हेम अधिकारीबडादशैँ
यो दशैँ पनि एउटा गतिलै नसा रहेछ । यो नसाले साँँच्चै लठ्ठ पारेपछि के के गर्छ गर्छ । गर्ने नि गर्छ नगर्ने नि गर्छ । त्यसैले खासा दशैँ हो कि नसा दशैँ बुझ्नु पर्ने रहेछ ।

हेम अधिकारी :
दशैँ कति मानियो मानियो । अझै कति मानिने हो । गन्न र भन्न सकिँदैन । अहिले पो आँखा खुल्दा थाहा हँुदैछ न जान्न मानियो न मान्न जानियो । खै खुसी पन मनै कुत्कुत्याएर आउँछ दशैँ सम्झँदा । यो दशैँ बिछट्टै भुत्भुत्याएर जान्छ र बर्षदिन पर्खिन लाउँछ ।
कसैलाई दशैँ नै दशैँ, कसैलाई झन्नै बसैँ,कसैलाई दशैँ न ससैँ । बसाइँ उपन्यासले त्यो शब्द छ्याप्छ्याप्ती बनायो नत्र हाम्रा बाजे बजैले ता बसैँ नै भन्थे । अझै पनि मेरा परेरीका तरेलीले ता त्यसै भन्छन् । ए म ता कहाँ न कहाँ चौखुरी बाहाँ भन्नै भाषामा जान्नु न तान्नु भट्भटेयाउन थालेँछु । अहिले ता नेपाली भाषाका कुरा गयो कुराकै दुख। जे जानेको छ त्यही लेख्यो बरु सुख ।
कुरा थियो दशैँ को म ता आग्रा छाडेर गाग्रातिर पो झन्नै लागेँछु यो मध्ये दशैँमा। अँ यो हाम्रो महान पर्व हो । मान्यजनबाट आशीर्वाद लिने । देशपर्देश भएका छोराछोरी, बाआमा, चेलीमाइती, अरआफन्त, ईष्टमित्र, साथीसंगाती, खलिकपुर भेला भएर रमाइलो गर्ने हाम्रा पुर्खाको वरदान हो यो पर्व । फेरि एकवर्ष यसैको पर्खाइमा बित्छ । हाम्रो जीवनपद्धतिको उज्यालो क्षण हो दशैँ । हाम्रा हृदय हृदयका गहिराइमा बसेर भिजाएको छ,पगालेको छ दशैँले।
तर हिँजोआज म दशैँलाई मजैले चिनौँ भनेर तामसुर कस्छु तर नसकेर थचक्क बस्छु । म फुच्चिएर हो कि दशैँ कुच्चिएर हो कति खातिर गर्दा पनि चिनिनसक्नु भएको छ मेरा लेखा । दशैँ पनि कति खालको भएछ भएछ अहिले ता । हेर्नु न रूप पनि बडादशैँ , भँडादशैँ , कडादशैँ ,खडादशैँ ,चडादशै,जँडादशैँ, ढडादशैँ, पडादशैँ, लडादशैँ,सडादशैँ कति हो कति । कहाँ त्यति मात्रै हो र मझौला दशैँ, छोटादशैँ, मोटादशैँ, आसेदशैँ, तासेदशैँ, घाँसेदशैँ, कहिले काहिँ ता प्रकृतिले लासेदशैँ पनि बनाउँदो रहेछ । हेर्नु न यो वर्ष अर्थात् २०८१को दशैँ । जेटदशैँ , भेटदशैँ , नामेटदशैँ , घेरदशैँ , हेरदशैँ , छेरदशैँ , धेरदशैँ , फेरदशैँ , बेरदशैँ , शेरदशैँ कति हो कति दशैँ । यी सबै दशैँ का नालिबेली पारलाऊँला कि त्यो भन्दा अघि काल आउला भन्नै नसकिने भो । तपाईँहरूको हुती भए लाउँनु होस् मेरो ता हुतीले नुन बोकी नखाला जस्तो छ घुँडा लुलिक गर्न थाले ।
फेरि हेर्नु न कसैलाई दशैँ कसैलाई बशैँ नै बसैँ । यो दशैँ पनि एउटा गतिलै नसा रहेछ । यो नसाले साँँच्चै लठ्ठ पारेपछि के के गर्छ गर्छ । गर्ने नि गर्छ नगर्ने नि गर्छ । त्यसैले खासा दशैँ हो कि नसा दशैँ बुझ्नु पर्ने रहेछ । एकचोटि कुन् सालको हो कोनि हाम्रा भाङबारे काकाकहाँ नयाँ दशैँ आएछ । काकीलाई माइत जाँदा झरझुट्टै लाउने गहना नकिनी भएन छ । भएका महसुर गोरु बेचेर मनमौजी किनिदिए छन् । छोरीहरूलाई उस्तै फुली मुन्द्री झपक्कै । घोर्ले खसी सिङ्गै चाहिगयो । त्यस्ताृ बडाघर भएपछि चाला पनि बडै हुनुपर्यो । बहिनी, ज्वाइँ, भान्जाभान्जी सबैलाई टिका लाएर चित्तभरि दछिना दिनै परिगयो । सबै कुरा मजैले तोडेछन् । सधैँ गिल्ला गर्ने माथ्लाघर मुखिया बाआमाका मुख ता ट्याप्पै पो टालिएछन् त । पर चौकीबारी बाले चैँ ‘होस गरेस् है भाङबारे जाने दशैँ नजाने ता बसैँ पो नि’ भनेछन् । भाङबारे काका रनक्क भएर आफ्नाकाे दशैँ रौनकमा अम्लो ठड्याउने भनेर उनकहाँ टिका थाप्नै गएनछन् ।
चाड पनि खातका खात पो छन् त । अब दशैँ ता सकियो तिहार आउन बाँकी नै छ । काकीले पाँच भाइ दाजुभाइलाई मज्जैले उपहार किन्ने अड्डी कसिछन् । काकाका पनि पाँचवटी दिदीबहिनी भएकाले तिहार ता उमङ्गकै आउने भो । तर उनका पाँच औँला मात्र फट्याक फुटुक गर्न थालेछन्, हत्केला चिलाउनको साटो पोल्न पो थालेछन् । उनले मन जितेरै मलाई मुख खोलिहाले ‘ए केटा ४०।५० हजार जति दे है तिहार ता मान्नै पर्यो नि’ भनेर झन्नैको रुन्चे हाँसो खितिक्क हाँसे । मलाई भने आफू ता महादेव को देला वर भैराखेको बेला । तर काकाको रौनक बोलिसक्नु थिएन । त्यसैले बोले पोल्छ भनेर लुसुक्क बिरालो हिँडे झैँ ओरालो लागेँ ।
हेर्नु न बडादशैँ बडो अचम्मको छ । यो ता बडका लागि बडादशैँ छोटका लागि छोटादशैँ । यो पनि हाम्रा देउदेउता जस्तै पो रहेछ क्यार । ठुलालाई ठुलै वरदान , अलिक सानालाई सानै वरदान साह्रैसानालाई वरदान न सरदान । पैसा नाथे कहाँबाट आउँछ कहाँ जान्छ पत्तै नहुने, पेसा न सेसा जतै पैसा हुनेलाई बडादशैँ ।
भँडा दशैँ ले भाङबारे काकाकै जस्तो कतिकहाँ भाँड गर्यो गर्यो । भाङकै नसामा व्यवहार चट् । फेरि कसैकोमा खडादशैँ लेहैरान । कामबाट एकछिन् फुर्सद लियो भने चुलो चिसै अनि दशैँसँगै हिस्सै उही लखतरानले बँचाउनु पर्ने परान । वहुरूपी दशैँका अनेक रूपको कैरन गर्दागर्दै अर्को दशैँ टुप्लुक्कै आउने भयो । बरु त्यो काम आधुनिक शेषनागलाई नै छाडौँ र हाम्रा अशेषमै रमाऔँ ।
कोनि कहिले हो भुइँचाले दशैँ आएथ्यो रे । भुइँचालाले कति किचिए कति थिचिए तर दशैँ आउनेलाई ता मजैले आयो । एउटा बालकको ता तीनदिन पछि घर लडेको ओडारबाट जिउँदै उद्धार भएको थियो रे । बारपाक ढुट्टो,काठमाडौँ स्वाहा अन्त कता कति ध्वस्त । तर कतिलाई ता भुइँचाले दशैँ मज्जैले आयो रे त । जस्तादेखि मस्तासम्म । दशैँ पनि हाम्रा दलजस्तै सधैँ मान्नेलाई वेवास्ता अरुबेला शिकार हान्ने अनि दाउपार्न मान्नेलाई वास्ता । यसो भन्दा पनि कतिका ओठ डेड्इन्चि लेब्रिएलान् ।
खाडीदशैँ ता चिनिदै थियो बाडी दशैँ पनि पो देखियो । पच्चिससाले बाडी,एकासीसाले बाडीका दशैँ मस्तै देखियो । पहिलोमा ता थाहाथिति हुदैनथ्यो , पछिल्लोले ता हुच्ची नै मच्चायो । हेर्नु न बाडीले देश तहसनहस छ । जनता त्राहीमाम छन् । यसैको मेलोमेसोमा कतिका दशैँ बडेर बडा भए । विमान कम्पनीदेखि मान कम्पनीसम्म मालामाल दशैँ । त्यसको छार्कोले ककसलाई भेट्यो भन्न र गन्न गाह्रो छ ।
मलाई पनि पो दशैँको रौनक निकै चडेछ । टिका लाउन गाडीमा गडडडड आए भने खाम मोटैगरी भरिन्छन् । मटरसाइकलमा खुरुरुरु आएभने आधाआधी, लखर लखर हिँडेर आएभने खाम न साम खिस्रिक्क दाम । यस्तो काम कस्तो काम । मेरो दछिना दिने ताल पनि मालै भैसकेछ ।
हन ठुलो दशैँ आउनलाई ठुलै मान्छे हुनुपर्ने रहेछ हौ । जे हुँदा नि ठुलै दशैँ आउने । हे भगवान ! हे रामचन्द्र ! तिमीलाई विपत्कालाई हेर्ने फुर्सद छैन नि ! सायद भगवानको टिम पनि ठुलैको रहेछ क्यार । र त भेडा भेडासँग बाख्रा बाख्रासँग ।
०००
२०८१ दशैँको त्रयोदशी
दमक झापा ।
Subscribe
Login
0 Comments
Oldest








































