बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जय दशैँं, निर्भय दशैँं
यहाँका सबै शासक महाशासक, शीर्षस्थ, वरिष्ठ र कनिष्ठ प्रशासक, छद्म निर्माण व्यवसायी, मौका छोपुवा अशुद्धजीवी बुद्धिजीवी, सत्ताको छत्रछायामा बसेका डन, उपडन काला व्यापारी कसरी दशैँलाई बदनाम गराउँदै छन् पोल खुल्दैछ, खोल उघ्रिँदैछ ।

बद्रीप्रसाद दाहाल :
हरेक साल झँै बडादशैँको महान् पर्व थालनी हुँदैछ । टाढा-टाढा बसेका आ-आफ्ना नानीबाबु, मान्यजनका हातबाट टीकाटाला थाप्न हर्षविभोर हुँदै घरआँगन टेक्दैछन् । आशीर्वादका भारी हालेर लबस्तरा र नकच्चरा थुप्रै म्यादी सरकारलाई धारे हातले बाईबाई गरी ताता मरूभूमि, चिसा परभूमिलाई कर्मभूमि बनाउन बाध्य छन् लाखौँ नेपाली नव युवा । यता सत्ताधीस्थहरू सधैं विदेशी रक्सीमा नुहाएर परिकार-परिकारका सितिपत्र हसुर्न दल, संसद र सरकारलाई नाट्यशाला बनाई दशैँलाई देखावटी, बोझिलो, खर्चिलो, ढासा एवं ढर्राको रमितामा महँगीको छाडा बजार दिन तयारीसाथ जुटेका छन् । पर्वहरूको हुर्मत लिँदै आला नव सामन्तहरूले पुराना रजौटालाई जितेको गर्वमा भैमा न भाँडा बन्ने क्रमको डिग्री चढ्दो छ ।
दशैँलाई भयकारी दशा र महादशाको रूपमा धारे हात लगाई हल्ला मच्चाउनेहरूले भन्ने गरेको कहावत हो “आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई । आफ्ना सम्पूणर् महत्त्वाकाङ्काक्षा, अदूरदर्शिता, अपरिपक्कता एवं ढासा ढर्रालाई मनग्गे नाच्ने स्थान दिएर दशैँजस्तो सन्देशपर्व महादशाको भुमरी र कुनशाको फोहरी आहाल बनाउने हाम्रो व्यवहार प्रतिगामी र पश्चगामी सोचबाट ग्रस्त छैन ? दशैँ कयौं गरीबलाई साक्षात् बसै वा मुग्लान भास्न बाध्य पार्ने सङ्कट पर्व हो भनेर यसमाथि धावा बोलिने गलत परम्परा हाबी पार्ने षड्यन्त्र पनि भैरहेको छ कोणकोणबाट महापर्वको । गौरवपूणर् राष्ट्रिय पर्वको बिदा काटेर हाम्रो समाजका नयाँ अभिजनहरूले प्रचलित पर्वहरूलाई बुझ्दो न सुझ्दो हुँडिखेल कुद्दो’ भनेझै स्वस्थ संस्कृति र प्रेरक पर्वमाथि प्रहार गरेको गर्यै पो छन् त । शास्त्रोक्त वचनलाई आफ्नै डेढ अक्कली कथनमार्फत मथन गरेर । महाऋणको अर्को शुम्भ निशुम्भको रूपमा दशैँलाई उभ्याउन खोज्ने कसरत सभ्यता तथा हाम्रा भव्यतामा दिइन खोजेको स्लो प्वाइजनको अफबाह हो । यसरी महा-पर्वहरूलाई गर्वको टाकुराबाट खसालेर सर्प बनाउने कुसोच गर्नु आफ्नो मौलिकतामाथि एसिड वर्षा गराउनु पो हुन्छ कि ? घर्मो रक्षति रक्षितः भन्ने ध्रुवपदलाई नबुझेर अलपत्र पार्नु पो बन्छ कि ?
नाच्न जान्दैन आँगन टेढो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर पो हो कि पर्व र संस्कारप्रतिको नकारात्मक सोच ? सात्विक भावको प्रवाह गर्ने दशैँलाई हिंसाको अफबाह बनाएर आफ्ना तामसी लिप्सा पूरा गर्न कस्सिएका इन्द्रियशासित बुर्जुवा मनुवाहरूले शारदी नवरात्रिलाई कामदी र रक्तरञ्जित अन्ध रातमा रूपान्तर गरेको गर्यै छन् गाँठे । अन्धविश्वास, कुरीति, कुप्रथाका व्यथा मन र मस्तिष्कभरि टम्म जमाएर ’नारिकेल बलि’ भनेको ठाउँमा जुन पायो त्यही पशुपक्षी प्राणी मौलोमा ठ्याक्क बनाएर चौटा लुछ्ने र हसुर्ने सिटामलेका काल देख्दा बुद्धसमेत क्रुद्ध हुने स्थिति देखिएको छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य र इन्द्रियजन्य अहङ्कारका शुम्भ, निशुम्भ, रक्तवीज, धूम्रलोचन तथा महिसासुरप्रभृतिका राक्षसीवृत्ति र रावण एवं कुम्भकणर् भाव बलि दिने ठाउँमा अनाथ जन्तु एवं प्राणीहरूको संहार गरेर आ-आफ्ना तामसी वुभुक्षा पूर्ति गर्न फूर्ती निकाल्ने कसाहीपनले पो मज्जासित खुट्टा घुमाइरहेको छ ।
यसरी चाडलाई तामसी वुभुक्षाको कार्ड बनाउने गाड बानीले विवेक टाट उल्टिदै छ । धर्मनिरपेक्षको जामा पहिर्याएर धर्मकै नाममा अनाथ प्राणीका माथ छिनालेर उल्टो पुरूषार्थ पछार्नेप्रति के भनेर संबोधन गर्ने ? हाम्रो शास्त्र यसरी गर्जिएर बोल्छ ’छाग यो हन्ति तं हन्ति, छागो भूत्वा च खड्गवत् । सुरथं परलोके हि पशुजघ्नोऽरिरित्युतः ॥ अर्थात् जसले बोकालगायतका प्राणीलाई यो लोकमा काटमार गर्छ त्यसलाई तिनै जन्तुहरूले परलोक वा दोश्रो जन्ममा खड्ग धारण गरेर मार्छ, जसरी बलि दिएको पशुले देवीभक्त सुरथ राजालाई परलोकमा मारिदिएको थियो । यसै गरी धर्मका नाममा अर्का थरी जनावरको आत्मा हुँदैन भनेर निर्दोष जीवजन्तुको हलाल गर्ने वा छाला काढेर मार्ने जस्तो जघन्य अपराध गर्दा पनि पुण्य सञ्चय हुन्छ भनेर डरलाग्दो पापमा सरिक भैरहेका छन् ।
यसरी धर्मका नाममा मध्ययुगीन बर्बरता कायम राखेर ’बाँच र बाँच्न देऊ, अहिंसा परमो धर्मः, द्यौः शान्ति आपः शान्ति’ का सनातन राजमार्गमा मल-मूत्र उत्सर्जन गर्ने गल्लीपन्थी सोच आज पनि कोचाकोच भएको देख्दा अपशोच लाग्छ । हजारौँ किलोका राँगा, खसीबोका र नगण्य ओजनका लाखौ पक्षी भोजन गर्ने सर्वभक्षीका संख्या दिन दुगुना रात चौगुना बढेकैले नेपालजस्तो गरीब देशमा वर्षेनि खरबौ रूपयाँ विदेश पुगेको तथ्य तथ्याङ्कले बोलिरहेका छन् । हर साल बडादशैँमा मात्र दुई लाखभन्दा बढी चौपाया र असंख्य पक्षीहरू बलिवेदीका सिकार हुन्छन् । यही सिकारलाई मिसावटी तेल र मसलामा छड्काएर विकार पारेकैले झाडाबान्ता र गानुगोलाले खोला भरिए । कमलपित्त, अमलपित्त, क्यान्सर र मुटुरोगीको संख्या थप्ने काममा मासुले मरणान्त गरिसक्दा पनि हामी सीमान्त नबनी हानमार र काटमारमा शानदार प्रगति गरिरहेका छौं ।
आज-भोलि त सांस्कृतिक क्रान्तिका धरोहर संझने धरहराहरू पनि सत्ता र भत्तामा मैमत्ता भएर होला, सनातन राजमार्गमा फोहोरका डङ्गुर थुपारेर हिंडिरहेका छन् । वैज्ञानिक समाजवादमा हुरीबतास चलाएर लेते लगाउने यतिखेरका पश्चगामी सामन्ती धारामा तारा देख्न थालेका छन् । हिजोका प्रगतिशील जनवादका अभियन्ताहरू भकुर्ने बहानामा सांस्कृतिक क्रान्तिलाई घरको न घाटको बनाएर तहल्कै मच्चाए बा । छोक्रा, बोक्रा र कोक्रा साबित भएका खानाकाल धोक्राहरूले धर्म एक अफिम हो भन्ने सूत्र नै मलमूत्र बनाउन पुगे । अन्धविश्वास भनेर कड्किने वाम बुद्धिजीवीको लाम त छोटो पो छ त आजभोलि ? आज राज्यशक्तिको उन्माद र राष्ट्रिय ढुकुटीको ब्रह्मलूटमा काला बोका बलि दिने हिजोका ताता प्रजातान्त्रिक र राता क्रान्तिकारी मान्छे औंपति बनेर अर्वाचीन युगलाई समीचीन ठम्याउने राजसी रोग सङ्क्रामक भएर फैलिएको छ ।
पद्धतिमा समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्रको खोल हालेर पालिका, प्रदेश र केन्द्र तहका कार्यकारिणीसम्म भागबन्डाको डण्डा चलाउनेहरू सधै तामसी दशैँमा झुम बराबर झुम शराबी भइरहेका छन् । यी आँठ्या कालहरूको नगरा, मादल र ढोलकले सुर तालको सङ्गीतै दिन छोडिसक्यो । दशैँंजस्तो श्लील पर्वलाई अश्लील बनाउने, ‘रूपं देहि जयं देहि, यशो देहि द्विषो जहि जस्ता वन्दना र प्रार्थनामा भाटतन्त्र देख्ने टाट दिमाग अनि ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः लाई आचरणमा उतार्न कन्जुस्याइँ गर्ने मानवतावादघाती पातीको फूल शिरमा सिउरिएर मन्दिरतिर रक्षादल लिई हिँडिरहेका छन् । व्यास बूढाले जमानामै श्रीमद्भागवत्मा कड्केर बोले-यावत् भ्रियेत जठर तावत् स्वत्वं हि देहिनाम् । अधिकं योभिमन्येत सः स्तेनो दण्डमर्हति अर्थात् जतिले पेट भरिन्छ त्यति नै व्यक्तिले पाउँछ, बढी सम्पत्तिको इच्छा गर्ने कमाउमार्गीहरू वास्तवमा चोर वा तस्कर हुन् । यो सूत्रमा मार्क्स, लेलिन, बीपी र माओका महाहजुरबाहरू लुकेका छैनन् ?
यसैले दशैँ मनाउने प्रगतिशील पङ्क्तिलाई हाम्रै शास्त्रीय आसयमा मान्न आह्वान गराँै । जहाँ सबैलाई समानतापूर्वक ‘आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने । शौर्यं शान्तनवे बलंहलधरे सत्यञ्च कुन्तीसुते । विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे । यहाँ शीर्ष र वरिष्ठहरूलाई बेग्लै आशीर्वादको व्यवस्था छैन । यतिखेरको लोकतान्त्रिक गणतन्त्रले जसरी सुकिला मुकिला र संभ्रान्तहरूलाई ओखती उपचारदेखि तलब भत्तासम्ममा जुन विशेष व्यवस्था गरेको छ हाम्रो शास्त्रीयविधानले त्यो जङ्गली पक्षपातलाई पछार्ने आह्वान गरेको छ ।
आज त सबैले भन्दैछन् ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ पोल खुलाई’ यहाँका सबै शासक महाशासक, शीर्षस्थ, वरिष्ठ र कनिष्ठ प्रशासक, छद्म निर्माण व्यवसायी, मौका छोपुवा अशुद्धजीवी बुद्धिजीवी, सत्ताको छत्रछायामा बसेका डन, उपडन काला व्यापारी कसरी दशैँलाई बदनाम गराउँदै छन् पोल खुल्दैछ, खोल उघ्रिँदैछ । त्यसैले त ‘आयो दशैँ ढोल बजाई’, जाँदैछ दशैँ पोल खुलाई दशैँ दुर्दशा नभएर सुदशा हो । जहाँ राष्ट्रमा वितण्डा मच्चाउने महिषासुरहरूको खेदो खनिएको छ । सामान्य जनताको गाँस काट्ने चण्ड, मुण्ड, शुम्भ निशुम्भ, महिषासुर र रक्तवीजहरूलाई दुर्गाले महाकालीको रूप धारण गरेर संसारलाई कल्याण तथा रक्षा गर्ने जिम्मा लिएकी छिन् । दम्भको उन्मादमा छुटाएका दानवत्वले मुक्तिको इति पाएका छन् । त्यसैले त छाती ठोकेर भन्न सकिन्छ- जय दशैँ । निर्भय दशैँ ।
०००
‘माला चिन्तन’ निबन्धसङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest







































