साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडादशैँ

यो दशैँ पनि एउटा गतिलै नसा रहेछ । यो नसाले साँँच्चै लठ्ठ पारेपछि के के गर्छ गर्छ । गर्ने नि गर्छ नगर्ने नि गर्छ । त्यसैले खासा दशैँ हो कि नसा दशैँ बुझ्नु पर्ने रहेछ ।

Nepal Telecom ad

हेम अधिकारी :

दशैँ कति मानियो मानियो । अझै कति मानिने हो । गन्न र भन्न सकिँदैन । अहिले पो आँखा खुल्दा थाहा हँुदैछ न जान्न मानियो न मान्न जानियो । खै खुसी पन मनै कुत्कुत्याएर आउँछ दशैँ सम्झँदा । यो दशैँ बिछट्टै भुत्भुत्याएर जान्छ र बर्षदिन पर्खिन लाउँछ ।

कसैलाई दशैँ नै दशैँ, कसैलाई झन्नै बसैँ,कसैलाई  दशैँ न ससैँ । बसाइँ उपन्यासले त्यो शब्द छ्याप्छ्याप्ती बनायो नत्र हाम्रा बाजे बजैले ता बसैँ नै भन्थे । अझै पनि मेरा परेरीका तरेलीले ता त्यसै भन्छन् । ए म ता कहाँ न कहाँ चौखुरी बाहाँ भन्नै भाषामा जान्नु न तान्नु भट्भटेयाउन थालेँछु । अहिले ता नेपाली भाषाका कुरा गयो कुराकै दुख। जे जानेको छ त्यही लेख्यो बरु सुख ।

कुरा थियो दशैँ को म ता आग्रा छाडेर गाग्रातिर पो झन्नै लागेँछु यो मध्ये दशैँमा। अँ यो हाम्रो महान पर्व हो । मान्यजनबाट आशीर्वाद लिने । देशपर्देश भएका छोराछोरी, बाआमा, चेलीमाइती, अरआफन्त, ईष्टमित्र, साथीसंगाती, खलिकपुर भेला भएर रमाइलो गर्ने हाम्रा पुर्खाको वरदान हो यो पर्व । फेरि एकवर्ष यसैको पर्खाइमा बित्छ । हाम्रो जीवनपद्धतिको उज्यालो क्षण हो दशैँ । हाम्रा हृदय हृदयका गहिराइमा बसेर भिजाएको छ,पगालेको छ दशैँले।

तर हिँजोआज म दशैँलाई मजैले चिनौँ भनेर तामसुर कस्छु तर नसकेर थचक्क बस्छु । म फुच्चिएर हो कि दशैँ कुच्चिएर हो कति खातिर गर्दा पनि चिनिनसक्नु भएको छ मेरा लेखा । दशैँ पनि कति खालको भएछ भएछ अहिले ता । हेर्नु न रूप पनि बडादशैँ , भँडादशैँ , कडादशैँ ,खडादशैँ ,चडादशै,जँडादशैँ, ढडादशैँ, पडादशैँ, लडादशैँ,सडादशैँ कति हो कति । कहाँ त्यति मात्रै हो र मझौला दशैँ, छोटादशैँ, मोटादशैँ, आसेदशैँ, तासेदशैँ, घाँसेदशैँ, कहिले काहिँ ता प्रकृतिले लासेदशैँ पनि बनाउँदो रहेछ । हेर्नु न यो वर्ष अर्थात् २०८१को दशैँ । जेटदशैँ , भेटदशैँ , नामेटदशैँ , घेरदशैँ , हेरदशैँ , छेरदशैँ , धेरदशैँ , फेरदशैँ , बेरदशैँ , शेरदशैँ  कति हो कति दशैँ । यी सबै दशैँ का नालिबेली पारलाऊँला कि त्यो भन्दा अघि काल आउला भन्नै नसकिने भो । तपाईँहरूको हुती भए लाउँनु होस् मेरो ता हुतीले नुन बोकी नखाला जस्तो छ घुँडा लुलिक गर्न थाले ।

फेरि हेर्नु न कसैलाई दशैँ कसैलाई बशैँ नै बसैँ । यो दशैँ पनि एउटा गतिलै नसा रहेछ । यो नसाले साँँच्चै लठ्ठ पारेपछि के के गर्छ गर्छ । गर्ने नि गर्छ नगर्ने नि गर्छ । त्यसैले खासा दशैँ हो कि नसा दशैँ बुझ्नु पर्ने रहेछ । एकचोटि कुन् सालको हो कोनि हाम्रा भाङबारे काकाकहाँ नयाँ दशैँ आएछ । काकीलाई माइत जाँदा झरझुट्टै लाउने गहना नकिनी भएन छ । भएका महसुर गोरु बेचेर मनमौजी किनिदिए छन् । छोरीहरूलाई उस्तै फुली मुन्द्री झपक्कै । घोर्ले खसी सिङ्गै चाहिगयो । त्यस्ताृ बडाघर भएपछि चाला पनि बडै हुनुपर्‍यो । बहिनी, ज्वाइँ, भान्जाभान्जी सबैलाई टिका लाएर चित्तभरि दछिना दिनै परिगयो । सबै कुरा मजैले तोडेछन् । सधैँ गिल्ला गर्ने माथ्लाघर मुखिया बाआमाका मुख ता ट्याप्पै पो टालिएछन् त । पर चौकीबारी बाले चैँ ‘होस गरेस् है भाङबारे जाने दशैँ नजाने ता बसैँ पो नि’ भनेछन् । भाङबारे काका रनक्क भएर आफ्नाकाे दशैँ रौनकमा अम्लो ठड्याउने भनेर उनकहाँ टिका थाप्नै गएनछन् ।

चाड पनि खातका खात पो छन् त । अब दशैँ ता सकियो तिहार आउन बाँकी नै छ । काकीले पाँच भाइ दाजुभाइलाई मज्जैले उपहार किन्ने अड्डी कसिछन् । काकाका पनि पाँचवटी दिदीबहिनी भएकाले तिहार ता उमङ्गकै आउने भो । तर उनका पाँच औँला मात्र फट्याक फुटुक गर्न थालेछन्, हत्केला चिलाउनको साटो पोल्न पो थालेछन् । उनले मन जितेरै मलाई मुख खोलिहाले ‘ए केटा ४०।५० हजार जति दे है तिहार ता मान्नै पर्‍यो नि’ भनेर झन्नैको रुन्चे हाँसो खितिक्क हाँसे । मलाई भने आफू ता महादेव को देला वर भैराखेको बेला । तर काकाको रौनक बोलिसक्नु थिएन । त्यसैले बोले पोल्छ भनेर लुसुक्क बिरालो हिँडे झैँ ओरालो लागेँ ।

हेर्नु न बडादशैँ बडो अचम्मको छ । यो ता बडका लागि बडादशैँ छोटका लागि छोटादशैँ । यो पनि हाम्रा देउदेउता जस्तै पो रहेछ क्यार । ठुलालाई ठुलै वरदान , अलिक सानालाई सानै वरदान साह्रैसानालाई वरदान न सरदान । पैसा नाथे कहाँबाट आउँछ कहाँ जान्छ पत्तै नहुने, पेसा न सेसा जतै पैसा हुनेलाई बडादशैँ ।

भँडा दशैँ ले भाङबारे काकाकै जस्तो कतिकहाँ भाँड गर्‍यो गर्‍यो । भाङकै नसामा व्यवहार चट् । फेरि कसैकोमा खडादशैँ लेहैरान । कामबाट एकछिन् फुर्सद लियो भने चुलो चिसै अनि दशैँसँगै हिस्सै उही लखतरानले बँचाउनु पर्ने परान । वहुरूपी दशैँका अनेक रूपको कैरन गर्दागर्दै अर्को दशैँ टुप्लुक्कै आउने भयो । बरु त्यो काम आधुनिक शेषनागलाई नै छाडौँ र हाम्रा अशेषमै रमाऔँ ।

कोनि कहिले हो भुइँचाले दशैँ आएथ्यो रे । भुइँचालाले कति किचिए कति थिचिए तर दशैँ आउनेलाई ता मजैले आयो । एउटा बालकको ता तीनदिन पछि घर लडेको ओडारबाट जिउँदै उद्धार भएको थियो रे । बारपाक ढुट्टो,काठमाडौँ स्वाहा अन्त कता कति ध्वस्त । तर कतिलाई ता भुइँचाले दशैँ मज्जैले आयो रे त । जस्तादेखि मस्तासम्म । दशैँ पनि हाम्रा दलजस्तै सधैँ मान्नेलाई वेवास्ता अरुबेला शिकार हान्ने अनि दाउपार्न मान्नेलाई वास्ता । यसो भन्दा पनि कतिका ओठ डेड्इन्चि लेब्रिएलान् ।

खाडीदशैँ ता चिनिदै थियो बाडी दशैँ पनि पो देखियो । पच्चिससाले बाडी,एकासीसाले बाडीका दशैँ मस्तै देखियो । पहिलोमा ता थाहाथिति हुदैनथ्यो , पछिल्लोले ता हुच्ची नै मच्चायो । हेर्नु न बाडीले देश तहसनहस छ । जनता त्राहीमाम छन् । यसैको मेलोमेसोमा कतिका दशैँ बडेर बडा भए । विमान कम्पनीदेखि मान कम्पनीसम्म मालामाल दशैँ । त्यसको छार्कोले ककसलाई भेट्यो भन्न र गन्न गाह्रो छ ।

मलाई पनि पो दशैँको रौनक निकै चडेछ । टिका लाउन गाडीमा गडडडड आए भने खाम मोटैगरी भरिन्छन् । मटरसाइकलमा खुरुरुरु आएभने आधाआधी, लखर लखर हिँडेर आएभने खाम न साम खिस्रिक्क दाम । यस्तो काम कस्तो काम । मेरो दछिना दिने ताल पनि मालै भैसकेछ ।

हन ठुलो दशैँ आउनलाई ठुलै मान्छे हुनुपर्ने रहेछ हौ । जे हुँदा नि ठुलै दशैँ आउने । हे भगवान ! हे रामचन्द्र ! तिमीलाई विपत्कालाई हेर्ने फुर्सद छैन नि ! सायद भगवानको टिम पनि ठुलैको रहेछ क्यार । र त भेडा भेडासँग बाख्रा बाख्रासँग ।

०००
२०८१ दशैँको त्रयोदशी
दमक झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x