हरिप्रसाद उप्रेतीआमाको मन
खै ! यी सबै चाहना र बुझाइ हुँदाहुँदै पनि ती पूरा नहुँदा दुःखित भएकी छु यो जन्ममा ती गुण क्षमता र चेतना नभए पनि अर्को जन्मले पूणर्ता पाओस् भन्ने कामना छ मेरो ।

हरिप्रसाद उप्रेती :
म यन्त्र बत्ती हुन पाए
चाहे जति जल्ने थिएँ
मैनबाट निर्मित शरीर पाए
चाहे जति पग्लने थिएँ ॥
सुलिस् फलाम हुन पाए
तिमीले गाल्दा गालिने थिएँ
प्लास्टिकको फूल बन्न पाए
तिमीले राखेको ठाउँमा सजिने थिएँ ॥
म तिम्रो मन पर्दो व्यञ्जन हुन पाए
मीठो पकवान बनेर पाक्ने थिएँ
तिम्रै जस्तो पढ्न पाए
तिमीलाई नै सघाउने थिएँ ॥
मेरो उमेरलाई घटाएर सानी हुन पाए
तिम्रो शिष्य बनेर सिक्ने थिएँ
बत्तिसै लक्षणकी हुन पाए
तिमीलाई खुसी तुल्याउने थिएँ ॥
तिम्रो मनोभावको यन्त्र मानव हुन पाए
सबै भावनाहरू नबिराई बुझ्ने थिएँ
नबुझेको कुनै पाए तिमीसँगै सोध्ने थिएँ
तिमीलाई खुसी पार्न आफ्नो खुसी छोड्ने थिएँ ।
रचनाकारले त्यसरी रचना गर्न सकेन मलाई
आफ्नो अपूणर्ता देखेर खेद लाग्छ आफैँप्रति
तिम्रो चाहना बुझ्न नसक्दा दुःख लाग्छ आफैँप्रति
म विवेक शून्य भएर रहँदा घृणा लाग्छ आफैँ देखि ।
कुनै विश्वविद्यालयमा भर्ना भएर
आमाको भूमिका बारेमा विद्यावारिधि गर्न पाए
म कति प्रसन्न हुने थिएँ मेरो क्षमता देखि
अनि सबैभन्दा खुसी त म हुने थिएँ
तिमी मलाई देखेर प्रसन्न हुँदा हुने खुसीमा ।
खै ! यी सबै चाहना र बुझाइ हुँदाहुँदै पनि
ती पूरा नहुँदा दुःखित भएकी छु
यो जन्ममा ती गुण क्षमता र चेतना नभए पनि
अर्को जन्मले पूणर्ता पाओस् भन्ने कामना छ मेरो ।
तिम्रो प्रसन्नता र खुसीमा खुसी हुन पाए
मेरो जीवनको सार्थकता हुने थियो
प्लास्टिक, सेरामिक, ढुङ्गा, काठ, माटो
अनि डोरी, धागो र चोयाको भए पनि
आमा भएर आफ्ना सम्पूर्ण भूमिका निभाउन पाए
म अन्तर हृदयदेखि खुसी हुने थिएँ ।
०००
काठमाडौं
‘अन्तर्मनका क्षितिजहरू’ (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































