साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुलही खोजाइको अपूर्ण अध्याय

मेरो जीवनमा दुलहीको खोजी एउटा अधुरो अध्याय बनेको छ । पुर्पुरोमा के लेखिएको छ, थाहा छैन । तर उमेरको यो बुढ्यौलीले पनि मनभित्रको आशा मार्न सकेको छैन ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

किन चाउरिन्छ मरिच ? “आफ्नै पीरले” भन्छन् रे । तर मेरो पीरको भार त्यो सानो गेडाले पनि सहन सक्दैन । मनभित्रको भारी बिसाउने ठेगाना नभेटेपछि, आज आफ्नै कथा सुनाउने जमर्को गरेको छु । उमेरको परिपक्वताले कपाल सेतै बनाइसक्यो, सपना भने अझै अधुरै छ । एउटा दुलहीको खोजीले मेरो जीवनलाई कहिले मधेसको फाँटतिर त कहिले पहाडको चिसो हावामा भौतारिँन लगायो ।

उकालीओरालीले भरिएको छ जीवन । उदयपुरको पाखामा पहिलो सास तानेँ, राजविराजको कान्लामा ठेस खाएँ, जनकपुरको फाँटमा पढाइ सकेँ, अनि अहिले सिरहाको धूलोमा पाइला गन्दै छु । यस्तो मिश्रित जीवनको अनुभवले मलाई ‘पाखे, काँठे, पहाडे, मधिसे, कि सहरिया ?’ भन्ने प्रश्नले निरन्तर तर्साइरह्यो । म तासको जोकरजस्तो महसुस गर्छु- जसलाई जता राखे पनि अनौठो लाग्दैन । तर यही जोकरले आफ्नो ठाउँ कहिल्यै पाउँदैन ।

मसँग न पहाडको खोला छ, न मधेसको उर्वर माटो । न त सहरको चिल्लो गाडी छ, न गाउँको गाईबस्तु । पैसा थोरै छ, पौरख पनि उस्तै । पहिचानको यो द्विविधाले दुलही खोज्ने मेरो यात्रालाई अझ कठिन बनायो ।

पहाडको कुरा गरौँ । त्यहाँको चलनले म उमेर नपुग्दै चटकी चलाएर बिहे गरिसक्ने थिएँ । पहाडमा मकैका बोट र परालका कुन्यु हेरेर केटी रोज्ने चलन थियोे । बाल्यकालमै दाजुहरूले ज्योतिषलाई दहीचिउरा ख्वाएर बिहेको साइत मिलाइहाल्थे । तर, बाबुले सहरको पढाइले मेरो भाग्य बदलिन्छ भन्ने सपना देख्नुभयो । पहाडको बारी छोडेर हामीले सहरको इँटा समाउन थाल्यौँ ।

तर सहरमा त न मकैका थाङ्ग्रा थिए, न परालका कुन्यु । यहाँ त घरका माछाले खोलाको मोल के जानून् ?

एकपटक मधेसमा जन्ती जाने मौका मिल्यो । त्यहाँका मानिसले मलाई हेर्दै ‘पर्वते, मस्याङको दाल खाने’ भन्दै जिस्काए । आमाले त पहिले नै मधेसे बुहारीको कुरा सुनेर अक्क न बक्क हुनुभएको थियो । “उनीहरूले पेट बोक्न जान्लान्, तर डोको बोक्न सक्छन् त ?” आमाको यो चिन्ता मेट्न मसँग उत्तर थिएन ।

सहरको माहोल त झन् रमाइलो ! जात, भाषा अनि क्षेत्रका आधारमा केटी माग्ने चलन । मैले सहरिया भाषामा बोले भने पहाडे ठहरिन्छु, पहाडे बोले सहरियाले स्वाङी भन्छन्। यस्तो द्विविधामा कसरी सम्भव हुन्थ्यो दुलहीको खोजी ?

मेरो परिचयले गर्दा मैले जति केटी हेरेँ, त्यति नै असफलता हात लाग्यो । एकपटक भोजपुरको एउटा कन्याको कुरा उठ्यो । केटी राम्री थिइन्, तर उनको बुवाले पाँच धार्नी सुनको माग गरे । हाम्रो घरमा त तीन धार्नी मात्र जुटाउन सकिन्थ्यो । त्यसपछि तल्तिरको एक शिक्षित केटीको कुरा चल्यो । यो अवसरले घरका सबैलाई खुसी तुल्यायो । आमाले त खुसी भएर तीनपटक मेचमाथि नाच्नुभयो । मैले पूजाका भाँडा बेचेर काँटाचम्चा किनेँ । गाउँको बाख्रा बेचेर शहरको कुकुर किनें, किनभने “पढेलेखेका केटीहरूले कुकुर मन पराउँछन्” भनेर सुनेको थिएँ ।

तर जन्ती गएपछि, पूजापाठ सकिएर, कन्यादानको साइत आयो । जब दुलहीलाई देख्ने मौका पाएँ, अचम्म भयो । कन्या छटपटाउन थालिन् अनि बिहेको अर्को कन्या जन्माइन् !

त्यसपछि म फेरि आफ्नो भाग्यलाई सराप्दै हिँडेँ ।

देउपाने गाउँमा केटी हेर्न गएको बेला एउटा नयाँ घटना भयो । त्यहाँका घरका पिँढीमा कुखुराका चल्लाझैँ धेरै छोरीहरू देखिन्थे । छान्न सकिएन । एउटी १६-१७ वर्षकी ठिटीले मलाई “कसलाई खोजेको बूढाबा ?” भनेर सोध्दा, मेरो मनमा अप्ठ्यारोले उकुसमुकुस भयो । लाजले भुतभुती लगाउँदै फर्किएँ ।

मेरो जीवनमा दुलहीको खोजी एउटा अधुरो अध्याय बनेको छ । पुर्पुरोमा के लेखिएको छ, थाहा छैन । तर उमेरको यो बुढ्यौलीले पनि मनभित्रको आशा मार्न सकेको छैन । सायद जीवनले कहिल्यै मेरो हात समात्ने दुलही भेट्टाउला । तर त्यो दिन आउन अझै कति भौंतारिनुपर्छ, समयले मात्रै बताउला ।

०००
२०८१ मङ्सिर २९ गते ।
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x