साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यादा खाना अस्पताल जाना !

“खाएँ त मेरै खाएँ, तिमीहरूको खाएको छु र ?” भनेर ह्याङओभरमा फतफताउनेहरू पनि होइबक्सिन्छ हाम्रो समृद्ध समाजमा । चटपटे खाएपछि राति भुँडीमा भटभटे चल्छ र टाउका अगाडी झिल्का बल्छ अनि डायरियाले ज्यान ढल्छ ।

Nepal Telecom ad

अमर अधिकारी :

भारतमा गएपछि दवाखाना, पाइखाना, दारुखाना लगायत धेरै खानाहरूका बारेमा सुनिन्छन् भने नेपालमा बारुदखाना, झ्यालखाना, चिडियाखाना लगायत धेरे खानाहरू सुनिदैआएका छन् । यहाँ प्रसङ्ग भने खाना अर्थात् खाने कुराको छ । भारतबाट ढुवानी गरेर आपराधिक तवरबाट ल्याउँदा हेभीट्रकमै थकानले गलेर अनि ढलेर मरेका भैँसी रातारात बधशालामा ल्याएर काटकुट पारेपछि त्यो मासु स्वादिस्ट मःमका लागि मःम पसलहरूमा पठाइन्छ अनि बन्छ स्वादिलो र रसिलो मःम । सबै देख्यो भने त खत्तम हुन्छ । त्यै भएर कहाँ के हुन्छ हेर्नुहुँदैन, नदेख्यो आनन्दै । ठुस्किएको मःम पसलेले प्लेटमा पस्किएको तात्तातो मःम मुखमा हाल्यो चिसो पानी घड्कायो अनि दाँतको आयु लम्ब्यायो । अहिले काठमाडौँका गल्लीगल्लीमा समेत मःम पसलहरू नाफामा चलेकै छन्, घाटा खाने अरु पसलेहरू रिसले जलेकै छन् । मरेका कुखुराका पनि स्वादिस्ट मःम महंगोमै जाने गर्छ उपभोक्ता अर्थात् मःमप्रेमीहरूको पेटमा नयाँसडकको गेटमा । चिकेन मःम बिकेन भन्न मिल्दैन । निस्फिक्री बिक्री भइहाल्छ । महाबौद्धको मःम भनेपछि सारा मान्छेहरू त्यहाँ ओइरिन्थे ।

पहिलेपहिले राँगाको मात्र मःम पाइने काठमाडौँमा अहिले रोगी, बेहोसी, देहान्त भएका सबै भैँसीको मःम मजाले विक्री हुन्छ । धेरैले तात्तातो मःम फुकीफुकी खानेगरेको देखिन्छ, बाहुनको छोराले लुकीलुकी खानेगरेको देखिन्छ । मैदाको सेतो डल्लोभित्र खल्लो नहुनेगरी मसला कोचेर बटारिएका मःमको महिमा अपरम्पार छ । किन हेर्नु भित्र कोट्याएर ? कोप्ल्याक्क मुखमा हाल्यो रसिलो मान्दै ठूलठूलो छान्दै कपाकप । यस लेखक दशवर्षअघि पोखरामा काम विशेषले जाँदा एकजनाले भटभटेको साइडमा झुण्ड्याइएको बोराको प्वालबाट मरेका चल्लाहरू फुतफुती झरेको देखेको थियो । मसँगै बसेका एकजनाले सोधे- “कहाँ लैजान थालेका यी मरेका चल्लाहरू?” भटभटेवालाले जवाफ दिन चाहेनन् वा सकेनन् त्यो त थाहा भएन । हामीलाई शङ्का चाहिँ लागेकै थियो कि- ती मरेका चल्लाहरू पक्कै पनि कुनै रेष्टुरेण्टमा लैजाने गरेको रहेछ । पर्यटकीय नगरी न हो पोखरा ! पर्यटकहरू आन्तरिक होउन् वा बाह्य । काठमाडौंमा खसीको अण्डकोष देखाएर बाख्रीको मासु धेरै बिक्री भयो । कोहीकोही मासुपसले समातिए र उनीहरूलाई पाता फर्काउने काम भयो । आफू शाकाहारी भएको कारण अहिले के छ त्यो चाहिँ पत्तो भएन । संस्कृत पठन गर्नेहरू मटनको मःम खान्छन् भने गफ गर्नेहरूले बफ मःम मन पराउँछन् ।

केही महिनाअघि एउटा पसलमा ‘.. ग्रिल हाउस’ भनेर लेखिएको साइनबोर्ड देखेपछि झ्यालमा ग्रिल हाल्नुपर्ला भनेर भाउ सोध्न गएको त ग्रिल त खानेकुराको नाम पो रहेछ । नाम पनि कस्ता कस्ता ? ‘सिजलर’ रे ‘ब्ल्याक फरेस्ट ।’ जाबो आलु तेलमा तारेपछि ‘फ्रेञ्चफाइ’ रे ! क्रञ्ची चिकेन फ्राइ रे ! के हुन् के हुन् आयातीत नामहरू ? खुरुक्क लाएर दालभात तरकारी खान छोडेर विदेशी फेसन । देश गरिब मान्छे धनी भएको देश हाम्रै हो । आयातमुखी र परनिर्भर भएको राम्रै हो ! गिँजा देखाएर पिज्जा टोक्ने अनि चिसो आइसक्रिम खाएपछि रातभरि खोक्ने, सबैखाले मनुवाहरू छन् शहरमा अनि बित्छ दिन रहरैरहरमा । गीठोको अचार मीठो नमान्ने र जुनसुकै दालहरू लसुनले झान्नेको के कमी होला र यहाँ ? जिभ्रोको मर्जीमा पाक्ने खाना नै बढी बन्छ घरघरका भान्साहरूमा ।

“सादा खाना बनारस जाना” भन्ने कहावत त सबैले भुलिसकेपछि अब भन्नुपर्ने हुन्छ “ज्यादा खाना अस्पताल खाना ।” ज्यानलाई आवश्यकताभन्दा बढी स्वाद भएको खानेकुराको ध्यान भएका र स्वास्थ्यहीतको ज्ञान नभएका कारण अस्पतालको आँगन र दैलो टेक्नुपर्ने हुन्छ र डार्सापहरूहो अनुहार देख्नुपर्ने हुन्छ । भक्तपुरको मनोहरा खोलाको कञ्चन र सफा धमिलो पानीमा पखालिएका मूला र गाजरहरू फास्टफुड र रेष्टुरेन्टहरूमा सलाद बन्छ । बाटोको छेउँमा रहेका पसलहरूमा बनेका तयारी खाद्य वस्तुमा बाटोबाट उडेर आएको सुकेको खकार र सिँगानसहितको धुलो र धुँवाका कणहरू बसेका हुन्छन् भन्ने ख्याल हामीमा हुँदैन । झर्झराउँदो खानेकुरा देखेपछि जिभ्रो सल्बलाउन थाल्छ र गोजीमा नोटको संख्या हेरिन्छ ।

“भोलि पैसा भएपछि खाउँला” भन्ने धैर्यता हामीमा छैन । चारघन्टाभन्दा बढी समय तताइएको तेलमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र त्यसले नसानसामा खराब गर्छ भन्ने विज्ञहरूको सुझाव सुन्ने हामीलाई फुर्सद नै छैन । १५ एमएम भए पुग्नेमा ५५ एमएम आयोडिन मिसाइएको आयो नूनले मान्छेको जीवन नै खतरामा छ भन्नुपर्ने अवस्था छ । अहिले नेपालमा खाइराइडका कारण थाइराइडका बिरामीहरूको सङ्ख्या ह्वात्तै बढेको छ रे । त्यस्तै ज्यादा नून खाँदा प्रेसर पनि माथि नै चढेको छ रे । डेरीमा दूध कसरी बनाइन्छ भनेर युट्युबेहरूले युट्युबमा जाकिदिएकै छन् । हेर्दा खाउँखाउँ लाग्ने तर केलाएर हेर्‍यो र भने नखाउँ नखाउँ लाग्ने सामानहरू बिना फिक्री बिक्री भएकै छन् धमाधम अनि खाइएकै छन् गमागम । खञ्चुवा उपभोक्ताहरूबाट कपाकप अनि थपाथप । उनीहरू भुँडी ढुस्स ढाडिएपछि मात्र उठ्ने गर्छन् र थोरै पानीले चुठ्नेगर्छन्, काठमाडौँमा पानीको हाहाकार छ। हाम्रा नानी बाबुहरूले अभिभावकहरूलाई र्‍यालख्याकख्ती पार्छन् “जङ्कफुड मगाउँ र भोक भगाउँ” भनेर । हाकिम बाबुले घुस खाएको पैसाले छोराछोरीको फर्माइस पूरा गर्दिन्छन् गोजी छाम्दै । फोन गरेर रेष्टुरेण्टबाट प्याकेटमा मगाइहाल्छन् र कतारहतार हसुरेर भोक भगाइहाल्छन् ।

किसानहरूलाई आज विषादी हालेर भोलि टिपेर बजारमा पुर्‍याएन भने पैसो कमाउन गाह्रो छ । अरुको भलो किन गर्नु, बेकारमा कराएर डाको बसाल्ने गरी ? किसानहरू पनि के कम ? तीनवर्ष पुरानो चामल भारतबाट नेपाल भित्रिएको पत्तो कसलाई पो होला र ! म्याद नाघेका दाल पनि उतैबाट । वर्षमा सत्तरी करोडको कोदो आयात हुने हाम्रो कुर्सीप्रधान देशलाई पहिले कृषिप्रधान देश भनिन्थ्यो, जो इतिहास भइसक्यो बिर्सनीमा गइसक्यो । मरेका बाख्राका सपेटा र कालमा परेका कुखुराका पखेटा मन पर्नेहरू शहरमा नभएका होइनन् रोस्टेड आइटमको रूपमा । फ्रिज त अहिले शहरमा मात्र होइन बिजुली पुगेको गाम ठाममा पनि बोकाएर लगिएको देखिन्छ । फ्रिजमा हुल्न हुने र हुल्न नहुने सबै हुलिन्छ । आलु, पिँडालु मात्र हो र कसै कसैले त काइँयो र ऐना समेत फ्रिजमा राख्नेगरेको मेरा यी दुई नजरले देखेकै हुन् ।

फ्रिजको ग्यास भर्दा क्यास खर्च गर्नुपर्छ भन्ने हेक्का नराख्ने र ठेक्कामा मात्रै लागिरहने मनुष्यहरूको जमात छ यहाँ । आर्सेनिकयुक्त पानी पनि घट्काइन्छ रक्सीसँग र नजिकमा परेकालाई चड्काइन्छ । घरमा गएर ढोका ढिलो खोलेको निहुँमा स्वास्नीको गालामा पड्काइन्छ र बिहान आठबजे छिटै उठेर समाजलाई तथानाम भनेर पनि भड्काइन्छ । “खाएँ त मेरै खाएँ, तिमीहरूको खाएको छु र ?” भनेर ह्याङओभरमा फतफताउनेहरू पनि होइबक्सिन्छ हाम्रो समृद्ध समाजमा । चटपटे खाएपछि राति भुँडीमा भटभटे चल्छ र टाउका अगाडी झिल्का बल्छ अनि डायरियाले ज्यान ढल्छ । हार्पिक बनाउने रसायन पानीपुरीमा मिसाइदिएपछि एघार-बाह्र पढ्नेहरू पद्मकन्या कलेज अगाडि खानका लागि लाम बसेका देखिन्छन् कलेज र स्कूलको डरेसमै । पिरो रसायन, रङ रसायन, अमिलो रसायन । रसायन नै रसायन मिसाएर बनाइएको पानीपुरी खाएपछि भुँडीमा हुरी नचलेर के चलोस् । हुरी चलेपछि अभिभावकहरूसँग दूरी बढ्ने नै भयो । अब “सादा खाना बनारस जाना” होइन “ज्यादा खाना अस्पताल जाना” भनेर नारा लगाऔँ है त !

०००
खुंग्री, रोल्पा ।
हालः बुढानिलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x