अशोककुमार शिवासंविधान दिवस
म यो देशको एक बुद्धिजिबीको हैसियतले कतै लेवि बुझाउँदै देश र जनताको लागि काम गरिआएको व्यक्ति भएको नाताले मैलेसम्म केही त बुझ्नुपर्ने हो तर मेरो बुद्धिको जिबि कति छ ?

अशोककुमार शिवा :
असोज ३ गते नेपालको संविधान जारी भएको दिन । यसैले यो दिन नै संविधान दिवस मनाइन्छ । नेपालमा अहिलेसम्म पटकपटक संविधान बने बनाइए तर संविधान किन जिवन्त रहन सकेन र पुनर्निमाण गर्नुपर्यो ? संविधान नामले नै सबैको सर्वस्वीकार्य, सर्वमान्य अनि मार्गनिर्देशक हुनुपर्ने हो तर समतामा आधारित विधान नबनेर त होला यसमा अनेकथरी विमतिका कुराहरू सुनिएको ।
संविधानलाई लामो र जटिल संघर्षको उपलव्धि पनि भन्ने गरिन्छ । हुन पनि हो नै विद्रोही पक्ष र राज्यपक्षले धेरै जनधनको क्षति, अन्ध अपांग र घरबार विहीन बनाएर एउटा सम्झौतामा पुगेपछि पनि लामो समय लगाएर बनाएको संविधान हो यो । संविधान बनाउँदा देश र जनताको समग्र विकासलाई हेरियो कि हेरिएन त्यो राजनैतिक दल र तिनको नेताहरूलाई थाहा होला तर मलाई चाहिँ त यसले दल र तिनका नेताहरूकै पो पक्षपोषण गरेको हो कि झै लाग्छ । किनभने अहिलेसम्म हेर्दा नेताहरूलाई नै घुमाइफिराई फाइदा पुगिरहेको देखिन्छ । राज्यसत्ता बाँडिचुँडी जयनेपाल र तरमारी झ्वाम सलामको नै हालिमुहाली छ सर्वसाधारण भन्छन् ।
संविधानले सुनिश्चितता गर्नु पर्ने समानता, स्वतन्त्रता, सर्वसाधारण जनतामा शिक्षाको सर्वसुलभता, स्वास्थ्यमा पहुच, गास, बास र कपासको व्यवस्था खै कता के छ ? बुझ्न गाह्रो छ । एउटा बच्चालाई साधारण अक्षर ज्ञानदेखि उच्च शिक्षा हासिल गराउँदासम्म बाबुआमा नाङ्गै भइसकेका हुन्छन् । ती नाङ्गिएका बाबुआमालाई सामान्य बिमारीमा उपचार गर्न गराउन स्वास्थ्योपचारको महङ्गीले अति कठिन भएको छ । जीवन सञ्चालनको लागि नभई नहुने औषधिमुलोमा दोब्बर तेब्बर भाउ बढेको छ । सामान्य मानिसले औषधि किनेर खान सक्ने अवस्था छैन । खै त यता अनुगमन गर्ने निकाय ?
नेताहरूलाई टाउको दुख्दा सिङ्गापुरको अस्पताल, सर्वसाधारण सधैँ झिँगाले पुरेर छटपटाई रहनुपर्ने अवस्थाको अन्त्य पहिला हुनुपर्ने हो नि हैन र ? फेरि पनि हाम्रो संविधान उत्कृष्ट छ कार्यान्वयन मात्रै फितलो हो भन्न हिच्किचाउनु पर्छ जस्तो लाग्दैन । संविधानले कसैलाई विभेद गर भनेको छैन तर पनि यहाँ प्रशस्तै विभेदका क्रन्दनहरू सुनिने गरिन्छ खै त त्यतातिर ध्यान ?
अब त देशमा जताततै बृद्धहरूमात्रै छौ युवाहरू जतिलाई विदेशी विकासको मूल फुटाउन पठाएका छौ । विदेशी विकासको मूल फुट्नु भनेको देशलाई रेमिट्यान्सको आयातले आर्थिक दर्बिलो बनाउनु हो । त्यसैले धान फल्ने खेतहरू बाँझो राखेरै भए पनि युवाहरूलाई बैदेशिक रोजगारीमा पठाउनु पर्छ । धान फलाउनु भन्दा विधान जगाउनु श्रेयस्कर होला । विकासको मुल फुटाउनु जुट्नुपर्ने हातहरू यदाकदा नवनिर्माण भएको फुटपाथको बार रातारात काट्न हुल जुटाउन उद्दत देखिन्छन् ।
म देशको लागि केही गर्छु भन्नेहरू न त पार्टी न त हुल एक्लै रातदिन खटिएका छन् । तिनले गरेको राम्रो कामलाई हामी वाह वाह गर्न सक्दैनौ । तिनलाई काममा अझै हौसला दिलाउने भन्दा पनि उसको हौसलालाई निरुत्साहित गर्ने काम गर्छाैँ । हुन त राजनैतिक धर्म नै सङ्कटमा पारेर त के समर्थन गर्नु र फेरि जीवनयापनको स्रोतमा नै खडेरी लाग्ला भन्ने पनि पिर छ ।
म यो देशको एक बुद्धिजिबीको हैसियतले कतै लेवि बुझाउँदै देश र जनताको लागि काम गरिआएको व्यक्ति भएको नाताले मैलेसम्म केही त बुझ्नुपर्ने हो तर मेरो बुद्धिको जिबि कति छ ? यो समयमा थोरै जिबिको मेमोरीले केही लछारपाटो लगाउँदैन । त्यसैले म बुद्धिजिबि होईन । यदि बुद्धिमा थप जिबि थप्न सकियो भने त्यसबेला मेरो बुद्धिले केही गर्ला अनि हेरौँला ।
अन्तमा, संविधान सर्वोपरी छ । यसको रक्षा गर्दै केही नपुगेका नमिलेका कुराहरू मिलाउनु पर्ने भए मिलाउँदै देश र जनताको सर्वस्वीकार्य विधान बनाउने तर्फ लाग्न राजनितिक दर र तिनका नेता र देश चलाउने संयन्त्रलाई आग्रह गर्दै संविधान दिवसको हार्दिक मंगलमय शुभकामना भन्न चाहान्छु ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































