बिन्दु दहाल ‘मूकदर्शक’वृद्धको गथासो (खण्ड- ३)
ठुलै बाध्यतामा फस्यो जिन्दगानी तिखा बाण हान्छ्न् छ छाती निसानी सबैको खुसीको अचानो भएँ म म कस्तो अभागी बिकामे रहेँ म ।

बिन्दु दाहाल मूकदर्शक :
म हिँड्ने हिजोका भए मार्ग नौला
म डुल्ने बगैँचाहरू के गरौला
म पौडी जहाँ खेल्दथे ताल खोला
बिराना बने छन् सबै छन् अभोला ।२२
मलाई सधैँ स्नानमा हुन्छ साह्रो
कठ्याङ्रिन्छु जाडो हुँदाखेरि गाह्रो
कसैले गरेनन् कवै ख्याल मेरो
म तड्पिन्छु आफैँ बनी झन् अँध्यारो २३
हियामा खियाको कयौँ पत्र हुन्छन्
व्यथाका तरेली बढी व्योम छुन्छ्न्
म दुर्भाग्यलाई सधैँ छेल्न खोज्छु
सही कष्ट आफैँ खुसीशान्ति रोज्छु ।२४
मलाई बिथोल्ने गिजोल्नेहरू छन्
विनाकाम हाँसो बिरोल्नेहरू छन्
म डाँडा कुनाकन्दरा ती नियाल्छु
बनी शुष्क आफ्नै कथा पढ्न थाल्छु ।२५
पढाएँ बढाएँ सबै बालबच्चा
थियो भित्र चिन्ता नहुन् जीर्ण कच्चा
म भोकै म प्यासै तिनै निम्ति बाँचे
कयौँ चोट पर्दा तिनै निम्ति हाँसे । २६
न भोकै सुताएँ न नाङ्गै हिँडाएँ
सबैका सदिच्छा बलैले पुर्याएँ
सुनाएँ अनेकौँ कथा शिष्टताका
सुने गीत सङ्घर्षका दिव्य भाखा ।२७
अनेकौं थिए कल्पनाका तरेली
लुकी पुच्छ्दथेँ ती भिजेका परेली
परे दु:ख सन्तान छन् भोलि हेर्ने
भनी ढुक्क हुन्थेँ भए यी नटेर्ने । २८
ठुलै बाध्यतामा फस्यो जिन्दगानी
तिखा बाण हान्छ्न् छ छाती निसानी
सबैको खुसीको अचानो भएँ म
म कस्तो अभागी बिकामे रहेँ म । २९
अकर्मण्यताका उठे ज्वारभाटा
म हिँड्ने म भुल्ने भए बन्द बाटा
बिलौना गरेको नठान्नू कसैले
भएकै कुरा हुन् कहेँ यो यसैले । ३०
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































