साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्रान्सपरेन्सी कविहरू

न फर्मको नाम न बिल नम्बर न मिति न सामानको परिमाण । यी कुराहरू ती कविलाई के थाहा ? कविहरू शब्दका घोडा चढ्छन् । सुशासनका लागि भ्रष्टाचारविरुद्ध साहित्यिक अभियानमा पनि शब्दकै घोडा चढ्ने हुन् ।

Nepal Telecom ad

विश्व शाक्य :

हाम्रा बौद्धमानबाका बूढाबुढी बिहानबिहानै भान्साकोठामा गन्थन गर्दै थिए । बौद्धमानबा खबरकागज पढदै थिए । काकी चियानास्ता तयारीमा जुटिरहेकी थिइन् । खबरकागज पढ्दापढ्दै एकाएक बौद्धमानबाले भने- ऐ बूढी, हेर हेर, हेर त अचम्मै भयो,

– यो मुलुकमा अचम्म मान्नु नै के छ र ?’ काकीले भनिन् ।
– ल ऽऽ …. यल्ले कुरै बुझ्या छैन । सुन त आजको अखबारमा के लेख्या छ ?
– के लेख्या हुँदो हो र ? उही मान्छे मारेको, अपहरण गरेको, गायब गरेको त्यस्तैत्यस्तै त होलान नि । अर्थोक लेख्न नै के सक्छन् ? जाबो हवाइफायर गर्नेको नामसम्म लेख्न नसक्नेहरूले अर्थोक के लेख्लान् ?
– तैँले भनेको त्यो त ठिकै हो । तर यसमा अचम्मै समाचार दिया छ भन्या । बुझिस् ? अब कविहरू पनि भ्रष्टाचारविरोधी अभियानमा लाग्ने रे । सुशासनका पक्षमा भ्रष्टाचारविरुद्ध साहित्यिक अभियान चलाउने रे । अचम्मै होइन ?

– अचम्म त हुने नै भयो नि । आफ्नै स्वास्नीको विश्वास जित्न नसक्न, मानसम्मानका लागि मरिहत्ते गर्ने कविहरूले सुशासनका लागि भ्रष्टाचारविरुद्ध कविता लेखेर देशमा सुशासन ल्याउने ?
– लऽऽ …गरे नहुने के छ र बूढी ?
– गर्‍या गर्‍रै हो । ऊ प्रतिगमन फर्केर फर्लक्कै भयो । एउटा मन्त्री तह लाउन सक्या छैन । अर्काथरीले प्रतिगमन आंशिक सच्चियो भन्थे अब त त्यो पनि अनुवंशिक भैसक्यो । गरे त हुन्थ्यो नि ।
– यसले कुरा गरेकी हेरन यसले कुरा गरेकी कहाँ कवि साहित्यकार, कहाँ नेतागिरी ? कविहरूका कामै ठूला, नामै ठूला । तिमी हामीजस्ता भासेभुसे हुन् कवि साहित्यकार भनेका ?
– भो भो थाहा छ हामीलाई पनि । वनले नचिन्या बाघ होइन, बाघले नचिन्या वन होइन । कवि साहित्यकारका नाममात्र ठूला त हुन नि । दाम भने भुक्का । स्वास्नीलाई चन्दन घोटेझैं घोटेर कमाएको नाम पनि के नाम ?
– तँलाई थाहै छैन । प्याच्च बोल्न पाए भयो ।

– के को प्याच्च बोल्नु ? हामीलाई थाहा छैन ? लौ हजुर नै भन्नुहोस् त कवि, साहित्यकारका नाम साँच्चिकै पौरखी नाम हुने भए मलाई मानसम्मान दे, पुरस्कार दे भनेर दरखास्त किन हाल्दै हिँड्नु पथ्र्यो पौरखीको पौरख नै मान, सम्मान पुरस्कार होइन ? फेरि मान, सम्मान, पुरस्कार पनि काम, योग्यता हेरेर दिने हुन् र ? धुपौरे, चम्चे हो होइन हेरेर दिन्छन् । कुरा गर्नुहुन्छ ? आ-आप्mना धुपाउरे चम्चेहरूलाई जम्मागरी ठालु भएर हिँड्नेहरूले भ्रष्टाचारविरुद्ध कविता लेखेर सुशासन ल्याउने ?

– तैँले, तैँले राम्ररी कुरै बुझ्या छैनस् । केही कवि, साहित्यकार त्यस्ता भए भन्दैमा सबै त्यस्तै हुन्छन् ? फेरि यो कार्यक्रम कवि, साहित्यकारका मात्र पनि त होइनन् । ‘ट्रान्सपरेन्सी …’ के जाति भन्ने संस्थाको सहयोगमा भएको रहेछ । अनि त्यो संस्थाको हर्ताकर्ता भनेका व्यापार व्यवसायीहरू रहेछन् । यसो भएपछि कविहरूले मात्र गर्ने भन्ने कुरा त रहेन नि ।

– अनि, अनि त्यो ‘ट्रान्सपरेन्सी ….’ के जाति भनेको के हो नि बूढा ?
– ‘ट्रान्सपरेन्सी’ भनेको जो जेजस्तो छ त्यो त्यस्तै देखिने भनेको ।
– छि … त्यस्तो पनि संस्था हुन्छ ? जो जेजस्तो छ त्यस्तै देखिने भनेपछि नकचरो संस्था भइहाल्यो नि । त्यस्तो सरमलाग्दो कुरा । हुँदै नहुने कुरा ।

– हुँदै नहुने कुरा भएका भए त्यत्रात्यत्रा घागरान घागरान दिग्गजहरू यस्ता काममा लाग्छन् ? तिमीलाई थाहै छैन । ‘मुसा खाईखाई अघाएका बिरालाहरू हजका लागि’ भनेका यस्तै हुन् ।
– के हो त्यो भनेको ?

– यस्ती त छे अब । सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानमा जुट्ने र जुटाउनेहरू अधिकांश व्यापार व्यवसाय र तिनीसँग आबद्ध संस्थाका व्यक्तिहरू छन् । अब व्यापार व्यवसाय भनेको त्यस्तो वृक्ष हो जसको मूल जरो भ्रष्टाचारसँगै पलाएको हुन्छ । जसरी वृक्ष मूल जरो बेगर बच्न सक्तैन त्यस्तै भ्रष्टाचार बेगर उद्योग, व्यवसाय व्यापार चल्नै सक्तैन । त्यसै भएर उद्योग गरेर मात्र सम्भव नहुने भएर धन्दा पनि गर्नुपर्छ, ‘उद्योगधन्दा’ गर भनिएको । यो ‘धन्दा’ भनेको बोट वृक्षको मूल जरोजस्तै भ्रष्टाचाररूपी जरो हो । यो भ्रष्टाचाररूपी जरो जतिजति गहिरिँदै जान्छ, फैलिँदै जान्छ वृक्षमा त्यतित्यति फल लाग्दै जाने हुन्छ । त्यही भएर ‘ट्रान्सपरेन्सी’ के जाति भन्ने संस्थालाई यही तत्वज्ञान थाहा भएर जमिनमुनिको त्यो भ्रष्टाचाररूप जरोलाई देखाउनका लागि ‘सुशासनका लागि भ्रष्टाचारविरुद्ध साहित्यिक अभियान’ सुरु गरिएको हुनुपर्छ ।

– यो ट्रान्सपरेन्सी कि के जाति भन्ने संस्थाले हाम्रा स्वयं सजाय भोगी उद्योगपति बन्धुबाट यो प्रेरणा पाएका होलान् हगि बूढा ?
– किन र ?
– ल ऽऽ … बूढा पनि, ती बन्धुले एकताका मैले भ्रष्टाचार गरेको छु, घुस ख्वाएर देशको राजश्व ठगेको छु, ममाथि भ्रष्टाचारको कारबाही हुनुपर्छ भनेर गर्नु गरेनन् र ? आफै सजाय भागिदार भएर आँखामा पट्टी बाँधेर कति दिन कारमा हिँडे । कम्ता सजाय भोगेका हुन् तिनले ? त्यो बेला त उनी बुद्ध समान त्यागी भएका हुन् नि । तर के गर्नु ? सरकारले तिनको भ्रष्टाचार प्रमाणित नै गर्न सकेनन । सजाय गरोस् पनि कसरी ? भ्रष्टाचारको जरो हुँदो रहेछ जमिनमुनि तलतल कता हो कता ? सरकारले खोज्दोरहेछ पातपातमा, डालीडालीमा । अनि सरकार चलाउनेको थालिथाली फलाहारले भरिएपछि भ्रष्टाचार देखिँदो रहेछ नै कहाँ ? त्यही भएर ‘ट्रान्सपरेन्सी …’ के जाति भनेका रहेछन् । होइन त बूढा ?

– तेरा घ्याम्पा बल्ल घाम लाग्या जस्तो छ ।
– तर एउटा कुरा बूढा
– के कुरा ?

– के कुरा भने नि बूढा, यी लेखक कवि भनेका सन्काहा हुन् । तिनलाई कल्पनाको घोडा चढ्न पाएसी पुग्यो । कल्पनाको घोडा चढ्यो कल्पनामै सयर गर्‍यो । घरगृहस्थी कसरी चलिरहेछ तिनलाई के थाहा ? सामानको भाऊ दिनानुदिन बढ्याबढै छ, चढ्याचढै छ । घरी यता बन्द घरी उता बन्द । बन्द हुने हल्लामात्र चल्नुपर्छ यता स्यालको सिङ हराएझै सामान हराउन थाल्छन् । सामान महंगो भयो भनेर कतै उजुरी बाजुरी गरौँ भने पनि सामानको न बिल पाइन्छ त विजक पाइन्छ । खेस्रा कागजमा कोरकार गरेर ठ्याँस्स फालिदिन्छन् । न फर्मको नाम न बिल नम्बर न मिति न सामानको परिमाण । यी कुराहरू ती कविलाई के थाहा ? कविहरू शब्दका घोडा चढ्छन् । सुशासनका लागि भ्रष्टाचारविरुद्ध साहित्यिक अभियानमा पनि शब्दकै घोडा चढ्ने हुन् । अन्यथा कविहरू भ्रष्टाचारविरुद्ध कविता लेख्न हाम्रा कार्यालय आउँदैछन्, आऔँ हामी सबै मिलेर घुस खाऔँ उहाँहरूको स्वागत गरौँ भनेर कवि महोदयहरूका अगाडि घुस खाएर कुन कार्यालयका कर्मचारीले देखाइदिन्छन् र ? ट्रान्सपरेन्सी कि के जाति भन्ने संस्थालार्ई कार्यालयमा हुने, गरिने भ्रष्टाचारबारे यकिन जानकारी भएन कविता लेख्न पर्‍यो रे लौ आफ्नै उद्यमी व्यापारीले खेस्रा कागजमा बिल दिएर करोडौंको राजस्व ठगी गरिरहेको त थाहा छ नि यतातिर किन चासो राख्दैनन् ? यो बुझिनसक्नु छ बा ऽऽ…

– हत्तेरी लाटी यही बुझ्न नसक्ने भएर नै त कविहरूलाई कविता लेख्न जिम्मा लगाइदिएका । कविहरूले यसबारे कविता लेखिदिएपछि र वाचन गरिदिएपछि काम सकियो । बुझ्नका लाग कविता कसले लेखेका छन् र ? कविता लेख्नेले त कविता बुझ्दैनन् । कविता लेख्ने काम हो लेखियो, सकियो । किताबमा भँगेरा अक्षरमा नाम लेखिन्छ बस् भइहाल्यो नि काम । त्यसपछि सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला अरू खलासँ । त्यही भएर ट्रान्सपरेन्सीले कवि, साहित्यकारहरूलाई जिम्मा लगाएका ।
– मान्छेहरू बाठा रहेछन् ।
– त्यसो नभए त्यसै ठूलामान्छे हुन्छन् ?

०००
पोखरा ।

फित्काैली, पूर्णाङ्क ४२, (२०८१ असार साउन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x