साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिथि

मलाई कौतुहलता लाग्छ शौचालय उद्घाटनमा गएका अतिथिले पिसाव फेरेर उद्घाटन गर्लान् कि दिसा बसेर । परार असार पन्ध्रको रोपाइँ जात्रामा गएका अतिथिले त रोपारलाई नै अङ्गालो हालेर फरार भएको समाचार पनि घन्केको नै हो ।

Nepal Telecom ad

भोलानाथ सुवेदी  :

हिजोआज नेपाली समाजमा प्रचलित अतिथि शब्द सुन्दा पनि मलाई मुर्छा पर्ने गरि हाँसो लाग्छ । भाषाविज्ञहरू त यसको अर्थ पत्ता लागेपछि कति मडारिए हाँसे होलान् । कोही पेट मिचमिची हाँसे होलान् । कोही आन्द्रा बटारिने गरि हाँसे होलान् । साँझ घरमा पाहुना आए भने म शब्दकोश पल्टाउँछु र बुइँगलमा बसेर धित मरून्जेल हाँसेर ओर्लने गर्छु । तपाईंको प्रश्न होला यसमा हाँस्ने के छ र ? यसो अगौटे खोरियाको हगन गौँडीमा फलेको हरियो काँक्रो चपाउँदै सोच्नु त । आजको जमानामा फोन नगरी अरुको घरमा सरासर फेरो हाल्न पुग्नेलाई अतिथि भनेर सम्मान गर्ने कि हातमा सिर्कनो लिएर लखेट्ने ।

अझ अतिथिलाई रोजीछाडी दुधको चिया कि कागती चिया, चिनी बढी कि कम सबै रित व्यवस्थित गर्नै पर्‍यो । घरमा बुढीले चिनीले सय नाघेपछि चिया उमाल्न छाडेको कुरा पाहुनाले थाहा पाए कति उछितो काड्लान् । कुखुराको मासु कि खसीको तारेर खानेकी दारेर अनेक सबाल सोझ्याउँदै जाँदा घरका मान्छेको हड्डी गल्छ । गोजीमा बेफवाँकको भ्वाङ पर्छ ।

शब्दकोशमा तिथि नतोकी वा नबोलाइ आउने व्यक्ति भनेर अर्थ लगाइएको छ । यो त अतिथिको नै अपमान हो भन्ने मलाई लाग्छ । हेलिकप्टरमा छटपटिने छट्टुरामहरू, हवाइजहाजमा हुत्तिएर हिलहिलाउने हुतराजहरूलाई अतिथि मान्ने कि नमान्ने भनेर सोच्दासोच्दै मेरो निधारको आयतन टुप्पी भन्दा तल पुगिसक्यो । अतिथिको अर्थलाई नियाल्दा म ककसकोमा अतिथि भएछु भनेर औँला भाँचिरहेछु । यसको हिसाब किताब निकाल्न मलाई पुनर्जन्म हुनु पर्ला जस्तो लाग्यो । डाक्यो न बोलायो लिँडे पुच्छर डोलायो भन्ने नेपाली उखानलाई चुनौती दिँदै कोशकारहरूले गरेको कोसिस देखेर हवालह्वालती हाँसो जाग्छ ।

तपाईं कुनै कार्यक्रमलाई गहिरिएर नियाल्नु होस् त । अतिथिको बसौठो गद्दावाल हुन्छ । अतिथि नआए उद्घाटन रोकिन्छ । माला ओइलाउँछ । खादा गलाको पासो बन्छ । निम्तारुले धार्मे हात लगाउँछन् । अस्ति राती निद्रा नपरेकोले हिजोको विद्यार्थी दीक्षित हुने कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरिदिए । यसबाट राज्यलाई कति घाटा भयो त्यसको हिसाब कसले राख्छ यहाँ । विचार गर्नुहोस् त दश बजे समय तोकेर चार बजेसम्म नमुन्टने व्यक्तिलाई अतिथि भनेर पुज्ने कि बेथिति भनेर लखेट्ने ।

अतिथि पनि विभिन्न ढङ्ग र ढाँचाका हुन्छन् । कोही आफ्ना भुराभुरी अघिपछि लगाएर कोसेली सहित उपस्थित हुन्छन् । कोही खाली हात भोको उडुस जसरी भान्साको सबै हसुर्न आइपुग्छन् । कोही योजना बनाउन आउँछन् कोही योजना सुनाउन आउँछन् । कोही नेता बनेर आश्वासन दिन आउँछन् । कोही रिबन काट्न करोडौ खर्च गराएर आउँछन् । पिङ उद्घाटन गर्नेदेखि पिर्के सलामी खानेसम्म तपाई हाम्रा अतिथि हुन अभ्यस्त छन् ।

साँझमा आएका पाहुना देवता समान माने पनि कतिले राती नै घरका गडन्त मालसामान सहित फरार भएको हजुरबाले सुनाउँथे । लट्टेश्वरको पिँढीमा बिँडी सल्काउँदै बास बसेको टट्टेश्वर ओछ्यान सहित अलप भएपछि पाहुना साँझको भय बनेको जनश्रुति पाइन्छ। परिवारभित्र ज्वाईभन्दा ठूलो पाहुना अरु हुँदैन । त्यसभित्र पनि धनी र गरिब ज्वाईंबिच बस्ने गलैंचादेखि खाने परिकारसम्म फरक हुँदा गरिब ज्वाईंले ससुराली बर्जित गरेका छन् । नपत्याए तपाईंका अन्तरे ज्वाईं कति वर्ष भो ससुराली नआएको औँला भाँच्नुहोस् त ।

पाहुनासँग परिकार जोडिन्छ । केटाकेटी जोडिन्छन् । पाहुना आएपछि केटाकेटीको रूने, भोकाउने क्रम सुरु हुन्छ । यो सबैको घरको व्यथा नै हो । पाहुनालाई मासु, गनगने सासु, केटाकेटीका आँखामा आँसु सबै मिलाएर भाग लगाउँदा पनि घुर्‍यानमा लगेर खाना फ्याक्ने पाहुना जैरेलाई जरसिंङपौवाको डाँडो कटाउन मन हुन्छ कति भान्सेलाई ।

अहिले शिलन्यास, उद्घाटन, विमोचन जस्ता कार्यक्रममा अतिथि नभई हुँदैन । संघीयता लागू भएपछि त अतिथिको सङ्ख्या ह्वारवार्ती बढेको छ । वडाका पानी सदस्यदेखि महानगरका कुचिकारसम्म अतिथिको पगरी लगाउन आइपुग्छन् । मलाई कौतुहलता लाग्छ शौचालय उद्घाटनमा गएका अतिथिले पिसाव फेरेर उद्घाटन गर्लान् कि दिसा बसेर । परार असार पन्ध्रको रोपाइँ जात्रामा गएका अतिथिले त रोपारलाई नै अङ्गालो हालेर फरार भएको समाचार पनि घन्केको नै हो । घोरिएर विचार गर्दा जम्मो टोली लिएर विदेश भ्रमणमा निस्केको प्रधानमन्त्रीको टोलीमा ककसलाई अतिथि भनेर स्वागत गर्दा विदेशको सरकारले ।

राज्यको करोडौं लगानी अतिथि सरकारमा खर्च भएको देखिन्छ । यस्तो खर्च गरेर राज्यलाई नोक्सान पुर्‍याउने अतिथिहरूसँग राज्यले अतिथि कर लिनुपर्छ । चार घण्टाको अतिथि सत्कारले अरबौं रुपैयाँ खेर जाने गर्दछ । हामी अतिथि होइन थिति बसाल्न लागि परौँ । समयको बर्बाद पारेर जीवनलाई खिया लाग्नबाट बचाउँ । स्थानीय उत्पादनसँग अतिथिलाई जोड्दा देश समृद्धि हुन्थ्यो कि ?

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x