साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पन्नताको कसी

यथार्थ कुरा यहाँ जनताभन्दा नेता धेरै छन् । नेताहरु भन्दा पार्टीहरु धेरै छन् । पार्टीहरु भन्दा गुट धेरै छन् । गुटलाई लुट मचाउन छुट हुन्छ ।अनि झुटको खेती मौलाउन थाल्दछ ।

Nepal Telecom ad

रामप्रसाद अर्याल (अविराम) :

अरुले दश नङ्ग्रा खियाएर घुँडा धसीधसी कमाएको सम्पत्तिमा घरमै बसीबसी राइँदलो मच्चाउन पाउनु नै सम्पन्नता हो । सम्पन्नता हुनु भनेको पौल हुनु हो । हरेक बस्तुको तौल भएपछि खौलामा परिँदैन । शिखर छोएपछि बद्नामको आहालमै परेको भए पनि गाईको दूधले धोए जस्तो चोखो भइन्छ । गन्ने मान्ने बन्न गईन्छ ।

सम्पत्तिको छेलो र खेलो हुनेहरूको उभौलीको मेलो छिटोछिटो सर्दछ । मेलो अघि सर्नेहरूको खेलो धेरै हुन्छ के के हुन्छ के के । म जस्ता सोझालाटा लठेप्राले बुझ्ने कुरै भएन । बुझे पनि भन्नु हुँदैन । “बोलबोल मछली मुखभरि पानी” हुन्छ । अनि बढेकासँग वा भनूँ टुप्पो पलाएकासँग काँधमा काँध मिलाएर हिँड्न , शिर ठाडो पारेर आँखा जुदाएर हेर्न र बोल्न कसको के तागत । यदि कोेही जबर्स्वाँठले बोल्न र विरोध गर्न घृष्टता गरिहाल्यो भने त्यसलाई आफ्नै भएपनि गुटबाट बुट बजारेर सुट गर्न बेरलाइँदैन ।

“कसी” कसी भनेको लागोभागो खुट्याउने सुन र पित्तल छुट्याउने चमकदार कालो ढुङ्गा । जसको कारणले चोर र साधु धनी र गरिब उज्यालो र अँधेरो सद्दे जाचँचिन्छ । झारपात किरा फट्याङ्ग्रा खाने हाँसले त दूध र पानी छुट्याउँछ भने अन्न खाने मान्छेले सन्न पानी पिए पछि दूधको दूध पानीको पानी हुन्छ । तर दूधको पानी छट्याउन सकिँदैन ।

अचेल म आफै अज्ञानी भएर हो कि समदृष्टि राख्ने भएर हो कुिन्न ? सन्तमहन्त र हत्यारा , बलात्कारी उस्तै उस्तै लाग्छन् । नुन र चिनी छुट्याउन सकिँदैन । गुलियो मिश्री र टर्रो न टर्रो फिट्किरी उस्तै उस्तै लाग्छ , जिब्रोलाई । मेरो होस् बेहोस् भएको छ अचेल । र त सबैलाई समदृष्टिले हेर्ने गर्दछु । सामन्ती जमिन्दारवर्ग , दलाल , नोकरशाही पुँजीपति वर्ग र सर्वहारा वर्ग छुट्याउन खुट्याउन सक्दिन म । एक त जाडोको याम दिउँसै रात परेको हुन्छ । अर्को कुरा धनी र गरिब छुट्याउने कसी खसी परेर कक्रिएको छ ।

एकान्तमा गम्भीर भएर सोच्छु अहिले मैले मात्र सज्जन र दुर्जन छुट्याउन नसकेको होइन । उहिले उहिले ऋषिमुनिको पालामा पनि म जस्तो भुरेले होइन ठूला बडा राजाले पनि चिन्न जान्न र सत्य तथा तथ्य पत्ता लगाउन नसकेर माण्डव्य ऋषिलाई शूलीमा चढाएका थिए रे । यसरी साधु चोर र चोर साधु उहिले देखि नै हुने रहेछ भनेर चित्त बुझाउँदछु मेरो । अरु के के हो के के सम्पन्न बन्न धन गन्न जान्नुपर्छ । धनले धन तान्छ र कालो धनले सेतोलाई पनि कालो बनाउँदछ । र सेतो धनले कालोलाई पनि सेतो बनाउँद्छ । तब सम्पन्न बन्न कति बेर लाग्छ र ? मलाई लाग्छ हामी धनी छाैँ । सम्पन्न छाैँ । यसरी भन्दा मलाई लाग्छ कोही कोहीलाई चित्त दुख्ला म गरिब छु, म भए जस्ता अरु जनताहरु पनि गरिब छन् भन्लान् तर यसमा मेरो के तर्क छ भने तपाईँ हामीलाई “कौन पुछे खेसरीका दाल” भनेझैँ त हो नि । गनिता न मनिताका ।

यही नेर मलाई लाग्छ जनता गरिब भए पनि हाम्रा अगुवाहरु त सम्पन्न छन् नि । अगुवा धनी भएपछि हामीहरु पनि धनी नै छाैँ । धनी भएपछि कतै न कतैबाट चुहिन्छ । गोदाममा लुकाएको अन्न कुहिन्छ । कुहिएको सडेको डेट गएको चिज दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्न पाइन्छ । दानी देखिन फोटो खिचाइन्छ । खानदानी छाप देखाइन्छ । खानदानी देखिन होड चलेको छ अहिले । खानदानी नेताहरूले नै त हो चुनाव ताका चुनाव प्रचारका ठिटाहरूलाई नोटका बिटा वितरण गर्ने, रक्सीका आहालमा बुढाउन र हाँस, कुखुरा, चाेँचे, खसी, बाख्रा, भैँसी, पाडाका साप्रा भट्टीमा झुण्ड्याउन  नसक्ने नामर्दले चुनाव जित्दैन ।

हामी सम्पन्न छौ भन्नुको मतलब गरिब छैनौँ । सम्पन्न हुनेहरूले न हो आफूलाई छेलोखेलो भएका वस्तुहरू बेच्ने । त्यो पनि महँगोमा हो र ? सस्तो सिन्कीको भाउमा । ग्राहकहरुले तोकेको मूल्यमा अदुवा, सुठो, बेसार, टिमुर, सुपारी, अलैची, तेजी, कुरिलोका जरा वा भनौ जडीबुटीहरू । यसो भन्न उपयुक्त होला – ढुंङ्गाको भाउमा दिन्छँौ हिराको भाउमा किन्छाैँ । किन्ने वस्तुहरु ।

तेजी बेचेर दालचिनी किन्ने कच्ची दिएर पक्की लिने हामी । कबाडी बेच्छौ मूल्यवान किन्छौँ । असिना , पसिना र मसिना बेच्छौँ । त्यसो त मोटो पनि बेच्छाैँ । आफ्नो माया बेच्छौँ । आफ्नो काया बेच्छाैँ र आफ्नी जाया समेत बेच्छौँ, भने हामी कसरी गरिब ? सारसौदा बल बौसका जवान बेच्छौँ र देशैका जवान बेच्छाैँ र बेैसाखी टेक्ने भएपछि मात्र स्वदेशमा स्वागत गर्छौ । हामी कति सम्पन्न छाैँ भने आफ्नो देशको ढुङ्गा, माटो, गिट्टी, बालुवा मात्र हो र पानी, जवानी समेत सित्तै दिन्छौं । नदीनाला, खोला, खेतीयोग्य जमिन, खाला मात्र हो र ? चुच्चाचुच्ची परेका अग्ला डाँडा सुमर्न दिन्छाैँ, हेर्न दिन्छाैँ ।

हामी धर्मात्मा छाैँ । आफूलाई नराखेरै भए पनि अर्कालाई अर्काको हितमा काम गर्छौँ । आफ्नो खेतबारी वन्यजन्तुको जिम्मा दिएर अर्काको खेतबारी खन्न गएका छौँ । त्यो पनि हुल बाँधेर । हामी र हाम्रो युवाको पसिनाले नभिजेको विश्वको कुन देश होला र ? संसारका कुना कुनामा पुगेर रगत पसिना बेच्न सक्ने खुबी लौ त अरु देशका मानिसहरुले गर्न देखाउन सकून ? सस्तो मोलमा यही त हो सम्पन्नताको लक्षण । एउटा भर्खरै जन्मेको शिशुले झन्डै झन्डै एक लाखको ऋणको भारी सजिलै बोक्न सक्छ । त्यसै धनी कहाँ भइन्छ र ?

अन्यत्र साहु महाजनहरुले पनि प्रयोग गर्न हिच्किचाउने लग्जरीयस गाडी हाम्रा सर्वहाराका नेताले हुईक्याउँन सक्छन् । जुन देशका गरिब किसानका नेताले दामी घडी लगाएर नामी खाटमा परिपाठ पर्न सक्छन् । मयलपोसमा सजिएर देशको कोष हर्न र आफ्‌नो भकारी भर्न सक्छन् ।, वैभवको महल बनाएकाले जतासुकै समस्या हल गर्न सक्छन् । दूरदृष्टि यतिसम्म राख्छन् कि आफ्नो सात पुस्ता सन्तान, दरसन्तानलाई पुग्ने तिजोरीभरि राखेका छन् । ककस्ले बसियत कतिकति देखाउलान् र ककस्लाई लेखाउलान् त्यो अनुमान कै कुरा छ ।

एउटा सरल मजाक हाम्रो समाजमा प्रचलित छ । त्यो पनि भनि हालौ –“हाम्रा बा गरिब भाको धन नभएर हो” । ठिकै छ हाम्रा बा गरिब छन् । हाम्रो देश पनि गरिब छ । र आम जनता पनि गरिब छन् । तर हाम्रा नेता त धनी नै छन् नि । देशका पिता भनेका राष्ट्रपति हुन् । उनी धनी नै छन् । हाम्रो अभिभावक भनेको राष्ट्रपति , प्रधानमन्त्री , मन्त्रीहरू सभासद्हरू, महानगर, उपमहानगर नगर प्रमुखहरू, पालिका अध्यक्षहरू नै हुन् । अभिभावक संरक्षक वा बा आमा धनी भएपछि उनीहरूका सन्तान गरिब हुने प्रश्न नै उठ्दैन । हो उनीहरु धनका धनी भएपनि मनका धनी भने कत्तिका छन् कुन्नि ? त्यो भने मनमनै गुनाैँ ।

हामी कति सम्म धनी सम्पन्न छाैँ भन्ने कुरा मेला पर्व , जात्रा महोत्सबमा हिराका चुरा सुनका गहनाले छाइएका गुण्डाले पच्छाएका यौवनाहरु हेरेपछि थाहा हुन्छ । गल्लीगल्ली डुल्ने कुल्ली भारी बोक्ने भरिया, घाँस काट्ने घसिनी, बोरा बुन्ने मसिनी, मुला र साग बेच्ने सागेले पनि तुने बुनेका फाटे पुराना लुगा लगाउँदैनन् । शरीरमा काई परे पनि कपालमा डाई दलेर हिँड्ने सुकिला मुकिलाको कुरै छोडौँ । भूई मान्छेले पनि आफ्ना छोराछोरीहरुलाई बोर्डिङ स्कुलमा नपढाए आफ्नो इज्जत गएको सम्झिन्छन् । त्यसैले बोर्डिङ स्कुलहरु विद्यार्थीहरुले भरिभराउ छन् । सम्पन्न स्तरीय स्कुलहरुमा पढाउन सक्ने हैसियत भएका हामीहरु सम्पन्न भएको प्रमाण हो ।

सम्पन्नताको अर्को प्रमाण भनौं – विपन्नहरूकै बस्तीमा आगोलागि भए वा चोरी भयो भने हानी नोक्सानी वा क्षतिपूर्तिको फेहरिस्त प्रशस्तै देख्न सकिन्छ । नागाबाबाको पासमा त प्रशस्तै धनको थुप्रो हुन्छ भने अरुको के कुरा गर्नु ।

हामी कतिपय सम्पन्न छाैँ भन्ने कुरा बैङ्क व्यालेन्स हेरे थाहा भैहाल्छ । बैङकहरु कसैले ऋण लिएनन् बैंकमा थुपारेर मात्र राखे भनेर नोटका बिटामा ढुसी उमारेर ठुस्की बसिरहेका छन् । उता जनता विकासको बजेटसम्म पनि खर्चिदैनन् । सरकारको भकारीमा धन थुप्रिएको छ । हाम्रो खेतबारीमा वन्यजन्तु प्रशस्त छन् । गाउँघरलाई वृद्धाश्रम बनाइएको छ ।

जुन देशका जनताले विदेशको सैर गर्न महंगा वस्त्र पहिरन र चैरासी व्यञ्जनमा पौरन सक्दछन् । ती सम्पन्नताको शिखरमा हुन्छन् । अर्को कुरा हामी संसारकै शिखरमा छाैँ । भलै पग्लिएर शिख्रो भएको किन नहोस् ।

डाँडाकाँडा हिमाल, पहाड, मधेश, गाउँ, सहर, जातजाति, भाषाभाषी संस्कार संस्कृति बोकेका मानिस वैभवशाली हुन्छन् । गरिब हुँदैनन् । यथार्थ कुरा यहाँ जनताभन्दा नेता धेरै छन् । नेताहरु भन्दा पार्टीहरु धेरै छन् । पार्टीहरु भन्दा गुट धेरै छन् । गुटलाई लुट मचाउन छुट हुन्छ ।अनि झुटको खेती मौलाउन थाल्दछ । खेती बढ्नु भनेको सम्पन्न हुनु हो । यसरी हामी विपन्नताको भ्रम तोडेर झुटको खेती गोडेर सम्पन्ताको कसीमा गजधम्म परेर बसिरहेका छौं । होइन र ?

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x