भोलानाथ सुबेदीअतिथि
मलाई कौतुहलता लाग्छ शौचालय उद्घाटनमा गएका अतिथिले पिसाव फेरेर उद्घाटन गर्लान् कि दिसा बसेर । परार असार पन्ध्रको रोपाइँ जात्रामा गएका अतिथिले त रोपारलाई नै अङ्गालो हालेर फरार भएको समाचार पनि घन्केको नै हो ।

भोलानाथ सुवेदी :
हिजोआज नेपाली समाजमा प्रचलित अतिथि शब्द सुन्दा पनि मलाई मुर्छा पर्ने गरि हाँसो लाग्छ । भाषाविज्ञहरू त यसको अर्थ पत्ता लागेपछि कति मडारिए हाँसे होलान् । कोही पेट मिचमिची हाँसे होलान् । कोही आन्द्रा बटारिने गरि हाँसे होलान् । साँझ घरमा पाहुना आए भने म शब्दकोश पल्टाउँछु र बुइँगलमा बसेर धित मरून्जेल हाँसेर ओर्लने गर्छु । तपाईंको प्रश्न होला यसमा हाँस्ने के छ र ? यसो अगौटे खोरियाको हगन गौँडीमा फलेको हरियो काँक्रो चपाउँदै सोच्नु त । आजको जमानामा फोन नगरी अरुको घरमा सरासर फेरो हाल्न पुग्नेलाई अतिथि भनेर सम्मान गर्ने कि हातमा सिर्कनो लिएर लखेट्ने ।
अझ अतिथिलाई रोजीछाडी दुधको चिया कि कागती चिया, चिनी बढी कि कम सबै रित व्यवस्थित गर्नै पर्यो । घरमा बुढीले चिनीले सय नाघेपछि चिया उमाल्न छाडेको कुरा पाहुनाले थाहा पाए कति उछितो काड्लान् । कुखुराको मासु कि खसीको तारेर खानेकी दारेर अनेक सबाल सोझ्याउँदै जाँदा घरका मान्छेको हड्डी गल्छ । गोजीमा बेफवाँकको भ्वाङ पर्छ ।
शब्दकोशमा तिथि नतोकी वा नबोलाइ आउने व्यक्ति भनेर अर्थ लगाइएको छ । यो त अतिथिको नै अपमान हो भन्ने मलाई लाग्छ । हेलिकप्टरमा छटपटिने छट्टुरामहरू, हवाइजहाजमा हुत्तिएर हिलहिलाउने हुतराजहरूलाई अतिथि मान्ने कि नमान्ने भनेर सोच्दासोच्दै मेरो निधारको आयतन टुप्पी भन्दा तल पुगिसक्यो । अतिथिको अर्थलाई नियाल्दा म ककसकोमा अतिथि भएछु भनेर औँला भाँचिरहेछु । यसको हिसाब किताब निकाल्न मलाई पुनर्जन्म हुनु पर्ला जस्तो लाग्यो । डाक्यो न बोलायो लिँडे पुच्छर डोलायो भन्ने नेपाली उखानलाई चुनौती दिँदै कोशकारहरूले गरेको कोसिस देखेर हवालह्वालती हाँसो जाग्छ ।
तपाईं कुनै कार्यक्रमलाई गहिरिएर नियाल्नु होस् त । अतिथिको बसौठो गद्दावाल हुन्छ । अतिथि नआए उद्घाटन रोकिन्छ । माला ओइलाउँछ । खादा गलाको पासो बन्छ । निम्तारुले धार्मे हात लगाउँछन् । अस्ति राती निद्रा नपरेकोले हिजोको विद्यार्थी दीक्षित हुने कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरिदिए । यसबाट राज्यलाई कति घाटा भयो त्यसको हिसाब कसले राख्छ यहाँ । विचार गर्नुहोस् त दश बजे समय तोकेर चार बजेसम्म नमुन्टने व्यक्तिलाई अतिथि भनेर पुज्ने कि बेथिति भनेर लखेट्ने ।
अतिथि पनि विभिन्न ढङ्ग र ढाँचाका हुन्छन् । कोही आफ्ना भुराभुरी अघिपछि लगाएर कोसेली सहित उपस्थित हुन्छन् । कोही खाली हात भोको उडुस जसरी भान्साको सबै हसुर्न आइपुग्छन् । कोही योजना बनाउन आउँछन् कोही योजना सुनाउन आउँछन् । कोही नेता बनेर आश्वासन दिन आउँछन् । कोही रिबन काट्न करोडौ खर्च गराएर आउँछन् । पिङ उद्घाटन गर्नेदेखि पिर्के सलामी खानेसम्म तपाई हाम्रा अतिथि हुन अभ्यस्त छन् ।
साँझमा आएका पाहुना देवता समान माने पनि कतिले राती नै घरका गडन्त मालसामान सहित फरार भएको हजुरबाले सुनाउँथे । लट्टेश्वरको पिँढीमा बिँडी सल्काउँदै बास बसेको टट्टेश्वर ओछ्यान सहित अलप भएपछि पाहुना साँझको भय बनेको जनश्रुति पाइन्छ। परिवारभित्र ज्वाईभन्दा ठूलो पाहुना अरु हुँदैन । त्यसभित्र पनि धनी र गरिब ज्वाईंबिच बस्ने गलैंचादेखि खाने परिकारसम्म फरक हुँदा गरिब ज्वाईंले ससुराली बर्जित गरेका छन् । नपत्याए तपाईंका अन्तरे ज्वाईं कति वर्ष भो ससुराली नआएको औँला भाँच्नुहोस् त ।
पाहुनासँग परिकार जोडिन्छ । केटाकेटी जोडिन्छन् । पाहुना आएपछि केटाकेटीको रूने, भोकाउने क्रम सुरु हुन्छ । यो सबैको घरको व्यथा नै हो । पाहुनालाई मासु, गनगने सासु, केटाकेटीका आँखामा आँसु सबै मिलाएर भाग लगाउँदा पनि घुर्यानमा लगेर खाना फ्याक्ने पाहुना जैरेलाई जरसिंङपौवाको डाँडो कटाउन मन हुन्छ कति भान्सेलाई ।
अहिले शिलन्यास, उद्घाटन, विमोचन जस्ता कार्यक्रममा अतिथि नभई हुँदैन । संघीयता लागू भएपछि त अतिथिको सङ्ख्या ह्वारवार्ती बढेको छ । वडाका पानी सदस्यदेखि महानगरका कुचिकारसम्म अतिथिको पगरी लगाउन आइपुग्छन् । मलाई कौतुहलता लाग्छ शौचालय उद्घाटनमा गएका अतिथिले पिसाव फेरेर उद्घाटन गर्लान् कि दिसा बसेर । परार असार पन्ध्रको रोपाइँ जात्रामा गएका अतिथिले त रोपारलाई नै अङ्गालो हालेर फरार भएको समाचार पनि घन्केको नै हो । घोरिएर विचार गर्दा जम्मो टोली लिएर विदेश भ्रमणमा निस्केको प्रधानमन्त्रीको टोलीमा ककसलाई अतिथि भनेर स्वागत गर्दा विदेशको सरकारले ।
राज्यको करोडौं लगानी अतिथि सरकारमा खर्च भएको देखिन्छ । यस्तो खर्च गरेर राज्यलाई नोक्सान पुर्याउने अतिथिहरूसँग राज्यले अतिथि कर लिनुपर्छ । चार घण्टाको अतिथि सत्कारले अरबौं रुपैयाँ खेर जाने गर्दछ । हामी अतिथि होइन थिति बसाल्न लागि परौँ । समयको बर्बाद पारेर जीवनलाई खिया लाग्नबाट बचाउँ । स्थानीय उत्पादनसँग अतिथिलाई जोड्दा देश समृद्धि हुन्थ्यो कि ?
०००
काठमाडौं
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest






































