साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनु

कसैले आफ्नो सफलतामा कति मिहेनत गरेको छ, प्रयास गरेको छ, जिउ ज्यान अर्पेको छ, घाम-पानी, हावाहुरी, हिउँद बर्खा, गर्मी ठण्डी कति झेलेको छ त्यसलाई अर्को व्यक्तिले नजरअन्दाज गर्दछ ।

Nepal Telecom ad

दिलीप अर्याल :

यो साइनु भन्ने कुरो पनि गजबै रहेछ । अलि राम्रो मान्छे, अलि ख्याती भएको, प्रसिद्धि रहेको, प्रशस्ति गराएको, भाइरल माल वा चर्चामा रहेका सँग त झनै साइनु गाँस्न असाध्यै लालायित हुने रहेछन् सबै । धेरै परका चिन्नु न जान्नु, एकदुई पटक हाइ हेलो भएका वा नाताका पनि नाताका; केवल सुनेका भरका, भनौँ गोरु बेचेको साइनुका भएतापनि यदि उसको प्रसिद्धि, मान, सम्मान, इज्जत रहेछ भने ‘ए ऊ त मेरो फलानो नाता पर्छ नि ! घनिष्ठ नै हो नि ।’ भनेर फूर्तिफार्ती देखाउने र आफ्नो मपाईंत्व बढाउने मान्छेको संख्या गतिलै छ ।

ठाउँ न ठेगान, नस न नाता, हुँदो न खाँदो, बेमतलवका मान्छेहरुका सन्दर्भमा पनि यदि उनीहरूले चुनाव जिते, सांसद वा मन्त्री भए, लोकसेवा पास गरे, गतिलो देशको भीसा लाग्यो, डिभी पीआर पर्‍यो, सिभी कडा रहेछ, कुनै संस्थाको हाकिम भए, ट्यालेन्ट प्रतियोगिता जिते, नायक नायिका भए वा यस्तै उस्तै ख्याति कमाएका रहेछन भने यसो, उसो, यस्तो भन्ने प्रशस्त देखिए: –

‘ए ऊ त मेरो स्कूल वा कलेज पढ्ने क्लास मेट हो नि !’,
‘लौ ऊ, उनी त हाम्रो जिल्लाको हो नि । हाम्रै टोलको, सँगै घर छ हाम्रो ।’
आदि, इत्यादि के के हुन्, के के भनेर राम्रा कुराका साइनु गाँसी हाल्ने मान्छेको स्वभाव देख्दा कन्चट तन्केर आउने मात्र नभई कन्पारो समेत तातेर आउँछ । न ती पात्रहरूले उसको र उसले भनेका मान्छेका माखो मारिदिने हुन् । न त उसलाई त्यो ख्याती वा सेलिब्रेटी भएकोमा बोलाएर भोज नै ख्वाउने हुन् । कस्तो गजव र अच्चमको दुनियाँ छ यो । धाक, धक्कु, रवाफलाई हावाका प्लेटमा राखी मनका चम्चाले खाने मान्छेको प्रवृत्ति देख्दा घरिघरि हाँसो पनि उठ्छ ।

हुन त यसमा म पनि दुधले नुहाएको भने होइन । थाहा हुँदाहुँदै पनि यदाकदा गुड्डी हाँकेर आफ्नो मपाईंत्व प्रदर्शन गर्न नछाडेकै हो मैले पनि । आफूलाई प्रभावशाली देखाउन मैले पनि यस्ता अवसर वा मौका छोपेकै हो भन्ने कुरा कम्तिमा पनि म आफूलाई भने ढाँटन सक्दिनँ । शायद यो कुरामा तपाईं पनि कत्तिको इमान्दार हुनुहुन्छ, लौ भन्नुस् ?

मान्छे किन फलानो मेरो नजिकको हो । फलानोसँग मेरो परिचय छ भनेर अर्काको ख्यातिलाई आफ्नो सुख र आनन्दसँग जोड्छ होला ? यो एउटा मनोवैज्ञानिक अनुसन्धानकै विषय पनि हो । शायद स्वान्त सुखायको लागि नै होला कि ? मेरो सतही सोँचले चाहिँ यो भन्छ ।

अर्कोतर्फ, यसको ठिक विपरित जब मान्छेले आफ्ना अत्यन्त निकटका नाता, सम्बन्धका मानिसहरूमा केही खोट देख्दछ । ऊ आर्थिक हिसाबले निम्सरो छ । पहिलेको ख्यातिको डिग्रीबाट ऊ स्वात्तै तल ओर्लेको छ । उस्लाई कुनै नराम्रो आरोप लाग्यो । अथवा केश लाग्यो भन्ने कुरो सुइँको मात्र पायो भने, भनेको सुनिन्छ:-
‘ए म त्यसलाई त चिन्दिन’,
‘ए होला कोई’,
‘खै, के थाहा’,
‘अङ्गार खानेले कालो हग्छ’,
‘पाप धुरीबाट कराउँछ’,
‘गर्‍यो होला त आयो हल्ला’,
‘बतास नचली पात हल्लिन्छ कहीँ ?’
आदि, इत्यादि के के हो, के के भनेर ती डिग्री झरेका मान्छेसँग नाता सम्बन्ध छैन भनी आफूलाई पानी माथिको ओभानो भई बस्छ । कहिले बाह्र हातको टाँगोले पनि नछुने गरी टाँडमाथि बसेको साँढझैँ मान्छे अलग हुन्छ ।

आखिर के रहेछ त यस्ता साइनु गाँस्नुमा रहस्य ? भनेर यसो मैले आफू र आफ्नो वरपर हेर्दा मान्छेको अहम् र मपाईत्व नै प्रमुख कारण रहेछ भन्ने कुरामा पच्चिसै आना सहमत भए । हुन त बेलाबेलामा नेपालका अड्डा, अदालत, संघ, संस्था, निकाय, राजनीतिक दलसँग काम पर्दा अलि छिटो छरितो गराउन होस् वा नियम बङ्ग्याएर गर्ने काम वा सोर्सफोर्स लाउँन पर्‍यो भने यो साइनुले रामवाणको काम पनि गरेको हुन्छ कि ? एउटा कुरो नि !

भनौँ कुनै अड्डामा आफ्नै थरका हाकिम छन् भने आफू त्यही थर भएको नाताले नजिक देखाउने वा नाताले यसो काम छिटो गराउने निहुँमा यस्तो संवाद पनि सुन्न सकिन्छः-
‘ए हजुर पनि एउटै थर होइसिँदो रहेछ, कता हो पहाड घर ?’
‘ए लौ ! एउटै जिल्लावासी रहेछौँ !’
‘ए मावली धार्के हो। म पनि नारन चम्लागाईंको भानिज’
अर्को राजनीतिको प्रसंगमा कुरा गर्नेले मज्जाले यसरी खोक्योः-
‘म पनि वामपन्थी हजुर, ४५ सालको पार्टी सदस्य । त्यत्ति सक्रिय भइएन । नत्र सभासद, मन्त्रि नै हुने मान्छे हो म पनि । म भन्दा पछिका कति झल्लाहरूले ती पद कति पटक हत्याइसके’
फेरि अर्को प्रसंगमा अर्कोले थप्यो ।
‘हो र ! म पनि डेमोक्रेट्स हो नि । निरन्तर पार्टीलाई लेबी तिरेको २५ वर्ष भइसक्यो ।
‘ल हेर्नुस ! आफू जस्ताको तस्तै ।’

मलाई लाग्छ यस्ता साइनुका कुरा गर्नेहरू प्रायः सीमित स्वार्थपूर्तिमा अल्झिएका देखिन्छन् । कुराका लागि कुरा गर्ने बहानामा बेफ्वाँकका इतिहास र सम्बन्ध बताएर अल्मलिने । मान्छे किन लबस्तरो बनेका होलान् यसरी ? अड्कल काटनुस् त । कति साइनु त यस्ता पनि हुन्छन् जुन मरेका पितृहरूसँग समेत जोडेर आफ्नो कुरो पोख्ने गर्छन् ।
‘ए त्यो अहिलेको मुख्यमन्त्रि त हाम्रो कुप्राबाको भान्दाइको नाति रे नि !’

के तातो न भुत्लोको नाताको कुरो गर्‍या होला ? कुप्राबा, भान्दाइ अनि उस्को नाति । के लछारपाटो लाउला र, त्यो तोरीलाहुरे नातोले ? आफ्नै पार्टीका नेता र कार्यकर्ता बीच त स्वार्थका लागि पानी बाराबार छ, यस वैश्य युगमा ।

“अहिले पो यो जाबो चार आनामा सीमित हुनु पर्‍यो । हेर्नुस त ! त्यो अगाडिको दस रोपनीको पाटो । त्यो हाम्रा जिजु बाले जूवा खेलेर सिध्याका रे आफ्ना पालामै ! नत्र अहिले हाम्रो रजगजको के अन्दाज लगाउन सकिन्थ्यो होला, सोच्नुस त !”

धिक्कार लाग्छ ! अर्काको सम्पत्तिमा र्‍याल चुहाउने स्यालका ख्यालख्याल सुनेर !
फेरि, मान्छे अर्काको सफलता मात्र देख्दछ, उस्को दुःख देख्दैन । उसको ख्याती तथा प्रसिद्धि हुनुपूर्व मान्छे कसैले कसैलाई बाल मतलव गर्दैनन् । कसैले आफ्नो सफलतामा कति मिहेनत गरेको छ, प्रयास गरेको छ, जिउ ज्यान अर्पेको छ, घाम-पानी, हावाहुरी, हिउँद बर्खा, गर्मी ठण्डी कति झेलेको छ त्यसलाई अर्को व्यक्तिले नजरअन्दाज गर्दछ । अनि मान्छे देख्दछ – उसको सफलता, सम्पन्नता र सम्पत्ति मात्र !

यो साइनु हुनसम्मकै ग्वाँख रहेछ । मान्छेले आ-आफ्ना चङ्गा उडाउन प्वाँख हालेको हाल्यै गर्ने । चङ्गा कहिले उड्ने भने कहिले लत्रिने । जे होस् एउटा चूरो कुरो के बुझिन्छ भने- अर्काको सफलतामा आफ्नो साइनु जोड्ने र अरुको विफलतामा आफ्नो साइनु तोड्नेहरू देखि सदैव चनाखो हुनुपर्छ कि ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
साँढे पुराण

साँढे पुराण

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x