आर.सी. रिजालबैतरणी
झक्कड जुरुक्क उठेर- “तपाईंको खसमलाई मनपर्ने खाना, वस्तु आदि भन्दै जाने हो भने उहाँलाई सबभन्दा मनपर्ने श्रीमती होला रे ! त्यो म सकार्न सक्तिनँ । लौ आजसम्म जे भयो भयो, अब पुरेत फेर्नुस् ।”

आर. सी. रिजाल :
गाईदानको विषयमा मृतककी पत्नी सावित्री र पुरेत झक्क्ड बाजेबीच भनाभनको स्थिति सिर्जना हुन्छ ।
सावित्रीले- “बाजे तपाईंले गाई बुढी ठान्नु भयो कि कसो ? यी त पौष्टिक आहाराको कमी भएकी नेपाली नारीझैँ देखिएकी मात्र दोस्रो बेते हुन्” भनिन् ।
“मैले त्यसो भनेको हैन । काठमाडौंमा दुई कोठा भाडामा लिएको छु । यो गाई लगेर कहाँ बाँध्ने ? बरू सानो सुनको प्रतिमा दिनुस् म खुसीसाथ सकार्छु ।”
“हुँदैन बाजे मेरो उहाँको दुर्घटनामा एउटा हात गुमेको छ । त्यस्तालाई सुनको प्रतिमाले बैतरणी पार गराउन सक्दैन । हामी त गाईको पुच्छर समातेर दान गर्ने हो । धातुको हुने भए २५/३० किलोको फलामको प्रतिमा बनाएरै दिन्थ्यौँ ।”
बाजेले- “हजुरलाई म एउटा गतिलो सल्लाह दिन्छु । भैँसी दान गर्नुस् म खुसीसाथ स्विकार्छु । हजुरको श्रीमान्को एउटामात्र हात भएकोले गाईको पुच्छर समातेर तर्दा हात गलेर बैतरणीमा डुब्न बेर छैन । भैँसी भए मज्जाले चढेर पार गर्न मिल्छ । अर्को कुरा भैँसी यमदूत हो । आफ्नो वाहनले सम्मान पाएको देख्दा यमराज खुसीले गदगद हुन्छन् । आँटौँ हजुर परेको म बेहोरुँला” भने ।
“कस्ता काठा हुन् ? शास्त्रविरुद्ध जान मिल्दैन । गाई नहुने भैँसीचैँ हुने । जगत् हँसाउने कुरा नगर्नुस्” ।
“कस्तो जगत् हँसाउने भन्नुभएको ? एउटा मुखमा दुइटा जिब्रो पट्याएर राख्नेहरूले एकताका नेपालको राष्ट्रिय जनावरलाई हामी राष्ट्रियताले भरिपूर्ण हुनेले चपाए हुन्छसम्म भने । पछि वर्गीयताको स्यालहुइँया ल्याएर भैँसीले पनि राष्ट्रिय जनावर जस्तै दुध, गोबर दिने चौपाया भएकोले एकै वर्गभित्र पर्छ भन्दै सगर्व भैँसी पूजन गर्न थाले । जमाना कहाँबाट कहाँ पुगिसक्यो । तपाईँ भने उही थोत्रो स्तोत्र पाठ गर्दै हुनुहुन्छ । भैँसी दान गर्नुभयो भने ममचा बनाउने पसलेलाई एक कल फोन गर्नासाथ तुरुन्तै भैँसी किन्न आइपुग्छ । दान लिने म छँदै छु । पाप लागे त्यसको भागिदार मै हुन्छु । हजुरले एक बाहुले कमिज दानमा राख्नु भएको छ । त्यो दान लिन्न । बाहुनको चित्त दुखे पितृ रिसाउँछ्न् । होसियार !”
सावित्री- “एउटा हात हुनेलाई दुई बाहुले कमिज दिँदा उहाँ अल्झिएर काम गर्न सक्नुहुन्न । दिएको दान तपाईँ मार्फत् उहाँले पाउने हो । तपाईंले लिनैपर्छ ।”
निक्कै लामो छलफलपछि गाई दान लिने तर खरिद गर्ने ग्राहक नभेटुन्जेल यजमानकै ग्यारेजमा बाँध्ने निधो भयो ।
बोलावटअनुसार खानाको लागि भान्सामा पुग्छन् । खानामा मकैको च्याँख्ला देखेर मुख अमिलो पार्दै- “यस्तो च्याँख्ला म खान सक्तिनँ” भन्छन् ।
सावित्रीले- “तपाईंलाई थाहै छ नि मेरो उहाँ सुगरको रोगी भन्ने । भात, गुलियो, फलफूल आदि केही खानै मिल्दैन । तपाईंले खाइदिए उहाँले खाए सरह हुन्छ” भनिन् ।
झक्कड जुरुक्क उठेर- “तपाईंको खसमलाई मनपर्ने खाना, वस्तु आदि भन्दै जाने हो भने उहाँलाई सबभन्दा मनपर्ने श्रीमती होला रे ! त्यो म सकार्न सक्तिनँ । लौ आजसम्म जे भयो भयो, अब पुरेत फेर्नुस् ।” भन्दै खुट्टो बजारेर झक्क्ड हिँडे ।
सावित्री नाजवाफ भइन् ।
०००
हेटौंडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































