विश्व शाक्यगुरु, गधा र राजनीति !
भारी बोक्नु गधाको धर्म हो । बौद्ध, जैन, हिन्दू, मुसलमान, सिख, क्रिश्चियन जस्को भारी पनि ऊ निष्ठापूर्वक बोकिदिन्छ । बस् उसलाई न जाति, धर्म, न ठूलो सानु, न धेरै थोरै केहीको पनि मतलब हुँदैन ।

विश्व शाक्य :
दर्शन शास्त्र, समाज शास्त्र र धर्म शास्त्र जस्ले जे भनिएको भए तापनि मैले अनुभव गरेको कर्मशास्त्रको आधारमा म यत्ति अवश्य भन्न सक्छु कि ” गुरु ” त्यो जन्तुको नाम हो जसलाई सैद्धान्तिक ज्ञानमा भन्दा पनि व्यावहारिक ज्ञानको बढी जानकारी हुन्छ ।
रातारात “ईघरका माल उधर” गरेर लखपति, करोडपति बने झै उताका पन्ना यता, यताका पन्ना उता गरे- र ठेलीका ठेली किताब तयार पारी जतासुकै डा. झुण्डयाउँदैमा त्यो व्यक्ति “गुरु” बन्न सक्तैन । “गुरु” हुनलाई ईमान्दारी, सत्यनिष्ठा र लगनशीलता हुन सारै जरुरी पर्दछ र नैतिकताको लौरो टेकेर आदर्शको मार्गमा “लुरुलुरु ” हिँडेको हुनुपर्छ ।
‘जाँगर न साँगर खाने बेलामा आँ गर’ भने झै डा. को विल्ला झुण्डाएर कार र मोटरसाईकल कुदाउने औकात राख्दैमा तिनलाई गुरु मान्न सकिदैन । यसरी हिँड्न गुरुहरुलाई सुहाउन पनि सुहाउँदैन । औकातले पनि भ्याउँदैन । वास्तवमा त्यो सच्चा गुरुको लक्षण पनि होइन् ।
सादगी, स्वावलम्बन र प्रज्ञाभाव गुरुको आभूषण हो, सम्पत्ति हो । सत्यनिष्ठता, समानता र हो । अन्यथा ” गुरु” हुनुमा र “गोरु ” उत्सर्ग गुरुको प्राण हुनुमा केही भिन्नता हामी पाउन सक्तैनौं । तुलनात्मक दृष्टिले नै हेर्ने हो भने गोरु अथवा ‘ गधा’ हुनुमा गौरव महशुस गर्न सकिएला तर वीर्यहीन, प्रज्ञारहित र लालची ” गुरु ” मा त्यो सम्भव रहन्न ।
गधा मानिस जस्तो एक सामाजिक प्राणी नहुन सक्छ । मानिस र गधा बीचको सन्तुलन कतै विग्रेको हुन सक्छ भने त्यो एउटै ठाउँ हो “बौद्धिकता ” । मानिसलाई यही बौद्धिकताले कतै गधा हुनुबाट जोगाई रहेको छ भने कतै यही बौद्धिकताको कारण “गधा” मानव जनजीवनमा “नायक” बन्न पुगिरहेको छ । शायद यो दोष बौद्धिकताको नभएर स्वार्थको मोती विन्दुले छोपेको बौद्धिक आँखाहरुको हो ।
गधा समाजसंग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने प्राणी भएको नाताले व्यावहारिक मानव जीवनका गतिविधिहरुमा पनि यसले प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने हुन्छ ।
अल्प बुद्धिको उपमा दिनु पर्दा हामी “गधा” को संज्ञा दिने गर्छौं । तर अपशोच ! गधामा जत्ति सत्य निष्ठता, ईमान्दारिता र व्यावहारिक समानता पाउन सकिन्छ त्यो प्रजातन्त्र र समानताको नारा दिने राजनीतिक प्रतिवद्धहरुमा पनि पाउन सकिंदैन । कारण गधालाई भोटको लोभ पनि हुँदैन ।
सिद्धान्तको अहङ्कार पनि हुँदैन । सत्ताको लालच पनि हुँदैन । भारी बोक्नु गधाको धर्म हो । बौद्ध, जैन, हिन्दू, मुसलमान, सिख, क्रिश्चियन जस्को भारी पनि ऊ निष्ठापूर्वक बोकिदिन्छ । बस् उसलाई न जाति, धर्म, न ठूलो सानु, न धेरै थोरै केहीको पनि मतलब हुँदैन । उसको लागि सबै समान ।
हर राजनैतिकवादको लक्ष हुन्छ “समानता ” । आर्थिक-समानता, राजनैतिक समानता, न्यायिक-समानता, भावनात्मक-समानता, धार्मिक- समानता, समाजमा कोही भोका नाङ्गा नर हुन । मानसिक रुपबाट कोहीले पनि आफूलाई अपाङ्ग र एक्लो महसुस गर्न नपरोस् । शारीरिक र वैचारिक रुपबाट कसैले पनि आफूलाई असुरक्षित र कुण्ठित सम्झन नपरोस् । मानिसले स्वतन्त्र भएर आफ्नो संसार भोग्न पाओस् ।
तर विडम्बना ! मानवीय सत्ता, पद र अधिकार प्राप्तिको लागि जनभावना विरोधी तानाशाह र निरंकुश शासकको ज्यादती देख्ने राजनैतिक आँखाहरुले व्यभिचारी निरंकुश र तानाशाह जन्माउने संस्कारलाई सुसंस्कृत देख्न थालिनु आफैंमा धर्मान्धताको एउटा अपूर्व लक्षण हो । शायद यो आजको राजनैतिक प्रतिवद्धता विपरीत हो । कार्यगत, सत्यनिष्ठता विपरीत हो । एक पटक छातीमा हात राखेर सोच्नु पर्ने भएको छ ।
०००
‘दैनिक जनमत’, वर्ष ८, अङ्क ५५ – २०४७
Subscribe
Login
0 Comments
Oldest








































