आर.सी. रिजालचपेटाप्रसादको व्यथा
बरू पहिलानै सजिलो थियो । डाक्टरसा’बले नाम बदलेर बर्बाद गरे । चपेटे भन्छ म पनि तेरो टाउको कहाँ भेटछु र ? हिँड् त्यो मुडानेर म मुडामा चढेर कन्याइ दिन्छु नभए भूइमा सुत् यहीँ कन्याइ दिन्छु ।

आर. सी. रिजाल :
चपेटाप्रसाद एउटै कोखबाट जन्मेका आफ्ना दुईटा छोरा हेरेर चिन्तित छ । जेठो छोरा बाह्र वर्षको र कान्छो छोरा दस वर्षको छ । तर दुवै छोराको उचाइ भने क्रमशः चार फिट र दुई फिट छ । एक दिन घरबूढीसँग सल्लाह गरेर दुवै छोरा लिएर ऊ डाक्टरकहाँ पुग्छ । चपेटेलाई डाक्टरले सोधे “कसलाई के व्यथा लागेर आउँनु भएको ?” चपेटे भन्छ “यो मेरो कान्छो छोरो मरिचे दस वर्षको भयो । दुई फिटभन्दा मास्तिर बढ्नै सकेन । उही खुराक खाएको दाजु निर्दलकुमार चाहिँ बाँस जस्तै हलक्कै बढेर गयो । कान्छो मरिचे त बाउन्ने होला भन्ने त्रास भयो ब्यथाको पत्तो छैन हजुर, जेथा चाहिँ खत्तम पार्यो ।”
डाक्टरले “ए बाबु मरिचे यता आऊ त ।” भनी बोलाएर जाँच्न शुरु गरे । केहीछिनको जाँचपछि डाक्टरले “यो बच्चाको दिशा, पिसाव, रगत प्रयोगशालामा जचाउँने र शिरदेखि पैतालासम्म एक्स-रे गरेर पर्सि बिहान आउँने” भन्यो । चपेटे आत्तिएर सोध्छ “हैन हजुर यो दिशा, पिसाबले पनि मानिसलाई होचो पार्छ र ? हजुर । यसलाई ठूलै रोग लाग्यो कि कसो हो ? पैसा थुप्रै खर्च हुने हो कि ? यस्तो महँगी जमाना छ ।” डाक्टरले भने “प्रयोगशालाको रिपोर्ट हेरेपछि मात्र रोग पत्ता लाग्छ । अहिल्यै आत्तिहाल्नु पर्ने अवस्था छैन । खर्च त हुन्छ नै । तपाईंलाई धन प्यारो कि छोरो ?”
महँगीको मारमा परेको चपेटे दुई दिनपछि सबै रिपोर्ट लिएर डाक्टरकहाँ पुग्छ । रिपोर्टको अध्ययनपछि डाक्टर साहबले भने “केही रोग पनि देखिँदैन तपाईंको बच्चाको । तपाईंले पोलियो, भिटामिन ए र खोपको मात्रा सबै पूरा गर्नु भएको छ यो बच्चालाई ?” चपेटे भन्छ “जेठा छोरो निर्दललाई त केही पनि ख्वाइन तर यो मरिचेलाई हजूरले भनेको कुनै कुरा पनि छुटाएको छैन । अझ भिटामिनका झोल र ज्यादै ठूलो मोलका ट्याब्लेट कति ख्वाइयो कति ? तर के गर्नु उही भीरबारीमा हालेको मल झै भएको छ ।”
डाक्टर साहबले भने “अब तपाईंको बच्चालाई अस्पतालका डाक्टरलाई नदेखाए हुन्छ । सक्नु हुन्छ भने जानुस् राजनीतिक वा अर्थशास्त्रमा पी.एच.डी गर्ने डाक्टरकहाँ । तपाईं डा. त्रिफलाप्रसाद कुकुरकाटेकहाँ जानुस् । उहाँलाई आजकल फूर्सद पनि छ । राम्रोसँग जाँच्नु हुन्छ । मलाई त तपाईंको मरिचेको अवस्था देख्दा राजनैतिक विकारको शिकार भए झैँ लाग्छ ।” चपेटे सोध्छ “हैन हजूर यो राजनीतिको ‘र’ पनि नबुझेको बच्चा कसरी राजनीतिको लपेटामा पर्छ ? अनि राजनीतिको लपेटामा पर्नेहरु सबै बामपुड्के हुन्छन् त ?” डाक्टरसा’बले भने “त्यो हामी जस्तो डक्टरले भन्न सक्तैनौँ । अर्थ र राजनीतिशास्त्रमा पी एच डी गर्ने डाक्टरहरुले मात्र भन्न सक्छन् ।”
बिचरा । चपेटेले डक्टरको कुरै बुझेन । घर फर्केर पुनः घरबूढीसँग सल्लाह गर्छ “ए बुढिया के गर्ने ? त्यत्रो खर्च गरेर डाङ्डरलाई देखाइयो । रोग केही छैन पनि भन्छ, अनि पीचिडी डाङ्डर देखा भन्छ । खै के गर्ने ? त्यो डाङ्दर अस्पतालमा आउँदैन रे । कस्तो पिचिडी हो ?” चपेटनी भन्छिन् “पेन्सन पाकेर घरमा थला परेर बसेर बिमारी हेर्ने डाङ्डर भएकोले पिचडी भन्या होलान् । त्यो डाङ्डर हो कि झाँक्री सके बिमारी बिसोक पार्न बोका, कुखुराको भोलेको सट्टा कुकुर काटेर भोगदिने भएर होला “कुकरकाटे” भनेका । आ । त्यस्ता कुरासँग हामीलाई के को टाउको दुःखाइ ? के गर्नु त ? छोराभन्दा धन प्यारो होइन । हाम्रो कमाई यिनैका लागि त हो नि !”
अर्को दिन बिहान चपेटे डा. कुकुरकाटेकहाँ पुग्छ । अनि हात जोडदै डाक्टरलाई भन्छ “लौ न हजूर अस्पतालका डाङ्डरले मेरो छोरो मरिचेको उपचार गर्न नसकी हजूरकहाँ पठाए ।” चपेटे दुवै छोराको हात माथि उठाएर डाक्टरलाई देखाउँदै “यो जेठो हलक्कै बढ्यो तर यो कान्छो मरिचे बढ्नै सकेन । एकै आन्द्राका सन्तान हुन्” भन्छ । डा. कुकुरकाटेले मरिचेलाई नछोई सोध्न लागे “छोराहरूको जन्म साल कहिले ?” चपेटे भन्छ “जेठा छोरो निर्दल कुमारको २०४५ सालमा र कान्छो मरिचेको जन्म २०४७ सालमा मात्र दुई वर्ष फरक हो । हेर्नूस् त हजुर दस वर्षको बच्चा फर्सीको कैँडा जस्तो छ । बाह्र वर्ष दाज भने चिचिण्डो जस्तो । डा कुकुरकाटेले भने तपाईंले शरुमै यो बच्चा मकहाँ ल्याउन भएको भए एक लाल पनि खर्च नहुने । यो मरिचेलाई राजनीति चपेटाले झपेटा हानेको छ ।
चपेटे सोध्छ “हैन हजूर यत्रो बच्चालाई राजनीति के थाहा के त हजुर मेरो छोरा मरिचे भविष्यमा मन्त्री होला त ?” डा. कुकुरकाटेले सबै “के को मन्त्री हुनु ? उही भूत लागे झै वर्तमानका मन्त्रीहरु तपाईंको छोरालाई लागेका हुन् । तपाईंको जेठो छोरो पैतालीस साल अर्थात् पञ्चायतकालमा जन्मेकोले बढ्दै गयो र नाम पनि उपयुक्त राख्नु भएछ । ऊ बेला महंगी, खाद्यान्नमा मिसावट, भ्रष्टाचार अहिलेको जस्तो संस्थागत जनतालाई ड्याँकेको ड्याँकै छ । अझ पनि महंगी र भ्रष्टाचारमाथि नियन्त्रण हुन सकेन भने तपाईंका सन्तान जस्ता भूईँ नछाड्ने अरु पनि जन्मन्छन् । यो महंगीको जाँतोले थिचिएर यस्तो भएको हो । यो देशका नेताहरूले बोलेको सुनिरहनु भएकै होला । अस्ति मट्टितेलको भाव दोब्बर बढाए । खुला साँधको कसर देखाएर जनतालाई ठूलो असर पारे ।
भोलि विहारको मुख्यमन्त्री खुला साँधबाट नेपाल प्रवेश गरे के गर्लान् ? २०४६ सालमा आएको प्रजातन्त्रलाई अझसम्म (२०५७ साल) शिशु भन्ने गरेका छन् । शिशु प्रजातन्त्रमा त जनताको यो हालत छ भने प्रजातन्त्र वयस्क भयो भने के हाल होला ?” चपेटे भन्छ “यस्तो कुरा नगरौँ हजुर सम्झँदैमा कहाली लाग्छ । अब मेरो मरिचे बढ्दै बढदैन त हजुर ?” डक्टर कुकुर काटेले भने “बढ्छ, केही ख्वाउन पर्दैन । यसको नाम मात्र बदल्नु पर्छ ।” चपेटे अनौठो मान्दै भन्छ “नाम फेर्दा फेरि अर्को अनिष्ट आइलाग्ला कि । शुभ साहित जुराएर बिवाह गरेको श्रीमतीसँग त कहिलेकहीँ मल्लयुद्धै हुन्छ । झन् पुरेत बाजेले पात्रो फर्काई घडी पला जुराई राखेको नाममा त मरिचे बढ्न सकेन् । बाजेले जुराएको नाम नबदल्ने कि?“ डा. कुकुरकाटेले भने “त्यसो भए तपाईं छोरा अग्लियोस् भन्ने पक्षमा हुनुहुन्न । चपेटे दुवै हात जोड्दै भन्छ, “त्यस्तो हैन हजुर ! केवल मनको शङ्का मात्र पोखेको हूँ । नाम फेरेर छोरा अग्लो हुन्छ भने फेरिदिनुस्” भन्यो ।
एकछिन डा. कुकुरकाटेले घोत्लिएर सोचे अनि भने “ए बाबु मरिचे । तिम्रो नाम आजदेखि ‘महंगीप्रसाद’ । अब यो देशमा महंगी घट्ने डर छैन । जुन अनुपातमा महंगी बढ्छ सोही अनुपातमा तपाईंको छोरा पनि बढ्दै जान्छ । यो गल्ती पण्डितको पनि हो । बहुदलीय व्यवस्था आएपछि नाम जुराउँदा अलि विचार पुर्याउनु पर्ने । बाजे निर्दल विचारका परेछन् क्यारे । ल हेर्नुस् । भरखर नाम फेरेको तपाईंको छोरा दुई अङ्गुल बढ्यो । चपेटे डा. कुकुरकाटेको (धनन्जय गोत्रभित्र पर्ने एक थर) जयजयकार गर्दै घरतिर लाग्छ । बाटोमा चपेटे बिस्तारै गुनगुनाउँदै “कस्तो निष्ठुरी प्रजातन्त्र ल्याइएछ । यसले त अन्जान, अनाथ बालबालिकालाई पनि आफ्नो प्रकोपमा लपेट्दो रहेछ ।”
आजभन्दा भोलि, भोलिभन्दा पर्सि मरिचे बढ्दै-बढ्दै गयो । ऊ यस्तरी बढ्यो कि एक दिन बा बा टाउको एकदम चिलायो कन्याइदिनुस् म त हातले टाउको नभेट्ने भएछु । बरू पहिलानै सजिलो थियो । डाक्टरसा’बले नाम बदलेर बर्बाद गरे । चपेटे भन्छ म पनि तेरो टाउको कहाँ भेटछु र ? हिँड् त्यो मुडानेर म मुडामा चढेर कन्याइ दिन्छु नभए भूइमा सुत् यहीँ कन्याइ दिन्छु ।” महंगीप्रसाद भन्छ “आफूलाई कस्तो चिलाइसक्यो म त यहीँ सुत्छु । छिटो कन्यादिनुस्” भन्दै आँगनमा सुत्यो । चपेटे छोराको टाउको कन्याउँदै प्रजातन्त्रलाई खिजाए झैँ मुसुमुसु हाँस्न लाग्यो ।
०००
‘कण्ठलँगौटी’ (२०५७)
Subscribe
Login
0 Comments
Oldest







































