पराशर रिजालहेलिकप्टर
हेलिकप्टरहरु भुटभुटाउन थालेछन् । तीनैवटा हेलिकप्टर एकैचोटी जुरुक्कै उठे । फुंगलिग बजारलाई दुइ फन्का लगाएर पश्चिमपट्टीको क्षितिज तर्फ लागेका कता बिलाए कता ।

पराशर रिजाल :
दुइ हजार तिस साल तिरको कुरा हुनुपर्छ । बर्खा मास भए पनि त्यस दिन मौसम निकै खुलेको थियो । सदा झैं हामी कक्षा कोठामा बसेर अनुशासित ढंगले लय हालेर पढिरहेका थियौं । सरहरु छडी लिएर हामीलाई रखबारी गरिरहनु भएको थियो । सबैले सस्वर एकैचोटी पढ्दा एक तमासले मौरीको भूनभुनाहट जस्तै भुनुनु आवाज आउँथ्यो । अक्सर त्यतिबेला कराएर सस्वर पढ्ने चलन थियो । यसबाट विद्यालय लागेको नलागेको कुरा जो कोहीले टाढैबाट सजिलै पत्तो पाउँथ्यो । कुन कक्षाका विद्यार्थीहरु कति अध्ययनशिल छन् भन्ने कुरा पनि पढाईको गुञ्जनको आधारमा बाहिरबाटै छर्लँग मूल्याङ्कन गर्न सकिन्थ्यो । अझ सरहरुलाई पाठ बुझाउनु छ भने त्यसदिन सबै विद्यार्थी जोडसंग कराएरै पढ्दथ्यौं र सकेसम्म सरहरुले प्रश्न सोध्ने मौकै नपाउने अवस्था बनाउँथ्यौं । पैंतालिस मिनेटको पिरियड पुरै पढेरै बिताइदिन्थ्यौं । अहिले सम्झँदा सरहरु पनि केटाकेटी आफैं पढिरहुन् , पढेभने आफैं जान्दछन् , पढाउने झन्झट पनि कम हुन्छ भन्ने सोच्नु हुँदो रहेछ भन्ने लाग्छ ।
कहिले काहिँ सरहरु घरको कामले थकित भएर आउनु हुँदो रहेछ, कक्षा कोठाको कुर्शि मै निधाउनु हुन्थ्यो । तर बिद्यार्थीहरुको बिचबिचको हल्लाखल्लाले बेलाबेला तर्सिएर झसँग झसँग पनि हुनु हुन्थ्यो । त्यसदिन बेनु सर छडी लिएर हाम्रो रखवारी गरिरहनु भएको थियो । छेवैको पल्लो कक्षामा प्रलाद सरले सिकाउँदै गरेको हिसावको फर्मुला ए प्लस बि होल स्वयर इज इक्वयल टु ट्वाइस ए वि प्लस वि स्वायर प्रष्टै सुनिन्थ्यो । हेड सर– गणेश राई , जसको छाँयाँ मात्र पनि जस्तासुकै मै हुँ भन्ने बद्मास विद्यार्थीहरुको लागि समेत काफी थियो, खेल मैदानमा यता उता टहलिरहनु भएको थियो । मौरीको भुनुनु जस्तो त्यो एकनासको आवाजमा अचानक उच्चता आयो । हामीले ठान्यौ, अरु कक्षाहरुका विद्यार्थीहरु पनि ठूलो आवाज निकालेर पढ्न थालेछन् । हामीले त्यसलाई खिच्ने गरी अरु जोडले कराएर पढ्यौं । तर आवाज अझै टड्कारो बन्दै गयो । के भएको यस्तो भन्ने खुल्दुलीले पढाइतिरको हाम्रो ध्यान पुरै भंग भयो ।
साना कक्षाका विद्यार्थी भाइबहिनीहरु कोही ढोकाबाट, कोही झ्यालबाट फटाफट ओर्लिएर खेल मैदानभरि छरिए । भाइ बहिनीहरु हेलिकप्टर !‘‘‘‘‘.हेलिकप्टर !!‘ भन्दै जोडसंग चिच्याउँदै उफ्रिन थाले । भ्वाँ‘‘‘‘‘..भ्वाँ‘‘‘‘‘भुटुटुटु ..गरेर जमिनै थर्काउँदै हेलिकप्टर उडेको देखियो । तिनोटा हेलिकप्टरले पारी ताप्लेजुँग बजारको आकाशमा चक्कर लगाउन थाले । दोश्रो हेलिकप्टर आउँदा सम्म त हामी जसोतसो मन थामेर बसेका थियौं तर जब तेश्रो हेलिकप्टर आयो सरको पनि त्यतैतिर चासो बढ्यो । पल्लो कोठाका सबै विद्यार्थीहरु भुरुरु बाहिर निस्किए । अबभने हामीले पनि मन थाम्न सकेनौं । सरको लठ्ठी निरीह सावित भयो । हामी ठेलमठेल गर्दै बाहिर निस्कियौं । घारबाट मौरी बिच्किए जस्तै सबै विद्यार्थीहरु कक्षा कोठाबाट ग्राउण्ड भरि तितरबितर भए । एक डेढ मिनेटको अन्तरालमा सबै कक्षा कोठाहरु विद्यार्थी बिहिन भए । सरहरु हामीलाई छेकेर कक्षा कोठामा लैजान प्रयासरत हुनुहुन्थ्यो ।
त्यत्तिकैमा केही बिद्यार्थीहरु भने सरहरुको नियन्त्रणबाट सुटुक्कै फुत्कि हाल्यौं । विना योजना ताप्लेजुँगको सदरमुकाम फुँगलिंग बजार पुग्ने, ती आकाशमा उड्ने अद्भुतका बस्तुहरु नजिकै पुगेर देख्ने मनमनै अठोट गरेर दौडन थालेछौंंं । पर्शु गौतम, देवनारायण, टिकाराम, मनरथ, खगेन्द्र चुडाल, बिष्णु यक्सो, हरि संग्रौला र नवराज सुब्बा, लगायत ५।७ जना जति विद्यालयबाट स्वात्तै चिप्लियोैं ।
सरस्वती मा. वि. (पुरानो सरस्वती डि.एस् पी. हाइस्कूल )हाँंगपाँगबाट ताप्लेजुंगको सदरमुकाम फुँगलिँग पुग्न ठूलै मानिसहरुको लागि पनि चार पाँच घण्टाको पैदल दुरी थियो । तल दोभानसम्म करिब डेढ घण्टा र त्यहाँबाट उकालै उकालो फुंगलिंग सम्म कम्तिमा पनि साढे तीन घण्टा लाग्थ्यो । प्राइमरी स्कुल बिल्डिँग छेवैबाट शुरुहुने सिँडी हुँदै हामी डाँडैडाँडा ओरालै ओरालो झर्यौं । पंचमी डाँडा, मिचिरिंग, चिहानघारी, सोबुवा र तमोरको दोभान पार गरिसकेपछि चाँगे तर्फको पाटो आयोे । केही उकालो हुँदै दोभान तर्फ लाग्यौं । दायाँ बायाँ सबैतिर किसानहरु खेतबारीमा काम गर्दै थिए । गोठालाहरु बस्तु चराउँदै थिए । रोपार र बाहुसेहरुले हाम्रो ओह्रलो लाग्दै गरेको ठिटाहरुको लर्कोलाई एक तमासले हेरे । कसैकसैले भन्दै थिए हैन यी केटाहरु यस्तरी कता कुदेका ? हामी वास्तवमा हिँडेका थिएनौ, कुदेकै थियौं । त्यसक्रममा हामीले धेरै पटक बाटो बिरायौं । उक्लियौं, ओर्लियौं, पछारियौं । कहिले दायाँ कहिले बाँया लाग्यौं । कहिँ नरोकिइ निरन्तर हिँडेर हामी बाँजोगरा मुनी तिलबारी स्कूलमा पुग्यौं । पसिनाले निथु्रक्क र तिर्खाले प्याक्प्याक्ती भएकोले चौतारामा थोरैबेर सुस्ताउने बिचार गर्यौं । त्यतिबेला मात्र थाहा भयो कि हामी सात आठ जना जति सहयात्री रहेछौं । नजिकैको धारामा गएर घट्घटी पानी पियौं । पानी पिउन धारामा जानेक्रममा एकजना साथी हिलोमा नराम्ररी पछारियो । तर हिलै फिलै उ पनि हाम्रो पछि पछि दौडिन छोडेन ।
तमोर र मैवाखोला जोडिने दोभानसम्म हामीलाई बाटाको राम्रो भेउ थिएन । हांगपांगबाट त्यस ठाउँसम्म आउँदा खेत र पाखामा, आली र डिलहरु उक्लँदै ओर्लंदै जतासुकै हिँडिरह्यौं । कसैको पनि खुट्टामा जुत्ता थिएनन् । तिखा दर्शिन ढुँगा, तिखा गिर्खे ढुंगाले, काँडाले घोचेर र ठेस लागेर सबैका पैताला, औंलाहरु रक्ताम्मे थिए । तर कसैलाई यसको पर्वाह थिएन ।
हामी एकै छिनमा दोभानै मास्तीर बर पिलको चौतारीमा पुग्यौं । माथि फुंगलिंगको अमिनी छेलिइसकेको थियो र तल मैवाखोला र तमोर नदीको गड्गडाहट बढिरहेको थियो । झन् पछि झन् आबाज तिख्खर हुँदै गयो । शुरुमा त लाग्यो खोलाको गडगडाहट कतिसारो बढेको‘ तर होइन रहेछ । हेलिकप्टरहरु भुटभुटाउन थालेछन् । तीनैवटा हेलिकप्टर एकैचोटी जुरुक्कै उठे । फुंगलिग बजारलाई दुइ फन्का लगाएर पश्चिमपट्टीको क्षितिज तर्फ लागेका कता बिलाए कता । फेरि फर्किएर आउला कि भन्ने आशाले पश्चिम आकाश तर्फ आँखा टट्टाउने गरि निक्कैबेर हेर्यौं । अँहँ, फेरि फर्किने कुनै सङ्केत देखिएन । त्यतिबेला हामीलाई सपनावाट झल्यास्स भए जस्तो लाग्यो । शरीरको सबै उत्साह सिथिल भयो । पुरै शरीर र खुट्टाहरु बेजोडसंग दुख्न थाले । भोक र थकाइले लखतरान भइयो । बल्ल त्यतिबेला थाहा भयो हामी मध्ये कसैको साथमा एक रुपैंया पनि खर्च रहेनछ । अब फुङलिङ तर्फ दौडनुको कुनै औचित्य रहेन । अल्छि लाग्दो पाराले लोसेलोसे पाराले लागियो हाँगपाँग विद्यालयै तर्फ । कति ठाउँमा पानी खायाैँ । धेरै ठाउँमा आराम गर्यौंं । आधाघण्टामा तय गरिएको व्यर्थको यात्रा तीन घण्टामा बल्लतल्ल सच्याउन सफल भयौं । कोपरिएका खुट्टाहरु रातभरी टट्टाइरहे । शरीर थकित भएर राम्रो निन्द्रै परेन ।
विहान भयो । अलि फ्रेस भइएछ । हिजोको दिक्क लाग्दो घटना आज चाहिँ स्कुलमा सबै साथीहरुलाई मजाले सुनाउनु पर्ला भन्दै हतारहतार स्कुल पुग्यौं । यता हाम्रो भगाइको हल्लाखल्ला सबैतिर मच्चिसकेको रहेछ । एकैछिनमा बिहानको प्रार्थना सभा भयो । त्यतिबेलै हिजोको हेलिकप्टर टोली यता आओ भनेर बोलाइयो । हामी भिजेका मुसा जस्तै हुँदै एकएक गर्दै लोसेलोसे पाराले प्रकट भयौं । भागहारीमा पालै पालो चड्कन चिउरा चखाइयो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































