साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब हेर्दै जानु पर्छ

अब मात्र एउटा सरकार भए हुन्छ । टेरेर काम गरेमा एउटै सरकारले समृद्धिको सगरमाथा नै छुन्छ । यस्तो सरकारले त केवल विदेशी दलाल र घरानियाहरूको पाउ मात्र धुन्छ ।

Nepal Telecom ad

भोज अर्याल :

यो सरकार ढल्दै ढल्दैन । ढल्यो भने चुल्हो नै बल्दैन । तर कुरा आउँछ कस्को चुल्हो ? जसले यो सरकार रुपीजम्बो जहाज चलाउँदै छन् उस्को चुल्हो । कुरो धेरै नै ठुलो । अरुको चुल्हो त बलेकै छ बल्ने नै छ । त्यसरी जीवनचलेकै छ । यसरी चल्ने नै छ । फुलै लाउँला केसरी । खाउँला बेसरी !

सरकारले चुल्हो बाल्दिने पनि होइन । कसैको जीवन पाल्दिने पनि त होइन । मुखमा लगेर यसले एक गाँस हाल्दिने पनि होइन । दुख गरे दुई छाक खान पाइन्छ । हामीलाई यो भन्दा अरु के नै चाहिन्छ । सरकारले त आफूलाई पालेकै छ । आफ्नो र आफ्नाको ज्यान पालोस् । भेटेको जति सबै आफु र आफ्ना आसे पासे र गासेहरूकै मुखैमा लगेर हालोस् ।

एक जना खाओ कि के जाती के वादीका नेताले लादी आउँने गरि चिच्चाएर भनेछन् । सरकारको पुरै जरो नै खनेछन् । नाम त भुसुक्कै बिर्सें । त्यस्तै के हो विक्रम चन्द हुन् उनी । सधैँ माओकै कुरा काटेर गुजारे यिनले पनि आफ्नो जुनी । उनले प्रधान मन्तरीको कुरा गर्न भ्याएछन् । र भनेछन् “कि प्रधान मन्तरीको काम नै यो सरकार ढल्दैन भनेर भाषण गर्नु हो ।” जति सकिन्छ कि आफ्नै घैला कि थैला भर्नु पनि हो ।

उनले नभने पनि सबैलाई यो कुरा राम्ररी थाहा नै छ । जुन जोगी आए पनि कानै चिरेका भनेझैं त भाछ । विक्रमबाबु चन्द अब फेरी चुनाब लड्न आउँने रे । गन्दकि तन्त्रको बन्दकि भएर हिलोमा गड्न पो पाउँने रे । खै यिनले केही भोट पाउलान कि माओ र खाओ कै भजन मात्रै गाउलान् ? पानीको धारो यिनको पनि कुरा बुझ्नै झन गाह्रो । यो हो विप्लपको खास कुरा उनी अलि धेरै अधुरा । मान्छे परे यिनीखलपात्र यिनी बिना युद्ध नै अलपत्र ।

सरकारमै बसेर सरकार ढल्दै छ मेरो विश्वास गल्दै छ भनेर कस्ले भन्नु भन्दैनन् । तपाईं हाम्रो कुरा यिनेरुले जाँदै गन्दा पनि गन्दैनन् । अरु केही नभएसी सरकारको आयुकै कुरा गर्‍यो कि त पश्चिमी वायुकै कुरा मुखबाट भुइँमा झर्‍यो । अरुले नै कुर्चीमा चढाए । छोड्न मन थिएन प्रभु ! उनैले भुइँमा लडाए । कुर्ची पाउँदा राप र ताप गुमाउँदा विदेशीलाई सत्तो सराप । भविष्य नै पर्‍यो ठुलो धराप ।

खासमा यिनीहरूकै बुद्धि नै रैच खराब । टेन्सन भयो कि एक प्याक सराब । नीति साह्रै उत्तम तर हाम्रा नेतै खत्तम ! नेता मात्र हैन कि थप यिनका हनुमान । झोला बोकेर हिँड्नेले कति खान्चन् । को नै गर्न सक्लान् खै अनुमान् । एक थान नेताका भरौटे पचास थान् । इमानहरू थोरै होलान् । सरकार डुबाउँने तिनै बेइमान् ।

सरकार पुरै अवधि नै चल्छ भनेर प्रचन्नजीले खुबै भनेरै हिन्थे । कसको खुट्टा कहिले तान्ने कँहा हान्ने हो उनले खुबै मान्छे चिन्थे । जब सरकार गर्ल्याम् गुर्लुम भयो । तब यिनको सातो पुत्लो नै गयो । अरौटे भरौटे कुरौटेहरूको हरि बिजोक भयो । रातारात खुमलटारको बास् । कुर्ची लड्यो कि अड्कि हाल्यो फेरि घाँटीमै गाँस । बोली बन्दा अब के गर्छौ धन्दा ? छोडेउँ कि उठाउँन बाकि नै छ चन्दा ? सत्ता गयो भत्ताको पिर भयो फेरि ठुलै फन्दा .!

सरकार भनेको गर्लम्मै ढल्ने रुख भने होइन । तर जनताको दुख मने हो । जो बारम्बार दुखेकै छ । घर पालुवा इमान्दार जन्तुसरह भुकेकै छ । भुकोस् तर हामी भन्नु पर्छ यो पिलो धेरै दिन नदुखोस् । पिलो पनि एक ठाउँफुटेर अर्कोमा उठ्छ । र दिनुसम्म दुःख दिन्छ । सरकार पनि पिलो बनेरै आउँछ । जिलो बनेर आए हुनि । सुख र शान्ति दिएर जनताको माया पाए हुनि । देश बनाएमा बरू अलिअलि खाए पनि हुनि । खान त नभने पनि खान्छ तर देश बनाउँदा यिनको खास के नै जान्छ ? किन बनाउँदैनन् देश । यो सरकार हुन भन्दा नभए पनि हुने थियो बेस ।

सरकारको काम देखेर मान्छेहरू भन्दाहुन् हैन यो के पारा हो ? तर यो सरकार भन्ने जन्तु जनताको अभिमतको भारा हो । यही जन्तु जन्माउँन र पाल्नको लागि जनता भोट हाल्न घाम खाएरै धाए तर खै त जनताले आज के पाए ? सरकारमा कति गए कति आए बेहिसाप खाए ? ऋणको पासोमा हालेर बजेट बनाए तर आफ्नै गाउँ र ठाउँमा पो लगेर पुरै खन्याए ! बाटैमा बिस्टाएरै त देशैभरि यिनेरु सिनो जस्तै खुबै गन्हाए ।

सरकार सधैँभरि एक थान पाएकै छ मुलुकले । कहिले अल्पमतको कहिले बहुमतको कहिले ढाडैभरि खतैखतको । खतै खत कान्डै कान्ड निल्न खोज्छन् पुरै विश्व ब्रमाण्ड । कोही परे सुन्ड मुसुन्डा कोही परे कुसुन्डा । पार्टीको खाम सभामा राष्टिय झन्डा । यो कुरा भयो यहाँ धेरै नै अति । यिनेरु परे राष्टकै खति ।

कहिले सप्रिएला र खै यिनेरुको मति । काम हेर्‍यो भने कछुवाको भन्दा पनि सुस्त पो छ त्यो गति । आम सभा हुदै खाम सभा बाटैभरि जाम सभा अहिलेत अब जागरण सभा रे । कस्लाइ जगाउँने सभा होला कि भगाउँने सभा होला यो । यस्ता जाल झेल र सभाले अब कस्को नै मन छोला त्यो । भाषण धेरै भयो अब नदेऊ । सक्छौ भने सुशाशन देउ । गरिबको थालमा रासन देऊ । तर जनता जागिसके अब तिमेरुले लुटेर कमाएको पुरै सम्पती फिर्ता देऊ । होइन भने सन्यासी बन राजनीतिलाई बिर्ता नठानी फिर्ता गर । सत्ता र भत्ताकै लागि नमर । जे गर्न मन छ त्यो गर । नआऊ वर बरू जाउ पर पर.. । तिम्रो लागि भोट दिने जनता छन् । जनताको को छ र ? अब नपर्नु है भर ।

गाउँदेखि प्रदेश हुँदै सङ्घसम्म कति वटा जति होलान् सरकार ? यी त सरकार हैनन् खासमा हुन् सरखार । सरखारको काम खाने नै हो । जसरी हुन्छ कुर्चीमा जाने नै हो । आसे पासे घाँसे सँग सँगै लाने नै हो । कुरा अलि गम्भिर नै छ जो । सरकार भनेर टारेकै छन् झारा । वाक्क दिक्क प्याक्क भैसके संसारै सारा । नेता कहिले यता कहिले उता सबै हुतिहारा । यी सबै परे तरमारा । पूरा गर्ने होइनन् कहिल्यै पनि आफ्नो अभिमतको भारा । जनता जनार्दन भन्दा हुन् पहिले जन सरकार । अहिले धन सरकार अनि भन सरकार ।

यति धेरै सरकार किन पो चाहियो ? सेतो हात्ती पालेर खै के नै पाइयो । यिनेरुको भजन किर्तन धेरै नै गाइयो । अब मात्र एउटा सरकार भए हुन्छ । टेरेर काम गरेमा एउटै सरकारले समृद्धिको सगरमाथा नै छुन्छ । यस्तो सरकारले त केवल विदेशी दलाल र घरानियाहरूको पाउ मात्र धुन्छ ।

हामीलाई अब हाम्रो सरकार र राम्रो सरकार भए हुन्छ । गैँडाको छाला जस्तो चाम्रो र डाम्रो सरकार छिट्टै बिदा भएर गए हुन्छ । एक थान मन पर्ने खालको सरकार भए हुन्छ । अनि मात्र विकासले सफलताको शिखर नै छुन्छ । सरकार ढले पनि सरकारप्रतिको आस्था ढल्न हुँदैन । जनताको आशा र भरोसा जल्न हुँदैन गल्न हुँदैन । सबैको जय होस् । समृद्धिले छिटै आकाश चुमोस् ।

०००
हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x