सभ्य सभा
यत्रतत्र भुईंमा भद्रजनको बाहुमा कपाल लुछिएका शृङ्गारले गिज्याइरहेका नशाले लट्ठिएका अर्धनग्न परीहरू । आँखाहरूलाई विश्वास हुँदैन सत्य कुन हो- त्यो सभ्य सभा या यो पल ?
युवराज भण्डारी :
शान्त
सौम्य
र
भव्य देखिन्छ
यो सभ्य सभा ।
मधुर स्वर
सुमधुर शारीरिक भाषा
आहा ! कस्तो अनुपम
यो सभ्य सभा !
बोल्न निषेध गरिएको छैन
तर, कोही बोलेको जस्तो लाग्दैन
कोही सहमत हुन बाध्य छैन
तर, एक जना पनि
असहमत भएको देखिँदैन
समर्थनको करतलध्वनिसँगै
विसर्जन भयो-
आजको सभ्य सभा ।
अब भोजनको समय सुरु हुन्छ
मधुशालाको द्वार पनि खुल्छ
वाह !
कस्तो अलौकिक परिदृश्य
उस्तादहरू गाइरहेका
अप्सराहरू नाचिरहेका ।
सभाहल त्यही हो
भलादमीहरू उनै हुन्
खाली पल फरक लाग्छ
एकाएक
पर्दा बदलिएको झै देखिन थाल्छ
हेर्दाहेर्दै
बोल्न चाहनेले
मुस्किलले बोल्न पाउँछ
नाच्न चाहनेको
मुस्किलले पालो आउँछ ।
भद्रहरू माझ कोलाहल बढ्छ
भनाभन सुरु हुन्छ, तानातान चल्छ
परीको नाममा हानाहान हुन्छ ।
पर्खिरहेको होला- महलले उता
बेहोस लडिरहेका छन् भद्रजन यता
उहाँ सोफामा घुर्दै
उहाँ कार्पेटमा वमन गर्दै
उहाँले सुरुवालमै छुल्क्याउनुभएछ
उहाँलाई हेर्नुस्
मित्रको टाउकोमा बोतल फुटाउनुभएछ !
रगत
ऱ्याल
मूत्र
सर्वत्र दुर्गन्ध !
यत्रतत्र भुईंमा
भद्रजनको बाहुमा
कपाल लुछिएका
शृङ्गारले गिज्याइरहेका
नशाले लट्ठिएका
अर्धनग्न परीहरू ।
आँखाहरूलाई विश्वास हुँदैन
सत्य कुन हो-
त्यो सभ्य सभा या यो पल ?
०००
अर्को कर्णाली (२०८०)
Subscribe
Login
0 Comments
Oldest