बद्रीप्रसाद दाहाल ‘भस्मासुर’निष्कर्षहीन हुँदैन वार्ता
आम जनताको भोक, रोग र शोकसित खेलबाड गर्ने अधिकार यी दुवैलाई छैन । यी घमण्डका जुरेथुमहरूले बेलैमा सोचून् । खेलाँचीले देश चल्दैन । जनता भेडो होइन कार्यकर्ता दास र करिया होइनन् ।

बद्रीप्रसाद दाहाल :
कुनै पनि देश कृषि, उद्योग, कला, संस्कृति, नीतिजस्ता कुरामा प्रधान वा मुख्य हुनु शुभ सङ्केतको प्रतीक हो । तर समय समयमा हामी कर्मप्रधान हुनुको मर्म र शर्म बिर्सिएर मात्र वार्ताप्रधान वा गफकै राँको सल्काउन जब्बर भएका छौं सभा, बैठक, मिटिङका हुर्मत काढेर । आफू आफूमा झगडा, कलह, घमण्ड, दर्प, ढोँग र स्वार्थ राख्नु पक्कै शुभ सङ्केतको लक्षण होइन । अझ विधि नै चेपी, कानुननै हेपी परस्पर राजनीतिक भागबण्डाको नाममा कलहमा रलल र्याल काढेर भद्रगोल मच्चाउनु होल देशवासीकै अकल्याण गर्नु हैन र ? यतिखेर सबै वाद हापेर देशलाई झगडावाजले आक्रान्त बनाइराखेको छ । चौबीसै घण्टा वार्ताको नाममा कलहतन्त्र जुरे बनिनु भारेभुरे र सर्वसाधारण आम जनताका माम, काम, सीप र जाँगरलाई जाममा ठेलिदिनु नै हो ।
अझ कोभिडजस्तो महामारीको घडीमा आ-आफ्नो शक्ति परीक्षण गराउन जुलुस, धर्ना, कोणसभा र आन्दोलनलाई एकमुष्ट सडक मार्च गराउनु सत्ताधारी वा सरकार चालक दलको कटमिरो वा बालखिल्ले ढपले टप छुनु हो भनेर विश्लेषकहरू बताइरहेका छन् । संसारका जति पनि वार्ता निष्कर्षविहीन हुँदैनन्, स्वार्थले भरिएका कलहमात्र निष्कर्षमा पुग्दैनन्। वार्ताको आवरण दिएर कलुषित झगडामा देश र जनतालाई रल्याउन कसैको पनि पिताम चल्दैन ।
जब दलभित्र व्यक्ति व्यक्तिबीचका अहं हाबी बनेर पार्टी र सरकारको चाबी आफ्नै हातमा पार्ने तुच्छ कसरतको मायावी चाल चालिन्छ तब त्यहाँ नीति, सिद्धान्त, विचार र आचारहरू धराशयी बन्छन् । जो अहिलेको हाम्रो नियति बनिरहेको छ । को शक्तिशाली ? भनेर हावाले सूर्यलाई चुनौती दिएको कथाजस्तो व्यथा बोकेर घिस्रिरहेको छ देश यतिखेर । कथा यस प्रकारको छः एकपटक हावा वा वायुदेवतालाई आफ्नो शक्तिप्रति घोर अभिमानको मात चढेछ । हुन त संसारको संरचना र गतिशीलता जीवन्त बनाउन पृथ्वी, पानी, आगो, हावा र आकाशको भूमिका समन्वयकारी हुनु आवश्यक छ । यो कुरा बिर्सिएर हावाले सबैभन्दा शक्तिशाली मै हुँ भनी डुक्रिएपछि घामलाई उसको शेखी झार्न मन लाग्यो । सूर्यले हावालाई भन्यो-हे वायु, अचेल तिम्रो फूर्ति असाध्यै बढेको छ । आफूसरहका जीवनदायी पानी, माटोढुङ्गा बोक्ने पृथ्वी, संसारै उज्यालो पार्ने म सूर्य र चम्किलो अनन्त आकाश अर्थात् खाली ठाउँलाई हेपेर घमण्डमा डुक्रिरहेका छौ । तात्तातै वायुले आफ्नो छाती फुलाउँदै उर्लेर भन्यो म त सम्पूणर् चरअचरको प्राण हुँ, श्वासप्रश्वास हुँ, मेरो फूर्ति आजभोलिमात्र बढेको होइन पहिलेदेखिकै उत्तिकै छ । म निन्याउरो मुख लगाएर नुन खाएको कुखुराजस्तो भएर किन हिँड्ने ? छाती फुलाएर डटेरै घुमिरन्छु । सूर्यले नम्रतापूर्वक भन्यो-तिमीलाई दुर्बल छौ भन्न खोजेको होइन, यत्तिमात्र भन्न खोजेको हुँ कि हरेकले आफ्नो औकात र अरूको अस्तित्वलाई स्वीकार गर्नुपर्छ । कसैले पनि आफ्नो सीमा नाघ्न हुँदैन । सीमा उल्लङ्घन गर्नेले अन्त्यमा ठक्कर वा चोट खानुपर्छ ।
सूर्यको यस्तो कुरा सुनेर वायुदेवले झोक्किँदै भन्यो- हेर सूर्य मेरो जति शक्ति तिम्रो हुँदो हो त तिमी कति फूर्ति गर्थ्यो होला ? अझ मैले जति धाक, रबाफ र फूर्ति गर्नु पर्ने हो त्यति त गरेकै छैन बुझ्यौ ? यो ठाडो शेखीले सूर्यदेव यसै तातो झन् रिसले ताते । अनि ती दुईबीच शक्ति परीक्षणमा भिड्ने सल्लाह भयो । सूर्यले प्रस्ताब राखे ल, वायुदेव तिमी साँच्चैको शक्तिशाली हौ भने त्यो पर हिँडिरहेको बटुवाले शरीरमा लगाएको कपडा उठाएर फ्याँक त ? वायुले फूर्ति गर्दै बोल्यो यति सानो काम गर्न नसक्ने ठान्यौ ? जिन्दगीमा कस्ता कस्ता काम गरियो ? अनि जोडले हावा बहन थाल्यो, हुरी पनि चल्यो तर त्यो बटुवाको लगाएको कपडा हावाले न्वारनदेखिको बल झिकेर झोक्का हान्दा पनि उडाएन । बिचरा । हावा रातो मुख लगाएर लाज मान्दै थचक्कै बस्यो । अनि सूर्यले आफ्नो शक्ति प्रदर्शन गर्दै भने ल हेर उसलाई म नाङ्गै बनाइदिन सक्छु । अनि सूर्यले आफ्नो राप बढाउँदै लगे । बटुवा गर्मीले आलसतालस भयो । सबै लगाएका लुगाजति फुकालेर रूखको छाहारी खोज्दै पानी पिउन पुग्यो र जमिनको आश्रय लिएर खुल्ला ठाउँ खोज्यो । वायुदेव लज्जित हुँदै सूर्यसित माफी माग्यो अनि पानी, पृथ्वी, सूर्य र आकाशको महत्तामाथि नतमस्तक भयो ।
हो, यतिखेर नेपालको सत्ताधारी दलका प्रथम पुरुष र द्वितीय पुरूष वायुदेव हुन् भने आम नेपाली जनता सूर्यदेव पृथ्वीदेव, आकाशदेव र जलदेवका विम्ब हुन् । यस्तो महामारीको घडीमा कोभिडजस्तो कडा यमराजलाई नीचो ठानी आ-आफ्ना स्वार्थलाई उँचो बनाएर निष्कर्षहीन वार्ताको मञ्चन गर्दै आम जनताको भोक, रोग र शोकसित खेलबाड गर्ने अधिकार यी दुवैलाई छैन । यी घमण्डका जुरेथुमहरूले बेलैमा सोचून् । खेलाँचीले देश चल्दैन । जनता भेडो होइन कार्यकर्ता दास र करिया होइनन् । प्रमुख प्रतिपक्षी र अन्य प्रतिपक्षीहरू पनि रचनात्मक दवाब दिन छाडेर आ-आफ्ना दलभित्र आन्तरिक झगडा, रगडा र कलहको व्यसनी बनिरहने हो भने मुसाको छोरी मुसैलाई भनेझै हुन्छ । त्यसैले ‘सत्यमेव जयते’ आफ्ना अनुकूलमा मात्र लागु हुने होइन । अनसन, र्याली, नारा, कर्नर मिटिङका नाटक मञ्चन गराएर महाव्याधिको बेला भौतिक अर्थात् दैहिक दूरीलाई कुरीकुरी गर्ने तागत कसैमा छैन । त्यसैले त भनिन्छ- मौका आउँछ पर्खदैन त्यसमा चुक्ने महामूर्ख हो । कस्लाई हो शत्रु भनेर ठान्नु, आफ्ना दसै इन्द्रिय शत्रु मान्नु । यी भनाइ ठट्टाका चुड्का र मदिरका घुड्का होइनन्, मार्सीका महामार्सी हजुर्बा हुन् । चेतना भया… । वार्ता, सम्झौतामा आसीन हुन्छ यसको प्रकृतिनै यही हो ।
०००
धादिङ
‘माला-चिन्तन’ (२०७७)
Subscribe
Login
0 Comments
Oldest







































