हरिशंकर परसाईंप्रेमपत्र र हेडमास्टर
तर मार्क ट्वेनको एउटा कुरो भने मैले सम्झिरहेको छु । त्यस सिल्लीले के भनेको छ भने आदमले स्याउ किन खायो भने उसलाई नखान भनिएको थियो । यदि उसलाई सर्प नखान भनिएको भए सर्प नै खान्थ्यो ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद रमेश समर्थन
गुरुहरूसित त म अहिले पनि निकै डराउँछु । उहाँहरूको विषयमा कुनै अवरोध गर्दिनँ । तर मेरो अगाडि रहेको यस अखबारले भने मलाई रौस्याउँदै छ । खबर यस्तो छ – एउटा केटाले दिनैपिच्छे एउटा प्रेमपत्र लेख्दो रहेछ । ती चिठीहरू हेडमास्टरका हातमा परेछन् । उनले उसलाई स्कुलबाट निकालिदिएछन् । संवाददाताले लेखेको रहेछ – हेडमास्टर साहेबको यस नैतिक कार्यको सबैतिर प्रशंसा भइरहेको छ ।
भयो होला । संवाददाताहरूले धेरैजसो स्थानीय स्कुलमै पढेका हुन्छन् त्यसैले यी पोस्टमास्टर र हेडमास्टरका ठुला भक्त हुन्छन् । म भने त्यस केटालाई निकालेपछि हेडमास्टरले के गरे होलान् भन्ने पो कल्पना गर्दै छु । आफ्नो प्यारो चम्चालाई भने होलान् – ‘माड्साब, अनैतिकता त म पटक्कै सहन सक्दिनँ । यस विषयमा म निकै कडा छु ।’ अनि चम्चो भन्दै होला – ‘माड्साब तपाईंले त्यसलाई निकालेर निकै राम्रो काम गर्नुभयो । अचेलका यी केटाहरूले निकै प्रेम गर्न थालेका छन् । हाम्रो यत्रो उमेर भयो र केटाकेटी पनि भए तर कसैले भन्न सकोस् कहिल्यै प्रेम गर्थ्यो भनेर !
हेडमास्टर साहेब खुसी भए होलान् र लुकेर चुरोट खानका लागि चर्पीमा गए होलान् । अनि ती शिक्षक राधाकृष्णको प्रेमका पद्य पढाउनका लागि कक्षामा गए होलान् –‘सोध्छन् कन्हैया को हौ तिमी गोरी ?’ अर्थात् कृष्ण भगवान्ले राधासित सोध्छन्…. ।
म सोच्छु, के गुरुको दायित्व यही हो त केटाले प्रेमपत्र लेख्यो अनि उसलाई दण्ड दिइयो ? तर उहाँ जुन मानवीय आचरणसूत्रहरूद्वारा बाँधिनुभएको छ त्यस दृष्टिले अरू केही गर्न सक्ने अवस्था पनि छैन । उहाँले केटासित यसो पनि भन्न सक्नुहुन्न ‘बाबु, तिमी हामी सबैभन्दा श्रेष्ठ छौ । तिमी दिनदिनै एउटा प्रेमपत्र लेख्छौ । धन्य छौ तिमी ! तर प्रेमपत्र निकै पवित्र वस्तु हो । त्यो हेडमास्टरको हातले दूषित हुन्छ । झुक्किएर तिम्रा प्रेमपत्रहरू मेरो हातमा परे । आइन्दा जसरी म चुरोट खान चर्पीमा जान्छु नि, त्यस्तै कुनै सावधानी अपनाउनू । राम्रो र नराम्रोमा केवल ढाकिनु र नढाकिनुको अन्तर रहन्छ ।’
कुनै पनि शिक्षकले यसो भन्दैन । बरु उल्टै उसले रसखानका रसिक पद्यहरू रसपूर्ण तरिकाले पढाइदेला –‘तिमीले कुन पाटीमा पढेका हौ सानू, मन त लिन्छौ तर छटाक पनि दिँदैनौ ।’ (यहाँ ‘मन’ इन्द्रिय र तौलका अर्थमा प्रयोग भएको छ । चालिस किलोको एक मन हुन्छ । नायिकाले नायकलाई भनेकी छ, कुन पाटीमा पढेका हौ र लिने बेलामा मन (हृदय र धेरै) लिन्छौ तर दिने बेलामा छटाक पनि दिँदैनौ – अनुवादक) । त्यस समयका स्कुल अहिलेका हाम्रा पब्लिक स्कुलजस्तै हुँदा हुन् जहाँ कृष्णजस्ता उच्चवर्गीयले पढ्दा हुन् । उच्चवर्गीयको त पाटी पनि छुट्टै हुन्छ ।
त्यसो त स्कुलमा जे पनि सिक्न पाइन्छ । मैले स्कुलकै गणितको माध्यमबाट बेइमानी र मिसावट सिकेको थिएँ । त्यो हिसाब यस्तो हुने गर्थ्यो – एउटा गोठालाले ४० पैसाको दरले १५ सेर दुध किनेछ र उसले त्यसमा १० सेर पानी मिसाएर ३० पैसा सेरको दरले बेचेछ भने त्यसलाई कति नाफा होला ? त्यसो त यो गणित हो तर यसले बेइमानीको लाभ पनि त बताएको छ नि ! अझै पनि विद्यार्थीहरूले यस्ता हिसाब सिक्ने गरेका छन् र बेइमानहरूका पुस्ताहरू तयार भइरहेका छन् ।
बरु बेइमानी सिक तर प्रेमपत्र नलेख । घृणापत्र भने जतिसुकै लेख । शिक्षकका दृष्टिमा सुखदायक कुराहरू प्रायः अनैतिक हुन्छन् । खेललाई त नराम्रो मानिन्छ । जब म पढ्थें त्यति बेला यस्ता पाठ हुन्थे – राम असल केटो हो । ऊ खेल्दैन । शिक्षकको दृष्टिमा जिन्दगी व्याकरणको पुस्तक बन्न पुग्छ ।
शिक्षककी पत्नीले माइतबाट भिजेको पत्र लेख्छिन् । सानो भाइलाई भनेर हुलाकको पत्रमञ्जूषामा खसाल्न लगाउँछिन् र भन्छिन् –‘कहीँ माथि अड्केको हुन सक्छ । त्यसैले हात घुसारेर हेर्नू ।’ अनि उत्तरको प्रतीक्षा गर्छिन् । उत्तर आउँछ –‘तिम्रो निकै सम्झना आउँछ । अँ, दुई पेजको चिठीमा तिमीले धेरै व्याकरण बिगारेकी छौ । तिम्रो व्याकरण निकै कमजोर छ । त्यहाँ समय पनि पाउँछ्यौ होला । दाजुभाइसित पुस्तक मागेर आफ्नो व्याकरण ठिक पार्नू ।’
शिक्षिकाले आफ्नो प्रेमीको पत्र पनि पाउँछिन् होला । अनि उनको मनमा पहिले त ठुल्दिदी (प्रधान अध्यापिका)लाई भनेर गाली गर्न लगाऊँ कि भन्ने पनि आउँछ होला ।
एक जना सिनियर प्रोफेसर साहेबले त्यस दिन भनेका थिए – ‘कलेजमा एउटा भर्खर एम. ए. गरेको शिक्षक मेरो विभागमा आयो । निकै प्रतिभावान् र राम्रो पनि । एक दिन उसले मलाई के भन्यो भने कसैले दुईतीन दिनदेखि उसको साइकलको हावा खुस्काइदिँदो रहेछ । मैले पत्ता लगाउँदा त त्यसो गर्ने एउटी केटी पो रहिछ । त्यसो त त्यो केटी पनि निकै असल थिई । तर त्यस्तो हरकत ? मैले बोलाएर हप्काएँ । रुन थाली । त्यस दिनपछि उसले कहिल्यै साइकलको हावा खुस्काइन ।’
तर त्यस नयाँ मूर्ख लेक्चररको त जिन्दगीकै हावा निस्क्यो । सिनियर प्रोफेसरलाई कसैले पनि सर, यो अनुशासनको विषय होइन भनेर कसले सम्झाउन सक्छ र ? तपाईंले सम्झिँदै सम्झिनुुहुन्न किनभने तपाईंको साइकलको हावा त कसैले खुस्काइदिएको छैन । तपाईंले त त्यस केटीलाई मारिहाल्नुभयो नि !
फेरि सोच्छु, मानौं यो क्रूरता हो तर उनले गरून् पो के ? के यो हावा खुस्काउने काम धेरै भयो ? अब चिठी लेख्ने स्टेजमा आऊ भनेर भन्ने त ? शिक्षकलाई अलि बढी नै भनें कि ? मलाई त डर पो लाग्न थाल्यो । स्पष्टीकरण दिन्छु । शिक्षकहरूले नराम्रो नमान्नुहोला । उहाँहरू जिम्मेवार हुनुहुन्न । उहाँहरू त फर्मुला लागु मात्र गर्नुहुन्छ । बनाउने त अरू नै हुन्छन् र तिनले शताब्दियौंदेखि बनाउँदै आएका छन् । नैतिकताका यी फर्मुलाहरू निकै रोचक छन् । जस्तो चरणस्पर्श गरेपछि भावनामा परिवर्तन आउँछ भन्ने कुरो । ‘ …..के हो ? तैंले ती महिलालाई नराम्रो दृष्टिले हेर्छस् रे, हो ? आइन्दा उनलाई दिदी मान्नू । जा, उनको चरण स्पर्श गर् ।’ उसले डराएर गर्यो पनि । अनि नियामकलाई लाग्यो समस्याको निदान पवित्र रूपमा भयो र उनी सन्तुष्ट भए । तर उनले के बिर्से भने चरण पनि शरीरकै एउटा अङ्ग हो र ती महिलाको कुनै अङ्ग भए पनि छुने उसको लालसा थियो र त्यो पूर्ण गराइएको थियो । उसले त दिनदिनै चरण स्पर्श गर्न सक्छ ।
यो जुन ‘पवित्र सम्बन्ध’को विषय हामीकहाँ चलेको छ, त्यसले के के न के के पो गराउँछ त । मान्छेलाई निकै अप्ठ्यारामा पार्छ । मानौं कुनै कन्या क्याम्पसको गेटमा क्याम्पस विदा हुने समयमा कुनै असल केटो उभिएको छ । उसलाई सोधिन्छ, ‘यहाँ किन उभिएका छौ ?’ उसले भन्छ, ‘सिस्टरलाई लैजानु छ ।’ अनि मैले त केसम्म देखेको छु भने कैयौं बिचराहरूका त दुईटै हातमा पाखुरा र काँधसम्मै राखी बाँधिएको हुन्छ । के गरून्, लाचारी छ । कुनै अर्को उपाय पनि त छैन नि !
टोलमा केटाकेटीका आँखामा आँखा लगाएर र हातमा लौरो लिएर बस्नेहरूले राधाकृष्णका प्रेमविलासका पद्यहरू भने आँखा चिम्लेर र घाँटी हल्लाएर गद्गद् भावले सुन्छन् । हरे नमः । त्यो त भजन पो हो त ! राधा र कृष्णको विषय हो । पवित्र छ । एक ठाउँमा भजन चलिरहेको थियो । भजनियाले सूरदासका पद्य गायो – आज हरि अनिँदोमै आए !’ यसका अगाडिको वर्णन रतिचिह्नमा आधारित छ । भक्तहरू हल्लिँदै सुन्दै थिए । भगतजीले सोधे, ‘यस पद्यमा जे भनिएको छ त्यो बुझेका त छौ ?’ उनले भने, ‘अँ अँ राधाकृष्णको त हो नि !’ अनि उनले घाँटी हल्लाउन थाले । उही कुरो संस्कृतमा छ भने त्यो पवित्र हुन्छ । जे बुझ्न सकिन्न त्यो पवित्र । केही मान्छे त संस्कृतको सबै छन्दलाई प्रभुप्रार्थना मान्दछन् र ‘कुट्टुनीचरितम्’लाई पनि प्रार्थना सुनेझैं सुन्छन् । त्यस्तै केही व्यक्तिहरू उर्दूको हरेक सेरलाई हास्यरस ठान्दछन् । सेर सुन्छन् अनि हिहि गर्दै हाँस्नथाल्छन् चाहे त्यसको भाव करुण नै किन नहोस् । ‘किस्मत में है मरने की तमन्ना कोई दिन और’ सुने अनि गर्न थाले – वाह वाह ! तमन्ना ! हिहिहिहि !
यताको यो मान्छे आफूलाई संसारको सबैभन्दा पवित्र तथा नैतिकतावादी ठान्दछ । माथिमाथि सबै ठिकठाक गरेर राख्छ अनि भित्रभित्रै अन्तर्विरोधलाई पालेर बस्छ । अश्लीलभन्दा अश्लील पद्यहरू भक्तिभावले सुन्छ तर साधारण मान्छेको भाषामा लेखिएको प्रेमपत्र पढेर झन्किन्छ र फन्किन्छ ।
यस्तै मान्छेले हामी कुनै क्रान्ति गदैनौं भनेर भन्ने गर्छ । क्रान्तिमा त हिंसा हुन्छ ।! हामी अहिंसावादी, दयालु र मानवतावादी मानिस हौं । हामी बुद्ध, महावीर र गान्धीको देशका मान्छे हौं । तर यसेै मान्छेले अहिलेसम्म झन्डै बीस लाख हिन्दू र मुसलमानहरूलाई दङ्गामा मारिसकेको छ । यतिमा त दशवटा क्रान्ति सम्पन्न हुन्छन् । यो मानिस पश्चिमका मान्छेलाई त लोभी र भौतिकवादी आदि भन्छ तर यसै निर्लोभी र आध्यात्मिक मान्छेले नौनीमा मसीको सोक्ता र बेसनमा ‘सोप स्टोन’ मिसाएर बेच्छ । औषधिमा समेत मिसावट गरेर मृत्युबाट पनि आफूलाई नाफा बढाउँछ ।
तर पनि यो अन्तर्विरोध शिक्षक या सुधारकको टाउकोदुखाइ हैन । उनीहरूको बाटो त सोझो छ । उनीहरू ठिकै नै गर्छन् । तर मार्क ट्वेनको एउटा कुरो भने मैले सम्झिरहेको छु । त्यस सिल्लीले के भनेको छ भने आदमले स्याउ किन खायो भने उसलाई नखान भनिएको थियो । यदि उसलाई सर्प नखान भनिएको भए सर्प नै खान्थ्यो ।
०००
परसाई रचनावली भाग -३ को ‘प्रेमपत्र और हेडमास्टर’ बाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest






































