अमर अधिकारीज्यादा खाना अस्पताल जाना !
“खाएँ त मेरै खाएँ, तिमीहरूको खाएको छु र ?” भनेर ह्याङओभरमा फतफताउनेहरू पनि होइबक्सिन्छ हाम्रो समृद्ध समाजमा । चटपटे खाएपछि राति भुँडीमा भटभटे चल्छ र टाउका अगाडी झिल्का बल्छ अनि डायरियाले ज्यान ढल्छ ।

अमर अधिकारी :
भारतमा गएपछि दवाखाना, पाइखाना, दारुखाना लगायत धेरै खानाहरूका बारेमा सुनिन्छन् भने नेपालमा बारुदखाना, झ्यालखाना, चिडियाखाना लगायत धेरे खानाहरू सुनिदैआएका छन् । यहाँ प्रसङ्ग भने खाना अर्थात् खाने कुराको छ । भारतबाट ढुवानी गरेर आपराधिक तवरबाट ल्याउँदा हेभीट्रकमै थकानले गलेर अनि ढलेर मरेका भैँसी रातारात बधशालामा ल्याएर काटकुट पारेपछि त्यो मासु स्वादिस्ट मःमका लागि मःम पसलहरूमा पठाइन्छ अनि बन्छ स्वादिलो र रसिलो मःम । सबै देख्यो भने त खत्तम हुन्छ । त्यै भएर कहाँ के हुन्छ हेर्नुहुँदैन, नदेख्यो आनन्दै । ठुस्किएको मःम पसलेले प्लेटमा पस्किएको तात्तातो मःम मुखमा हाल्यो चिसो पानी घड्कायो अनि दाँतको आयु लम्ब्यायो । अहिले काठमाडौँका गल्लीगल्लीमा समेत मःम पसलहरू नाफामा चलेकै छन्, घाटा खाने अरु पसलेहरू रिसले जलेकै छन् । मरेका कुखुराका पनि स्वादिस्ट मःम महंगोमै जाने गर्छ उपभोक्ता अर्थात् मःमप्रेमीहरूको पेटमा नयाँसडकको गेटमा । चिकेन मःम बिकेन भन्न मिल्दैन । निस्फिक्री बिक्री भइहाल्छ । महाबौद्धको मःम भनेपछि सारा मान्छेहरू त्यहाँ ओइरिन्थे ।
पहिलेपहिले राँगाको मात्र मःम पाइने काठमाडौँमा अहिले रोगी, बेहोसी, देहान्त भएका सबै भैँसीको मःम मजाले विक्री हुन्छ । धेरैले तात्तातो मःम फुकीफुकी खानेगरेको देखिन्छ, बाहुनको छोराले लुकीलुकी खानेगरेको देखिन्छ । मैदाको सेतो डल्लोभित्र खल्लो नहुनेगरी मसला कोचेर बटारिएका मःमको महिमा अपरम्पार छ । किन हेर्नु भित्र कोट्याएर ? कोप्ल्याक्क मुखमा हाल्यो रसिलो मान्दै ठूलठूलो छान्दै कपाकप । यस लेखक दशवर्षअघि पोखरामा काम विशेषले जाँदा एकजनाले भटभटेको साइडमा झुण्ड्याइएको बोराको प्वालबाट मरेका चल्लाहरू फुतफुती झरेको देखेको थियो । मसँगै बसेका एकजनाले सोधे- “कहाँ लैजान थालेका यी मरेका चल्लाहरू?” भटभटेवालाले जवाफ दिन चाहेनन् वा सकेनन् त्यो त थाहा भएन । हामीलाई शङ्का चाहिँ लागेकै थियो कि- ती मरेका चल्लाहरू पक्कै पनि कुनै रेष्टुरेण्टमा लैजाने गरेको रहेछ । पर्यटकीय नगरी न हो पोखरा ! पर्यटकहरू आन्तरिक होउन् वा बाह्य । काठमाडौंमा खसीको अण्डकोष देखाएर बाख्रीको मासु धेरै बिक्री भयो । कोहीकोही मासुपसले समातिए र उनीहरूलाई पाता फर्काउने काम भयो । आफू शाकाहारी भएको कारण अहिले के छ त्यो चाहिँ पत्तो भएन । संस्कृत पठन गर्नेहरू मटनको मःम खान्छन् भने गफ गर्नेहरूले बफ मःम मन पराउँछन् ।
केही महिनाअघि एउटा पसलमा ‘.. ग्रिल हाउस’ भनेर लेखिएको साइनबोर्ड देखेपछि झ्यालमा ग्रिल हाल्नुपर्ला भनेर भाउ सोध्न गएको त ग्रिल त खानेकुराको नाम पो रहेछ । नाम पनि कस्ता कस्ता ? ‘सिजलर’ रे ‘ब्ल्याक फरेस्ट ।’ जाबो आलु तेलमा तारेपछि ‘फ्रेञ्चफाइ’ रे ! क्रञ्ची चिकेन फ्राइ रे ! के हुन् के हुन् आयातीत नामहरू ? खुरुक्क लाएर दालभात तरकारी खान छोडेर विदेशी फेसन । देश गरिब मान्छे धनी भएको देश हाम्रै हो । आयातमुखी र परनिर्भर भएको राम्रै हो ! गिँजा देखाएर पिज्जा टोक्ने अनि चिसो आइसक्रिम खाएपछि रातभरि खोक्ने, सबैखाले मनुवाहरू छन् शहरमा अनि बित्छ दिन रहरैरहरमा । गीठोको अचार मीठो नमान्ने र जुनसुकै दालहरू लसुनले झान्नेको के कमी होला र यहाँ ? जिभ्रोको मर्जीमा पाक्ने खाना नै बढी बन्छ घरघरका भान्साहरूमा ।
“सादा खाना बनारस जाना” भन्ने कहावत त सबैले भुलिसकेपछि अब भन्नुपर्ने हुन्छ “ज्यादा खाना अस्पताल खाना ।” ज्यानलाई आवश्यकताभन्दा बढी स्वाद भएको खानेकुराको ध्यान भएका र स्वास्थ्यहीतको ज्ञान नभएका कारण अस्पतालको आँगन र दैलो टेक्नुपर्ने हुन्छ र डार्सापहरूहो अनुहार देख्नुपर्ने हुन्छ । भक्तपुरको मनोहरा खोलाको कञ्चन र सफा धमिलो पानीमा पखालिएका मूला र गाजरहरू फास्टफुड र रेष्टुरेन्टहरूमा सलाद बन्छ । बाटोको छेउँमा रहेका पसलहरूमा बनेका तयारी खाद्य वस्तुमा बाटोबाट उडेर आएको सुकेको खकार र सिँगानसहितको धुलो र धुँवाका कणहरू बसेका हुन्छन् भन्ने ख्याल हामीमा हुँदैन । झर्झराउँदो खानेकुरा देखेपछि जिभ्रो सल्बलाउन थाल्छ र गोजीमा नोटको संख्या हेरिन्छ ।
“भोलि पैसा भएपछि खाउँला” भन्ने धैर्यता हामीमा छैन । चारघन्टाभन्दा बढी समय तताइएको तेलमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र त्यसले नसानसामा खराब गर्छ भन्ने विज्ञहरूको सुझाव सुन्ने हामीलाई फुर्सद नै छैन । १५ एमएम भए पुग्नेमा ५५ एमएम आयोडिन मिसाइएको आयो नूनले मान्छेको जीवन नै खतरामा छ भन्नुपर्ने अवस्था छ । अहिले नेपालमा खाइराइडका कारण थाइराइडका बिरामीहरूको सङ्ख्या ह्वात्तै बढेको छ रे । त्यस्तै ज्यादा नून खाँदा प्रेसर पनि माथि नै चढेको छ रे । डेरीमा दूध कसरी बनाइन्छ भनेर युट्युबेहरूले युट्युबमा जाकिदिएकै छन् । हेर्दा खाउँखाउँ लाग्ने तर केलाएर हेर्यो र भने नखाउँ नखाउँ लाग्ने सामानहरू बिना फिक्री बिक्री भएकै छन् धमाधम अनि खाइएकै छन् गमागम । खञ्चुवा उपभोक्ताहरूबाट कपाकप अनि थपाथप । उनीहरू भुँडी ढुस्स ढाडिएपछि मात्र उठ्ने गर्छन् र थोरै पानीले चुठ्नेगर्छन्, काठमाडौँमा पानीको हाहाकार छ। हाम्रा नानी बाबुहरूले अभिभावकहरूलाई र्यालख्याकख्ती पार्छन् “जङ्कफुड मगाउँ र भोक भगाउँ” भनेर । हाकिम बाबुले घुस खाएको पैसाले छोराछोरीको फर्माइस पूरा गर्दिन्छन् गोजी छाम्दै । फोन गरेर रेष्टुरेण्टबाट प्याकेटमा मगाइहाल्छन् र कतारहतार हसुरेर भोक भगाइहाल्छन् ।
किसानहरूलाई आज विषादी हालेर भोलि टिपेर बजारमा पुर्याएन भने पैसो कमाउन गाह्रो छ । अरुको भलो किन गर्नु, बेकारमा कराएर डाको बसाल्ने गरी ? किसानहरू पनि के कम ? तीनवर्ष पुरानो चामल भारतबाट नेपाल भित्रिएको पत्तो कसलाई पो होला र ! म्याद नाघेका दाल पनि उतैबाट । वर्षमा सत्तरी करोडको कोदो आयात हुने हाम्रो कुर्सीप्रधान देशलाई पहिले कृषिप्रधान देश भनिन्थ्यो, जो इतिहास भइसक्यो बिर्सनीमा गइसक्यो । मरेका बाख्राका सपेटा र कालमा परेका कुखुराका पखेटा मन पर्नेहरू शहरमा नभएका होइनन् रोस्टेड आइटमको रूपमा । फ्रिज त अहिले शहरमा मात्र होइन बिजुली पुगेको गाम ठाममा पनि बोकाएर लगिएको देखिन्छ । फ्रिजमा हुल्न हुने र हुल्न नहुने सबै हुलिन्छ । आलु, पिँडालु मात्र हो र कसै कसैले त काइँयो र ऐना समेत फ्रिजमा राख्नेगरेको मेरा यी दुई नजरले देखेकै हुन् ।
फ्रिजको ग्यास भर्दा क्यास खर्च गर्नुपर्छ भन्ने हेक्का नराख्ने र ठेक्कामा मात्रै लागिरहने मनुष्यहरूको जमात छ यहाँ । आर्सेनिकयुक्त पानी पनि घट्काइन्छ रक्सीसँग र नजिकमा परेकालाई चड्काइन्छ । घरमा गएर ढोका ढिलो खोलेको निहुँमा स्वास्नीको गालामा पड्काइन्छ र बिहान आठबजे छिटै उठेर समाजलाई तथानाम भनेर पनि भड्काइन्छ । “खाएँ त मेरै खाएँ, तिमीहरूको खाएको छु र ?” भनेर ह्याङओभरमा फतफताउनेहरू पनि होइबक्सिन्छ हाम्रो समृद्ध समाजमा । चटपटे खाएपछि राति भुँडीमा भटभटे चल्छ र टाउका अगाडी झिल्का बल्छ अनि डायरियाले ज्यान ढल्छ । हार्पिक बनाउने रसायन पानीपुरीमा मिसाइदिएपछि एघार-बाह्र पढ्नेहरू पद्मकन्या कलेज अगाडि खानका लागि लाम बसेका देखिन्छन् कलेज र स्कूलको डरेसमै । पिरो रसायन, रङ रसायन, अमिलो रसायन । रसायन नै रसायन मिसाएर बनाइएको पानीपुरी खाएपछि भुँडीमा हुरी नचलेर के चलोस् । हुरी चलेपछि अभिभावकहरूसँग दूरी बढ्ने नै भयो । अब “सादा खाना बनारस जाना” होइन “ज्यादा खाना अस्पताल जाना” भनेर नारा लगाऔँ है त !
०००
खुंग्री, रोल्पा ।
हालः बुढानिलकण्ठ, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest









































