साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भो र त्यसमा ? भ्यागुतालाई चस्मा !

कसैले बट्टा कसैले थैला त्यसको सट्टा साथमा राख्छन् त कसैकसैले छाती वा गोजीमा चस्मालाई बिसाएका हुन्छन्। चोकचोकमा देखिने चस्मा पसल राम्रै चलेकै छन्।

Nepal Telecom ad

अमर अधिकारी :

हाम्रा बाजे गजाधरले दलिनमाथि गोलोगोलो सिसा भएको चस्मा राख्नुहुन्थ्यो । उहाँले चस्मा धर्मशास्त्र वा पूजापाठ गर्दा पुस्तक पढ्नेबेलामा लगाउनुहुन्थ्यो। हामीले त्यो चस्मा दलिनबाट झिकेर बेलाबेलामा खेलाउने र घामबाट ताप उत्पन्न गराई हातमा च्वास्स च्वास्स पोल्ने र पोलाउने गर्दथ्यौँ । हामी भुराभुरी हुँदा गाउँमा अरु कसैले पनि चस्मा लगाउने गरेको थाहा थिएन। बाजेको चस्मा गान्धीले लगाउनेखालको थियो। त्यही भएर गान्धीको हरेक फोटोमा देखिने गोलोगोलो आकारका सिसा जडित चस्मा देखेपछि मलाई बाजेको त्यो चस्माको झल्को आइहाल्छ।

यी त भए मैले पहिलोपटक देखेको चस्माको प्रसङ्ग। २०४० सालमा काठमाडौँ छिरेपछि थरिथरिका मान्छेले थरिथरिका चस्मा लगाएको देखेँ । कसैले सितल चस्मा कसैले पितलको फ्रेम भएको पितल चस्मा । कसैले घाम चस्मा तसैले काम गर्नेबेला लगाउने काम चस्मा देखेँ। तालुमा लगाउने चस्मा, निधारमा लगाउने चस्मा, क्यापको माथि लगाउने चस्मा। नाकको टुप्पोमा अड्याएर माथिबाट विषालु आँखाले हेर्ने चस्मा। कसेले छातीमा झुण्डाउने चस्मा, कसैले गोजीमा च्याँप्ने चस्मा। कसैले त कम्मरमा पनि च्यापेर चस्मा राख्नेगरेको पनि देखेँ। कस्ता कस्ता थरिथरिका चस्मा। एकजना अधिराजकुमारले लगाउने चस्माले त लुगा नदेखिने र जिउ पुरै नाङ्गो देखिने चस्मा लगाउँछन् रे भन्ने पनि सुनिन्थ्यो कुनैताका।

बच्चाले लगाउने बच्चाचस्मा र छिटै बिग्रिने कच्चाचस्मा शहर बजारमा जहाँतही पाइन्छन्। शहरमा बसेपछि रहर पनि के के हुन् के के? हजारको आँखामा बजारको चस्मा। कालो चस्मा लाउ है मैयाँ विशालबजारको भन्ने गीत नै घन्कियो, पछि त्यो गीत बज्ने रेडियो नै बिग्रेर थन्कियो । सुटिङ गर्नेले लगाउने चस्मा, हुटिङ गर्नेले लगाउने चस्मा र निर्घात कुटिङ गर्नेले लगाउने चस्मा पनि फरक फरक पाइन्छन्। बालबालिका बामे सर्न पाको छैन चस्मा भिरिहाल्ने पैसा नभाबेलामा बाउको मुटु नै चिरिहाल्ने अवस्था पनि कस्ता कस्ता। हाम्रा जिजुबाजेले चस्मा नै देख्नुभएनहोला पुस्तकहरु बुढेसकालसम्म खरर पढ्नुहुन्थ्यो रे। अहिलेका बालबच्चाका आँखै कच्चा, सानैदेखि पावरवाला चस्मा। कुरकुरे अनि खाउँखाउँ लाग्ने चाउचाउले पो हो कि आँखा बिग्रने ?

कुनैबखत हिन्दी सिनेमामा खलनायकले चस्माको एउटा सिसाको सट्टा कालो कपडाको जन्तरजस्तो के झुण्ड्याएको देखिन्थ्यो। धन्दा नमान्नुस, झर्किने मान्छेले लगाउने चर्किने चस्मा पनि पाइन्छ बजारमा, सस्ता सस्तो अनि कस्तो कस्तो। सेतो, निलो, हरियो, कालो चस्मैचस्मा पाइने अनि पसलेले मूल्य फरक फरक खाइने। चस्मा लगाएर विद्वान कहलाउनका लागि आँखा अस्पताल धाउनेहरु पनि छन् यहाँ। थोरै पावरको भए पनि चस्मा नाँकको डाँडीमा अड्याउन र गोजीमा थरिथरिका कलम ठड्याउन जान्नेहरुको के नै कमी छ र यहाँ।

पहिले पहिले शुद्ध दूध पाइन्थ्यो, सागसब्जी सक्कली पाइन्थे। अहिले हेर हेर शहर बजारमा विषादी भएका तरकारी र फलफूल! त्यै किन्नका लागि हुलका हुल। सरकारी जागिरेको तरकारी किन्ने हुती हुन्न कहाँबाट लगाउनु कालो चस्मा ? उद्योगी र ब्यापरीहरुले मात्र हो महंगो र कालो चस्मा लगाउने, नाफा गर्नका लागि निद्रा भगाउने। शिक्षकको भित्र पसेको गालामा काला चस्मा लगाएर के नै तूक हुन्छ र ? ब्रह्मचारी जस्ता देखिने कर्मचारीको दुईछाक टर्न धौधौ छ। हुन त घुसखोर कर्मचारीहरुले गर्दा इमानदार कर्मचारीको समेत दाग लाग्नेगर्छ हाम्रो मुलुकमा।

हामी स्कुलमा पढ्दा एकजना सहपाठीले भन्नेगर्नुहुन्थ्यो “के भो र त्यसमा भ्यागुतालाई चस्मा।“ अहिले गर्दागर्दा पास्नी गर्दावित्तिकैका बच्चालाई पनि चस्मा, विद्यालय जाने किशोर किशोरीहरुमा पनि चस्मा लगाउने प्रतिस्पर्धा। कसैकसैलाई प्रेम विग्रँदाभन्दा चस्माको फ्रेम बिग्रँदा ज्यादै चिन्ता हुन्छ। किन कि प्रेम बिग्रँदा खर्च लाग्दैन तर चस्माको फ्रेम बिग्रेमा चुना लागिहाल्छ। नगद नभए गोजीमा धाउछन् ऋणको खोजीमा। चस्मा लगाएका मैयाहरू हेरेर भैयाहरू पनि तिनछक पर्छन्, विकास त यही देशमा रहेछ भनेर। पाटन संयुक्त क्याम्पसमा तोकिएको परीक्षा केन्द्रमा सञ्चालित एमएको परीक्षामा मेरो नजिकमा बसेका परीक्षार्थीले एउटा खुट्टा नै नभएको अपाङ्ग चस्मा लगाएर लेखिरहेका थिए, उनको चस्मा देखेर मलाई हाँसूँ कि लेखूँ जस्तो भैरहेको थियो।

खुट्टामा रंगिन बुट्टा भएका झुठ्ठा चस्माहरु झनै महंगो। पैसा बढी भएकाहरु र विदेश गएकाहरु यस्तै चस्मा रोज्ने र धेरै ठाउँ खोज्ने गर्छन् हाम्रो देशमा। अब त खरानी घस्नेदेखि रातमा घरभित्र पस्ने चोरहरूलाई पनि चस्मा चाहिने भएको छ। चोरलाई कुन ठाउँमा सुन छ र कुन ठाउँमा नून छ ठम्याउन गाह्रो पर्ने हुँदा उसलाई चस्माको आवश्यक पर्छ। घरवालालाई धन चोरिएकोभन्दा आफ्नो चस्माको सिसा कोरिएको चिन्ता हुन्छ। किन कि चस्माको महिमा अपरम्पार छ। मुन्द्रा लगाउने मुन्द्रेदेखि गुन्द्रीमा बस्ने गुन्द्रेसम्मलाई पनि चस्माको खाँचो छ। चस्मा लगाएका विद्यार्थी पढैया जस्ता देखिने हुँदा उनीहरूसँग आवारा टाइपका विद्यार्थीहरूले हतपत्त आँखा सन्काउन र पिरिम दन्काउन आँट गर्दैनन्।

भए रुमालले नभए साडीको छेउले वा कुर्ताको फेरले पनि चस्माको सिसा पुछ्ने बानी हुन्छ कसेकसैको। आवश्यक नभए पनि चस्मा पुछिरहने हल्का मानसिक अवस्था केही बिग्रे झैँ लाग्ने उनीहरू आफूले आफूलाई मै हुँ भन्ठान्छन्। कसैकसैले मुखबाट निकालेको वाफले चस्माको सिसा सफा गर्छन्। कसैले बट्टा कसैले थैला त्यसको सट्टा साथमा राख्छन् त कसैकसैले छाती वा गोजीमा चस्मालाई बिसाएका हुन्छन्। चोकचोकमा देखिने चस्मा पसल राम्रै चलेकै छन्। बोर्डमा लेखिहाल्छन् “यहाँ कम्प्युटरबाट आँखा जाँच गरिन्छ, डाक्टरको पुर्जा अनुसारको चस्मा बनाइन्छ” भनेर। तर त्यहाँ कम्प्युटर देखिँदैन, त्यस्तै पहिले पहिलेको जस्ता पुर्जा पनि कसैले बोक्दैनन्।

जसलाई पनि चस्मा नभै नहुने नहुने भएपछि अन्तिममा फेरि पनि भन्न मन लाग्यो “के भो र त्यसमा भ्यागुतालाई चस्मा !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x