अग्रिम बुकिङ
अब ता मेरी पत्नीले पनि जुम्ल्याहा पाइदिए ता हुने नि । कस्तो राम्रो ! अझ तिम्ल्याहा भएदेखि कति असल हुने थियो होला । आजका मन्त्रीहरूले जस्तो दोहोरो तेहरो सुविधा लिन पाइने रहेछ ।
होम सुवेदी :
मेरा छोराहरूमध्ये सोधिरहनुपर्ने बानी छ जेठाचैंको । कहिले ‘सकेट बम भनेको क्या हो ड्याड ?’ भन्दै इस्कुलबाट आउँछ, कहिले ‘संविधान सभा भनेको के हो ड्याड ?’ भन्दै आउँछ अनि कहिले ‘आक्रमण भनेको के हो ?’ भन्दै आउँछ । आज चैं ‘अपहरण भनेको के हो ड्याड’ भन्दै आएको छ । कहिले बारुदी सुरुङ, कहिले धराप, कहिले ! के कहिले के ! यसका प्रश्नहरूलाई उत्तर दिन मलाई हम्मे हम्मे पर्छ । केही अन्ठसन्ठ उत्तर दिन्छु र खाजा खान पठाउँछु । अनि उनै प्रश्नले आमाचैंको दिमाग चाट्न थाल्छ । मेरो यो जेठो छोरो बुक गरिएको इस्कुल कुनै बारुद बनाउने भट्टी थलो ता होइन ? म शङ्का गर्छु । अर्को छोरो भने सानै छ । दुध छुटेकै छैन । ऊ भने अर्कै इस्कुलबाट बुक भएको छ । इस्कुलले लगिहाल्ने बेला भएको छैन । इस्कुलकै तर्फबाट स्याहारसुसार भने हुँदैछ । उसको भने सोधपुछ गर्न थाल्ने बेला भएको छैन ।
जेठो छोराकै कुरा गरुँ । यो छोरो गर्भमा छँदैदेखि इस्कुलहरूबाट बुकिङ गर्ने काम सुरु गरिएको थियो । इस्कुलले यसरी गर्भदेखि नै बुक गर्नु पनि फलिफापैको विषय लागेको थियो मलाई । मेरो परिवारमा यी लालाबालाहरू गर्भावस्थामा छँदैदेखि यिनीहरूकी आमाचाहिँलाई मनग्गे सहयोग भएको पनि हो । स्कुलबाट निकै राम्रो आर्थिक सहयोग र अरुअरु आश्वासनहरू पाएको पनि हुँ । अरु इस्कुललाई उछिन्दै यसले पढ्ने इस्कुलका हेडमास्टरले यो छोरो गर्भमा छँदैदेखि गुन लगाएका हुन् । त्यो गुन बिर्सिनसक्नुको छ । यो इस्कुलका गुनलाई म भुलेर पनि भुल्दिनँ । यो इस्कुलका मास्टरले मेरो घरैमा उनीहरूको “पाइथोग्रीस भोकसाइट भ्यालेन्टाइनेस बोर्डिङ स्कुल’को बुकिङ काउन्टर खोल्न खोजेका हुन् र मेरा घरको साइटका सबै गर्भिणीहरूका गर्भे बालकहरूलाई बुक गर्ने काउन्टर खोल्न एउटा कोठो भाडामा लिन पनि नचाहेका होइनन् तर के गर्ने घरै पाइकपर्दो र व्यवस्थित नदेखेपछि उनीहरूले बजारकै साइटमा बुकिङ काउन्टर खोलेका छन् ।
पुरेतले हरिनाराण काफ्ले नाम जुराए पनि मेरा जेठा छोराको आजको नाम ह्यारिसेन क्याफल हो । वास्तवमा मेरा छोराहरूको नामकरणको काम पनि स्कुलकै तर्फबाट भएको छ । कसको घरमा नानी जन्मन्छ त्यहाँ आज भोलि इस्कुलले नै न्वारानको काम पनि गरिदिन्छ अरे भन्ने पनि सुन्दछु । यही जेठो छोराको पालाको कुरा हो । यो छोरो गर्भमै छँदा इस्कुलका हेडमाष्टर आएर मसँग भनेका थिए—“सङ्कोचका कुरा मनमा नराखी भन्नुहोस् है । सुत्केरी स्याहार्ने बन्दोबस्त स्कुलले गर्छ । कुनै अप्ठेरो मान्नुपर्दैन ।” मैले पनि उति सङ्कोच नमानीकन भनिदिएको थिएँ,—‘अब सुत्केरी नै उतार्दिने कुरा आएपछि मलाई केको सङ्कोच ! बरू यसो यो गर्भिणीलाई टनिकहरू पठाइदिए हुने । अलिक कमजोरी अनुभव गर्दैछे । डाक्टरकोमा कहिले देखाउनु पर्ने हो ? मलाई त उति थाहा छैन र अनुभव पनि उति छैन । पहिलो पालो भएकोले होला ।’
“धन्दा नमान्नुहोस् न । डाक्टर चाहिए डाक्टर, सुँडेनी चाहिए सुँडेनी, धामी झाँक्री, पुरेत जोतिषी जे भन्यो त्यो इस्कुलले इन्तजाम गर्छ ।” उनले भनेका थिए ।
नभन्दै भोलिपल्टदेखि नै मेरा घरमा फलफुल, हर्लिक्स, च्यवनप्रास, आइरन चक्की लगायतका कुराहरू आउन थालेका थिए । डाक्टर आए, सुँडेनी आए, सुत्केरी उतार्ने सामग्रीहरू आउन थाले । एक दिन ता पुरेत पनि आए । मेरी बाहुनी खुसीले गदगद भएर अझै भारी भई ।
इस्कुलले यो सबै लगानी किन गर्दैछ भन्ने कुरा केटाकेटीकी आमालाई उति हेक्का नभए पनि मलाई भने राम्रै हेक्का थियो । तिनीहरूकै इस्कुलमा खोलिएको किन्डर गार्डेन, चाइल्ड केयर सेन्टर आदिमा जन्मनासाथै भर्ना गर्नु पर्ने सर्तका साथै माथिल्ला कक्षाको पढाइ पनि त्यसैमा गराउनु पर्ने सर्तमा यी सबै लगानीहरू अग्रिम रूपमा भइरहेका छन् भन्ने कुरामा म जानकार थिएँ । यसैले यिनीहरूले गर्भावस्थादेखि नै प्रयत्न गर्दैछन् । यो सबैको जानकारी मेरी बाहुनीलाई कहाँ होस् ! मेरो छोरो जन्मनुपूर्व गर्भकालदेखि नै इस्कुलले बुक गरिरहेको छ र त्यसका लागि लगानी गरिरहेको छ भन्ने कुरामा मलाई भने राम्रैसँग थाहा थियो । यिनले पछि यसको भर्ना र अन्य शुल्कमा मेरो ढन्डेसो भाँच्छन् भन्ने जान्दाजान्दै पनि म यिनीहरूका अफरलाई नकार्न सकिराखेको थिइनँ । लौ यौटालार्ई नकारुँला अरे अर्को खन्मरिन्छ अनि बरु मरोस् भनेर ‘पाइथोग्रीस भोकसाइट भ्यालेन्टाइनेस बोर्डिङ स्कुल’ का यी प्रिन्सिपललाई चानस मौका दिएको थिएँ । यसै विषयलाई लिएर बढाबढ पो गराऊँ र सकेसम्मको लाभ पो लिऊँ कि भन्ने पनि मैले सोचिहेरेँ । कता कता महाभारतका अभिमन्युले गर्भमै धेरै कुरा सिके जस्तो गरी आजका बोर्डिङहरूले पनि गर्भैमा रहेका बालकलाई पढाउन सिकाउन थालेका छन् अरे भन्नेसम्म पनि नसुनिएको ता होइन तर आधिकारिक जानकारी नपाई त्यसबारेका कुरा नकोट्याऊँ होला ।
“लौ सुन है, मेरी बाहुनी गर्भिणी छे, बालो जन्मेपछि जुन इस्कुलले बढी लगानी गर्छ उसैकोमा भर्ना गरिनेछ” भन्ने ढाँचाको बढाबढको सूचना पो जारी गरुँ वा ढोल पिटेर हिँडूँ कि भन्ने पनि लागिरह्यो । तर मेरी बाहुनीको गोरुबेचे साइनोको मान्छे नै हेडमास्टर परिदिएपछि मैले सूचना जारी गरेर बढाबढबाट हुन सक्ने फाइदा लिनै सकिनँ । म नभएको मौका छोपेर मेरी बाहुनीसँग फरियाको नाता लगाई हेडमास्टरले बुक गरिछाडेछन् । म हस्स बुढी हरिया दाँत भएँ ।
अब बुकिङ नै गरिहाले । त्यसरी एडभान्सका रूपमा बैनाबट्टा भए पनि त्यसको सम्झौताको पालना पनि गर्नै पर्ने भयो । आखिर वचनबद्धता पनि केही चिज हो । यसैले यही ठानेर म यो जेठो भन्दा पछि जन्मने मेरा छोराछोरीको पालोमा कुन इस्कुलबाट बढी लाभ पाइन्छ त्यो कुरा त्यति बेलै सोचौँला भन्दै यसलाई चैं अरु इस्कुलमा भर्ना गर्ने विषयमा चुप लाग्न बाध्य भएँ । हो पनि यतिका लगानी गरिदिएपछि पनि अर्को इस्कुलतिर लानु र भर्ना गर्नु भनेको कृतघ्नताको विषय हो । यिनीहरूले गर्भे बालख ता किन्छन् भने अदालतलाई पनि हात लिएका हुन सक्छन् । अदालतमा मुद्दा समेत हाल्न सक्लान् । आखिरी यिनीहरूले सर्वाधिकार सुरक्षित गरिहाले । अब अन्त ढिम्किन दिने होइनन् क्यारे । बरु यसै इस्कुलबाट कसरी हुन्छ बढी भन्दा बढी लाभ लिने कुरातिर पो सोच्नुपर्यो । मैले मनमनै विचार गरेको थिएँ ।
“लौ हेर्ने है, जाडाको बेला छ, अलिक राम्रा ताता लुगा भएनन् भने… फलान्थोक भएन भने… अर्को इस्कुलमा भर्ना गर्नु पर्ला नि ?” एडभान्स काउन्टरमा गएर निकै पटक इस्कुलका बुक मास्टरलाई घुर्क्याउँदै गरेँ । भनेजस्तो उपलब्धि नपाएकोमा एक दिन ता इस्कुलमै गएर कड्किएँ—
“मेरा छिमेकी पल्लाघरकी गर्भिणी भाउजूलाई उहाँ कस्ता कस्ता अफरहरू प्रोभाइड गरिसक्यो अर्को इस्कुलले । मेरोमा भन्दा ठ्याक्कैै डबल पो छ त दिनु पनि । हन कति राम्रो इस्कुल रछ त्यो ता ! मेरो ता तपाईंहरूले बुकिङ गरिहाल्नुभयो । तपाईंंहरूको बेभार हेर्दा ता त्यही अर्कोचैं स्कुलमा पो बुक गराउनु पर्ने रहेछ भन्ने लाग्छ नै । हन तपाईंहरूको भने के हो यस्तो हत्तु चाला हँ ? यसो हुन्छ नि !”
“भने जस्तो भएन भने म सम्झौता रद्द गर्न सक्छु है मास्टर साहेब” मैले माझै मुखबाट फेरि तुजुक झारेँ ।
इस्कुलका मास्टर पनि कमका रहेनछन्- “हजुर तपाईंंको कहाँ सजिलै छ र इस्कुल चलाउन ? जङ्गलबाट चन्दाका पत्र आएका छन् । नभए अपहरण गरिदिने धम्की छन् । कहिले आज हड्ताल गरिदिनु पर्यो भनेका छन् । कैले के कैले के । नानीहरुलाई हाम्रो पाटीको झन्डा बोकाएर जुलुसमा ल्याउनु भन्नेको उस्तै खुनीखोत्रो छ । अनि फेरि बुकिङ गरिएको माल सबै सग्लै पनि हुँदो रहेनछ । कुनै लाटोगाँडो जन्मियो वा खोरन्डो भयो भने बुकिङका रूपमा गरिएको एडभान्स सबै खेर जाने डर छ । हामीलई पनि रिक्स छ हजुर । कतिले ता ‘छोरी जन्मिई पढाउँदिनँ’ भनेर चौपट गर्छन् । अन्धविश्वासीहरूको समाज छ हजुर । अब छोरा छोरीमा के फरक छ लौ भन्नु होस् त । त्यस्तो लगानीमा निकै पैसो फस्छ । कसैले फिर्ता दिने होइन क्यारे ! हेर्नुहोस्, कतै तुहिएर खत्तम ! कसैले ता क्युरेट गर्न मेरिस्टोपतिर धाएर इस्कुललाई धोका पनि दिने गरेका छन् । यसमा लगानी गर्नु बडो जोखिम रहेछ । तपाईंले जे पाउनुभएको छ त्यो पनि काफी छ ।”
उनले पनि मलाई अलिकति त्रास जन्माए । होला भन्ने पनि लाग्यो । तैपनि मैले अलिक धाक देखाइहेरेँ- “उत्तिकैमा छिमेकीको घरमा किन यत्तिका लगानी र मेरोमा भने केको यो कङ्गालीपन नि !’
कुराको चुरो बल्ल खोले-“तपाईंकी पत्नी नानी पाउने छिन् मलाई यसमा शङ्का छैन । तर उता तपाईंको छिमेकीकी धर्मपत्नी भने जुम्ल्याहा छोराछोरी पाउँदैछिन् । अनि किन डबल लगानी गरिँदैन त ? हेर्नुहोस् जसबाट जति प्रतिफल पाइन्छ त्यसमा त्यति नै लगानी पनि गरिन्छ ।”
उनका कुराले मलाई सोच्न बाध्य बनाएको थियो । मनमनै सोचेँ ‘हत्तेरिका जुम्ल्याहा तिम्ल्याहा भएको भए पो फाइदो हुने रहेछ ।’ यस्तै सोच्तै त्यत्तिकै रित्तो हात लिएर त्यहाँबाट घरतिर लागेको थिएँ ।
केही महिना यसै बिते । जेठो छोरो राम्रो स्वास्थ्य भएको र सजिलै गरी जन्मियो । इस्कुलले लाने बेला भइहालेको थिएन । उनै बैना गर्ने मास्टर आएर खुट्टा नचाई नचाई खेलिरहेको मेरो बालखलाई नियालेर हेरे— मानौ आफ्नो सिकार हेर्न कुनै सिकारी आफूले थापेको धरापमा परेको छ कि छैन भनेर हेर्न आएको छ । त्यसै बेला छोरो मुसुक्क हाँस्यो र घोप्टे फर्कियो । “लौ है बेला भएछ हजुर । भोलि नै छोरालाई लिन गाडी आउँछ, हजुर पनि आएर भर्ना गर्नु होला पैसाको जोहो कत्तिको भएको छ कुन्नि !” भनेर उनी अर्को घरतिर लागे । भोलिपल्टै लगेर भर्ना गरेँ । नगदी कारोबार मात्र भएकोले रिन काढेरै मैले छोरालाई भर्ना गरेँ । त्यही रिन तिर्न पनि मैले उनै मास्टरलाई गुहार्ने विचार गरेँ । पैसाको सारै चोट्टे परेकाले अरुतिर कुनै उपाय नदेखेपछि पुगेँ उनै मास्टरको घरमा ।
“मास्टर साहेब !” मैले अनुनय विनय गर्ने विचार गरेँ ।
“हजुर भन्नुहोस् ।” उनले सहज रूपमा भने ।
“अलिकति अग्रिम पो माग्नु पर्यो भनेर आएको । पैसाले चोट्टे परेर आएको छु । हुन सक्छ भने पचास हजार जति पेश्की लगिराखूँ कि भनेर पो आएको थिएँ । छोराको भर्ना गर्दाको रिन त्यत्तिकै छ ।”
“के भाउजू फेरि भर्ना हुनुभो र ?” उनले अप्ठेरो लाग्ने शब्द पनि सजिलै भने ।
“भइगएकी ता छैन । होली नि !” मैले लजाउँदै भनेँ ।
“त्यसरी कहाँ हुन्छ ? पहिले प्रमाण चाहिन्छ अनि मात्र लगानी गरिन्छ । प्रमाण लिएर आउनुहोस् एउटा भए एक सुविधा दुई भए दोहोरो सुविधा अनि बढी भए त्यही अनुसारको सुविधा बुझ्नु भएन के !” उनले भने ।
फेरि सोचेझैं गरी टाउकोमा हाल लगाएर भने “ज्याहै ! ओहो फेरि हेर्नुहोस् अहिले अग्रिम बुकिङ् पनि बन्द पो गरेको छ हाम्रो इस्कुलले । सरी । तै अरु इस्कुलले बुकिङ बन्द गरिहालेका छैनन् कि विचार गर्नुहोस् न ।”
यसपछि पनि यिनै लेनदेनका कुरा निकै गलबद्दी भए तर मास्टर कुनै हिसाबले पनि गलेनन् । मेरो खाँचो टरेन । म निराश भएर उनको घरबाट निस्किएँ अनि अर्का बोर्डिङतिरको बाटो लागेँ। मेरा मनमा कुरा खेले । अब ता मेरी पत्नीले पनि जुम्ल्याहा पाइदिए ता हुने नि । कस्तो राम्रो ! अझ तिम्ल्याहा भएदेखि कति असल हुने थियो होला । आजका मन्त्रीहरूले जस्तो दोहोरो तेहरो सुविधा लिन पाइने रहेछ ।
चित्त बुझाउँदै अर्को इस्कुलको बाटो लागेँ । यस इस्कुलको सिद्धान्त र लगानीका कुरा ठिकै पनि हुन् । एउटालाई जति लगानी गर्यो दुइटाका लागि दोब्बर तेस्रो पनि भए ता तेब्बर नै हुने रहेछ । तर मनमा शङ्का लाग्दै थियो यो इस्कुलले पनि प्रमाण खोज्ला । आखिर बाहुनी गर्भिणी ता भइहालेकी छैन । बरू त्यही उद्योगतिर पो पहिले पहल गर्नु पर्छ कि । यस्तै केके कुराहरू मेरो मनमा आइरहे मेरा खुट्टा भने अको इस्कुलतिर धाइरहे ।
०००
भद्रपुर
Subscribe
Login
0 Comments
Oldest