साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फिर्कौली

कुनै घरको मुलीले देशको चिन्ता गरेको देखेका छौँ ? चिन्ता गरेर गएको भए देशको हाल बेहाल हुने थियो र ? संस्था दुब्लो व्यक्ति मोटाे, संस्था घाटा भएर टाट पल्टिने व्यक्ति मोटाएर परिपाठ ।

Nepal Telecom ad

रामप्रसाद अर्याल अविराम :

उनी फिर्केर आईन् । उनको नाम फिर्कौली रह्यो । मानिसलाई जे हो- त्यो भन्न मन लाग्छ तर भन्नु हुँदैन । चोरलाई चोर घूस्याहालाई घुसखोर भन्नु हुँदैन । नपढेकालाई पन्नित भन्नुपर्छ । गाडी चलाउनेलाई गुरु भन्नु पर्छ । हिडुस् भन्नु पर्नेलाई उडुस, दगुर्नेलाई बस भन्नु पर्छ । मालिकले हुने नहुने काम अह्रायो भने पनि हस भन्नु पर्छ । तब मात्र गर्जो टर्छ । धन नहुने धनबहादुर मन नहुने मनबहादुर र गन समाउन र पैसा गन्न नजान्नेको नाम गनबहादुर हुन्छ । राष्ट्रलाई अशक्त बनाउने सशक्त राष्ट्र भक्त हुन्छ, यो देशमा ।

यो घरका भान्सेले भाँडा बजाउन थाले त्यो घरका मान्छेले कान ठाडाठाडा गराउँथे । छिमेकीका आँखा चनाखा हुन्थे । साँढेहरू जुधेको लोग्ने स्वास्नीको सम्बन्ध छुँटेको हेर्न रुचाउने छुस्केराहरू सर्वत्र व्याप्त छन् । मान्छेको जात बाँचे पछार्छ, मरे गोहीको आँसु झार्छ ।

उनको लोग्ने गरिब मात्र होइन हरिप पनि थियो, मख्खीचुस कन्जुस । अल्छीको पिण्ड । उनी थिइन् खुच्याई बाइफाले, मुख छुरा, तिउन चखुवा । जुम्साको जुम्रा मार्न भन्दा धुम्साको नाकका जुका झार्न मजा हुन्छ बुझिस् । उनको मुखमा झुण्डिएको शब्द । चिम्साकी जोई बन्दिनँ बरु पहलवानको ढोई बन्छु बुझिस् । तँसँग बस्दै बस्दिनँ भनेर हिंडिन् । घरमा बस्दा भाडाकुँडा कुच्चिए, नाकका डाँडी भाँच्चिए ।

कर लगाएर राख्ने कुरा पनि होइन, नारी स्वतन्त्रताको युगमा । दुई चार दिन आनन्द मान्यो लोग्नेले । सोच्यो आफ्नो खुसी गर्न पाइने । तर केही दिनपछि ऊ आत्तिइ सकेको थियो । दिनमा यताउता गरेर दिल बहलाए पनि रात काट्न मुस्किल । न्यास्रो मान्न लाग्यो जीवन । एक्लै फगत एक्लै । तातो चिसो गरेर खान त दिएकै थिई । मैरे गल्ती, कल्पना गर्न थाल्यो फर्केर आउली ?

केही महिनापछि ऊ आई । ढोका ढक्ढक्याई । ऊ भित्रभित्रै डरायो । को हँ यो मध्ये रातमा ? म के म तिम्रै जातकी तिम्रै आँतकी मान्छे । साउतीकोे बोलीले उसले ढोका खोल्यो । देख्छ आफ्नी जोई । अब कहिल्यै फर्कन्न भनेर गएकी थिइस्, अहिले किन आइस् ? प्रश्न सोझ्यायो लोग्नेले ।

अन्त काँ गएकी थेँ र ? उही पुराना दोस्तीसँग कुस्ती खेल्न त हो नि ? त्यता हारेँ, यता तिमीलाई जितेर आएँ । आऊ मसंँग अब नडराऊ । मध्ये रातको शुभ साइतमा सन्धि सम्झौता गरौँ । सहमतिका बुँदा बनाम । तेरो के विश्वास गतिछाडाको लोग्ने बम्कियो ।

आफ्नो विश्वास आफैलाई छैन ? को, कहाँ, कति खेर के हुन्छ कस्ले भन्न सक्छ ? महत्वपूर्ण कुरा त वर्तमानको हो । तिमी वृक्ष म हरियो लहरो । तिम्रो साथ मेरो हात, तिम्रो बाली मेरो खेत अनि त फल्छ लहलहाउँछ बाली ।

कता कता बात्तिएकी, कतिसँग पात्तिएकीको के को आड के को भरोसा ? “कस्ता कस्ता कहाँ गए मुसाका छोरा दरबार” मुख छुरा चलाउँछ तरबार ,यस्तीसंँग के चल्ला र मेरो घरबार । जुम्सो जुर्मुरायो । घरको कुकुर बलियो हुन्छ नै । ठिक भन्यौ बुढा अहिले दरबार पस्ने भनैकै मुसाका छोराहरू हुन् ।

अहिले तिनीहरूको खुबी बखुवी छ । अर्थतन्त्र चलाउन अमनचयन जलाउन उनीहरूकै हात छ । शिशी टिभीको तार काटेको भ्रष्टाचारको फाइल साटेको सुनेनौ थाहा पाएनौ ? कति कति कुरा पत्ताएर गयो, कति कति बत्ताएर गयो । तँ जस्तो गाउँ सहर चहार्नेलाई पो धेरै कुरा थाहा हुन्छ र ? तर धुइरो धुइरो मैले पनि त सुनेको छु । कुरा गरेर माने नलाग्ने कुरा गर्दै नगर्नु भनेर मात्र हो पेट नखोलेको । मनको कुरा नबोलेको । देशको ढिकुटी खोक्र्‍याउने र काम नगरी गोव्य्राउनेहरूकै विगविगी छ अहिले, हाम्रो देशमा । यति कुरा त म पनि जान्दछु । डुकुरे मुसाहरूले त बरु सहकारीको, ढुकुटीको धन, निजी ढुकुटीमा सारे, देश भित्रको पैसा देशैमा नै ओसारे । तर ठुलाठुला ढाडी मुसा र छुचुन्द्रा छुचुन्द्रीहरूले ढिकुटी लुटेर थुपारेका अन्न बस्त्र, सरसामान, गरगहना सहित भौतिक र बौद्धिक सम्पत्ती समेत बेचबिखन गरेर बसाई सरेर पो मारे त । हाम्लाई मात्र होइन गाउँ सहरै रित्याएर खतम पारे त ।

हेर बुढा ! अहिलेको जनसंख्या घटेको बेलामा तिमी र म मिलम् । जनसंख्या त्यसै पनि रित्तिँदै छ । मलाई भित्र्याएनौ भने रित्तै बसौला । कन्या भनेकी लक्ष्मी हुन्, घरकी शोभा । घर उजेलो पार्ने जहान सपार्ने नारी नै हुन् । अहिले तिम्ले झैँ अबुझ बन्दा गर्भमै हान्दा छोरीको संख्या कम छ । फेरि तिम्रो खुवी नै के छ र ? अर्की ल्याउने ।

बेला टल्न लाग्यो के ही त बोल ? के बोलम तँ जस्ती मुखाले चोथाले स्वास्नीसंँग । मन लाग्दा नानाथरीका आरोप लगाएर गइस् । अहिले लुत्रेकान लगाएर रुझेको बिरालो झै आइस् हैन ?

तिमी पनि उस्तै म पनि उस्तै जाम सुस्तै सुस्तै भनेर आएकी हुम् । आफ्नो निष्ठामा अड्न सकिनँ । रणचण्डी बनेर लड्न सकिन । वृन्दा बन्दा विष्णुले झुक्याए । सीता बन्दा रामले आगोमा हुत्याए । वनमा खेदे । द्रौपदीको चीरहरण गरे । त्यो त उहिलेको कुरा । आधुनिक युगमै पनि योगमायाहरूले जलसमाधि लिन बाध्य पारे । तिम्रो समान्तवादी समाज राम्रो काम गर्नेको खोइरो खन्छ । नाङ्गो खुट्टा हिँडेको देख्यो भने सिसा फोरेर बाटोमा छर्छ । फोहोर सफा गर्नेलाई काँडाले कोर्तछ । यति धेरै कुरा काँट सिकिस् हँ ?

काँट सिक्नु नि ! व्यवहारमा परेर जानेकी हुम् । यति मात्र कहाँ हो र ? अहिलेको उपभोक्तावादी जमानामा चिउरी चुसे झैँ चुस्छ र रस सकिएपछि रछानमा फ्याँक्छ । नाना थरीका लाग्छना लगाएर । तिमी जस्ता झुम्राले त पुरुषत्वको हैकम चलाउँछौ भने अरुले के बाँकी राखून् ।

एउटी नारीलाई आमाको रुपमा हेर त- त्यहाँ दया, माया र करुणा पाउँने छाैँ । श्रीमती, अर्धाङ्गिनीको दृष्टिले हेर्यौ भने समर्पण, छताछुल्ल, चञ्चलाश्री, परम आनन्द भेटाउने छौ । उपभोग्याको रुपमा हेर्ने आँखाले राम्रा कुरा कहाँ देख्दछन् र ? त्यसै भनेका हुन र पाकापुस्ताले ।

ए तैँले मलाई केही नजान्ने ग्वाँचे बनाइस् । तै आफै कति पल्ट क-कसकहाँ जाँदै फर्किदै कति गनाइस् ? थाहा छ ? अझै ठुला कुरा गर्छेस् ।

ल सुन मैले व्यक्तिको वृत्तिको होइन प्रवृत्तिको कुरा गरेकी हुँ । पखेटा लागेको चरी चाराको खोजीमा दिनभरी वन चहार्छे । गाई, बाख्रा दिनभरी चरनमा वनकै शरनमा जान्छन् । साँझ आफ्नै घर फर्किन्छन् । कति कामको खोजिमा गएका भरिला बाकस बोकेर आएका हुन्छन् । कति सारसाैँदो गएर खुट्टा काटेर, बैशाखी साटेर फिरेका छन् ।

समुद्रपारि जानेहरू बाकसमा झारिएका छन् । आफ्नो बाटो आफ्नै पाटो र आफ्नै माटो सम्झिएर आएकी छु म । निधार खुम्च्याएर सम्झ त हो कि होइन ? त्यो त हो । यतिका कुरा जान्नेले कति धेरै कुरा गरेर हिँडेकी थिइस् । लोग्नेले भन्यो ।

त्यति खेरको परिवेश मान्छेमा रिस, आवेग संवेग, उत्तेजना घृणा प्रेम र सद्भाव आइरहन्छन् । रिसको बेलामा कस्ले पो वेद पढ्छ र ? दुःख र पीडालाई सुख र आनन्दमा बदलौं भन्न आएकी हुँ । नारीलाई सम्मान गरी हेर त त्यहाँ प्रेम र बात्सल्य पाउने छौ । होइन अन्याय, अत्याचार गरे रणचण्डी बनेको पनि देख्ने छौ । हेराइ तिम्रो ।

हैन कति लामो कुरा गरेकी हाम्रा नेतालेझैँ । व्यवहारबाट सिकेर परेर यति जान्ने भएँ । लोग्ने बोल्यो- अरुकुरा भोलिभोलि गरे हुन्न ? आजै सक्नु पर्यो नि ! बस भन्न त अझै सक्या छैनौ । आफ्नै घर आफ्नै मान्छे बस् भन्नु पर्छ र ? लोग्नेले कुरा प्रष्टसँग गर्यो । श्रीमतीले भनिन् सहमतिका बुँदा बनाम् ।

फिर्कोलीले कुरा अगाडि बढाइन् । निष्ठामा बिष्ठा परेका बेला जे जसरी हुन्छ, कमाउ खाउँ । जोगाउँ सात पुस्तालाई पुर्‍याउँ । नैतिकता र सिद्धान्तको रट लगाउनेहरूको सेखी सफाचट् भएको देखेकै छौ । सरकारी ज्वाइँहरूको काम विल मिलाम खाम भन्ने महावाणी अफिस प्रवेश गर्दादेखि नै सुरु हुन्छ । अहिले उनीहरू दक्षिणा थोरै भयो भन्न थालेका छन् । दक्षिणा पनि मागेजति दिन सकिन्छ र ? थिति बिग्रेर बेथिति मौलाउँदा के के सुन्नु पर्छ के के ।

खोला जता बग्छ त्यतै लागे तरिन्छ । बिपरित दिशातिर लागे मरिन्छ । स्वच्छ हुनु विशुद्ध हुनु, नैतिकवान बन्नु, चरित्रवान बन्नु भनेको अन्तर्राष्ट्रिय मान्यता विपरित छ अहिलेको युगमा । युजे पोत्तरको मानिसको अन्तर्राष्ट्रिय जाति हुने छ भन्ने बहु चर्चित गीत गाउँदै आएका छन् हाम्रा अगुवाहरूले । त्यसको अक्षरस पालना गरेकै छन् । देशका युवाहरूलाई अन्तर्राष्ट्रमा पठाएका छन् । कतिले विदेशी सुकुमारीको सुकुमार बनेका, कुमारग्रह कटाउने अवसर पाएका छन् । हाम्रा चेलीहरूले विदेशीका विस्तरा सजाएका र यौवन भजाएका छन् । वर्णशङ्कर जाति, हाम्रा नाति सबैभन्दा योग्य, सक्षम र प्रतिभाशाली हुनेछन् रे भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।

त्यसो त बाहिर गएकाहरू घरमा फर्किएर को आउँदैन र ? अहिले केही मानिसहरूमा आफ्नो पुरानो घर सम्झिएर फर्किने क्रम जारी छ । उदाएको घाम, अस्ताएको घाम र आयाराम गयाराम निरन्तर चलिरहने कुरा हो । ठुला घरका चहलपहल अर्कै साना घरका रहलपहल पतझडको रोगले निखुर्कै ।

देशमा ठुला काण्ड मच्चाएर बन्दीगृहमा आराम गरेर बसेका भए पनि उनीहरू फर्केर आउँदा फूलमाला र अविरजात्राले स्वागत गर्ने चलन छ । पल्ला घरको नरे ओल्लो घरमा सरे भनेझै तिहुन चाख्दै हिँडनेहरू पनि घरमा भित्रिन र इत्रिन चाहन्छन् । उनीहरूको भित्री स्वार्थ नबुझी गद्दादार आसनमा बसाएर दुनियाँ हँसाएका छन् । वनसाङ्ला घरमा पसेपछि घरसाङ्लाको विचल्ली हुन्छ नै । बाहिर बाहिरको खाना चाख्दै हिँड्नेलाई घरको सादा खाँदा खायस पर्दैन, त्यो चाहे पायसै किन नहोस् । तर नयाँ भित्रिएको भान्से सम्पन्नतामा पौरन पाएपछि बौरन थाल्दछ । समस्या त ग्यास्टिकको बहाना बनाएर दलबल सहित विदेशको सैर गर्न पाइने हो ।

विद्यमान परिस्थिति मिलापको हो । मिल्न नसक्नेलाई भने विलापको हो । सुनेकै छाैँ नि घर पहिरो गएको कोकोहोलो । मिलाप सजातीय र विजातीय भए अझै राम्रो हुन्छ । कुँडे भरिको दुध छाली सहितको तर मार्न पाइने । ठुलाठुला कोठा, चोटा, चहार्न पाइने । अड्बाङ्गे कुरा गरेर सिद्धान्त र इमानका कुरा झिके सजातीय नै भए पनि गद्दीबाट गलत्याउन सकिने । एकता कलियुगको विशेषता नै हो । उत्तर आधुनिक शैली हो, भखरै प्रतिपादन गरिएको ।

राष्टवादको राग दिलैदेखि अलाप्ने र राष्ट्र बिग्रिन लाग्यो भनेर विलाप्ने निमुखा, हरूवा, चरुवा भिखमङ्गाले मात्र हो । गुँड छाडेर बाहिर जाने हुति नभएका लुतेले मात्र । कुनै घरको मुलीले देशको चिन्ता गरेको देखेका छौँ ? चिन्ता गरेर गएको भए देशको हाल बेहाल हुने थियो र ? संस्था दुब्लो व्यक्ति मोटाे, संस्था घाटा भएर टाट पल्टिने व्यक्ति मोटाएर परिपाठ ।

खुबै मनासिप कुरा गरिस् अहिले त । हाम्रा नेताको काया यताको, छाँया उताको हुन्छ । तन आफ्नो र मन पनि आफ्नो भए पो । उतैको इसारामा चल्ने उतैको खुराकीले पल्ने भएपछि समृद्धिको बत्ती कसरी बल्ने हुन सक्छ ? अब सरल भाषामा सरल र तरल कुरा गरम । आफ्नो जन्मभूमि आफू हुर्किएको ठाउँ, खेलेका हिनेका, डुलेका सँगीसाथीहरू आफ्ना आफन्त, जहान परिवारसँग छुट्टिएर विदेश गएर बस्न कसैलाई पनि मन लाग्दैन । तर बस्न खोजेर के गर्ने यहाँ ? बसेर पेट भर्ने वातावरण भएन । खेतबारीमा काम गर्यो, उब्जायो बाँदरले सखाप पार्दछ ।

रोजगारी नारामा मात्र सीमित छ । हरेक क्षेत्रमा भ्रष्टाचार छ, बेथिति छ । नीति नियम छ तर कार्यान्वयन छैन भोको पेटले खान खोज्छ । खाद्यान्न छैन । रोग लाग्दा सिटामोलसम्म पनि छैन । त्यसैले कामको खोजिमा बाहिर गएका आफ्ना सन्तानलाई घर फर्किने वातावरण बनाउन म फर्किएर आएकी छु । यहीँ काम पाउलान् र बाहिर गएका धेरै आफ्नै घर फिर्किएलान् अनि त मलाई “फिर्कौली” भनेर कसैले पनि हेप्ने छैनन् । कि कसो ?

०००

२०८१ कार्तिक ५ , तानसेन, पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x