रामप्रसाद अर्याल ‘अविराम’अचानो
सङ्गठन हुँदो हो त यस्तो सास्ती सहन नपर्दो हो भन्नुहोला । तर सङ्गठन भए झन् चिराचिरा र छियाछिया हुने थियो । जातजाति, भाषाभाषी, धर्म, संस्कृति, वर्ण, लिङ्ग, धनी, गरिब बलियो, र्निबलियोको नाममा सङ्गठन बनाएर कानुन बखान्दा हुन् ।

रामप्रसाद अर्याल ‘अविराम’ :
जसमाथि राखेर पारिन्छ, सानोसानो चानो त्यसलाई भनिन्छ, अचानौ । चाना भनेको साना हो । ठुलादेखि सानासम्मको मिठो खाना हो । फिर्काउँदा फिर्काउँदै, हिर्काउँदा हिर्काउँदै अचानो आफैँ चानो पर्छ । अचानोको निर्माण नै चानो पर्न र सानो पार्न भएको हो । अरुको निम्ति प्रयोग भएर मार खाने जीवनभर हार खाने र खुकुरीको धार खाने ठेउको हो, अचानो । यो बिचमा अडिएको हुन्छ । कलिकी देवीलाई बलि दिन पाठापाठीको गर्धनमुनि ठडिएको हुन्छ । बलिको बोकालाई स्वर्ग जाने ढोका खोलिदिन्छ यसले ।
नारीको माइती मेरो हिमायती अचानो । मेरो वर्गमित्र भित्र पर्दछ यो । आफूभन्दा ठुलाले ह्याप्ने, सानाले चुसेर झ्याँक्ने । तलको नदब्ने माथिकाले दबाउने । ऊमाथि ठुला ठुला साँप्रा राखेर पाप्रा उप्काउने, दबाउने, अचानोमाथि बस्नेहरू चारतारे गए, पाँचतारे भए, दरबार पसे, सेन्ट घसे तर यो भुइँको भुइँ । सुन्दै छ फुइँ । आफ्नो हर काटेर कर तिर्ने एक्लो बृहस्पति । प्रत्येक मारमा लेबी दिने राष्ट्रसेवी ।
अचानोको काम भनेको छुसीहरूलाई समेत खुसी गराउनु हो । यो ठुलो होस् या सानु, चेप्टो होस् या गानु । मर्मस्पर्शी कर्म, नमानेर सर्म मार खानु हो । माथिला वर्गभित्र पर्नेहरूले आलोकाँचो ठेट्ना भनेरै हेप्छन् । आफूभन्दा उमेरले तल्ला सानाले यो सतीपुर्खे भेट्नो भनेर खेप्छन् । न माथि चढ्न न तल गढ्न सक्ने कस्तो गजबको कर्म । खिया लगाएको खुकुरी र रेट लगाएको कर्दको दर्द सहने मर्द यदि कोही छ भने त्यो हो, अचानो ।
अचेल धर्मको कुरा गर्दा मलाई सर्म लाग्छ । किनभने ममाथिका अन्धभक्त, अन्ध समर्थक, मभन्दा तल अन्धविरोधी । दुवैतिरको झटारो खाने तारो म । म सोच्छु, कुखुरीको पिर पनि त खुकुरीले बुझ्दैन भने अचानाको पिर नबुझेर के भो । देशका धेरै फुल नपारेका कोर्ली कुखुरीहरू खुकुरीको मारमा छन् । छुरीको धारमा छन् । को होइन अचानो हामी सबै अचानो हौँ ।
आफूभन्दा ठुलालाई सेवा सानालाई टेवा दिँदा दिँदा हैरान । साना अलि ठुला भएपछि भन्दछन्, तेरो टेवा चाहिँदैन, बरू ढेवा (पैसा) चाहिन्छ । अब कहाँबाट दिनु पैसा ? खुसीमा फुर्याउँदा, सानोमा हुर्याउँदा भएको क्याँट जति च्याँट भएको हुन्छ । तपाईं धार्नी सेवा गर्नुस्, तोलामा गडबड भयो भने तपाईंको योगदान खोलामा जान्छ । मिसित्त आउने पाहुनाको त चित्त बुझाउन सकिँदैन भने ढ्याम्तै बस्ने बसाहालाई बेसाहा ख्वाएर चित्त कसरी बुझाउन सकिन्छ ? ठुला र सानाको दोसाँधमा दबिएको मुला जस्तो छ, अचानु । एउटा शक्तिको रापमा रापिएको, अर्कोको चापमा चाँपिएको हुन्छ, विरचाप !
एउटा शक्ति केन्द्रले गर । अर्को भक्ति केन्द्रले नगर । यही लगरी र झगरीको बिचमा अडिएको हुन्छ, अचानोको पगरी । यदि कुरा मिलाउन जानेन, भनेको मानेन भने हावामा उड्दछ या पानीमा बुड्दछ अचानोको पगरी । पगरी पाए जय जयकार गर्दछ, नगरी । इतिहासमा वैरी पोसिन्छ, पगरी खोसिन्छ, आफ्नै घरमा आगो झाँसिन्छ । घर पोलेको आगोमा ढाड सेकिन्छ, न्यानो मानीमानी । तर अगाडिपट्टिबाट हेर्दा ह्वाङ्ग देखिन्छ अस्मिताको चल्लो ।
ठुलाका अगाडि मझौला, मझौलाका अगाडि फुरौला अचानु बन्दछन् । ठुलाले आफ्नो शक्तिशाली खुडाले मझौलाको घिस्रो छिनाले पनि मझौलाले फुरौलाको घरबास हिनाले पनि चोट लाग्ने उसैलाई त हो । भुत्तेले भुक्भुक्याए पनि अर्जापेकोले टुक्रयाए पनि, सङ्गीले सेरे पनि खुर्पामा बेरे पनि कर्दको दर्द सहने मर्द उही हो । सदियौंदेखि अचानोको जुनी प्रगति नहुनी ।
व्यवहारको बन्चरोले चारैतिरबाट ख्याप्ने । खुइते हतियारको तीरले धारिलो झिरले यसैलाई झिल्स्याउने गरिन्छ । त्यसैले भनिन्छ, खिया लागेको कर्दले अचानाको दर्द बुझ्दैन । खुट्टा गले पनि दारी दले पनि यसले सहेकै हुन्छ । यसैमाथि ज्यान थमाइन्छ र खुट्टा समाइन्छ । खुट्टा खापिन्छ र ज्यान नापिन्छ, जोखिन्छ यसैमाथि ।
उँधो न उँभोको मध्यम वर्गीय परिवेश । यसैको टाउकोमा टेके, सुखको स्वर्ग देखे धेरैले । पिँधिदै पिँधिदै बस्नु, खिइनु यसको विशेषता । यसको पनि सङ्गठन हुँदो हो त यस्तो सास्ती सहन नपर्दो हो भन्नुहोला । तर सङ्गठन भए झन् चिराचिरा र छियाछिया हुने थियो । जातजाति, भाषाभाषी, धर्म, संस्कृति, वर्ण, लिङ्ग, धनी, गरिब बलियो, र्निबलियोको नाममा सङ्गठन बनाएर कानुन बखान्दा हुन् । यसलाई घुन पिसे झै पिस्दा हुन् । र भन्दा हुन्, यसको जन्म सहनको लागि भएको हो । टुक्रिनु यसको कर्म हो । सहनशीलता यसको धर्म हो । एकै ठाउँ गडिनु, भुइँमा अडिनु यसको मर्म हो । यसमाथि ठुला ठुला र सानाभन्दा साना चोक्टा चोक्ट्याउनु, धारिला हतियारको धारमा भुत्ते हतियारको मारमा जुनीभरि सहेर बस्ने सत्ताको भक्त अचानुलाई सलाम ।
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest






































