल आएन, बिउ पाएन आदि कचकच पनि सुन्न नपर्ने ।

Nepal Telecom ad

योगीशकृष्ण :

आज बिहान बलदेवको फोन आयो । प्रायः सधैँ राति फोन गर्ने बलदेवले बिहान फोन गर्‍यो । हिजो असार १५ रोपाइँको रमाइलोमा लाग्यो होला । थकाइ लागेर फोन नगरेको हुन सक्छ । होइन रहेछ ।
सोधेँ “बलदेव हिजो दही च्यूरा खाइयो होला । रोपाइँ पनि भयो होला । यस पटक धान राम्रै फल्ला नि त ?”
“खोइ दाजु”, बलदेवले भन्यो “खेतमा फल्ने लक्षण त देख्दिन । उत्पादन त राम्रै होला । ”
उसको जवाफ सुनेर मलाई अचम्म लाग्यो । खेतमा नफल्ने तर उत्पादन भने राम्रै होला अरे ।
“के भनेको यस्तो ”
“हो दाजु,” उसले जबाफ दियो “मेरो त हिजोको दिनमा दुई मुठ्ठी बिउ पनि खेतमा रोपिएन । बिउ जति सब समापत भयो ।”
“के भन्छौ यार ? बिउ सकियो, रोपाइँ पनि भएन । रोपाइँ नै नभएपछि बिउ कसरी सकियो ? उत्पादन कसरी राम्रो हुन्छ त ?”

खुइय्य गर्दै उसले जवाफ दियो “तपाईंलाई त थाहै छ दाजु, म अलिकति पोलिटिकल टाइपको मानिस पनि भइसकेको छु । चुनावमा टिकटको जोगाड पनि हुन लागेको थियो जसको लागि म दुइटा भैँसी र दुई कठ्ठा खेत दाउमा लगाउन तयार थिएँ । तर यो भन्दा पाँच गुना खर्च गर्नेले टिकट पायो, चुनाव जित्यो ।”
धानको कुरा भइरहेको थियो, अब के टिकटको कुरा गर्दैछ । मैले उसलाई सम्झना गराएँ “हैन, हामी धान रोपाइँको कुरा गर्दै थियौँ, अब तिमी चुनाव टिकटको कुरा गर्दैछौँ ।”

बलदेव हाँस्यो “हे दाज्यु, तिमी त यसरी भडकिरहेका छौ कि जसरी रेलको कुरा सुन्नासाथ जनता भडकिन्छन् । अलिकति धैर्य त गर । मेरो कुरा सुन पहिले । हिजो बिहान हाम्रो वडा सदस्य आउनु भयो र भन्नु भो कि आज धान दिवस मनाउने हो, तिम्रो खेतमा । मनमनै गमेँ, मेरो खेतको भाग्य चम्किने भो । वडा सदस्यको अनुरोध अनुसार पाँचदश जना अगुवा पछुवा लिएर गएँ । एक पाँज बिउ उखेलेँ । केटाहरूले के गर्‍यो त धानको बिउको माला बनाइलियो र सबको गलामा लगाइदियो । लाग्दथ्यो कि सब धान दिवसका बेहुला हुन् । धन्न भाग कि एक आध मुठ्ठी बिउ बाँकी राखेका रहेछन् । त्यही रोपेर फोटो तोटो खिच्न सकियो । नभए त्यो पनि ठनठन गोपाल हुने थियो ।”
“अनि ?”

“त्यसपछि हात मुख धोएर घर आयौँ । दुईटा गुजराती भैँसीवाला घर हो । दूध दही त थियो नै । मैले दही चिउरा खानका लागि अनुरोध त गर्नै पर्‍यो । उनीहरूले भने कि एउटा कचौरामा दही ल्याऊ र सानो प्लेटमा चिउरा । त्यसलाई बीचमा राखेर सबले फोटो खिचे । फटफट फेसबुकमा पनि राखिहाले ।”
“ए”
“के ए भन्छौ । असली पुराण त अब शुरु हुन्छ । उनीहरूले भने अब यहीँ खाना खाने हो । सोचेँ, केही फरक पर्दैन । दूध, दही, घिउ र थोरबहुत तरकारी आफ्नै उत्पादन छ । भइ हाल्छ । रे बाबा रे बाबा । धुत, धान दिवसमा पनि यस्तो खाना खाने हो । सबैले भने – मुर्गा तुर्गाको व्यवस्था गर्नु पर्छ । इज्जतको सबाल । बजार गएर मुर्गा ल्याएँ । पकाइ तुल्याई गरेर सबलाई खुवाएँ ।”
“ए ”
“के ए भन्छौ । पूरा कथा पुराण त सुन । अहिलेसम्म त केही भएन । जे भयो त्यसपछि भयो । खानासाना खाएर हामी बसेको के थियौँ । पल्लो गाउँको पत्रकार आयो । आफन्तै मानिस थियो । एक प्रकारले मेहमान । आजकाल कति टेलिभिजन च्यानल छ । ऊ लोकल टेलिभिजनको पत्रकार हो । सानो तिनो क्यामेरा किनेको छ । उसले भन्यो कि धान दिवसको समाचार बनाउन यहाँ आएको ।”

उसको कुरा सुन्ना साथ वडा सदस्य त दुई हात उफ्रियो “असली धान दिवस त अब मनाउने हो कि । बिना पत्रकारको कुनै दिवस हुन्छ ।” उसले धान उत्पादन वृद्धिमा सञ्चारमाध्यमको भूमिकाको महत्वबारे सानोतिनो भाषण पनि छाँटिदियो ।

टेलिभिजन पत्रकार गाउँमा आएको छ, गाउँभर हल्ला भइगयो । मानिसहरू जम्मा भए । एक छिन त दिल खुस भयो – म पनि मानिस त सानो होइन । पहलमानी जितेर आउँदा पनि यत्रो भीड मेरो घरमा भएको थिएन, जति अहिले भयो । अब फेरि शुरु भयो धान दिवसको कायक्रम । सौ पचासको हुल हिँड्यो खेततिर । मेरो दुई बिघाको लागि तयार गरेको बिउ त एकछिनमा सब मिलेर उखेले । कसैले माला बनाएर गलामा लगाए, त कसैले शीरमा बाँधे त कोही कोहीले कानमा लगाए । वातावरण हरियाली भयो । वडा सदस्यले खेतमा पनि भन्नु भयो “अब यो देशमा कृषि क्रान्ति हुन्छ । देश समृद्धितर्फ लम्किसक्यो । सम्वृद्धि र विकास हाम्रो घरदैलोमा आइपुगिहाल्छ ।”

यस पटक त धानको बिउ खेतमा पर्दा पनि परेर । मानिसहरूको गला, कान र टाउको रोपिएको थियो । घर फर्किएर फेरि भोजभातको व्यवस्था भयो । कुटुम्ब, त्यसमाथि पत्रकार आएको थियो । धन्न भाग घरमा एउटा बोका थियो, इज्जत जोगिहाल्यो ।
“अनि”

“मलाई त के विश्वास छ दाजु कि मुुलुक अग्रगमनमा गइसकेको छ । धान खेतीमा नयाँ कुनै प्रयोग भइरहेको छ । उन्नत खालको खेती । खेतमा धान रोप्न नपर्ने । मानिसको गला, गमला, टेबलमा पनि रोप्न सकिन्छ । यसको फाइदा के छ भने न पानीको जरुरत न घामको । बाढीको डर पनि भएन, रौदीको मार पनि नपर्ने । सरकारले किसानको मल आएन, बिउ पाएन आदि कचकच पनि सुन्न नपर्ने ।”
यो बलदेव मजाक गरिरहेको छ कि गम्भीर छ । बिलकुल मुलुकको हालतजस्तो उसको हाल छ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Subodh Raj Pyakurel
Subodh Raj Pyakurel
1 month ago

गज्जबको ब्यङ्ग्य।धन्यवाद योगीश।

Nepal Telecom ad
खाल्डोको उँचाइ

खाल्डोको उँचाइ

याेगीश कृष्ण
मेरो देश

मेरो देश

याेगीश कृष्ण
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
1
0
Would love your thoughts, please comment.x
()
x