साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमपत्र र हेडमास्टर

तर मार्क ट्वेनको एउटा कुरो भने मैले सम्झिरहेको छु । त्यस सिल्लीले के भनेको छ भने आदमले स्याउ किन खायो भने उसलाई नखान भनिएको थियो । यदि उसलाई सर्प नखान भनिएको भए सर्प नै खान्थ्यो ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद रमेश समर्थन

गुरुहरूसित त म अहिले पनि निकै डराउँछु । उहाँहरूको विषयमा कुनै अवरोध गर्दिनँ । तर मेरो अगाडि रहेको यस अखबारले भने मलाई रौस्याउँदै छ । खबर यस्तो छ – एउटा केटाले दिनैपिच्छे एउटा प्रेमपत्र लेख्दो रहेछ । ती चिठीहरू हेडमास्टरका हातमा परेछन् । उनले उसलाई स्कुलबाट निकालिदिएछन् । संवाददाताले लेखेको रहेछ – हेडमास्टर साहेबको यस नैतिक कार्यको सबैतिर प्रशंसा भइरहेको छ ।

भयो होला । संवाददाताहरूले धेरैजसो स्थानीय स्कुलमै पढेका हुन्छन् त्यसैले यी पोस्टमास्टर र हेडमास्टरका ठुला भक्त हुन्छन् । म भने त्यस केटालाई निकालेपछि हेडमास्टरले के गरे होलान् भन्ने पो कल्पना गर्दै छु । आफ्नो प्यारो चम्चालाई भने होलान् – ‘माड्साब, अनैतिकता त म पटक्कै सहन सक्दिनँ । यस विषयमा म निकै कडा छु ।’ अनि चम्चो भन्दै होला – ‘माड्साब तपाईंले त्यसलाई निकालेर निकै राम्रो काम गर्नुभयो । अचेलका यी केटाहरूले निकै प्रेम गर्न थालेका छन् । हाम्रो यत्रो उमेर भयो र केटाकेटी पनि भए तर कसैले भन्न सकोस् कहिल्यै प्रेम गर्थ्यो भनेर !

हेडमास्टर साहेब खुसी भए होलान् र लुकेर चुरोट खानका लागि चर्पीमा गए होलान् । अनि ती शिक्षक राधाकृष्णको प्रेमका पद्य पढाउनका लागि कक्षामा गए होलान् –‘सोध्छन् कन्हैया को हौ तिमी गोरी ?’ अर्थात् कृष्ण भगवान्‌ले राधासित सोध्छन्‌…. ।

म सोच्छु, के गुरुको दायित्व यही हो त केटाले प्रेमपत्र लेख्यो अनि उसलाई दण्ड दिइयो ? तर उहाँ जुन मानवीय आचरणसूत्रहरूद्वारा बाँधिनुभएको छ त्यस दृष्टिले अरू केही गर्न सक्ने अवस्था पनि छैन । उहाँले केटासित यसो पनि भन्न सक्नुहुन्न ‘बाबु, तिमी हामी सबैभन्दा श्रेष्ठ छौ । तिमी दिनदिनै एउटा प्रेमपत्र लेख्छौ । धन्य छौ तिमी ! तर प्रेमपत्र निकै पवित्र वस्तु हो । त्यो हेडमास्टरको हातले दूषित हुन्छ । झुक्किएर तिम्रा प्रेमपत्रहरू मेरो हातमा परे । आइन्दा जसरी म चुरोट खान चर्पीमा जान्छु नि, त्यस्तै कुनै सावधानी अपनाउनू । राम्रो र नराम्रोमा केवल ढाकिनु र नढाकिनुको अन्तर रहन्छ ।’

कुनै पनि शिक्षकले यसो भन्दैन । बरु उल्टै उसले रसखानका रसिक पद्यहरू रसपूर्ण तरिकाले पढाइदेला –‘तिमीले कुन पाटीमा पढेका हौ सानू, मन त लिन्छौ तर छटाक पनि दिँदैनौ ।’ (यहाँ ‘मन’ इन्द्रिय र तौलका अर्थमा प्रयोग भएको छ । चालिस किलोको एक मन हुन्छ । नायिकाले नायकलाई भनेकी छ, कुन पाटीमा पढेका हौ र लिने बेलामा मन (हृदय र धेरै) लिन्छौ तर दिने बेलामा छटाक पनि दिँदैनौ – अनुवादक) । त्यस समयका स्कुल अहिलेका हाम्रा पब्लिक स्कुलजस्तै हुँदा हुन् जहाँ कृष्णजस्ता उच्चवर्गीयले पढ्दा हुन् । उच्चवर्गीयको त पाटी पनि छुट्टै हुन्छ ।

त्यसो त स्कुलमा जे पनि सिक्न पाइन्छ । मैले स्कुलकै गणितको माध्यमबाट बेइमानी र मिसावट सिकेको थिएँ । त्यो हिसाब यस्तो हुने गर्थ्यो – एउटा गोठालाले ४० पैसाको दरले १५ सेर दुध किनेछ र उसले त्यसमा १० सेर पानी मिसाएर ३० पैसा सेरको दरले बेचेछ भने त्यसलाई कति नाफा होला ? त्यसो त यो गणित हो तर यसले बेइमानीको लाभ पनि त बताएको छ नि ! अझै पनि विद्यार्थीहरूले यस्ता हिसाब सिक्ने गरेका छन् र बेइमानहरूका पुस्ताहरू तयार भइरहेका छन् ।

बरु बेइमानी सिक तर प्रेमपत्र नलेख । घृणापत्र भने जतिसुकै लेख । शिक्षकका दृष्टिमा सुखदायक कुराहरू प्रायः अनैतिक हुन्छन् । खेललाई त नराम्रो मानिन्छ । जब म पढ्थें त्यति बेला यस्ता पाठ हुन्थे – राम असल केटो हो । ऊ खेल्दैन । शिक्षकको दृष्टिमा जिन्दगी व्याकरणको पुस्तक बन्न पुग्छ ।

शिक्षककी पत्नीले माइतबाट भिजेको पत्र लेख्छिन् । सानो भाइलाई भनेर हुलाकको पत्रमञ्जूषामा खसाल्न लगाउँछिन् र भन्छिन् –‘कहीँ माथि अड्केको हुन सक्छ । त्यसैले हात घुसारेर हेर्नू ।’ अनि उत्तरको प्रतीक्षा गर्छिन् । उत्तर आउँछ –‘तिम्रो निकै सम्झना आउँछ । अँ, दुई पेजको चिठीमा तिमीले धेरै व्याकरण बिगारेकी छौ । तिम्रो व्याकरण निकै कमजोर छ । त्यहाँ समय पनि पाउँछ्यौ होला । दाजुभाइसित पुस्तक मागेर आफ्नो व्याकरण ठिक पार्नू ।’

शिक्षिकाले आफ्नो प्रेमीको पत्र पनि पाउँछिन् होला । अनि उनको मनमा पहिले त ठुल्दिदी (प्रधान अध्यापिका)लाई भनेर गाली गर्न लगाऊँ कि भन्ने पनि आउँछ होला ।

एक जना सिनियर प्रोफेसर साहेबले त्यस दिन भनेका थिए – ‘कलेजमा एउटा भर्खर एम. ए. गरेको शिक्षक मेरो विभागमा आयो । निकै प्रतिभावान् र राम्रो पनि । एक दिन उसले मलाई के भन्यो भने कसैले दुईतीन दिनदेखि उसको साइकलको हावा खुस्काइदिँदो रहेछ । मैले पत्ता लगाउँदा त त्यसो गर्ने एउटी केटी पो रहिछ । त्यसो त त्यो केटी पनि निकै असल थिई । तर त्यस्तो हरकत ? मैले बोलाएर हप्काएँ । रुन थाली । त्यस दिनपछि उसले कहिल्यै साइकलको हावा खुस्काइन ।’

तर त्यस नयाँ मूर्ख लेक्चररको त जिन्दगीकै हावा निस्क्यो । सिनियर प्रोफेसरलाई कसैले पनि सर, यो अनुशासनको विषय होइन भनेर कसले सम्झाउन सक्छ र ? तपाईंले सम्झिँदै सम्झिनुुहुन्न किनभने तपाईंको साइकलको हावा त कसैले खुस्काइदिएको छैन । तपाईंले त त्यस केटीलाई मारिहाल्नुभयो नि !

फेरि सोच्छु, मानौं यो क्रूरता हो तर उनले गरून् पो के ? के यो हावा खुस्काउने काम धेरै भयो ? अब चिठी लेख्ने स्टेजमा आऊ भनेर भन्ने त ? शिक्षकलाई अलि बढी नै भनें कि ? मलाई त डर पो लाग्न थाल्यो । स्पष्टीकरण दिन्छु । शिक्षकहरूले नराम्रो नमान्नुहोला । उहाँहरू जिम्मेवार हुनुहुन्न । उहाँहरू त फर्मुला लागु मात्र गर्नुहुन्छ । बनाउने त अरू नै हुन्छन् र तिनले शताब्दियौंदेखि बनाउँदै आएका छन् । नैतिकताका यी फर्मुलाहरू निकै रोचक छन् । जस्तो चरणस्पर्श गरेपछि भावनामा परिवर्तन आउँछ भन्ने कुरो । ‘ …..के हो ? तैंले ती महिलालाई नराम्रो दृष्टिले हेर्छस् रे, हो ? आइन्दा उनलाई दिदी मान्नू । जा, उनको चरण स्पर्श गर् ।’ उसले डराएर गर्‍यो पनि । अनि नियामकलाई लाग्यो समस्याको निदान पवित्र रूपमा भयो र उनी सन्तुष्ट भए । तर उनले के बिर्से भने चरण पनि शरीरकै एउटा अङ्ग हो र ती महिलाको कुनै अङ्ग भए पनि छुने उसको लालसा थियो र त्यो पूर्ण गराइएको थियो । उसले त दिनदिनै चरण स्पर्श गर्न सक्छ ।

यो जुन ‘पवित्र सम्बन्ध’को विषय हामीकहाँ चलेको छ, त्यसले के के न के के पो गराउँछ त । मान्छेलाई निकै अप्ठ्यारामा पार्छ । मानौं कुनै कन्या क्याम्पसको गेटमा क्याम्पस विदा हुने समयमा कुनै असल केटो उभिएको छ । उसलाई सोधिन्छ, ‘यहाँ किन उभिएका छौ ?’ उसले भन्छ, ‘सिस्टरलाई लैजानु छ ।’ अनि मैले त केसम्म देखेको छु भने कैयौं बिचराहरूका त दुईटै हातमा पाखुरा र काँधसम्मै राखी बाँधिएको हुन्छ । के गरून्, लाचारी छ । कुनै अर्को उपाय पनि त छैन नि !

टोलमा केटाकेटीका आँखामा आँखा लगाएर र हातमा लौरो लिएर बस्नेहरूले राधाकृष्णका प्रेमविलासका पद्यहरू भने आँखा चिम्लेर र घाँटी हल्लाएर गद्गद् भावले सुन्छन् । हरे नमः । त्यो त भजन पो हो त ! राधा र कृष्णको विषय हो । पवित्र छ । एक ठाउँमा भजन चलिरहेको थियो । भजनियाले सूरदासका पद्य गायो – आज हरि अनिँदोमै आए !’ यसका अगाडिको वर्णन रतिचिह्नमा आधारित छ । भक्तहरू हल्लिँदै सुन्दै थिए । भगतजीले सोधे, ‘यस पद्यमा जे भनिएको छ त्यो बुझेका त छौ ?’ उनले भने, ‘अँ अँ राधाकृष्णको त हो नि !’ अनि उनले घाँटी हल्लाउन थाले । उही कुरो संस्कृतमा छ भने त्यो पवित्र हुन्छ । जे बुझ्न सकिन्न त्यो पवित्र । केही मान्छे त संस्कृतको सबै छन्दलाई प्रभुप्रार्थना मान्दछन् र ‘कुट्टुनीचरितम्‌’लाई पनि प्रार्थना सुनेझैं सुन्छन् । त्यस्तै केही व्यक्तिहरू उर्दूको हरेक सेरलाई हास्यरस ठान्दछन् । सेर सुन्छन् अनि हिहि गर्दै हाँस्नथाल्छन् चाहे त्यसको भाव करुण नै किन नहोस् । ‘किस्मत में है मरने की तमन्ना कोई दिन और’ सुने अनि गर्न थाले – वाह वाह ! तमन्ना ! हिहिहिहि !

यताको यो मान्छे आफूलाई संसारको सबैभन्दा पवित्र तथा नैतिकतावादी ठान्दछ । माथिमाथि सबै ठिकठाक गरेर राख्छ अनि भित्रभित्रै अन्तर्विरोधलाई पालेर बस्छ । अश्लीलभन्दा अश्लील पद्यहरू भक्तिभावले सुन्छ तर साधारण मान्छेको भाषामा लेखिएको प्रेमपत्र पढेर झन्किन्छ र फन्किन्छ ।

यस्तै मान्छेले हामी कुनै क्रान्ति गदैनौं भनेर भन्ने गर्छ । क्रान्तिमा त हिंसा हुन्छ ।! हामी अहिंसावादी, दयालु र मानवतावादी मानिस हौं । हामी बुद्ध, महावीर र गान्धीको देशका मान्छे हौं । तर यसेै मान्छेले अहिलेसम्म झन्डै बीस लाख हिन्दू र मुसलमानहरूलाई दङ्गामा मारिसकेको छ । यतिमा त दशवटा क्रान्ति सम्पन्न हुन्छन् । यो मानिस पश्चिमका मान्छेलाई त लोभी र भौतिकवादी आदि भन्छ तर यसै निर्लोभी र आध्यात्मिक मान्छेले नौनीमा मसीको सोक्ता र बेसनमा ‘सोप स्टोन’ मिसाएर बेच्छ । औषधिमा समेत मिसावट गरेर मृत्युबाट पनि आफूलाई नाफा बढाउँछ ।

तर पनि यो अन्तर्विरोध शिक्षक या सुधारकको टाउकोदुखाइ हैन । उनीहरूको बाटो त सोझो छ । उनीहरू ठिकै नै गर्छन् । तर मार्क ट्वेनको एउटा कुरो भने मैले सम्झिरहेको छु । त्यस सिल्लीले के भनेको छ भने आदमले स्याउ किन खायो भने उसलाई नखान भनिएको थियो । यदि उसलाई सर्प नखान भनिएको भए सर्प नै खान्थ्यो ।

०००
परसाई रचनावली भाग -३ को ‘प्रेमपत्र और हेडमास्टर’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x