साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिथिको अथिति

जे होस्, चम्चागिरी नगरी हातको चम्चाले खानाको प्लेटमा रतिक्रीडा गर्न नपाउने हाम्रो देशमा तिनै अतिथि हुन्छन् जसको तिथि निश्चित हुन्छ । आखिर देशगुनाको भेष र कपालगुनाको केश त हुनैपर्‍यो नि !

Nepal Telecom ad

रमेश समर्थन :

आफ्नो अत्यन्त कार्यव्यस्तताका बाबजुद पनि स्थानीयलाई महत्त्व दिएर नब्बे मिनेट मात्र ढिला कार्यक्रमस्थलमा प्रवेश गर्दै गरेका प्रमुख अतिथितिर सङ्केत गर्दै प्रायः उद्घोषकहरू यस्तो बोल्छन्, ‘आदरणीय जनसमुदायज्यूहरू (?) हाम्रा अति सम्मानित (सम्मानित भइसकेको हुँदैन) प्रमुख अथितिज्यूको गरिमामय आगमन भइसकेको छ र तपाईंहरूको प्रतीक्षाको समय समाप्त भएको छ । त्यसैले ढिलो भयो भन्दै कार्यक्रम छोडेर जान लाग्नुभएका महानुभावज्यूहरूलाई पमुख अथितिज्यूको सारगर्भित मन्तव्य सुनेर मात्र जानुहुन अनुरोध गर्न चाहन्छु । प्रमुख अथितिज्यूको कार्यव्यस्तताका कारण उहाँको सम्बोधन पहिले नै राखिएको हुँदा त्यतिन्जेलसम्म धैर्यता (?) गरिदिनुहुन पनि अनुरोध गर्न चाहन्छु र अब म ढिला नगरी कार्यक्रमको सुरुआत गर्न गइरहेको छु भन्न चाहन्छु ।’

ठिक यही नभए पनि यस्तै यस्तै व्यक्तिद्वारा सञ्चालन यस्तै यस्तै कार्यक्रमहरूमा श्रोतादर्शक बनेर तल बसी मुन्टो बटारी बटारी प्रमुख अतिथि आउने बाटो हेरेर घण्टौं कुरेको छु ।

यो कुर्ने कामजति झ्याउ काम अरू हुँदैन, चाहे त्यो कुराइ प्रेमी वा प्रेमिकाको होस् वा यस्तै अथितिका अतिथिको होस् । एउटा प्रेमी उद्यानमा प्रेमिकालाई कुर्दै रहेछ । धेरै बेरसम्म प्रेमिका नआएपछि समयकटनीस्वरूप उसले नाक कोट्याउन थालेछ । यता नाकबाट पदार्थ पनि औंलामा आउने र उता प्रेमिका पनि आउने भएछ र उसले औंलाको पदार्थ उछिट्याउन खोजेछ तर त्यो त एउटा औंलाबाट अर्को औंलामा टाँसिइ मात्र रहेछ । प्रेमिका नजिकै आइसकी । अब के गर्ने ? उसको पालो त्यसलाई नाकैभित्र लगेर टाँसिदिएछ । यस्तो हुन्छ कुर्नुको पीडा ।

तर कार्यक्रममा प्रमुख अतिथिले यति बजे आउँछु भनेर आफैले समय दिएका हुन्छन् र पनि व्यस्तताको बहाना गरेर समयभन्दा धेरै पछि मात्र पुग्छन् । ए भाइ, तिमी त्यति नै व्यस्त छौ भने समय नै नदेऊ न ! तिम्रो समय समय र अरूको समय के ? तिमी एकजनाका कारणले दुई सय जना उपस्थित भएका रहेछन् भने त तीन सय घण्टा नष्ट भयो नि ! यो किन नसोचेको ? यो त भयो भयो, तर योभन्दा बढी झोंक चल्ने कुरो त के हुन्छ भने त्यो प्रमुख अतिथि आयोजक संस्थाकै उच्चपदस्थ व्यक्ति हुने सम्भावना उनान्सय प्रतिशत रहन्छ । अनि त्यो सञ्चालक केवल अरौटे बनेर समयको अथिति गर्ने प्रमुख अतिथिकै मानमर्दन हुुने गरी उसको सम्मानमा अतिरञ्जित शब्दहरूको दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउने काम मात्र गरिरहेको हुन्छ जसलाई अतिथि र अथितिमा के अन्तर छ भन्ने पनि थाहा हुँदैन ।

अझ साहित्यिक कार्यक्रमहरूमा पनि यस्तै बेफ्वाँकका अथिति भएका व्यक्तिलाई प्रमुख अतिथि बनाएर पाँच मिनेटको समयलाई पनि पठन र लेखनमा सदुपयोग गर्ने स्रष्टा अध्येताका घण्टौं नष्ट गर्न साहित्यिक मित्रहरू नै तँछाड्मछाड् गर्छन् र पो उदेक लाग्छ । वास्तवमा यहाँ पनि उनीहरूको अन्तर्यमा लुकेको रहस्य उही दुनो सोझ्याउनु नै रहेको हुन्छ, चाहे त्यो व्यक्तिगत होस् या संस्थागत । दुनो त दुनै हो र उद्देश्य त सोझ्याउनु नै हो ।

म नेपाल प्रज्ञा प्रतिष्ठानले सहआयोजना गरेका मोफसलका केही कार्यक्रमहरूमा गएको छु । वास्तवमा प्रतिष्ठानभित्रै हुने कार्यक्रममा पुग्ने उँचाइ मेरो नभएको तथ्य सत्य हो जुन आज तपाईंसित मात्र भन्दै छु । अरू कसैसित नभन्नुहोला है ? हैसियत त मेरो मोफसलकै कार्यक्रममा जाने पनि छैन तर यो कुरो मोफसलकाले थाहा पाए भने बोलाउन छोड्छन् र बेलाबेलामा पाइने मानापमानबाट म वञ्चित हुन पुग्नेछु भनेर अर्जी लाएको हुँ, बाँकी ख्वामितको जो मर्जी !

अँ त, प्रतिष्ठानका कार्यक्रममा गएको छु । त्यसका प्रमुख अतिथि प्रतिष्ठानकै कुनै पदाधिकारी हुन्छन्, कुलपति, उपकुलपति, उपोपकुलपति, निमित्त कुलपति, अतिरिक्त कुलपति, सहकुलपति, सहायक कुलपति, सदस्यसचिव, वर्तमान प्राज्ञ, प्रज्ञासभा सदस्य वा कुनै कर्मचारी । त्यस्ता सदस्य जो अमुक नेताको चुनावी गीत लेखिदिएवापत सदस्य बनेका हुन्छन् र त्यस्ता कर्मचारी जसलाई प्रज्ञा भनेको कुन चरीको नाम हो भन्ने पनि थाहा हुँदैन । अर्काले त्यहाँ ठाउँ पाउला भन्नु बोकाको मुखमा कुभिन्डो अटाउनुजत्तिकै हो । सञ्चालक भने स्थानीय आयोजकबाटै हुने गर्छन् तर त्यस्तो व्यक्ति चापलुस हुनुपर्छ वा त्यसका निम्ति प्रशिक्षित गरिएको हुन्छ ।

अब आरम्भ हुन्छ आतिथ्यग्रहण समारोह जुन मुख्य कार्यक्रमभन्दा भव्य त हुन्छ नै, लामो पनि हुन सक्छ । सज्जायुक्त मञ्चमा नरम सोफामा गजक्क परेर बसेको र बारम्बार मोबाइल कानमा लगेर (त्यसै पनि) व्यस्त देखिइरहेको व्यक्ति नै प्रमुख अतिथि हो भन्ने पछिबाट खाजाका प्लेट चाट्न उपस्थित भएका कुकुरहरूलाई पनि थाहा हुन्छ । यता सञ्चालक फलाक्छन्, ‘अब म परम आदरणीय, परम श्रद्धेय, अमुक अमुक प्रमाणपत्रधारी, अमुक अमुक उपाधिप्राप्त, अमुक अमुक सम्मानग्रहणकर्ता, अनुशासनप्रिय, कुशल तथा दक्ष (यस्तै यस्तै दशबिसवटा विशेषण जोडेर जबकि कुनैका लागि त अमुक अमुक मुकुन्डोधारी, यति यति भ्रष्टाचारी र स्वेच्छाचारी भन्नुपर्ने पनि हुन्छन् ।) श्री….ज्यूलाई आजको कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरी विराजमान भइदिनुहुन सादर सादर, सविनय सविनय अनुरोध गर्न चाहन्छु ।’

वास्तवमा प्रमुख अतिथि पहिले नै गएर पूजामा प्रथमपूज्य गणेशझैं सोफामा लमतन्न परिसकेका हुन्छन् । फेरि पनि अनुरोध गर्न चाहेको सुन्न र सुनाउन चाहन्छन् ।
कहिलेकाहीँ त के लाग्छ भने कुनै शब्द हामीले जानेर वा नजानेर कुनै ठाउँमा सार्थक प्रयोग गरिरहेका हुन्छौं । उदाहरणका लागि यसैलाई लिनुस् न ! ‘विराजमान भइदिनुहुन अनुरोध गर्न चाहन्छु ।’ भनेका हुन्छन् उनले । वास्तवमा अनुरोध त गरेकै हुँदैनन् । तर हामी भने गर्न चाहेकोलाई नै गरेको ठानेर र मानेर आतिथ्यता(?) ग्रहण गर्दछौं भने अनुरोध गर्न चाहनेको के दोष ? त्यसो त उनले पनि जानीजानी त्यसो भनेका हुँदैनन् । उनी त बिचरा बबुरा हुन् जसलाई अनुरोध गर्नु र गर्न चाहनु, अथिति र अतिथि, अनि आतिथ्य र आतिथ्यतामा पाइने पार्थक्य पनि थाहा हुँदैन । नत्र भने आफै कार्यक्रम बनाउने, आफै बजेट मिलाउने, आफै अगलबगलमा दलबललाई सभत्ता हिँडाउने र आफैलाई प्रमुख अतिथि बनाउने सर्तमा मात्र बजेट दिने व्यक्तिलाई किन प्रमुख अतिथि बनाउँदा हुन् ? तर त्यो पनि सञ्चालकले बनाएका हुँदैनन्, उनीद्वारा प्रमुख अतिथिले नै भनाएका हुन्छन् ।

अनि सुरु हुन्छ अतिथिको नाम लिँदै मञ्चमा आई आसन ग्रहण गर्न अनुरोध गर्न चाहँदै खादा र माला लगाइदिने मूल समारोह जसमा अतिथिसित आउनेहरू नै अग्रगण्य हुन्छन्, त्यसपछि स्थानीय आयोजक संस्थाका पदाधिकारीहरू विशिष्ट, अति विशिष्ट, सम्मानित आदि अतिथिहरू पर्छन् । तीमध्ये कतिपयलाई कार्यक्रम कस्तो हो र त्यसको औचित्य र महत्त्व के छ भन्ने कुराको सुइँकोसम्म पनि हुँदैन र सुइँको भए पति त्यस विषयसँग उसको गोरु बेचेको साइनो पनि हुन्न ।

यहाँ पनि राम्रै रमिता हुन्छ । सबैभन्दा पहिले सुरुमा (सुरु भनेकै सबैभन्दा पहिले हो ।) आमन्त्रितहरूले महङ्गो खादा र माला लाउँछन् । मध्य क्रममा पर्नेहरूको पालामा माला सकिएको हुन्छ र राम्रो खाले खादामात्र पाउँछन् । उपान्तमा पर्नेहरूको पालामा त्यही खादा पनि सकिएको हुन्छ र उही किरियापुत्रीले भिर्ने … जस्तो न नाम्लोमा न दाम्लोमा काम लाग्ने सेतो चिप्लो खादामा मुख मिठ्याउँछन् । अनि अन्तमा पालो आउँछ तिनको जसलाई आयोजक संस्थाले निम्ता गरी बोलाएको हुन्छ (माथिका धेरैजसो त निम्ता नदिए रिसाउने धम्की दिएर आफ्नो नाम लेखाउनेहरू हुन्छन् ।) । त्यो हुन्छ बबुरो लेखक जसको पालो आउँछ अतिथिका श्रीमतीहरू, प्रमुख अतिथिका ड्राइभर र स्थानीय पालिकाको वडाको पार्टीसदस्यपछि । उसको पालामा मञ्चमा अटेसमटेस भइसकेको हुन्छ र माला त माला … जस्तो वस्तु पनि सिद्धिसकेको हुन्छ । अनि कहिले मेरो नाम पुकार्लान् भनेर यताउता हेर्दै पालो कुरिरहेको लेखकको नाम उच्चारण गर्दा पनि सञ्चालकको जोस जमिसकेको हुन्छ भने यता लेखकको पनि होस हराइसकेको हुन्छ । लेखकले नीलो अनुहार पारेर र ङिच्च दाँत देखाएर पछिल्लो लहरबाट नमस्कार गर्छ । उसको लेखकीय अभिमानको शीशमहल चकनाचुर हुन्छ । उसलाई उठूँ कि बसूँ भन्ने दोधार हुन्छ र सोच्छ, ‘उठेर जाने त कहाँ जाने ? खानेबस्ने र आतेजाते बसभाडा दिने भनेर निम्ता पाएको हुन्छ र अर्काको खर्चमा दुई दिन भए पनि भ्रमण गर्न पाउने आशा बोकेको हुन्छ । उठेर जानुको अर्थ हो कार्यक्रमको बहिस्कार र त्यस्तो बहिस्कारीलाई कल्ले गाँस, बास र बाटाखर्च दिन्छ र ? अनि यति भाडा र समय खर्च गरेर आएको किन त ? बस् बाबु, बस् । अपमानै भए पनि अरूको पैसामा मुख मिठ्याएर जालास् । यहाँ के भयो भन्ने वहाँकालाई के थाहा हुन्छ र ? भव्य सम्मान भयो भने भैगो नि !’ अनि ऊ पनि दुनो सोझ्याउने ध्याउन्नामा लाग्छ ।

अतिथिको अथिति अन्यत्र कस्तो छ कुन्नि तर नेपालमा भने यसको राष्ट्रियकरण भएको छ । कार्यक्रम सहकारी होस् वा सरकारी अवस्था यही हो । राजनीतिक होस् वा साहित्यिक सबैतिरको हालको बेहाल यही हो । अ+तिथि = अतिथि । जसको आउने, टुप्लुकिने, अन्भरिने वा मुन्टिने (पात्र र अवस्थानुसार) मास, तिथि, गते, वार केही निश्चित छैन र कुन बेला कताबाट टुप्लुकिन्छ भनेर लख काट्न सकिँदैन त्यो हो अतिथि । वास्तवमा आमन्त्रित वा निमन्त्रित कसैलाई पनि अतिथि भन्न मिल्दैन भने आयोजक कसरी अतिथि हुन्छ र त्यो पनि प्रमुख नै ? जे होस्, चम्चागिरी नगरी हातको चम्चाले खानाको प्लेटमा रतिक्रीडा गर्न नपाउने हाम्रो देशमा तिनै अतिथि हुन्छन् जसको तिथि निश्चित हुन्छ । आखिर देशगुनाको भेष र कपालगुनाको केश त हुनैपर्‍यो नि !

अ+थिति (स्थिति)= अथिति । जसको कुनै स्थिति, व्यवस्था, अनुशासन छैन त्यो अथिति हो । ‘थिति’मा ‘अ’का ठाउँमा ‘बे’ जोडेपछि बेथिति हुन्छ । दुवै समानार्थी हुन् । जसको थिति छैन तिनै अथितिहरू अतिथि बनेर उपस्थित हुने र आफैले बनाएको वा बनाउन लगाएको कार्यक्रममा आफैले निर्धारण गरेको समयभन्दा ढिलो पुगेर समयको स्थितिमाथि बेथिति ल्याउन प्रमुख भूमिका निभाउने प्रमुख अतिथि त प्रमुख अथिति नै हो ।

माथि भनिएझैं उसले पनि भूमिका निभाउँछ, निर्वाह गर्दैन । निभाउनु अँध्यारो पार्नु हो । राति बत्ती निभाएर अँध्यारो पारिन्छ । सेंधमाराहरूको पहिलो काम भनेकै बत्ती निभाएर अँध्यारो पार्नु हो । यता प्रमुख अथितिले पनि पदीय भूमिका निभाएर समयपालनमा बेथितिको अँध्यारो ल्याउँछ ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x