रातको दर्पण
भ्रम पनि नराख्नू है तिमी हेर त- त्यो दूर आकाशमा दर्पण च्यापेर उडिरहेका बाजहरू जुनेली नयनमा पसेर सपना दंश गरिरहेका सर्पहरू !
युवराज भण्डारी :
मनोहर सूर्यमुखी लहरलाई
स्पन्दित गर्दै बहने
विशाल जलाशय
ए, रातको दर्पण !
शान्त तिम्रो जलाधारमा
यो अन्तहीन आँधी किन ?
भो, नखोज तिमी जवाफ
त्यो किनारसँग,
जो आत्मरक्षाको निहुँमा
उचालिरहेको छ अहङ्कारी आकाश !
मखमली आकाशमा
यो अनवरत दहन किन?
भो, नसोध तिमी फर्केर
अर्को किनारतिर,
जो स्वाभिमानको बहानामा
जलाइरहेको छ आफैँ उभिएको किनार !
तिम्रो दर्पणमा यिनीहरूले
आफूलाई हेर्लान् भन्ने
भ्रम पनि नराख्नू है तिमी
हेर त-
त्यो दूर आकाशमा
दर्पण च्यापेर उडिरहेका बाजहरू
जुनेली नयनमा पसेर
सपना दंश गरिरहेका सर्पहरू !
कहिले आकाश कहिले छानु
चिथोर्छन् यी बाजहरू
कहिले सागर कहिले खोला
जलाउँछन् यी अक्टोपसहरू !
अनवरत बगिरहेका
मेरा आँसु सोधिरहन्छन् मलाई
कहिले भरिन्छ पेट यी बाजहरूको ?
कहिले देखिएला असली रङ्ग यी अक्टोपसहरूको ?
०००
तनहुँ, हाल क्यानडा
Subscribe
Login
0 Comments
Oldest