नन्दलाल आचार्यदुई चड्कन
त्यही बेला हावाको झोक्काले पानाहरू फटफटायो । धूलो उड्दै झ्यालबाहिर हरायो । पास्कलले टोलाउँदै भन्यो, "जब किताबका पानाहरू बोल्छन्, धूलो आफैँ हराउँछ ।"

नन्दलाल आचार्य :
१. किताब र धूलो
“पुस्तक पसलका किताबहरूले आफैलाई हेर्न सक्थे भने के सोच्थे होला ?” पास्कलले चिया थाम्दै गम्भीर स्वरमा सोध्यो ।
पसलको कुनामा महावीर पुनको किताबको थुप्रो थियो । अलिक पर, धूलोले लिपिएका टङ्कबहादुर आलेमगरका लघुकथासङ्ग्रह, पुण्य कार्कीका निबन्धसङ्ग्रह र राममणि पोखरेलका कथासङ्ग्रहहरू थन्किएका थिए ।
“यो महावीर पुनको किताब हो ?” पसलमा छिरेको युवकले सोध्यो ।
“हो, लिन्छौ ?” पसलेले उत्साहित हुँदै जवाफ दियो ।
“हो, तर फोटो खिच्न मात्रै !” युवक हाँस्यो ।
पास्कलले टाढैबाट यो संवाद सुनेर निधार खुम्च्यायो । पसलको बाहिरबाट आएको चिसो हावाले किताबका पानाहरू फटफटायो । ती पानाहरूले मानौँ मौन पुकार गरिरहेका थिए, “हामीलाई पढिन दे, सरकार ! स्रष्टालाई बाँच्न दे !”
पास्कलले झ्याल बाहिर हेर्यो । सडकमा मान्छेहरू तरकारीको भारी बोकेर हतारिएका थिए ।
“तरकारी जस्तो किताब बेच्ने दिन पनि आउँछ त ?” पास्कलको मनमा प्रश्न गुञ्जियो ।
अन्तिम गिलास चिया घुट्क्याउँदै उसले गहिरो सास फेर्यो । मनमनै भन्यो, “किताब बिकोस् तर धूलोको कथा कहिल्यै नबिकोस् ।”
०००
२. उत्तरकथा– पानाहरू बोल्दा
“किताबले बोल्न सक्थे भने के भन्थे ?” पास्कलले चियाको गिलास थर्थराउँदै सोध्यो ।
पसले निरुत्तर भयो । पसलको कुनाबाट एक महिला अघि बढिन् । उनले धूलोले छोपिएको स्वस्तिका सिम्खडाको लघुकथासङ्ग्रह ‘प्राणप्रतिष्ठा’ उठाइन् ।
“यो पढ्न खोज्नुभएको हो ?” पास्कलले सोध्यो ।
“पढ्न होइन, बचाउन । कथालाई मात्र होइन, स्रष्टालाई पनि !” महिलाको आवाज भारी थियो ।
त्यही बेला हावाको झोक्काले पानाहरू फटफटायो । धूलो उड्दै झ्यालबाहिर हरायो ।
पास्कलले टोलाउँदै भन्यो, “जब किताबका पानाहरू बोल्छन्, धूलो आफैँ हराउँछ ।”
०००
२०८१ माघ ४ गते ।
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest








































