यस सर !
नो स्ट्रगल । नो रिभोलुसन । म हारें । उहाँ त मलाई लिन पो आउँदै हुनुहुन्छ । म लड्न चाहन्थें । मेरो क्रान्तिकारिता ! मेरो क्रान्तिकारिता ! देवी, तिमी मेरा बाउबाट मेरो तिरस्कार गराऊ । चे ग्वेभारा ! डियर चे !’
हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
एक जना निकै राम्रा लेखक थिए । उनी राजधानी गएछन् । एउटा समारोहमा उनको भेट मुख्यमन्त्रीसित भयो । मुख्यमन्त्रीसित उनको पहिलेदेखि नै परिचय थियो । मुख्यमन्त्रीले उनलाई भने, ‘आनन्दमा त हुनुहुन्छ नि तपाईं ? कुनै अप्ठ्यारो त छैन ?’ उनले भनिदिए, ‘अप्ठ्यारो त छ तर सामान्य छ । घरको समस्या छ । ठिकैको घर भए अलि सुविस्तासित लेखपढ गर्न पाइन्थ्यो ।’ मुख्यमन्त्रीले भने, ‘म चिफ सेक्रेटरीलाई भनिदिन्छु । उनले तपाईंका लागि घरको प्रबन्ध मिलाइदिन्छन् ।’
मुख्यमन्त्रीले चिफ सेक्रेटरीसित अमुक लेखकलाई एउटा घरको व्यवस्था गरिदिनू भन्ने आदेश दिए ।
चिफ सेक्रेटरीले भने, ‘यस सर !’
चिफ सेक्रेटरीले कमिस्नरलाई भने । कमिस्नरले भने , ‘यस सर !’
कमिस्नरले कलेक्टरलाई भने । कलेक्टरले भने, ‘यस सर !’
कलेक्टरले रेन्ट कन्ट्रोलरसित भने । उनले भने, ‘यस सर !’
रेन्ट कन्ट्रोलरले रेन्ट इन्स्पेक्टरलाई भने र उनले पनि भनिदिए, ‘यस सर !’
सबै प्रक्रिया पूरा भयो । सिङ्गो प्रशासन घर उपलब्ध गराउने काममा जुट्यो । वर्ष डेढ वर्षपछि लेखकको फेरि भेट भयो मुख्यमन्त्रीसित । मुख्यमन्त्रीलाई लेखकको कुनै काम हुनुपर्ने थियो भन्ने कुराको सम्झना भयो । ए, घर उपलब्ध गराउनु थियो ।
उनले सोधे, ‘भन्नुस्, अब त राम्रो घर पाउनुभयो होला नि त !’
लेखकले भने, ‘खै, पाइएन त !’
मुख्यमन्त्रीले भने, ‘हँ ! मैले त आर्को दिन नै भनिदिएको थिएँ ।’
लेखकले भने, ‘माथिदेखि तलसम्म ‘यस सर !’ भयो ।’
क्रान्तिकारीको कथा
‘क्रान्तिकारी’ भन्ने उसले उपनाम राखेको थियो । राम्रो पढेलेखेको युवक थियो । स्वस्थ र सुन्दर थियो । नोकरी पनि राम्रो थियो । विद्रोही थियो । माक्सर् र लेनिनका उद्धरण दिन्थ्यो भने चे ग्वेभाराको भक्त थियो ।
कफी हाउसमा धेरै बेरसम्म बसिरहन्थ्यो र खुब कुरा गथ्र्यो । सधैं क्रान्तिकारिताको तनावमा हुन्थ्यो । सबै उल्टोपाल्टो पार्नुपर्छ, सबै फेर्नुपर्छ भन्थ्यो । कपाल बढाएको र दाह्री पनि मिलाएर बढाएको थियो ।
विद्रोहको घोषणा गथ्र्यो । केही गरिहाल्ने अवसर खोज्थ्यो । भन्थ्यो, ‘मेरा बाको पुस्ता छिटै मर्नुपर्छ । मेरा बा रूढीवादी, जातिवादी र प्रतिक्रियावादी हुनुहुन्छ । खाँटी बुर्जुवा हुनुहुन्छ । उहाँ मर्दा न त मैले कपाल खौरिनेछु न उहाँको किरिया गर्नेछु । मैले सबै परम्पराहरूलाई भताभुङ्ङ पारिदिनेछु । चे ग्वेभारा जिन्दावाद !’
कुनै साथीले भन्थ्यो, ‘तर तिम्रा बुवाले त तिमीलाई माया गर्नुहुन्छ नि !’
क्रान्तिकारीले भन्थ्यो, ‘माया ? हो, सबै बुर्जुवाहरूले क्रान्तिकारिताको हत्या गर्न माया गरेझैं गर्छन् । यो माया पनि एउटा षड्यन्त्र हो । तिमीहरू बुझ्दैनौ । अहिले मेरा बाउ कुनै यस्तो बाहुनको खोजीमा छन् जससित बिसपच्चिस हजार रुपैयाँ लिएर उसकी छोरीसित मेरो बिहे गरिदिनेछन् । तर मैले हुन दिन्नँ । मैले आफ्नो जातिमा विवाह नै गर्दिनँ । अर्को जातिको कुनै नीच जातिकी केटीसँग विवाह गर्छु । अनि मेरा बाउ टाउको ठोकेर बस्छन् ।
साथीले भन्यो, ‘यदि तिम्रो कुनै केटीसँग प्रेम भयो र संयोगले त्यो केटी ब्राह्मण रहिछ भने त गर्छौ नि ?’
उसले भन्यो, ‘कुरै छैन । मैले उसलाई छाडिदिन्छु । कुनै क्रान्तिकारीले पनि आफ्नो जातिकी केटीसँग न त प्रेम गर्छ न विवाह गर्छ । मेरो प्रेम एउटी कायस्थ केटीसँग छ र मैले उसैसँग बिहे गर्छु ।’
एक दिन उसले कायस्थ केटीसँग कोर्टमा विवाह गर्यो । उसलाई लिएर आफ्नो सहरमा आयो र साथीको घरमा बस्न थाल्यो ।
निकै बलिदानी मुडमा थियो । भन्दै थियो, ‘आई ब्रोक देअर नेक । मेरा बाउले यति बेला टाउको ठटाइरहेका होलान् र आमा रुँदै होलिन् । टोलछिमेकका मानिसहरूलाई बटुलेर मेरा बाउ फलाक्दै होलान् – ‘हाम्रा लागि केटो मरिसक्यो ।’ ‘उनले मलाई छाडिदिनेछन् । मलाई सम्पत्तिबाट वञ्चित गरिदिनेछन् । तर आई डोन्ट केयर । म कुनै पनि बलिदान गर्न तत्पर छु । त्यो घर मेरा लागि दुस्मनको घर भयो । बट आई विल फाइट टु दि एन्ड – टु दि एन्ड -’
ऊ बरन्डामा घुम्थ्यो अररिएर । फेरि बस्थ्यो अनि भन्थ्यो, ‘बस, सङ्घर्ष आइरहेको छ ।’
उसको एउटा साथी आयो र भन्यो, ‘तिमी आफ्नी पत्नीलाई लिएर सोझै घर किन जाँदैनौ भनेर तिम्रा बाबा भन्दै हुनुहुन्थ्यो । उहाँ त निकै शान्त हुनुहुन्थ्यो । छोरा र बुहारीलाई घर ल्याओ भनेर भन्दै हुनुहुन्थ्यो ।
ऊ उत्तेजित भयो । ‘अँ, बुर्जुवा हिपोक्र्यासी । यो एउटा षड्यन्त्र हो । उहाँले मलाई घर बोलाएर मेरो अपमान गरेर र हल्ला गरेर निकाल्नुहुनेछ । उहाँले मलाई त्यागिसकेपछि म किन सम्झौता गरूँ ? म भाडामा दुईवटा कोठा लिएर बस्छु ।’
साथीले भन्यो, ‘तर उहाँले तिमीलाई कहाँ त्याग्नुभएको छ र ?’
उसले भन्यो, ‘मलाई सबै थाहा छ । आई विल फाइट ।’
साथीले भन्यो, ‘जब लडाइँ नै छैन भने फाइट के गर्छौ ?’
क्रान्तिकारी कल्पनामा थियो । हतियार उध्याउँदै थियो । बारुद सुकाउँदै थियो । क्रान्तिको निणर्ायक क्षण आउँदै छ । म वीरतापूर्वक लड्छु । बलिदान हुन्छु ।
तेस्रो दिन उसको अभिन्न साथी आयो । उसले भन्यो, ‘तिम्रा आमाबुवा ट्याक्सी लिएर तिमीलाई लिन आउँदै हुनुुहुन्छ । आइतवार तिम्रो विवाहको उपलक्षमा भोज पनि छ । यस्तो निमन्त्रणापत्र बाँडिँदै छ ।’
क्रान्तिकारीले टाउको समात्यो । पसिना बगाउन थाल्यो । पहेंलो भयो । बोल्यो, ‘हत्तेरिका ! सबै समाप्त भयो । जीवनभरिको सङ्घर्षको साधना समाप्त भयो । नो स्ट्रगल । नो रिभोलुसन । म हारें । उहाँ त मलाई लिन पो आउँदै हुनुहुन्छ । म लड्न चाहन्थें । मेरो क्रान्तिकारिता ! मेरो क्रान्तिकारिता ! देवी, तिमी मेरा बाउबाट मेरो तिरस्कार गराऊ । चे ग्वेभारा ! डियर चे !’
उसकी पत्नी चलाख थिई । ऊ दुई तीन दिनदेखि क्रान्तिकारिता हेर्दै थिई अनि हाँस्दै थिई । उसले भनी, ‘डियर, एउटा कुरो भनूँ ? तिमी क्रान्तिकारी होइनौ ।’
उसले भन्यो, ‘उसो भए के हुँ त ?’
पत्नीले भनी, ‘तिमी एउटा बुर्जुवा बुख्याँचा हौ । तर म तिमीलाई माया गर्छु ।’
०००
(यी दुई लघुकथाहरू ‘परसाई रचनावली’ भाग-२ बाट क्रमशः ‘यस सर !’ र ‘क्रान्तिकारी की कथा’बाट अनुवाद गरिएका हुन् । अनुवादक )
Subscribe
Login
0 Comments
Oldest