कुमार खड्काचार प्रकारका धारहरु…
समाज यस्तै यस्तै मान्छे, विधि, व्यवहार र कृयाशीलताको सयुक्त साझा थलो पनि हो । यहाँ यसरिनै अनावश्यक धेरै बुझ्ने पनि छन्, नबुझ्ने पनि छन्, बुझपचाउने पनि छन्, सन्तुलन कायम गर्ने पनि छन् !

ई. कुमार खड्का :
१. बोल्छ, गर्छ । बोलेको जस्तै गर्न खोज्छ, सक्दो गर्छ । ऊ इमान्दार हुन्छ, तथापि कहिलेकाहीँ वचन पूरा नहुन पनि सक्छ । तर उसले आफ्नो इमान्दारीता हर हिसाबमा कायम गर्न खोज्छ । ऊ समाजको अव्बल र उत्तम व्यक्तित्वमा गनिन्छ । हाम्रो जस्तो समाजमा यस्को संख्या नगण्यनै छ ।
२. बोल्छ, गर्दैन । बोली वचन औपचारिकता र करबलले मात्र हुन्छ, वचनको पालनानै गर्दैन, हुदैन । फगत देखावटी र आडम्बर हुन्छ । धक्कु लाउन बोल्छ, तर गर्ने मनसुवा हुँदैन, गर्दैन ।
३. बोल्दैन, गर्दैन । बोल्दै बोल्दैन, किनभने उस्ले गर्दै गर्दैन । गर्दैन र त बोल्दै बोल्दैन । नचाहिदो झमेला लिदैन, र हुने भए पनि झमेला मोल्न चाहदैन ।
४. बोल्दैन गर्छ । मनको सफा, इमान्दार र दयालु हुन्छ । आफैंमा दुविधा हुनाले बोली हाल्दैन । तर जसरी पनि सक्दो गर्छ । दुनियाँलाई छक्क पार्छ ।
यी चार बुँदाहरु प्रत्येक व्यक्तिको स्वभाव, हरेकको अवस्था, समय सापेक्ष दृष्टिकोण, हरेक कर्म र करिव प्रत्येक घटनामा पनि लागू हुनसक्छ ।
दाँजेर हेर्दा २ र ३ भन्दा १ उत्तम अवस्था हो । २ भन्दा ३ पनि असल अवस्था हो । किनभने अनावश्यक आश्वासन दिनुभन्दा वा बोल्नुभन्दा बोल्दैन, सक्की गो नि । ठिक समय नदिने घडी भन्दा बिग्रेको घडिनै सहि लाग्छ, कम्तिमा धोका त दिदैन नि । अब १ र ४ को अवस्थामा प्रतिस्पर्धा भयो भने कुन अवस्था ठिक भन्ने ?
बोलेर, निर्णय गरेरै पनि आश्वस्त पार्नुपर्ने वा तत्काल मानसिक राहत दिनुपर्ने अवस्थामा १ को विकल्प उत्तम होला, अन्यथा नबोली सकेको गर्ने ४ को विकल्प उत्तम होला । हाम्रो नीतिले पनि एक हातले दिएको दान अर्को हातलाई थाहा हुनुहुदैन भनेर भन्ने रहेछ । बोल्नु भन्दा नबोली दिनु, दानगर्नु, वा प्रगति गर्नुलाई उत्तम अवस्था मान्नुपर्ने हुन्छ ।
बोल्नु र आश्वासन दिनुमा कसैका वाध्यता होलान्, कसैका अरुभन्दा उम्दा देखिने मनोभावना होलान् । कसैलाई टार्नु र तत्काल उम्कने सोच होला भने कसैलाई अहिले बोलेर हिरो बनि हाल्ने, वाहावाही र ताली खाइ हाल्ने, भोलि जे होला देखाजायगा ! भन्ने अहम् भावना पनि होला ।
कहिलेकाहीँ कुनै भेला, सङ्गठनको बैठकमा निम्तो मान्नकै खातिर उपस्थिति जनाइन्छ । हतारले खासै विषयवस्तुको भेउ पनि हुन्न । कुनै निर्णयको प्रभाव पनि अध्ययन गरिएको हुँदैन । आफ्नै साथीभाइ र आफन्तजन लगायतको पेरिफेरी हुन्छ । कुनै विषयको आग्रह टार्न, साथमा छु भन्ने देखाउन पनि केही बोल्नुपर्ने हुन्छ । तर कुनै बेला त्यति महङ्गो मूल्य तिर्नुपर्ने रहेछ भन्ने थाहा नहुँदा पछि चपेटामा पर्दै दिएको वचनको साथसाथै सम्बन्ध पनि भङ्ग हुनसक्छ । यस्तो अवस्थामा मान्छेको मौलिक स्वभाव, वचन पालना गर्दाको मूल्य, मान्यता, प्रभावको अवस्था, झञ्झट तथा आपसी सम्बन्धमा पार्ने असरका डिग्री अनुसार ४ सूत्रले काम गरेको हुन्छ र निर्णय कार्यान्वयन हुन्छ, या आंशिक कार्यान्वयन हुन्छ या हुँदैन ।
अर्को कुरा सहयोगको लगाव पनि चार प्रकारमै हुनसक्छन्,
१. भौतिक र भावनात्मक, २. भौतिक कम, भावनात्मक ज्यादा, ३. भावनात्मक कम, भौतिक ज्यादा, ४. भावनात्मक मात्र ।
यिनिहरुका पनि माथीनै उल्लेख भएझैं आफ्नै आयामहरुमा मात्रात्मक तथा गुणात्मक महत्व तथा सामाजिक सम्बन्धका प्रभावमा हुन्छन् । आ आफ्नै भुमिका, महत्व र विशेषताहरु समेत हुन्छन् । एकै हिसाबले सकार्न या नकार्न सकिँदैन या हुदैन । चारै प्रकार चारैथरि डिग्रीको झुकावमा रहेका हुन्छन् ।
कुनै मान्छे, घटना, सीमावद्ध गरिएका निश्चित व्यवहारको कारण बृहत् धारणा बनाएर केहि या कसैको अवमूल्यन वा अधिमूल्यन गर्नु पनि हुँदैन । विज्ञानले भन्छ, पानी उम्लनको लागि भएको ९९’ डिग्री सेल्सियस तापक्रम सम्मको परिवर्तन खुल्ला आँखाले देख्न सकेको हुँदैन । १०० डिग्री तापक्रममा उम्लेपछि मात्र गुणात्मक परिवर्तन प्रत्यक्ष थाहा हुन्छ । त्यस्तै कतिपय परिवर्तनको लागि भित्रभित्रै भएका धेरै उतारचढावका घटना, असर, प्रभाव, प्रयासका आरोहअवरोह गतिशील भैरहेका हुन्छन्, तर सङ्क्रमणको टुङ्गो लागेपछि मात्र नाङ्गो आँखाले देखेर, कानले सुनेर वा ग्यानेन्द्रिय, कर्मेन्द्रियले वास्तविक अनुभव गरेपछि धारणा बनाउदै तत्सम्बन्धी बखान गर्न सकिने हुन्छ, गरिन्छ ।
एउटा वास्तविक कुराको प्रसङ्ग कोट्याउन चाहन्छु । नेपाली साँस्कृतिक पर्व लगायत विशेष रुपमा आमा खुवाउने, बुवा खुवाउने औंशी लगायत जन्मदिन र विवाह वर्षगाँठको उपलक्ष्यमा आफ्नो र आफ्नाहरु बीचमा भए गरिएको शुभकामना आदानप्रदानको क्रमलाई लिएर एकजना बौद्धिक भनाउदाको प्रतिक्रिया थियो कि “आजकल मान्छेहरुलाई सञ्जालमा देखापर्ने लालशा ज्यादा छ । मनले नकारात्मक भावना बोक्ने, देखावटी अनेक गर्न जान्ने ढोंगिहरुलेनै सामाजिक सञ्जालमा भने अतिरन्जनापूर्ण प्रचार प्रशारगर्दै वाहावाही बटुल्ने काम गरेका छन्…” भन्ने कुरा ।
मलाई भने माथिको भनाइमा रहेको एकोहोरो आलोचनात्मक जिकिर मन परेन र माथि उल्लेखित चार प्रमुख धारसम्मत तर्क, तथ्यमा रहेर विमती राख्ने जमर्को गरें ।
१. पहिलो पक्ष, वास्तविक व्यवहारमा जति सकारात्मक छन्, सामाजिक सञ्जाल प्रयोगमा पनि त्यतिनै सकारात्मक र सन्तुलित रहन्छन्,
२. दोश्रो पक्ष, वास्तविक व्यवहारमा नकारात्मक छन्, तर सञ्जाल मार्फत लोकलाई आदर्शका आख्यान छाँट्नको लागि पनि सञ्जालकाे सकारात्मक प्रयोग गर्छन्, चाहन्छन् ।
३. तेश्रो पक्ष, वास्तविक व्यवहार जति नकारात्मक छ, त्यतिनै सञ्जाललाई नकारकै दृष्टिले उपयोग मात्र गर्छन्, सकारका दृष्टिले उपयोग गर्दैनन्, गर्न जान्दैनन् या चाहँदैनन् ।
४. चौथो पक्ष, व्यवहारमा अत्यन्तै सकारात्मक तर सञ्जाल प्रतिको गतिविधिमा मौन रहन चाहन्छन् ।
ल अब हामीनै भनौं, कुन पक्ष ठिक या बेठिक ?
जे होस्, मलाइ भने के भन्न मन लाग्छ भने सबै क्रिया, प्रतिक्रिया, घटना, दूर्घटना लगायतका गतिशीलताहरु पनि समय सापेक्ष, वस्तु या सेवा सापेक्ष, वातावरण या परिस्थिति सापेक्ष हुन्छन् र मूल्याङ्कन पनि त्यही कडिकै डिग्रीमा रहेर हुनुपर्छ, भन्ने लाग्छ ।
अन्तमा,
राम्रा, नरामा सबै समाजका अभिन्न अङ्गहरु हुन्, सृष्टिका सुन्दर उपहार हो मान्छे । विविध सोच, संस्कार, वातावरण, शिक्षा, नैतिक धरातलका कारण सोचाइ पनि विविध हुन्छन्, मान्छेका । यसो नियालेर विचार गर्दा लैङ्गिकताको पनि चार प्रकारनै हुनेरहेछ । महिला, पुरुष, उभयलिङ्गीमा पनि पुरुष प्रधानता रहेको या महिला प्रधानता रहेको गरि चार प्रकार । मान्छेको रगत समूह पनि मूख्यत: चारै प्रकारका हुनेरहेछन्, पोजेटिभ र नेगेटिभ गरि ८ समूह हुनु दोश्रो कुरा । सामान्य, उत्तम, मध्यम, अधम गरि मान्छे पनि स्वभावले ४ प्रकारमा भाग लगाउन सकिने भएर हो कि ? या संयोगले हो चार तत्वको खेलो अचम्म लाग्छ कहिलेकाहीँ ।
समाज यस्तै यस्तै मान्छे, विधि, व्यवहार र कृयाशीलताको सयुक्त साझा थलो पनि हो । यहाँ यसरिनै अनावश्यक धेरै बुझ्ने पनि छन्, नबुझ्ने पनि छन्, बुझपचाउने पनि छन्, सन्तुलन कायम गर्ने पनि छन् ! मेरो विचारमा बुझ्दै नबुझ्ने वा अत्यधिक बुझ्ने एकदमै कम वा नगण्य छन्, बुझ पचाउने या आफ्नो बाहेक अरु सरोकार नराख्नेहरु केहि छन्, सन्तुलित र संवेदनशील अलि न्यून छन्, ज्यादा बहुमत सामान्य, औसत र निम्छराहरुकोनै देखिन्छ । अन्तिम दुई प्रकारका विशेषताले समाज गतिशील भैरहेको हुन्छ जस्तो लाग्छ, तर नेतृत्व भने प्रत्यक्ष या परोक्ष रुपमा बुझ्ने र घुमाउन सक्नेहरुलेनै गरिरहेका हुन्छन् । याने अल्पमतले बहुमतलाई शासन चलाइरहेका हुन्छन् ।
यस्ता प्रवृतिगत अवस्था र परिस्थितिजन्य कारणका आधारमा आफ्नो मनोभावना तपशिल बमोजिम प्रकट गर्ने धृष्टता गर्दछु…
कुरै नगर्ने भन्दा कुरा गर्ने राम्रो
कुरो मात्र गर्ने भन्दा सहि कुरा गर्ने राम्रो
कुरा सान्दर्भिक तथ्य, तर्ककै राम्रो
कुरा थोरै काम धेरै गर्ने राम्रो
धेरै मध्ये उत्कृष्ट गर्ने राम्रो ।१
नबोल्नु भन्दा बोल्नु राम्रो
गलत विरुद्ध बोल्नु झनै राम्रो,
अरुको आलोचना मात्र हैन
आत्मालोचना गर्नु झन् राम्रो,
सकेसम्म गल्ति नगर्नु राम्रो
गल्तिमा सुध्रनु, सुधार्नु राम्रो ।२
इमान्दारिता बिनाको प्रख्याती
प्रख्याती बिनाको इमान्दारी
इमान्दारिता सहितको प्रख्याती
न कुनै कर्म, ल्याकत, न इमान्दारी
आआफ्नै सक्दो जिकिर हुन्छ,
हात माथि पार्ने फिकिर हुन्छ ।३
उपयोगको नाउमा दुरुपयोग हुनुभएन
प्रयोग र जोगको गलत उपभोग हुनु भएन
लापरबाही, धोखाबाजी मान्छेको व्यापार हैन
गल्तिमा माफी र सुधार बिनाको संयोग, एवं
नियमिततामा आकस्मिकता भन्दै पन्छनु भएन ।
बस् !
सकारात्मकताको जय होस् !!
अस्तु…!!!
०००
आलापोट, काठमाण्डौं ।
२०८१/१०/११
Subscribe
Login
0 Comments
Oldest








































