साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘क’ को कथा

कसैलाई भित्तैमा पुर्‍याएर दनक दिनु पर्‍यो भने पनि ‘त्यसको कर्मकाण्ड गरिदिए हुन्छ’ भन्ने सुन्नमा आयो । त्यसैले यत्रो महत्त्वको शब्दलाई पक्कै भन्न मिल्छ, क माने कर्मकाण्ड !

Nepal Telecom ad

दिलीप अर्याल :

मेरा बाले सानो बेलामा मलाई काखमा राखेर ककाकिकी सिकाउँदा भगवान कृष्ण र सुदामाका कनिकाका कथा कहँदै र कंस मामाका कथाकुथुङ्ग्री सुनाउँदै ‘क’ को कहानीलाई कहिल्यै नबिर्सने हिसाबले दिमागमा पोष्टिङ गराई स्थायी नियुक्ति दिनुभयो । यसरी बालखाँ सिक्या कपुरी क को अहिलेसम्म कसकसले इज्जत राखेका छन् त्यो त मलाई खासै पत्तो छैन तर म चाहिँ मेरो ग्यारेन्टी लिन्छु । स्कूलमा टाङ्गिएको कालोपाटीमा बडाबडा अक्षरले लेखेका क बिस्तारै कपुरी क बाट बामे सर्दै कहिले कछुवातिर गए त कहिले कमल अनि कलमलाई समात्न पुगेछन् भन्ने कुरा म काठमाडौं जिल्ला कपन, कोलमती टोल बस्ने कालु बाजेको काहिँलो सुपुत्र कवितारामलाई अत्तोपत्तै भएन ।

घराँ होस् वा स्कूलाँ होस् मैले यो क लाई सिक्न कहिल्यै कचकच गरिन भने आमा बा र गुरुहरूले पनि सिकाउने क्रममा कहिल्यै करकाप गर्नुभएन । बेलाबेलामा मेरो कान्छो काकाले काखमा राखेर मलाई ककाकिकी पनि धेरथोर सिकाएकै हो । काकाले भन्नुहुन्थ्यो – हेर बाबू ! कालिदास पनि शुरुमा महामूर्ख थिए रे । उनकी श्रीमती विद्योत्तमाले पुस्तक पढिरहेको बेलामा कालिदासले क अक्षरलाई देखेर ओहो ! यो क त, म गोठ बस्दा कत्रो थियो अहिले दुब्लाएर यत्रो भएछ भनेर डाँको छाडेर रोएका थिए रे !’  जे होस् क र कालिदासको सम्बन्ध भक्त र भगवानको जस्तै रहेछ भन्ने बुझेँ मैले । उनले क बाट नै कविता कोरे अनि त्यसैबाट कवि हुँदै महाकविसम्म बनेछन् भन्ने चूरो कुरो पनि थाहा पाइयो । अब मजाले भने हुन्छ – भन् भन् भाइबहिनी हो, क माने कवि, कविता… ।

अहिलेका केटाकेटी (बालबच्चा) हरूलाई कपुरी क, कमल क, कछुवा क… अलि पुरानै भाको हो कि ? तपाईंलाई कस्तो लाग्छ ? यहाँ क र पुरीको बिच अलि गोरु बेचेको साइनो जस्तो जोडिएको त हैन ? यसमा चाहिँ मलाई पनि शंकै लाग्छ । क ले कहाँबाट, कुनबेला, के का लागि पुरी लिएर आयो यसकाे नालीबेली खोज्न मैले अब तपाईंहरूलाई नै जिम्मा दिएको छु । अब अलि नयाँ शिराबाट क लाई लैजानु पर्छ भन्नेमा म पनि सहमत छु । अहिलेको सन्दर्भमा यो क र कम्प्युटर बिच अनोन्याश्रित सम्बन्ध स्थापित भएको छ । पढ्ने, लेख्ने, पढाउने, लेखाउने सबै नै कम्प्युटर र उनकै दरसन्तानहरू देखिन्छन् । यसैले आजकल केटाकेटीहरू किन कम्प्युटरमा झुम्मिएका होलान् हँ ?  भनेर कुनै अभिवावक वा शिक्षकले पटक्कै भन्दैनन् । यसमा न किचकिच छ, न कचकच  ट्याब्लेट, किन्डल, ल्यापटप र मोबाइल सबै नै कम्प्युटरका सगोत्री एवं जूठो सुतक लाग्ने साख्य भाइ भतिजाहरू हुन् । कम्पुटर काकाको जन्म हुनुअघिनै प्रोजेक्टर भनिने ठूलाबाको यस धर्तीमा जायजन्म भइसकेको थियो भन्ने कुरामा शङ्का छैन । आजकल त विद्यालयमा होस् वा महाविद्यालयमा होस् कालोपाटी र चकको सौताको रूपमा तिनै ठूला बा प्रोजेक्टर र उनकी जीवनसंगिनी स्क्रीनले यत्रतत्र, सर्वत्र कब्जा जमाएका देखिन्छन् । परम्परागत पुस्तकको पठनसंस्कृति पछि परिरहेको अहिलेको समयमा कम्प्युटर, उसका दरसन्तान र बन्धुबान्धवहरूको सहायता लिएर पढ्ने चलन अघि बढिरहेको भन्ने बुझिएकोले कम्प्युटरलाई पनि साधुवाद ! त्यसैले भनौँ, क माने कम्प्युटर ।

मेरा काका कुलप्रसाद कँक्कड् तान्न साह्रै खप्पिस भने मेरा बा तमाखुका पारखी हुनुहुन्थ्यो । तमाखु हाल् ए कान्छा ! दुवै जना पालैपालो तानौँला भन्नुहुन्थ्यो बा काकालाई । तर काका भने नमान्ने । काका कँक्कडमै मस्त ।  त्यही कुरामा बा र काकाको कहिलेकाहीँ किचकिच पनि परिरहन्थ्यो । २०४३ सालतिरको कुरो हो, एकदिन मेरा बाले ल बाबू ! किलागलमा गएर दुई किलो तमाखु लेरा भनेर मलाई पठाउनु भयो । रत्नपार्कमा साझा बसबाट ओर्लेर हिंडेर जाँदै थिए आफ्नो गन्तव्यतिर । अकस्मात भोटाहिटी छिर्ने गौँडामा मेरा दौँतरीहरू कवीन्द्र, कुलप्रसाद, केसव, कञ्चन र केदारसँग भेट भयो । मलाई भेटेर उनीहरूले भने, ‘ल हिँड मूला हामीसँग तँ पनि अहिले । तमाखु समाखु किन्दै गरौँला’ यसरी उनीहरूले मलाई त्यहाँबाट फर्काएर कालधाराको कसौँडी रेस्टुराँतिर लिएर गए । त्यहाँ कैलो खसीको कलेजोदेखि कालो राँगाको छोइला, कचिला अनि कालिजको मासुसम्म मजाले पाइने रहेछ ।

कवीन्द्रले कचिला खाउँ भनि दिएको अर्डर बमोजिम काँसको कचौरामा कचिला आयो जुन हेर्दा अलि कचल्टो जस्तो देखिन्थ्यो । त्यहीबेलामा कुलप्रसादले एउटा हाँसो पनि गरी टोपल्यो- ‘हेर है भाइ हो ! यो कचिला जुन भैँसीको छ त्यो जोत्दा जोत्दा थाकेर ट्रकमा हालेर यता पठाएका हुन् । त्यो भैसीको गर्दन र आँखाभरिको कचेरा सम्झिँदा त,  छ्या ! के खानु जस्तो लाग्छ’ । ह्या, खाने बेलामा नि के सम्झेको भन्दै थिएँ म, त्यही बेलामा मेरो पेट कल्याङकुलुङ गर्‍यो । अनि बिहान खाएको कनिकाको भात, केराउको मुन्टा, कालो गाईको दही सबै सारसौँदै बाहिर आए । अनि मुख कुला गरेर म चाहिँ कहाँको कचिला न सचिला भन्दै टाप ठोकेँ र किलागलतिर तमाखु किन्न जान्छु भनी हान्निएँ । त्यो कचिलाको कल्याङकुलुङले नै यत्रो पाठ सिकाएकोले मज्जाले भन्न सकिन्छ – क माने कल्याङकुलुङ !

मेरा जिबा कमलाकान्त उमेरले छयासी पुगेका, ढाड कुप्रिएका, कछाड फेरेर कक्रिएर बस्ने प्रायः कक्र्याक्कुक्रुक परी एउटै डल्लो परेर सुत्ने भए पनि जाँगर र जोशमा चालीस पचासको उमेर बिर्साउने हुनुहुन्थ्यो । एउटा बडो घँगारुको लठ्ठी लिएर भुईंमा बजार्दै भुराभुरीदेखि घरका बाँकी जहान परिवारलाई समेत यसो गर, उसो गर, त्यो नगर भनी थर्काउने बानीमा उमेर तगारो कहिल्यै बनेन बुढाको । “ए कङ्गाल हो, कर्मचण्डाल हो, त्यो तल्लो बारीको कर्कलो बेलै नभई किन उखेलेका हँ ? त्यो पाँचमाने ढलोटको कसौडी, कालो कराही, करौँतीलाई किन भत्केको कटेरोमा राखेकी ए कालुकी आमा ?” भनी मेरी हजुरआमालाई टोकेसेको टोकस्यै गर्या भर्खरै जस्तो लाग्छ जिबाले । बुढाले उनको कन्टक काइँलो छोरोलाई त्यो भत्केको कटेरो मर्मत गर्नु भनी कैयौँ पटक करकर गर्दा पनि काकाले एउटा कानले सुनेर अर्को कानले उडाएर हिँडे । अनि जिबा खसेको वर्ष नै त्यो कटेरो पनि गर्ल्यामगुर्लुम्मै भत्क्यो ।

जिबा भन्ने गर्नु हुन्थ्यो, “कहिलेकाहीँ लाग्छ, कणकणमा व्याप्त रहने भगवानले पनि मलाई कठालो समातेर कठोर र कठिनाइपूर्ण बाटोमा हिँड्नु है भनेर आदेश गरेजस्तो लाग्छ । मैले जीवनमा धेरै दुःख गरेँ तर कहिल्यै कसैले कठै, कठैबरा, बिचरासम्म पनि भनेनन् । यो कुरा बिचार्दा हेर नाति केटा ! मेरो अर्ती के छ भने जीवनमा कठिन बाटो हिँड्नुपर्दा नआत्तिनू । आपत विपतमा कोही कसैबाट पनि मल्हम पट्टिको आस नगर्नू । ‘सकेसम्म आफै लड्नू, नत्र मुग्लान पस्नू’  यो हरफमा पनि क को कथा त भनियो तर अन्त्यमा क माने के भन्ने होला ? छान्दै जाँदा- क माने कर्मचन्डाल पो उचित ठहरियो त ! अहिले संसारैभर अनेकौं कर्मचन्डालहरूको बिगबिगी रहेकोले यो शब्द उचितै होला हगि ?

दाँत किराले खायो भने कन्टकारी (एक प्रकारको वनस्पति) को तमाखु खा बाबू भनेर मलाई सल्लाह दिने पल्लाघरे कुमार काकाको आफ्नै आधा भन्दा बढी दाँत सखापै भएको देख्दा यिनको कथ्य पनि कथित नै हो भन्ने लागिरहन्थ्यो ।  तर काकाले दुईटा कुरा चाहिँ साह्रै  गहकिला गरेर बिते –  ‘हेर बाबू ! अर्काका कुरामा ज्यादा चासो राख्ने कन्सुत्लाहरू देख्दा कनपारो तात्ने, कन्चट टन्कने र कनसिरी तातेर भित्तैमा पुग्ने गरी दनक दिउँ जस्तो लाग्ने रहेछ । त्यसैले अर्काको निन्दोचर्चो कहिल्यै नगरेस् । अर्को कुरो- कर्ममार्गमा कर्मयोग गर्दै हिंड्ने कर्मयोगीको कथाप्रसङ्ग सबैका लागि शुक्लपक्षको कलानिधि (चन्द्रमा) को जून जस्तो हो भनि कराउन पछि नपरेस्’ । यस्ता अर्ती दिने काकाको माहिलो छोरोले कुलोमाथि कल्भर्ट बनाउने गाउँपालिकाको ठेक्का हत्याउन एउटा नक्कली कम्पनी खोलेछ र मिलेमतो गरी कपाकप कमिसन खाएछ । पछि उसलाई यही कालो कर्तुत उपर कसुर लागी कानूनले कर्यापझ्याप पारी कैदमा पुर्‍याएछ र उतै उसले कालसँग मितेरी साइनो गाँसी सिलटिमुर खाएछ भन्ने सुन्नमा आयो । यहाँ पनि अलि दोधार भयो- क माने कर्मयोग भनौँ वा क माने कमिसन ? यो निधो गर्ने जिम्मा हजुरहरूकै !

केवलपुरमा केही समय अघि एउटा अबोध किशोरीलाई करणी गरी हत्या गरेको घटनाले सनसनी मचायो । स्कूलको पढाइ सकेर घर फर्कदै गरेकी उनलाई असत्ती पातकीहरूले निमोठे र उनको इहलीला समाप्त पारे भन्ने खबर सुनियो तर त्यो अपराध हालसम्म रहस्यमा नै छ । यस्ता अपराधीहरू मरेपछि नरकमा यमराजका कर्मचारीहरूले तिनीहरूलाई करौँतीले चिर्छन् रे ! भन्ने सुनेको सम्म हो, गरुड पुराणमा ! तर आजसम्म यो सजाय दिएको दृश्य न फेसबुक लाइभमा देखियो, न अन्य सामाजिक सञ्जालमा । पापी, असत्तीहरू मरेपछि मात्र सजाय दिने साधन यदि करौँती हो भने, चित्त बुझाउनै भए पनि भनौँ – क माने करौँती !

‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ भन्छन नि ! त्यस्तै हालतमा छन् हाम्रा देशका सडक सञ्जाल । अस्ति हेर्दाहेर्दै कविलासमा केटाकेटी पिकनिक लगेको बस सय फिट तल खसेर कच्याककुचुक भयो । कठैबरा ति केटाकेटी ! केहीको ज्यान गयो भने कैयौँ गम्भीर घाइते भए । त्यो कान्ला मुन्तिरबाट निकाल्न नि कति कठिन भाको ती कल्कलाउँदा छुनामुनाहरूलाई । यस्तो कुरा सम्झिँदा देशको बाटाको अवस्था देखेर कनसिरी तातेर आउँछ अनि त्यो बाटो हेर्ने निकायका मान्छेलाई किन कठालो नसमातेका होलान् भन्ने लाग्छ । त्यसैले घरिघरि भन्न मन लाग्छ, क माने कठालो !

हाम्रोमा कसारको कत्रो महत्व हुने रहेछ भन्ने कुरा कनीकुथी भए पनि कहनु पर्छ भन्ने लाग्यो । बिहे, व्रतवन्धमा खानै पर्ने कुरा चाहिँ कसार नै हो भन्ने कुरामा को को सहमत हुनुहुन्छ ? यसो बिचार्नुस् त । यस्ता अवसरमा तयार गर्ने अरु चिज भनौँ न सेल, पुरी इत्यादि, जस्ता चिज घरमा जहिले मन लाग्छ त्यहीबेला पकाएर खाउँ भने भयो । तर ‘आज भातको सट्टा कसार बटारेर खाउँ ए बुढी’ भनेर मैले आजसम्म मेरी जहानलाई भनेको छैन । मेरो एउटा साह्रै नराम्रो बानी के छ भने कसैको बिहे व्रतवन्धमा पुग्दा एक दुई वटा कसार खाउँ न भनेर लाज सरम पचाएर मागी छाड्ने ।

यो बानी मैले मेरो नालाका  भानिज बासँग सिकेको सानैमा । के गर्नु बुढाको त्यस्तै ५० सालतिरको कुरो हो,  सुन्ताखानमा रातामाटे पुरेतको राइँलो छोरोको बिहेमा जन्त गएको बखत कसार खाँदा दुइटा दाँत नै झर्‍यो । त्यसपछि चाहिँ बुढाले कसार खान छाडे । तैपनि उनी कसारका पारखी हुन् भनी जान्ने इष्टमित्रहरूले बिहे बटुलोमा उनलाई कसार दिन्थे । बुढाले खुसुक्क ती कसार कोटको खल्तीमा राखेर मलाई सुटुक्क ल्याइदिन्थे ।  धेरैपटक त मज्जाले खुँदो हालेर बाटेको कसार मेरा साह्रो न साह्रो दाँतले पनि टोक्न सकेन । अनि बुढालाई बा खै के गर्नु ? यो त टोक्न सकिएन के गर्ने होला भनेको । बुढाले मलाई सुझाव दिए, ’त्यस्तो साह्रो कसार जति खल्तीमा हालेर अब गर्ने भनिएको निर्णायक आन्दोलनमा जानु बाबू । अनि प्रतिकारमा उत्रँदा विरोधी र दमनकारी भनिएकाका टाउकामा हान्नू’ ओहो यो त गजबको आइडिया दिए बुढाले भनेर टोक्न नसक्ने जति कसार जम्मा गरेर राख्या छ । हेरौँ कसो काम नआउला एकदिन ? यसर्थमा पनि क माने कसार भन्दा कहिल्यै नबिर्सने पक्कै होइन त ?

कर्म राम्ररी गर्नू भनेर जजमानलाई आदेश दिने पण्डित, पुरेतले कर्मकाण्ड पनि राम्ररी गर्नुपर्‍यो भन्ने मेरो अडान छ । खाली दान-दक्षिणा मात्र कति आउँछ भनेर किचकिच गर्ने पुरेत मेरो विचारमा कर्मचन्डाल नै हुन् । त्यस्तो दानदातव्य चाहिँ लुच्चाले खाएको कमिसन जस्तो हो भन्दा के फरक पर्ला र ? पुरेतका नाममा अर्कालाई करेप्नु पनि एउटा हद हुन्छ नि । कर्मकाण्डी ब्राह्मणले कर्मकाण्ड मात्र गर्ने गराउने हैन । उहाँहरूले आफ्ना शिष्य र जजमानलाई कर्मयोग एवं कर्ममार्गका कथाप्रसङ्ग समेत जोडी सच्चा कर्मयोगी बन्ने बाटोमा प्रेरित गर्नु पर्छ भन्ने कुरो मैले भन्ने आँट गरे ! फेरि अर्को प्रसङ्गमा कुरा गर्दा जहाँ, जता पनि केही कुरो मिलाएर खान्की खान पर्‍यो भने – ए त्यसकाे कर्मकाण्ड मिलाएर ल्याऊ न भन्ने चलन पनि रहेछ । अनि कसैलाई भित्तैमा पुर्‍याएर दनक दिनु पर्‍यो भने पनि ‘त्यसको कर्मकाण्ड गरिदिए हुन्छ’ भन्ने सुन्नमा आयो । त्यसैले यत्रो महत्त्वको शब्दलाई पक्कै भन्न मिल्छ, क माने कर्मकाण्ड !

तलतल लागेर एक कप चिया खान्छु भनी कुन्जना काकीको चिया पसलतिर हिँडेको मात्र थिएँ, ढोकै अगाडि केदार काकासँग भेट भयो । ‘कता हो काका ?’ भनेर सोधेको । उत्तरमा काकाले भने ‘हेर न बाबू, सानो नातिको लागि एउटा कखराको किताब किन्न जाउँ भनी हिँडेको । भोलि सरस्वती पूजाको दिन छ । नातिलाई आरम्भमा क मात्र भए पनि सिकाउनु पर्‍यो भनेर आँटेको फेरि काकाले कुरैकुरामा जोस्सिँदै भने, “हेर बाबू ! मेरी आमा भन्थिन्, मैले तीन वर्षमै पहिलो अक्षर क सिकेको रे ! क लाई हेला नगर्नू है अन्तरे भन्थे बा पनि । यदि क लाई हेलाँ गरिस् भने ख मा पुग्न गाह्रो हुन्छ भन्ने उपदेश गन्यमान्यबाट पाउँथे । क बाट बनेका कति कति शब्दहरू कन्ठै गरियो आफूले ।

साँच्चै क कलाकौशलले भरिपूर्ण छ । आजकल क का कतिपय शब्दहरू शब्दकोशमा मात्र सीमित रहेका छन् । व्यवहारमा तिनका सट्टामा अङ्ग्रेजी भाषाका शब्द प्रयोग भएको पाइन्छ । हाम्रो भाषाको कस्तो दयनीय स्थिति भयो हेर त बाबू !’ भन्ने सम्मका कुरा भन्न भ्याए काकाले ।
काकाले भन्दै गए । म सुन्दै गएँ । अनि लेख्दै गएँ “क” र “क” को कथा ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Gunaram
Gunaram
1 year ago

गजव! अर्जेलले लेखेको यस्तो हुन्छ! भैरवका भतिज न हुन्?

Nepal Telecom ad
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
साँढे पुराण

साँढे पुराण

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x