डा. छायादत्त न्यौपाने ‘बगर’खुरुखुरु जाना खुरु आना
अरुतिरको गफमा त सँगसँगै जेलनेल गरेकोे ध्वास दिन्छन् । ठाउँमा भने मुखमा काँचो पिँडालु कोचेर बसिदिन्छन् अनि त कुन मूर्ख पदासीनले ला, भाइ तैंले पनि खा भन्दो हो !
छायादत्त न्यौपाने :
केही छैन महाशय सबै ठिक छ । म तपाईंसँग गुनासो गर्दिनँ । मलाई जानकारी छ । मेरो गुनासो मैसँग छ, आफैसँग गर्छु ।
मलाई बनाउने मैले हो । तपाईंले बनाइदिनुभएन भनेर के गुनासो गर्नु ? तपाईंको आफ्नै भुँडी ठुलो छ । तपाईंका आफन्त आसपासे भुँडीको ठेकेदार तपाईं ! दाम दिएर काम लिने तपाईं ! म जाबो बबुरो जनतोले झोपडी अँध्यारो छ भन्न मिल्ने भए पो गुनासिनु ! म भोकै छु , नाङ्गै छु भन्नै पाइन्न, भनिहाले नि के पो हुने हो र ! हजुरको जस्तो काम गर्न साम गर, खाने बेलाँ आँ गर अभूतपूर्व विलासी शासन शैलीमा ?
कहाँबाट कति आउँछ ? मेरो भागमा कति पर्छ हिसाब किताब मिलाउनै कति गाह्रो छ । भाग पुगेन भने मूल द्वारमा उभिएर चर्का नारा लाउन थाल्छन् । नाइके नाइके छानेर मुख थुन्नै पर्ने बाध्यता छ । यति मात्रैले पुग्ने भए नि अलिक सास फेर्न भ्याइन्थ्यो होला । उता सरुवा बढुवा भरुवाको चाँजो उत्तिकै गह्रौं छ । त्यो बोकेर सुरक्षित बिसाउनुपर्छ । अलिकति तलमाथि परे अर्को हङ्गामा मच्चिन्छ ।
महाशयले बुझ्नुपर्ने नि अचेल त कामकुरा यहाँ हुन्छ । गोप्य घरानामा मिलाइन्छ । लागेको भागबिलो त विदेशमा जम्मा गर्ने हो रे नि नत्र त कतिखेर के पर्छ ? यहाँ राखेर जोगिन ? मुस्किल छ । अचेल त भाग खोज्ने यति बढे कि छर्दा छर्दै योजनास्थलसम्म पुग्ने बाटाखर्च नरहला भन्ने पिर छ है यहाँलाई !
योजना परेको स्थानसम्म पुगेर शिलान्यास गर्न पाए त आगामी दिनमा बजेट थप्दै जाने वातावरण मिलाउन सकिन्छ । शिलान्यासै छुटे त कहाँबाट थपी थपी खानू ? हो क्या ! म बुझ्छु हजुर तपाईंको गाह्रो ! यो संयन्त्र मिलाएर गाँस हत्याउने काम सजिलो छैन । सुइँको पाए बिलो माग्नेहरूको भिड बढ्छ । नजर अन्दाज गरे जुलुस निस्कन्छ उफ् ! कति ठुलो चुनौती ?
मलाई त यस्तो केही गर्नु छैन । पदीय जिम्मेवारी अनुसार खुरुखुरु काम गर्ने हो । आफूले भाग खोजिदैन । ढुक्कले काम गरेपछि न बिलो लाउने झन्झट न मागपत्रको चाङ । त्यसैले महाशय मेरो सल्लाह मान्नुहोस् यो कहिल्यै नअघाउने भोक पालेर साध्य लाग्दैन । तपाईंले काम गरेर जनतालाई नागरिक बन्ने अवसर दिए इतिहास रचिन्छ सम्मान पाइन्छ । यसैमा कल्याण छ तपाईंको ! यो भाग खाने रोग नपाल्नु न हुन्न ?
हो, तपाईं आजीवन नाइके हुने दाउमा हुनुहुन्छ । त्यसका लागि जे पनि गर्ने ? काला कर्तुत जति सबै गर्ने अनि पानीमाथि ओभानो छु भनेर भ्रम छर्ने ? के सधैँभरि यसरी चल्छ भन्ठानेको ? जनता सधैँ सधैँ बबुरिएर बस्छन् भन्ने सोच ? अब काम लाग्दैन यो सोच । त्यै स्वार्थलिप्त चिन्तन बोकेर त तपाईं अत्याचारी, घुसखोर, कमिसनवादी भनेर चिनिएको ! आजका जनताले यति नि थाहा पाउन्नन् र ?
म फेरि भन्छु महाशय ! यो गरिब जनताको रगतपसिना चुस्दै लठैतहरूलाई बाँड्दै कहिलेसम्म गरिरहने ? कति परसम्म दुर्गन्ध फैलाउने ? बढीमा २ कार्यकाल नगनाइकन काम गरेर अनुहारमा कालो नपोती सँगसँगै आन्दोलनमा होमिएका साथीभाइलाई पद दिएर सुकिलै अनुहार लिएर निस्के हुँदैन ? डुङ्डुङती गनाइरहनुपर्छ र ?
होइन ! यी सहयोद्धा भनिएकाहरू पनि अँ हजुर ! अँ हजुर ! गर्दै दिन रात के बित्यो र बित्दै छ पत्तो नपाउने कस्ता हुस्सु मोरा लाछी पामर बनेर दिन दिनै मरिरहन सकेका बाई ! अरुतिरको गफमा त सँगसँगै जेलनेल गरेकोे ध्वास दिन्छन् । ठाउँमा भने मुखमा काँचो पिँडालु कोचेर बसिदिन्छन् अनि त कुन मूर्ख पदासीनले ला, भाइ तैंले पनि खा भन्दो हो ! कुरो त यसो पनि हो क्यार है ?
मलाई त सचेत जनता पनि अन्धभक्त कार्यकर्ता मात्र भए । यी न्यायप्रेमी नागरिक भएर बाँच्ने चाह, रहर, आँट, स्वाभिमान, अधिकार सबै स्वाहा पारेको देख्दा पो ताजुब लाग्छ ।
हुन त यो पद-पैसामा बिकेकाहरूको कला-साधना पनि होला । कति धाक-धम्कीको सिकार भा पनि हुन सक्छन् । दिनदिनै लर्को लागेर विदेशिनेको टाउको स्वस्थ छ भने म जाबो ? मलाई केको टाउको दुखाइ ! दैनिक काम गरेर पेट भर्न पाइराछु । यसमा काँडा नपलाए भइगो नि ! पेट रत्तो र आङ नाङ्गो नभासि केको टन्टा !
हो महाशय, पक्कै हो, मैले दरबार बनाउने हैन हेलीप्याड चाहिएको छैन । खुरुखुरु जाना खुरुखुरु आना आँधीखोलो कस्तो थियो कस्तो !
०००
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































