टङ्कराज ढकाल ‘तितेपाती’आन्दाेलन
निर्धाका पसिना चुसे अभरमा पर्दैछ सौदामिनी उल्फाको धनमा कुतर्क अहिले चल्दै रडाको बनी पुर्खाको धरणी धमाधम निले सर्वाङ्ग चोखो भनी गोराको अथवा छ भोट तिरको खोटो छिमेकी मुनी ।

टङ्कराज ढकाल ‘तितेपाती’ :
भ्रष्टाचार भयो लुकाउन जहाँ साम्राज्य संस्थागत
पापाचार बढेछ यो मुलुकमा उन्माद चढ्दैछ त
सत्ताका हलिया निमग्न छलमा ढाँटेर अभ्यागत
नाफाखोर बने हुरुक्क पदमा चोरी चकारी सित ।१
छन् जो आशय तुच्छ तर्क घटिया यी धुन्धुकारी खल
लाचारी शठ छन् अजीणर् भरिया यी तस्करीको बल
उत्तानो पर भो अघाउन अझै दाना र पानी हुल
गुण्डाको भरमा कमाउन हिंडे यी हन्तकाली दल ।२
आश्थाको खलियो कतातिर गयो चल्दैछ आन्दोलन
मान्छेको अतिले बटारिन गयो को गर्छ मूल्याङ्कन
अर्काको भरले उचालिनु सधैं त्यागेर आफ्नोपन
सत्ताको पगरी अवैध छ यहाँ बिद्रोह आन्दोलन ।३
औंला हाल्न सिपालु छन् असुर जो औकात खै मन्थन
तानातान गरेर मूर्ख झगडा घस्ला कतै चन्दन
हाहाकार चलेर दुष्ट परको शङ्का हुने चुम्बन
बाझाबाझ चलेछ भ्रष्ट बिचमा बुझ्दैन आन्दोलन ।४
निर्धाका पसिना चुसे अभरमा पर्दैछ सौदामिनी
उल्फाको धनमा कुतर्क अहिले चल्दै रडाको बनी
पुर्खाको धरणी धमाधम निले सर्वाङ्ग चोखो भनी
गोराको अथवा छ भोट तिरको खोटो छिमेकी मुनी ।५
उम्दा पार्नु छ देश यथा सकसमा उल्टो र पाल्टो नहोस्
बिप्ल्याटो छ लुगा तरङ्ग ननिको नाङ्गो उदाङ्गो नहोस्
चौतर्फी प्रतिशोधको लहडमा उल्का लघार्दै रहोस्
यो आन्दोलन जो समस्त जनको सत्यार्थ बाटो लियोस् ।६
०००
नवलपुर
Subscribe
Login
0 Comments
Oldest








































