सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खोपडी खेल

खोपडीको बदलाब होइन, सोचको परिवर्तन आजको आवश्यकता हो । खोपडीलाई दोष दिएर समस्या समाधान हुँदैन । असली परिवर्तन तब मात्र सम्भव छ, जब खोपडीभित्रको सोचाइ बदलिन्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

शरीरको माथिल्लो भागमा गजधम्म अडिएको खोपडीलाई क्रान्तिकारी बनाइयो । मानौं देशको सबै समस्या यही “काठको टुक्रा” सरी संरचनाले सुल्झाउने हो । कोही भन्छन्, खोपडी ठूलो भयो भने नेता बन्न सजिलो । कोही भन्छन्, खोपडी थिचियो भने जनताको हैसियत थिचिन्छ । तर यहाँको वास्तविकता के हो भने खोपडी त केवल आड हो, असली खेल त भित्रका तीन पाउ मात्रले खेल्छन्- लोभ, ईर्ष्या र स्वार्थ ।

बाहिर ठूला गफ, भित्र खोक्रा लफ खोपडीलाई जति गहिरो अर्थ दिन खोजिन्छ, त्योभन्दा धेरै खोक्रो काम खोपडीभित्र हुन्छ । यहाँ खोपडीको बान्की देखाएर कुर्सी तान्नेहरू पनि छन्, अनि यही बान्कीलाई झुटो प्रमाणपत्र झैं बेच्नेहरू पनि छन् । काँग्रेसको खोपडी एमालेमा फिट हुँदैन रे ! तर नेताको कुर्सी भने सधैं फिट हुने, त्यसलाई कसले रोक्ने ?

राजनीति होस् या समाज, सबैले खोपडी खेलको कुरा गर्छन् । तर यहाँ खेल खोपडीको होइन, नेताको फेल दिमागको हो । “खोपडी साटफेर सम्भव छैन” भनेर ठूलो कुरा गर्नेहरूको दिमाग सधैं ‘जेरो साइज’ मा चल्छ । एमालेलाई काँग्रेस बनाउने र काँग्रेसलाई राप्रपा बनाउने खेल गर्नेहरूलाई खोपडीको खेल भन्न कहाँ मिल्छ ? यो त जनता लुट्ने बहाना हो ।

खोपडीको बहस गर्ने नेता सधैं लोभ, डर र चलाखीका खेलाडी मात्र हुन्छन् । जनताको खोपडीमा घनत्व खोज्ने तिनै नेताहरू हुन्, जसले आफ्नो खोपडीभित्र केही घनत्व नराखी कुर्सी तानिरहेका छन् । एउटा नेताले भन्छ, “जनताका लागि जिउँछु ।” अर्को नेताले भन्छ, “देश बनाउँछु ।” तर सबैको उद्देश्य एउटै हुन्छ- कुर्सीको लागि खोपडी जोगाउने ।

कसले भन्छ, खोपडी फेर्न सकिन्न भनेर ? अस्पतालको माथिल्लो तलामा गएर हेर्नुस् । त्यहाँ कपालदेखि घुँडा र खुट्टा फेर्नेको लाइन लाग्छ । तर यहाँ नेताको खोपडी कहिल्यै फेर्ने प्रयास हुँदैन । किनकि खोपडी त केवल देखावटी हो, असली समस्या त खोपडीभित्रको सोचाइमा छ ।

“खोपडी सड्यो” भन्नेहरूलाई सोध्नुपर्छ, के सड्ने खोपडी हो कि भित्रको सोच ? यदि खोपडी मात्र बदल्ने हो भने संसारले कतिखेर नै बदलिसक्थ्यो। असलमा सड्ने त भित्रको घिनलाग्दो सोच हो, जसले देशलाई सधैं पछि धकेलिरहेको छ ।

गरिबी खोपडीको समस्या होइन । गरिबी त व्यवस्थाको खाल्डो हो । खोपडीलाई दोष दिएर जनताको भोक मेटिँदैन । रोजगारी दिन नसक्ने राज्यले खोपडी ठूलो बनाउने गफ छाँट्नु भनेको खालि आफ्ना विफलता छोप्ने चाल मात्र हो ।

यदि खोपडी बदल्नुपर्ने बेला आयो भने यो देशका नेताहरू सबै ‘बाहिरको देखावटी खोपडी’ मात्र बदल्थे । भित्रको भ्रष्टाचार, अपराध र स्वार्थ चाहिँ उस्तै रहन्थ्यो । जनता सधैंजस्तै नयाँ नेताको पर्खाइमा हुन्थे, जसले पुरानै बहाना बनाएर जनता लुट्थ्यो ।

खोपडीको बदलाब होइन, सोचको परिवर्तन आजको आवश्यकता हो । खोपडीलाई दोष दिएर समस्या समाधान हुँदैन । असली परिवर्तन तब मात्र सम्भव छ, जब खोपडीभित्रको सोचाइ बदलिन्छ । खोपडीको साटफेर होइन, सोचको क्रान्ति जरुरी छ ।

०००
२०८१ मङ्सिर २७ गते ।
एनेलकुटी, सिरहा ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दुई चड्कन

दुई चड्कन

नन्दलाल आचार्य
एकताको रहस्य

एकताको रहस्य

नन्दलाल आचार्य
गाँडतन्त्रको पर्दा

गाँडतन्त्रको पर्दा

नन्दलाल आचार्य
रङ्गहरूको कथा

रङ्गहरूको कथा

नन्दलाल आचार्य
फित्कौली

फित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x